कोपिला

फूलहरूको कुराकानी

- यशु श्रेष्ठ

फाल्गुन १, २०७३-बगैंचाको छेवैमा हरियो चउर थियो । चउरका छेउछाउमा थुप्रै घाँसे फूलहरू फुलेका थिए । घाँसे फूलहरू पानी पर्ने बेला चम्किएर फुल्दथे । पानी नपरेको बेला लुरुक्क परेर फुलेका हुन्थे । बगैँचाभित्र भने थुप्रा रङ्गीबिरङ्गी फूलहरू फक्रिएका थिए । बगैँचाका फूलहरू एकसेएक थिए । पानी पर्दा वा नपर्दा, उनीहरू एकैनास आँखा पनि झिमिक्क नगरी फुलिरहन्थे । 

आज बगैँचाभित्र फूलहरूको ठुलै हाँसो गुन्जियो । उनीहरू चउरका घाँसे फूलहरूलाई हेर्दै बेस्सरी हाँसे । चउरको फूलनेर एउटा कालो कुकुर आयो । फूलमै पर्ने गरी पिसाब फेरिदियो । चउरको फूलले नाक खुच्चाएन । तर बगैँचाका फूलहरूले भने घिनै माने । ‘विचरा घाँसे फूलहरू !’ उनीहरूले च्व च्व च्व गरे अनि बेस्सरी हाँस्दै भने, ‘बिनासित्ति किन फुलेका होलान् यिनीहरू ! न कुनै गोडमेल गर्ने मान्छे छ । न कसैले महत्त्व दिएका छन् । त्यसै फुलिरहन्छन् । सस्ता फूलहरू !’

 घाँसे फूलहरूले बगैँचाका फूलहरूलाई पुलुक्क हेरे । केही भनेनन् । आफ्नै काममा लागिहाले । 

‘हेर घाँसे फूलहरू, न तिमीहरूलाई कसैले सुम्सुम्याउँछन् । न कोही लोभिन्छन् । न कसैले स्याहारसुसार नै गर्छन्,’ गमलाको सुन्दर फूलले भन्दा नभन्दै अर्को फूलले दया गरेको स्वरमा भन्यो, ‘कुकुर आउँछन्, पिसाब फेरिदिन्छन् । बिराला आउँछन्, दिसा गरिदिन्छन् । चरा आउँछन्, बिस्टयाउँछन् । यस्तो सहेर पनि आखिर तिमीहरू किन फुल्छौ हँ ?’ 

घाँसे फूल मुसक्क हाँसे । ‘बगैँचाभित्र कोही जान सक्दैनन् । माली आउनेबितिक्कै चरा भाग्नुपर्ने हुन्छ । पुतली उड्नुपर्ने हुन्छ,’ हाँस्दै भने, ‘मेरो समीपमा कुकुर बिरालो आउन सकून् । मलाई टेक्दै चरा चिरबिराउन सकून् । पुतलीहरू मज्जाले मसँग रमाउन सकून् । बाख्रा, मुसा यति कि स्यालले पनि हामीलाई छुन सकून् । त्यही भएर त हामी चउरमा फुल्छौँ नि ।’

फूलहरूको कुराकानी हुँदाहुँदै बगैँचामा माली आइपुग्यो । मालीले फूलका लागि धेरै खानेकुरा र पानी ल्याएको थियो । गोडमेल गर्दै मालीले फूललाई खान दिन थाल्यो । बगैँचाका फूलले घाँसे फूलतिर हेरे । ‘हेर त हामीलाई कति सजिलो छ,’ आफ्नो हेरचाह गर्ने मान्छे देखाउँदै बगैँचा गुन्जने गरी फेरि हाँसे ।

‘हामीलाई माटोले हेरचाह गरिरहेकै छ नि । घामले भेदभाव गरेको छैन । हावाले लहराउन छोड्दैन । 

आकाशको पानीले हामीलाई नछोएको कहिले छैन । 

हामीलाई पनि सजिलै छ,’ घाँसे फूलहरू पनि हाँसे । उनीहरू पनि खाना र पानी जोहो गर्न लागे । आफ्ना लागि खाना बनाउन व्यस्त भए ।

त्यसै दिनदेखि बगैँचा र घाँसे फूलबीच कुरा भएन । किनकि बगैँचाका फूलहरू मालीको बाटो हेर्नैमा व्यस्त भए । मालीले साहुबाट तलब पाएन कि ? वा बिरामी भयो कि ? वा के कसो भयो कुन्नि ? तर ऊ आउँदै आएन । बगैँचाका फूलहरूलाई खुवाउने, पियाउने र हेरचाह गर्ने मान्छे नै आएन । उनीहरू धेरै निराश भए । खानापानीको अभावमा दुब्लाउन थाले । सुक्न थाले । थलिन थाले । कुहिन लागे । बगैँचा कुरूप देखिन लाग्यो तर अहँ माली आएन ।

‘ए बगैँचाका फूलहरू...!’ घाँसे फूलले धेरैपटक बोलाए । चिच्याएर आफूतिर हेर्न भने । तर अहँ, उनीहरू मालीको बाटो हेर्नैमा तल्लीन भए । ‘ए हावा, जाऊ न ती बगैँचाका फूललाई हामीतिर हेर्न भनिदेऊ,’ घाँसे फूलले भन्दा नभन्दै हावाले सुसेल्दै ‘हस्’ भन्यो । हावा जोडले बगैँचातिर गयो । लौ हेर त ! हावा चल्दा केही फूल भाँचिए । केही बोट ढले तर हावाले के भन्यो भन्यो ! उनीहरूलाई थाहै भएन । उनीहरू त, बास् मालीको बाटो हेर्दै रहे ।

हावा केही भन्दै सुसेल्दै थियो । हावासँग सबै फूल हल्लिँदै थिए तर आँखा र मन त मालीमै थियो । हावासँग हल्लिरहेकी सानी फूलले बल्ल घाँसे फूलले बोलाएको सुनी । उनले कान थापी । ‘ए नानी’ घाँसे फूलले भने, ‘तिमी मालीको बाटो हेर्न छोडिदेऊ । अब तिमी आफैं सक्षम हुनुपर्छ । तिम्रा जराहरू माटो भित्रभित्र, परपरसम्म गाड । त्यहाँ खानेकुरा र पानी पाइन्छन् । आफैंले खानेकुरा बटुल र खाऊ । भोलि तिमी अवश्य आफैँ फुल्नेछौ ।’ सानी फूल मुसुक्क हाँसी । 

भोलिपल्ट यताउताका थलिएका फूलहरूबीच सानी फूल मज्जाले फुल्दै थिई । हरियो पात हावामा हल्लाउँदै नाच्दै थिई । ‘कस्तो अचम्म !’ वरपरका फूलहरू छक्क परे । सानी फूलले घाँसे फूलका कुरा सुनाई । घाँसे फूलले पनि चिच्याएर आफ्ना कुरा भनिरहे ।

अब बगैँचाका फूलहरू मालीको बाटो हेर्न छोड्दै थिए । आफैँ खानेकुरा र पानी खोज्न कोसिस गर्दै थिए । यति कि गमलाका फूलहरू पनि गमला फुटाउँदै, आफ्ना जराहरू माटोतिर लम्काउँदै थिए । बगैँचा विस्तारै सुन्दर हुँदै थियो ।

आजै एउटी सानी नानी उफ्रँदै आइन् । बगैँचाका फूललाई हेरिन् । ‘हया ! ओइलाएका फूल ।’ भनेझैं नाक खुम्च्याइन् । अलिपर चउरका फूलनेर गइन् । एउटा फूल टिपेर कपालमा घुसारिन् । अनि रमाउँदै नाच्न लागिन् । यो देखेर बगैँचाका र घाँसे फूल दुवै मज्जाले हाँस्न लागे ।

 

प्रकाशित: फाल्गुन १, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार