कोसेली

एउटा साइकलयात्री

- भीम घिमिरे

चैत्र ५, २०७३-मर्निङ वाकमा निस्कनेका लागि जाडोयाम घाम निस्कएपछि मात्रै उपयुक्त हो । कारण, घाम निस्कनुअघि नै घुम्न जानेले चिसोको प्रतिरोध गर्न सकेनन् भने मर्निङ वाकले ज्यानलाई फाइदाभन्दा बेफाइदा नै हुन्छ । सल्लाह चिकित्सकले देलान् तर, पोखरा, माटेपानीका ८७ वर्षीय जगतबहादुर रञ्जितलाई अनुभवले सिकाएको छ । 

‘चिसो घटेका बेला हिजोआज म बिहान साढे सात/आठ बजेतिर निस्कन्छु,’ उनले भने, ‘बजार एरियामा गाडीले हिर्काएर मार्लान् भन्ने डर लाग्छ । त्यसैले बजार जान्नँ, भित्रभित्रै टोलबस्ती कुदाउँछु ।’ पर्यटकीय सहर पोखरामा बजार क्षेत्रका सडक जति फराकिला छन्, उति नै सवारीसाधनको चाप छ । उपमहानगरपालिकाका अनुसार नगरमा २ सय २ किमि कालोपत्रे, ९० किमि ग्राभेल र १ सय १० किमि कच्ची सडक छ । तर, यस्ता कुनै बाटा छैनन्, जहाँ हिजोआज सवारी साधनको चाप नहोस् । सडकमा साइकलका लागि छुट्टै लेन छैन । तर, रंगीचंगी हेलमेट लगाएर मूल्यमा मोटरसाइकललाई पछि पार्ने दामका साइकल चढ्नेको जमात दिनदिनै बढेको छ । मूल बजार क्षेत्र छाड्नेबित्तिकैका बाटोघाटो उकालो–ओरालो छन् । त्यसैले गियरवाला साइकल कुदाउनेले परेको मूल्यको फिक्री मानेको पनि भेटिँदैन । तर, बयोवृद्ध रञ्जितको साइकल भने आधुनिक होइन । 

०००

रानीपौवामा रञ्जित परिवारको गरिखाने मेला किराना पसल थियो । पिताजी गणेश मन्दिरका लागि पुजारी काम पनि गर्थे । दुई भाइ छोरा हुर्किए । व्यवसाय परिवर्तन गरे । नयाँ व्यवसाय थियो कपडाको । रञ्जित परिवारका जेठा छोरा जगतबहादुर । गत बुधबार बिहान एक घण्टा साइकल पेलेर टोलबस्ती घुमेपछि माटेपानीस्थित घरैमा भेटिएका रञ्जितले भने, ‘अहिलेको जस्तो तयारी लुगा पाइने जमाना थिएन, भैरहवा र बुटबलबाट भरिया लाएर बोकाएर पोखरा ल्याउने, अनि यहीँबाटै भरिया लगाएर गाउँगाउँमा बेच्न गइन्थ्यो ।’ 

शतबीज छर्न पशुपति पुगेका बेला विसं २००३ मा उनले राजधानीमा साइकल देखे । रहर लाग्यो । सेकेन्ड–ह्यान्ड खरिद गरे । ‘त्यो बेला एक मोहर परेको थियो,’ उनले भने, ‘भरिया लाएर बोकाएर ल्याइयो । हेर्नेलाई त तमासै भो ।’ उनले त्यो साइकल धेरै दिन चलाउन पाएनन् । ‘एक दिन लडियो, चोटले मासु नै लुछ्यो, हड्डीमै दखल पर्‍यो,’ उनले मोजा खोलेर दायाँ गोडाको सेतो खत देखाए, ‘अनि त्यो साइकल मैले बजारका केटाहरू लैजाओ भनेर दिइपठाएँ ।’ पोखरामा न बाटाघाटा बनिसकेका थिए, न त बस्त नै बाक्लो थियो । डाँडा–डाँडाका बस्तीबाट फाँट रहेको पोखरामा बसाइँ आउने क्रम निकै पातलो थियो । सामान भरियालाई बोकाएर पोखराका व्यापारी डाँडाकाँडाका बस्ती पुग्थे । एउटा गाउँमा चार–पाँच दिनसम्म बसेर कारोबार गर्थे । काहुँबाट ८–१० जना भरिया लगाएर लुगा बेच्न जगतबहादुर पनि कास्कीको सिमाना नाघ्दै लमजुङको पसगाउँ, कुम्लुङ, सिङ्दी र भोजेँसम्म पुग्थे । ‘भाइले घरबाट भरियालाई समान पठाउँथ्यो, म गाउँगाउँ पुगेर चार–पाँच दिन बस्दै अघि बढ्दै बेच्थेँ,’ उनले सुनाए, ‘त्यसरी व्यापार गर्न सक्दा मनग्य हुने जमाना थियो ।’ 

२०११ सालतिर पोखरामा भारतीय सेनाका सेवानिवृत्तका लागि पेन्सन पेइङ कार्यालय खुलेपछि रञ्जित परिवारको कपडा पसल रामबजार सर्‍यो । रानीपौवाको बसाइँबाट रामबजारसम्म सामान ल्याउन–लैजान सजिलो थिएन । वर्षहरू बित्दै गए ।

०००

रञ्जितले २०१८ सालमा साइकल फेरि किन्ने भए । यस पटकको कारण पहिलेजस्तो रहरको थिएन । ‘गोदामबाट पेन्सन क्याम्पको दोकानसम्म कपडा लैजान सजिलो हुन्छ भनेर हो,’ उनले भने । काठमाडौंबाट जहाज चढेर तीनवटा इन्डियन हिरो जेड साइकल पोखरा विमानस्थल अवतरण भयो । 

साइकल जनही हरिगोपाल, शेरबहादुर र जगतबहादुर रञ्जितको भाग लाग्यो । ‘घरसम्म आइपुग्दा एउटा सइकलको साढे तीन सय दाम पर्‍यो,’ उनले भने, ‘दाइ र भाइले साइकल के–के गरे, थाहा भएन । म अझै त्यै साइकल चलाइरहेको छु ।’ 

२०१८ चैत २७ मा घर भित्र्याएको साइकल आफूले २०१९ साल वैशाखदेखि चलाउन थालेको उनले बताए । ‘त्यो बेला साइकल चानचुने चीज थिएन, कस्तो हुन्छ भनेर हेर्न हूलका हूल मान्छे आउँथे,’ उनले सुनाए, ‘चलाएर हिँडेको देखेर मान्छे छक्क पर्थे ।’ हलुका सामान बोकेर हिँड्न सजिलो भएकाले साइकलले धेरै काम गरेको उनले बताए । ‘अहिले साइकलले मलाई मात्रै बोक्छ,’ उनले भने, ‘लाग्छ, मेरो ज्यान अहिलेसम्म ठीकठाकै हुनुको कारण साइकल नै हो ।’ दिनहुँ एकदेखि डेढ घण्टा साइकल चलाउने गरेका उनलाई सहरको बढ्दो बस्ती र सवारी चापको भने चिन्ता लाग्छ । ‘पहिले पो धेर गाडी हुन्थेनन्, जता गए नि सजिलो थियो,’ उनले भने, ‘अहिले त केले आएर ठोक्देला, मार्देला भनेर सोची–विचारी कुदाउनुपर्छ ।’

सुनौली–भैरहवालाई पोखरासँग जोड्ने सिद्धार्थ राजमार्ग र काठमाडौं–पोखरा पृथ्वी राजमार्ग बनेर सञ्चालनमा आएपछि रञ्जित परिवारले पनि कपडाको व्यवसाय छाडे । खेतीपातीमा निर्भर परिवार रानीपौवाबाट माटेपानी बसाइँ सर्‍यो । रञ्जितले आफ्नो पुरानो साइकललाई अझै जतन गरिरहेका छन् । ‘टायर कुनै वर्ष दिन, कुनै तीन वर्ष टिक्छ । ब्यारिङ गेडी बिग्रन्छ, बनाउन पाइन्छ,’ उनले भने, ‘अरू ठीकै छ । काम देकै छ ।’  रञ्जितका छिमेकी ६३ वर्षीय दिलबहादुर श्रीसमगर भन्छन्, ‘मैले थाहा पाएदेखि बाबैलाई साइकल कुदाएको देखेको हो, साइकल कुदाएकै कारण स्वस्थ हुनुहुन्छ ।’ खेतबाट धान र भटमाससहितका अन्नपात पनि ओसारेको देखेको उनले बताए । उनले भने ‘५४ वर्षदेखि एउटै साइकल कुदाएको भन्ने खबर पढ्न–सुन्न पाएको भए विश्वास लाग्थेन होला तर, आफ्नै आँखाअगाडि देख्न पाइएको छ ।’

लामो समयदेखि साइकल कुदाएकाले जगतबहादुरलाई गत असोजमा साइकलसिटी पोखराले सम्मान गर्दै अत्याधुनिक साइकल दिएको थियो । हस्तान्तरणमा आएका विश्व साइकलयात्री पुष्कर शाहले रञ्जितको साइकललाई ढोग्दै भनेका थिए, ‘यो अचम्म नै हो । हामी सबै साइकलयात्रीले नमन गर्नुपर्छ ।’ तर, त्यो आधुनिक साइकल उनले कुदाएका छैनन् । ‘त्यसमा गियर छ, म बूढोलाई सुहाउने भएन,’ रञ्जितले भने, ‘पुरानै ठीक छ । काम चलेकै छ ।’

प्रकाशित: चैत्र ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार