कोसेली

नौटंकीलाई जीवन

- जितेन्द्र साह

माघ २९, २०७३- न कुनै नाटकघर । न त कतै स्थायी मञ्च । न कुनै ठूलो आयोजना । न त कुनै विशिष्ट साहित्यिक हस्ती वा वरिष्ठ कलाकारको उपस्थिति । न कुनै पत्रकारलाई निम्ता । हेर्न टिकट पनि किन्नु नपर्ने । मन लागेको खाली ठाउँमा बोरा वा गुन्द्री वा तन्ना ओछयाएर बसे हुने ।

स्थानीय कलाकार एवं दर्शकको जमघटसँगै नौटंकी सुरु हुन्छ । अग्लाअग्ला बाँसमा झुन्डयाइएका लाउडस्पिकर मार्फत सबैतिर गीत, संगीत एवं संवाद गुन्जिन थाल्छ । हेर्न जान फुर्सद नपाएकाहरू घरमै सपरिवार बसीबसी कलाकारले ठूलठूलो स्वरमा बोलेको सुनेर आनन्द लिन्छन् । 
मुख्य चाडबाडमा बर्सेनि मोरङको रंगेली र वरिपरि नौटंकी मञ्चन हुन्छ । नेपालबाहेक पाकिस्तान एवं उत्तर भारतमा गरिने यो एक खाले नाटक शैली र लोकप्रिय लोकनृत्य हो । उल्लेखीय के छ भने यहाँको नाटय मञ्चमा नाम चलेका ठूल–ठूला रंगकर्मीले नभएर स्थानीय कृषक, श्रमिक एवं व्यवसायीले भूमिका निभाउँछन् ।

नौटंकीको इतिहास
आफ्नो थलोको पहिचान एवं इतिहाससँग जोडिएको पुरानो संस्कृति ‘नौटंकी’ कलालाई लोप हुन नदिन स्थानीयबासी स्वतस्फूर्त रूपमा लागेका हुन् । मोरङको रंगेली कुनै बेला नौटंकीका लागि भारतसम्म चिनिन्थ्यो । यो नगरकै नामअनुरूप रसरंगका सोखिन केही स्थानीयले इतिहासको विभिन्न कालखण्डमा नौटंकी खेल्ने समूहै गठन गरेका थिए ।
मोरङको दक्षिण भेकमा पर्ने यो नगरका प्रसिद्ध एवं कुशल कलाकारहरू विहारको अररिया र पूर्णिया जिल्लासम्म पुग्थे । नाटक र हास्यव्यंग्य प्रस्तुत गर्थे । अहिले पनि पूर्वेली भेकमा यहाँका स्वर्गीय रामजी साह, महादेव साह, सत्यनारायण साह, उगनलाल साह, रविदत्त शर्मा, चथुवा दमाई, जनक ठाकुर र मुक्तिनाथ दाहालको नाम अग्रज रंगकर्मीको रूपमा लिने गरिन्छ । 
नौटंकी गर्ने सोखका कारणले रामजी र महादेव मित्रबाट सम्धी नै बनेको स्थानीय सुनाउँछन् । रंगकर्मी महादेवले आफ्ना दुई छोरीलाई सहकर्मी रामजीको घरका बुहारी बनाए । उनीहरू मुख्यत: किसान एवं व्यापारी थिए । खेती र व्यापारको सिजन नभएको बेला उनीहरू नौटंकी गर्थे । यी दुई सम्धीले ‘सुल्ताना डाकु’ नौटंकीमा गरेको सशक्त भूमिकाको अहिलेसम्म चर्चा हुन्छ । यो भारतको उत्तरप्रदेशको बिजनौर जिल्लाका एक डाकुको जीवनमा आधारित नाटक हो । 
ती चर्चित रंगकर्मीका परिवारका कोही पनि पछि नौटंकीतिर लागेनन् । उनीहरूका दोस्रो र तेस्रो पुस्ता खेतीकर्म, जागिर एवं व्यवसायमा व्यस्त भए । ‘नौटंकी गर्नेलाई यहाँ हेयको वा संकीर्ण दृष्टिकोणले हेरिने हुनाले हामी यसतिर लागेनौं,’ यातायात व्यवसायी ५५ वर्षे जगन्नाथ साह भन्छन् । उनी रंगकर्मी स्वर्गीय महादेव साहका साहिंलो छोरा हुन् । ‘बुबाले छाडेर जानुभएको नौटंकीका सामग्रीमध्ये एउटा हार्मोनियम र ढोलक घरमा थन्केका छन्,’ उनी भन्छन्, ‘थुप्रै बाजागाजा अन्य नौटंकी गर्नेहरूलाई बाँडयौं ।’ आफूले भने स्थानीय स्तरमा यो कलालाई सकेसम्म प्रोत्साहन गरेको उनी बताउँछन् । ‘बुबाजस्तै नौटंकीमा अभिनयचाहिं कहिले गरिनँ, तर यस्ताखाले आयोजन हुँदा सधैंँ अगाडि बढेर सहयोग गर्छु,’ साह भन्छन् । साह परिवारको कान्छो छोरा राजेशको शयनकक्षाको एक कुनामा जतनका साथ ती हार्मोनियम र ढोलक राखिएको छ । बुबाको अन्तिम चिनोको रूपमा रहेको ती सामग्रीको उनलाई निकै माया छ । 
खेती, व्यापार र जागिरका कारणले आफू एवं छोरानातिले यतातिर समय दिन नसकेको यस भेकका अर्का चर्चित रंगकर्मी स्वर्गीय रामजीका छोरा ७४ वर्षीय श्यामसुन्दर बताउँछन् । उनको घरमा उही बेलाको काठको बाकसमा अझै पनि नौटंकीमा प्रयोग हुने टुटेफुटेका तलबार, ढाल, कवच र नक्कली बन्दुक भेटिन्छन् । ‘बच्चाबुच्चीले कहिलेकाहीं निकालेर खेल्छन्,’ उक्त परिवारकी जेठी बुहारी रानी भन्छिन् । रामजीका साहिंलो नाति ३८ वर्षे कृष्णलाई पनि गायनमा सोख थियो तर पारिवारिक जिम्मेवारीका कारणले किराना सामग्रीका व्यापारी बने । ‘आर्थिक संघर्षमै जीवन बितिरहेकाले मैले गीत गाउने इच्छा मारेँ,’ उनी भन्छन्, ‘अन्य दाजुभाइको कथा व्यथा मजस्तै छ, एका बिहानदेखि रातिसम्म बाँच्नैका लागि धपेडी ।’

आरोह–अवरोह 
२०३२ देखि २०४६ सालसम्मै नौटंकी मञ्चन उत्कर्षमा रहेको स्थानीय ५२ वर्षे दिलीप मण्डल बताउँछन् । पेसाले मिठाई कालीगढ उनी अहिले यसको संरक्षणमा जुटेका छन् । उनी यहाँ मञ्चन हुने हरेक नौटंकीको सुरुआतमा भगवान् शंकरको रूपमा प्रस्तुत हुन्छन् ।
पुराना रंगकर्मीको निधन हुनु, मनोरञ्जन जगत्मा नयाँ माध्यम एवं प्रविधिको प्रवेश, देशको राजनीतिक अवस्था खराब हुनु र यहाँ पर्याप्त अवसर नहुनु नौटंकी कला बिलाउने मुख्य कारण भएको मण्डल बताउँछन् । रोजगारका लागि स्थानीय युवा दिल्ली, पन्जाब र खाडी मुलुक जान थालेपछि बीचको झन्डै डेढ दशकसम्म यहाँबाट नौटंकी हराएको उनी सुनाउँछन् । मण्डलका अनुसार यसपछि भारतको विहार र उत्तरप्रदेशका नौटंकी टोली एवं कलाकारले यहाँ वर्चस्व जमाउन थाले ।

यसरी जुटे संरक्षणमा 
स्थानीय नौटंकी कलालाई इतिहासको पानामा विलीन हुन नदिन २०६२ मा मण्डलले स्थानीय ५२ वर्षीय रामबाबु यादवसँग मिलेर यस दिशामा अघि बढ्ने निधो गरे । दुवै मिलेर झन्डै १ लाख रुपैयाँ खर्चेर नौटंकीका लागि चाहिने ढोलक, नाल, माइक, हार्मोनियम, झाल, कडताल (झयाली) पर्दा र पोसाकलगायतका सामग्री किने । 
यादवको सभापतित्वमा झन्डै ३५ सदस्य सहभागी एक नाटक टोली बन्यो । टोलीमा सम्मिलित सबै कृषक, ज्यालादारी मजदुर र सामान्य व्यवसायी हुन् । यो टोलीका सदस्यहरूलाई प्रतिभाअनुरूप लेखक, निर्देशक, प्रबन्धक र कलाकारको जिम्मेवारी दिइएको छ । ‘झन्डै एक दशकदेखि हामीले फेरि नाटक देखाइरहेका छौं,’ रामबाबु भन्छन्, ‘दैनिक काम र पेसाबाट समय निकालेर वर्षमा १० पटक जति प्रस्तुति दिन्छौं ।’
उनीहरूले पारिवारिक, सामाजिक, धार्मिक र ऐतिहासिक विषयवस्तुमा आधारित ‘कृष्णलीला’, ‘रामलीला,’ ‘राजा हरिश्चन्द्र’, ‘राजा नल’, ‘दमाद बध,’ ‘सुरमा,’ ‘कंस बध,’ ‘विद्यापति’ र ‘आल्हा–ऊदल’ लगायतका नौटंकीहरू खेल्छन् । उनीहरूले रंगेलीमा मात्रै वार्षिक ४/५ पटक नौटंकी गर्छन् । ‘दशमी र छठको बेला त रंगेलीमै गर्छौं,’ रामबाबु भन्छन्, ‘माग भएमा वा बोलाहट आएमा अरू बेला मोरङ र झापाका विभिन्न भागमा पुग्छौं ।’ यतातिर मध्यभारतको बुन्देलखण्डका दुई वीर भाइको कथामा आधारित ‘आल्हा–ऊदल’ निकै लोकप्रिय रहेको उनी जानकारी दिन्छन् । 
एउटा नाटक मञ्चन गर्दा कलाकारको पारिश्रमिक र खाना खर्चसहित झन्डै २५ हजार रुपैयाँ लाग्ने मण्डल बताउँछन् । ‘बढीजसो राति हुने यस्तो नौटंकीमा एक कलाकारलाई हजार रुपैयाँसम्म ज्याला दिन्छौं,’ उनी भन्छन् । सबै जना आ–आफ्नो दैनिकीमा व्यस्त रहने हुनाले केही दिनअगावै सूचना दिएर नौटंकीका लागि तयार रहन भनिन्छ । सार्वजनिक थलोमा नौटंकी गर्दा दर्शकले खुसी भएर दिने रकम मात्र उनीहरूको आयको माध्यम हुन्छ । योबाहेक तय पारिश्रमिक लिएर उनीहरू विभिन्न व्यक्तिको आँगन, चौर, खेत र घरको मूलद्वारमा समेत नौटंकी देखाउँछन् । ‘कलाकारलाई पारिश्रमिक दिएपछि बचेको रकमले नौटंकीका लागि चाहिने सामग्री थप्छौं,’ यादव भन्छन्, ‘अहिलेसम्म डेढ लाख रुपैयाँ जतिको सामान भेला पारेका छौं ।’ 
यहाँको माटोसँग जोडिएको नौटंकी कलाको संरक्षण एवं उत्थानका लागि उनीहरूलाई सरकार, स्थानीय निकाय वा गैरसरकारी संस्थाबाट कुनै सहयोग प्राप्त हुन्न । तैपनि उनीहरू दु:खी छैनन् । ‘नौटंकी हुन लागेको सुन्दा कुनै पर्व आएजस्तो लाग्छ,’ ४५ वर्षे हरि मण्डल भन्छन् । पेसाले चापाकल (टयुबवेल) गाड्ने उनी नाटक टोलीका सहयोगी हुन् ।

मुख्य समस्या के त ? 
अझै आधुनिक परिवेशअनुरूपको नाटय सामग्री, मञ्चनका लागि चाहिने स्थायी भवन, सार्वजनिक थलो र कलाकार अभाव रहेको दिलीप मण्डल बताउँछन् । ‘पुराना पिँढीका धेरैजसो कुशल कलाकारको निधन भइसकेको छ, कतैबाट मनोबल उकास्ने कार्य नभएकाले नयाँ पुस्ताको नौटंकीमा रुचि नलिंदा कलाकारको अभाव छ,’ उनी भन्छन्, ‘कहिलेकाहीं केही भूमिकाका लागि भारतीय कलाकार ल्याउनुपर्छ ।’
सरकार र स्थानीय निकायबाट सहयोग एवं सुविधा पाएमा नौटंकी क्षेत्रलाई पेसा बनाएर अघि बढ्न सक्ने उक्त टोलीका हार्मोनियमवादक ३८ वर्षे दुर्गानन्द यादव बताउँछन् । जीवन निर्वाहका लागि खेतीपाती गर्नुका साथै उनी एक ब्यान्ड पार्टी पनि चलाउँछन् । ‘प्रोत्साहन पाउनुपर्‍यो, सके जति संघर्ष गर्न तयार छौं,’ दुर्गानन्द भन्छन् । 
धेरै वर्षसम्म स्थानीय रंगमञ्चमा कलाकारको रूपमा सक्रिय ६३ वर्षीय कृपाल सिंहले यहाँ २०२२ सालसम्मको अवधि नौंटकीका लागि स्वर्णियकालको रूपमा रहेको बताउँछन् । ‘नयाँ पुस्तामा रुचि भए पनि कतैबाट मनोबल पाएनन्, त्यसपछि बिस्तारै हरायो,’ उनी भन्छन् । चन्दा संकलन गरेर पनि नौटंकी कलालाई जोगाउने प्रयास भए पनि नसकेको उनी बताउँछन् । पहिलेको तुलनामा प्रदर्शन वार्षिक एक चौथाइमा सीमित भएको सिंह बताउँछन् । 
उनका अनुसार यतातिरबाट ध्यान हराउँदै गएर स्थानीय कलाकारहरू भजन/कीर्तनतिर लागे । सिंहले आफैं १५ वर्षअगाडि नौटंकी छाडेर कीर्तन मण्डलीमा लागेको बताउँछन् । उनी नौटंकी संरक्षणमा लागेका अन्य मित्रहरूलाई सघाइरहेका छन् । सिंहले आफूसँग भएको ढोलक र हार्मोनियम नयाँ टोलीलाई दिएको बताउँछन् । 
सिंहका अनुसार नामका लागि मात्र भए पनि स्थानीय रंगकर्मीहरूले २५ हजार रुपैयाँ पारिश्रमिकमा पाँच रातसम्म नौटंकी देखाउँछन् । ‘आफ्नो घर, आँगन वा खेतमा नाटक मञ्चन गराउनेले यो रकम दिन्छन्,’ सिंह भन्छन् । गरिबीले गर्दा आफूहरू यस क्षेत्रमा व्यवस्थित रूपमा अघि बढ्न नसकेको उनी बताउँछन् । स्थायी नाटकघर बनेमा मात्र यो कला स्थिर र संगठित रूपमा अघि बढ्न सक्ने सिंह बताउँछन् । ‘आर्थिक अभावमा नाटकघर बन्न सकेन,’ उनी भन्छन्, ‘लगानी चाहियो, पैसा छैन, काम गरेर परिवार पनि पाल्नुपर्ने भएकाले सबैसँग समय अभाव छ ।’ स्थानीय लोकनर्तक विद्यानन्द मण्डलले बाटो देखाउनेको कमी महसुस गरेको बताउँछन् । ‘हामीसँग पर्याप्त ऊर्जा छ, श्रम गर्न र प्रतिभा पस्किन तयार छौं,’ उनी भन्छन्, ‘तर, सरकार, गैरसरकारी संस्था र यस विधाका विज्ञ एव नौटंकीलाई माया गर्नेहरूले हातेमालो गरिदिनुपर्‍यो ।’ 

प्रकाशित: माघ २९, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार