कोसेली

कीर्तिपुर डायरी

  • पाँच पटक विश्वकप खेलिसकेको केन्यासँग नेपालले एकदिवसीयमा पहिलो विजय हात पार्दा केही यस्ता क्षणहरू अगाडि आएका थिए, जुन मैदानभित्रको खेलको हार–जितभन्दा केही फरक थिए । विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुईमध्ये १ खेलमा पाएको विजयपछि नेपालको विश्वकप छनोटमा पुग्ने लक्ष्य सम्भावनालाई ब्युँत्याउँदा केही खेलाडी र तथ्यले अर्को प्रभाव देखाएका थिए ।
- विनोद पाण्डे

चैत्र ५, २०७३-पार्ट टाइमर शरद

नेपाल र केन्याको क्रिकेट खेलपछि एउटा सम्झिनुपर्ने खेलाडी हुन् शरद भेषावकर । ब्याटिङका कारण मात्र नभई बलिङका लागि पनि शरदलाई विशेष रूपले सम्झिने गरिन्छ । २०१३ को विश्व ट्वान्टी–२० छनोटमा शरदको ब्याट निकै जमेको थियो । नेपालले यूएईसँगको खेलमा १ सय ८३ रनको लक्ष्य पाएको थियो । नेपाल ट्वान्टी–२० मा सबैभन्दा ठूलो लक्ष्य स्कोर पछ्याउँदै विजयको नजिक पुगेको थियो । समीकरण यस्तो बनेको थियो कि नेपाललाई अन्तिम ओभरमा २० रन चाहिन्थ्यो । शरदले ३ छक्का प्रहार गरेपछि नेपालले २ बलअगाडि लक्ष्य पूरा गरेको थियो । 

भिलेनबाट हिरो हुन शरदले ब्याटको प्रयोग गरेका थिए । भिलेन शरदलाई उनको पार्टटाइम बलिङले बनाएको थियो, जब उनको एकै ओभरमा राकेप पटेलले ३ छक्का र ३ चौका प्रहार गर्दै ३० रन हिर्काएका थिए । आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले एकै ओभरमा यत्रो रन अझै खर्चनुपरेको छैन, अर्थात् शरद नेपाली क्रिकेटका सबैभन्दा महँगा बलर हुन् । त्यसै त कमै मात्र बलिङ गर्ने शरदले त्यसपछि बिरलै बलिङ गरेका थिए । 

विश्व क्रिकेट लिग च्याम्पियनसिपको केन्यासँगको खेलमा शरद एक्कासि बलिङ गर्न आउँदा त्यही क्षण सम्झना दिलाएको थियो, फेरि कतै शरदले आफ्नै नाममा रहेको महँगो बलिङको कीर्तिमान उछिन्ने त होइनन् । धेरैको अनुमानविपरीत शरदले केन्याका ४ खेलाडीलाई पबेलियन फर्काए । च्याम्पियनसिपमा शरद एकै खेलमा ४ विकेट लिने पहिलो नेपाली खेलाडी बने । उक्त खेलमा उनी पार्टटाइम अर्थात् कामचलाउ बलरबाट प्रमुख बलर बनेका थिए । 

शरद बलिङमा आउँदा पटेल क्रिजमै थिए । फलो थ्रुमा आफैंले गरेको बलिङ रोक्न खोज्दा पटेलसँग शरद ठोक्किन पुगेका थिए । त्यसपछि पटेल खासै चलमलाउन सकेनन् र छिट्टै आउट हुँदा शरदको बलिङको खासै सामना गर्न परेन । केन्यासँग शरदले गरेको उत्कृष्ट बलिङ प्रदर्शनलाई लिएर बलिङ प्रशिक्षक विनोद दासलाई कुनै आश्चर्य लागेन । ‘एउटा अनुभवी खेलाडीको राम्रो बलिङ हुनुपर्छ भन्ने जरुरी छैन, उसको अनुभव नै काफी हुन्छ । शरदको बलिङ नियन्त्रित छ, उनी लाइन र लेन्थमा बल फाल्छन् । पछिल्लो समय शरदले बलिङका लागि नेट्समा राम्रो समय बिताएका थिए त्यसैले काम गरेको हो,’ दासको तर्क थियो । 

रहस्मय पारस

गत साता नेपाल खेलकुद पत्रकार मञ्चको साधरणसभाका दौरान अध्यक्ष महेश आचार्यले आफ्नो मन्तव्यका क्रममा खेल पत्रकारहरू रिपोर्टिङ गर्न मैदानमा पुग्न छाडेकामा चिन्ता व्यक्त गरेका थिए । त्यसको उदाहरण उनले राष्ट्रिय टोलीका कप्तान पारस खड्काको अस्वस्थताको समाचार कुनै मिडियामा नआएकोलाई दिएका थिए । पेटमा समस्या भएपछि पारस तीन दिन अस्पताल बसी शल्यक्रिया गराई घर फर्किएपछि अस्पतालको प्रेस विज्ञप्तिले खेल पत्रकारको अस्तित्व जोगाइदिएको थियो । उता पारसबिनै नेपालको बन्द प्रशिक्षण चलिरहेको थियो । पारस आफ्नो व्यक्तिगत विषय आफैंमा राख्छन् । साधरणसभामा उठेको प्रसंग अनौपचारिक रूपमा सुनाउँदा उनले मुस्कुराउँदै त्यही उत्तर दिएका थिए, ‘मेरो व्यक्तिगत विषय मिडियामा नआएकै राम्रो लाग्छ मलाई, यो विषय मलाई नै छाडिदिनुस् ।’ कसैले लेखेमा आफ्नो भन्नु केही नहुने आशय उनको थियो । 

शल्यक्रिया गरेका कारण पारसले केन्यासँग खेल्न नसक्ने सम्भावनाहरू प्रशस्त देखिएका थिए । तर नेपाली टिम र स्वयं पारसले त्यसलाई अस्वीकार गर्दा नेपाली खेलकुद पत्रकारिता फेरि अन्योलमा थियो । दिल्लीमा नेपालले खेलेको तीन अभ्यास खेल पारसले नखेल्ने भइसकेका थिए । नेपाली टिम भारतबाट फर्किएपछि पनि पारसको सहभागिता अन्योलमै थियो । एक हप्ता बाँकी थियो केन्यासँग खेल आउन, दिनहुँजस्तो नेपाली टिम व्यवस्थापन तयारी कस्तो छ भन्दा पनि पारसको स्थिति कस्तो छ भन्ने प्रश्नले घेरिएको हुन्थ्यो । 

पहिलो खेलको टसअगाडिसम्म पनि उनको स्थिति स्पष्ट थिएन । जसोतसो गरेर पारसले पहिलो खेल खेल्न नसक्ने समाचार फुत्काइएको थियो । कसरी फुत्काइयो त्यसको छुट्टै कथा थियो । मलाई आफ्नो स्रोतमा पूरै विश्वास थियो र पारस खेल्दैनन् भन्नेमा निश्चित थिए । टसअगाडिसम्म विकेटको छेउछाउ पारस अभ्यास गरिरहेको देख्दा आफ्नो स्रोतले चिप्लाएको कि भन्ने त्रासमै नेपाली टिमको तयारी हेर्नुपरेको थियो । धन्न ज्ञानेन्द्र मल्ल टसमा गएपछि आफ्नो समाचार सही भएको पुष्टि भयो । 

पहिलो खेलको अगाडि पारसले आफू ६० प्रतिशत मात्र ठीक भएको बताएका थिए । एक्कासि फेरि पारसले दोस्रो खेल खेल्न सक्ने समाचार आयो । नेपाली टिमले नै यो सम्भावना रहेको बताएको थियो । पारसले ब्याट काँधभन्दा माथि लान सकेका थिएनन्, ग्राउन्ड फिल्डिङ गर्न सकिरहेका थिएनन् । त्यही भएर मैले उनी खेल्न सक्छन् भन्ने समाचार लेख्ने जोश निकालिन् । उनी नखेलीकनै दोस्रो खेलमा नेपालले विजय हात पारेपछि नेपाली खेलकुद पत्रकारिता फेरि तिरिमिरी हुन पुग्यो, जब पारसले आफू खेल्न नसक्नेबारे टिमलाई पहिल्यै जानकारी गराइसकेको बताए । अझ पारसले आफू थप एक महिना खेल्न नसक्ने बताएका थिए । जबकि उनी केन्यासँगको खेलमा १४ सदस्यीय नेपाली टोलीमै थिए । 

आफू खेल्न नसक्नबारे मिडियालाई न पारसले बताए न नेपाली टिम व्यवस्थापनले नै केही भन्यो । दुवै रहस्मय हिसाबमा रहे । केन्याको टिम काठमाडौं आउनेबितिकै उसले लियाजन अफिसर छुम्बी लामालाई सोधेको थियो, ‘पारस खड्का खेल्छन् कि खेल्दैनन् ?’ यस हिसाबमा नेपाली टिम व्यवस्थापनले केन्याली टिमलाई अन्योल राख्नु र नेपाली टिमका अन्य खेलाडीलाई पारसको स्थितिबारे थाहा नदिई हौसला बढाइराख्न आफ्नो कप्तानको विषय मौन बस्नु रणनीतिक देखिन्थ्यो । तर त्यसको सास्ती केन्याले मात्र होइन नेपाली मिडियाले पनि भोग्नुपर्‍यो । 

महबुब र विश्व कीर्तिमान

महबुब आलमले जब–जब राम्रो प्रदर्शन गर्छन् तब उनको नाम विश्व कीर्तिमानसँग जोडिएर आउँछ । २००८ मा विश्व क्रिकेट लिग डिभिजन ५ मा महबुबले मोजाम्बिकसँगको खेलमा सबै १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए । केन्यासँगको दोस्रो खेलमा यस्तै भयो । पहिलो ओभरमा २ रन मात्र दिएका उनले त्यसपछि लगातार ५ ओभर मेडन फाले । सोसल मिडियामा लगातार मेडनको विश्व कीर्तिमान कतिको हो भनेर प्रश्नहरू आइरहेका थिए । यसको कारण एक महबुबले लगातार ५ ओभर मेडन फालिसकेका थिए । अर्को महबुब आलम भनेपछि नेपाली क्रिकेटमा विश्व कीर्तिमान आफैं जोडिने नामजस्तै हो । 

राष्ट्रिय प्रतियोगिताका लागि २०६१ सालमा जिल्ला छनोटमा उनले सिरहामा सप्तरीबाट खेल्दै उदयपुरविरुद्ध २६ चौका र १८ छक्का प्रहार गर्दै नटआउट २ सय ५६ रन बनाएका थिए । ४० ओभरको खेलमा बनाइएको त्यो स्कोर विश्व कीर्तिमान नभए पनि आफैंमा अनौठो कीर्तिमान हो । नेपालको घरेलु क्रिकेटको अन्तर्राष्ट्रिय पहुँच त्यस्तो थिएन, नत्र त्यो समयमा कम्तीमा घरेलु क्रिकेटको विश्व कीर्तिमान हुन्थ्यो । 

पछिल्लो समय महबुबका लागि राष्ट्रिय टोलीको यात्रा त्यत्ति सजिलो छैन । उनलाई मुस्किलले नेपाली टिममा राखिएको थियो । २०१५ को नोभेम्बरमा पपुवा न्युगिनीविरुद्ध खेलेपछि उनी पहिलो पटक नेपाली टिममा अटाएका थिए । नेपाली टिममा फर्किएकोमा महबुब आफैंलाई विश्वास थिएन । अहिले युवा खेलाडीहरूबीच चर्को प्रतिस्पर्धा रहेकाले आफूहरूजस्ता भेट्रानका लागि यात्रा कठिन बनेको उनी स्विकार्छन् । अझ पहिलो खेलमा उनको ब्याट पनि चुकेको थियो भने फिल्डिङ निकै कमजोर थियो । यस्तोमा महबुबको भूमिका के हो भनेर पहिलो खेलपछि कप्तान ज्ञानेन्द्र र प्रशिक्षक जगत टमाटाले मिडियाको प्रश्न झेल्नुपरेको थियो । 

महबुबले दोस्रो खेलमा २ विकेटका साथै ५ मेडन राखेर त्यसको जबाफ फर्काएका थिए । यसले उनको अन्तर्राष्ट्रिय खेल जीवनलाई अड्याएन मात्र स्वयं उनलाई पनि ठूलो बल प्रदान गर्‍यो । महुबबको स्थान नेपाली टोलीमा ब्याटिङ अलराउन्डर हो । किन भने उनीभन्दा राम्रा बलर धेरै छन् नेपाली टिमभित्र र बाहिर । ब्याटिङमा उनले केन्यासँगको यही रूप आगामी दिनमा नदेखाए उनलाई नेपाली टिममा स्थान बनाउन गारो पर्न सक्छ । महबुबको ब्याट न हो, बलिङजस्तै कुनै बेला नचम्केला भन्न सकिन्न । 

ओपनरको नटआउट विजय इनिङ्स

ओपनरले नटआउट रही नेपाललाई विजयी बनाएको पछिल्लो खेल कुन हो ? ज्ञानेन्द्र मल्लले नटआउट रही ६४ रन बनाई केन्यासँगको दोस्रो खेलमा जित दिलाएपछि राजन शाह (मोमो क्रिकेट) ले ट्वीटरमा यो प्रश्न राखेका थिए । मलाई पनि ठ्याक्कै कहिले हो सम्झिन गाह्रो परेको थियो । समाचार लेख्नुपरेको कारण पुरानो रेकर्ड हेर्न पाइएको थिएन । अझ ज्ञानेन्द्रले च्याम्पियनसिपको १० खेलमा आएर पहिलो अर्धशतक बनाउँदा त्यही तथ्यांकले लोभ्याएको थियो र त्यसैमा केन्द्रित हुन पुगेको थिएँ । 

पछि रेकर्ड केलाउँदा नेपालले २०१२ को डिभिजन ४ मा १० विकेटको विजय हात पार्दा सुवास खकुरेल र अनिल मण्डलले तथा २०१४ डिभिजन ३ मा नरेश बुढाएरले ओपनरको हैसियतमा नटआउट विजयी इनिङ्स खेलेका थिए । दुवैपटक प्रतिद्वन्द्वी मलेसिया थियो । त्यसभन्दा अगाडि यो सफलता हात पारेको कीर्तिमान खोज्न २००६ मा पुग्नुपर्छ । एसीसी ट्रफीमा नेपालले म्यानमारमाथि १० विकेटको विजय हात पारेको थियो । म्यानमारलाई १० रनमै अलआउट गरेपछि नेपालले २ बलमै लक्ष्य पूरा गरेको थियो । महेश क्षत्रीसँगैं नटआउट इनिङ्स खेल्ने ज्ञानेन्द्र नै थिए । दुवै ओपनरको योगदान ३, ३ रनको थियो । संयोग नै थियो ज्ञानेन्द्रले राष्ट्रिय टोलीबाट पहिलो पटक त्यो प्रतियोगितामा ब्याट चलाइरहेका थिए । 

प्रकाशित: चैत्र ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार