कोसेली

कति छन् यो मुटुमा घाउ...

  • २०५२ फागनु १ गतेदेखि नेकपा माओवादीले थालेको सशस्त्र युद्ध १० वर्षसम्म चल्यो । यस क्रममा १६ हजारभन्दा बढीको ज्यान गयो भने कैयौं घाइते भए । आइतबार उक्त युद्ध थालनीको २१ वर्ष पुग्दै छ । शान्ति सम्झौता भएको दशक नाघिसक्दा पनि पीडितहरुले अझै न्याय पाइसकेका छैनन् । त्यस्तै १० पात्रको तस्बिर कथा :
- गगन थापा

माघ २९, २०७३-१ ‘उहाँको हत्या गर्नेलाई अहिलेसम्म कारबाही गरिएको छैन ।’

आफ्नो श्रीमान् कृष्ण सेन इच्छुकको हत्या भएको १५ वर्षपछि पनि तक्मा केसी विक्षिप्त छिन् । माओवादी समर्थित साप्ताहिक पत्रिका सम्पादक तथा पत्रकार इच्छुकलाई २०५९, जेठ ६ गते सुरक्षाकर्मीहरूले यातना दिएर हत्या गरेका थिए । उनको शव अहिलेसम्म पनि पाएकी छैनन् केसीले ।

२ ‘हामी उहाँलाई कसरी मारिएको थियो बिर्सन सक्दैनौं ।’

कैलालीमा भएको माओवादी–सेना भिडन्तको बीचमा परी ज्यान गुमाएकी ६५ वर्षीया मातादेवी ओझाले आफ्नो जीवनको अन्त्य त्यति दर्दनाक हुन्छ भनेर सायदै कल्पना गरेकी थिइन् । दुई पक्षको चेपुवामा सर्वसाधारण पनि कसरी परे भन्ने उदाहरण हुन् उनी । उनका छोरा देवेन्द्र ओझा (बायाँ) भिडन्तपछि आफ्नो आमाको बीभत्स शव देखेर मर्माहत भएका थिए । उनलाई धेरैवटा गोली लागेको थियो । उनले आमाको शोक मनाउन पनि धेरै समय पाएनन्, किनकि त्यति बेला उनको छोरा लोकराज ओझा (दायाँ) सानै थिए । 

३‘उहाँको केही गल्ती थिएन, तैपनि उनीहरूले लगे ।’

नीलप्रसाद योगीलाई २०५९, वैशाख ४ गते तत्कालीन शाही नेपाली सेनाले बर्दियाबाट पक्राउ गरेर बेपत्ता बनाएको थियो । योगीका दुई श्रीमतीहरू मनोत्री योगी (बायाँ) र नीता योगी (दायाँ) अहिलेसम्म पनि श्रीमान् हराउनुको पीडाबाट मुक्त हुन सकेका छैनन् । उनीहरू आफ्नो श्रीमान्को वास्तविकता थाहा पाउन पर्खिरहेका छन् ।

४  ‘म तबसम्म खान्न, जबसम्म उनीहरूले मेरो छोरोलाई के गरे बताउँदैनन् ।’

द्वन्द्वकालमा मारिएका कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया आफ्नो छोराको न्यायका लागि निरन्तर लडिरहेकी छन् । उनी र उनका श्रीमान् नन्दप्रसादले न्यायका लागि सँगै आमरण अनशन सुरु गरेका थिए । दु:खको कुरा, नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा ३३४ औं दिन २०७१, असार २५ गते निधन भएको थियो ।

५ ‘मैले हात र आँखा गुमाएँ, धन्न ज्यान बाँच्यो ।’

शशीबहादुर आलेमगर (कमरेड ज्योति) हालसम्म पनि माओवादी सदस्य हुन् । माओवादीले अछामको मंगलसेनमा २०५८, फागुन ४ गते राति आक्रमण गर्दा उनी माओवादीका छापामार सैनिकका रूपमा त्यसमा सहभागी थिए । उक्त भिडन्तमा परी घाइते भएका कमरेड ज्योति हाल अपांगताका बाबजुद मजदुरी गर्छन् । उनी सुकुम्बासी वस्तीमा बसोबास गर्छन् ।

 

 

 

 

 

 ६ ‘मलाई हेर्नुस्, म कति प्रतिशत अपांग छु, ५० कि ५१ ?’

मणिराम अधिकारी नेपाली सेनाका जवान हुन् । सिन्धुलीमा गस्ती गरिरहेको बेला २०६२, असार १५ गते बारुदी सुरुङमा परेर उनले आफ्नो हात र आँखा गुमाए । अहिले उनी सैनिक ब्यारेकमै बस्छन् । अपांग भएसँगै उनको जीवन कष्टकर बनेको छ । सरकारले पनि उनलाई उपेक्षा गरेको छ । सरकारी नीतिअनुसार उनी ५० प्रतिशत अपांगको तहमा मात्र पर्छन् । ५१ प्रतिशत अपांगताको सूचीमा परेका भए उनको आश्रित परिवारलाई थप केही राहत मिल्थ्यो र छोराछोरीले छात्रवृत्तिमा पढ्न पाउँथे । माओवादीविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा समेत उजुरी दिएका उनी आफूले न्याय पाउनेमा आशावादी छन् ।

७ ‘मैले पाएका यी तक्मा फिर्ता दिएर मेरो खुट्टा आउँछ ?’

काठमाडौंबाट सेनाको ट्रकमा सवार भएर कतै गइरहेको बेला नेपाली सेनाका जवान हिमाल अर्याल चढेको गाडी बारुदी सुरुङमा परेको थियो । विस्फोटबाट त उनी जोगिए तर उनको तल्लो भाग नचल्ने भयो । उनी हाल सेनाले नै उपलब्ध गराएको आवासमा बस्छन् र सेनाले उनलाई सहयोगी पनि दिएको छ । उनी हाल अपांगता भएकाहरूको नेपाली राष्ट्रिय बास्केटबल टिमको कप्तान छन् ।

८‘मेरी छोरीको हत्या हुँदा म धेरै रोएँ । अहिले पनि आँसु थामिएका छैनन् ।’

देवी सुनुवारको १५ वर्षीया छोरी मैना सुनुवारलाई सुरक्षाकर्मीहरूले पक्राउ गरी यातना दिएर हत्या गरेका थिए । सेनाले आन्तरिक छानबिनपश्चात् मैनालाई यातना दिएर मारिएको निष्कर्ष निकाल्दै तीन जनालाई छ महिनाको कैद सजाय सुनाएको थियो । देवी सुनुवार सेनाको उक्त आन्तरिक छानबिनविरुद्ध अहिले पनि संघर्षरत छिन् । आफ्नो छोरीको हत्यारालाई कानुनी कठघरामा नउभ्याएसम्म अन्तिम संस्कर नगर्ने अडानमा छिन् । मैनाको शव हालसम्म पनि त्रिवि शिक्षण अस्पतालको शवगृहमा छ ।

 

९  ‘मलाई अहिले पनि दुस्वप्नले सताउँछ ।’

माओवादी समर्थक भएको आरोपमा कपिलवस्तुको गोरुसिंगेबाट सेनाले नियन्त्रणमा लिएर जनक राउतलाई निकै यातना दियो । उनी सेनाको ब्यारेकबाट सकुशल निस्कन त सफल भए तर त्यहाँभित्र रहँदा पाएको यातनालाई अहिलेसम्म पनि भुल्न सकेका छैनन् । उनकै उजुरीको आधारमा कुमार लामालाई बेलायतमा पक्राउ गरी मुद्दा समेत दायर गरिएको थियो । तीन वर्षपछि यथेष्ठ प्रमाण नभएको आधारमा लामा रिहा भएका थिए ।

१०‘मेरो फोटो नफाल्नुहोस्, म चाहन्छु दुनियाँले देखून्– मलाई के गरिएको थियो ।’

चितवनको बाँदरमुडेमा २०६२, असार २२ गते एक हरिकला राई यात्रारत बस बारुदी सुरुङमा पर्‍यो । घटनामा ३८ जनाको ज्यान गयो भने, राईसहित ७० जना घाइते भएका थिए ।

 

 

 

 

प्रकाशित: माघ २९, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार