हेलो शुक्रबार

इनोभेसन पछाडिका स्टोरी

  • आविष्कारका लागि भित्री इच्छा, जाँगर र निरन्तर प्रयास चाहिन्छ । कसैको हौसलाले यसमा थप इनर्जीको काम गर्छ । हालै राजधानीमा भेला भएका देशका नव वैज्ञानिकहरुको केही कथा रोचक छ ।
- विष्णु पोखरेल
साइन्स टिचरको त्यही इन्सपाइरेसनले राजनको इनोभेटिभ जर्नी ट्रिगर भयो । आखिर उनलाई ट्रिगर दबाउनु न थियो, एक्सिलेटर त पहिलेदेखि हर्ट एन्ड माइन्डमा छँदै थियो ।

माघ २१, २०७३-उनी अरूले फ्याँकेका ब्याट्री र तार बटुल्थे । कबाडीमा बेचिने टिन–फलामका टुक्रा जम्मा पार्थे । तिनलाई साना र सग्ला काठमा खोपेर प्वालमा जोडी बिजुली बाल्थे । कहिले बाँसका भाटालाई मसिना तारले बेरेर ‘इन्डस्ट्रियल इक्युपमेन्ट’ को ‘सेप’ दिन्थे । धेरैले भन्थे– ‘यो बेकामे भयो, घाँसको भारी बोक्न छाडेर भाँडाकुटी खेली हिँड्छ ।’ अरूले ‘बिग्रिएको केटो’ बनाएपछि पर्वत भोक्सिङका राजन गुरुङलाई आफ्नै कामदेखि ‘रिग्रेट’ फिल हुन्थ्यो । 

महेन्द्रोदय माविमा पढ्ने गुरुङ ‘सेभेन क्लास’ मा पुगेपछि स्कुलमा नयाँ ‘साइन्स टिचर’ शिव ढकाल आए । ‘साइन्स ग्य्राजुएट’ शिव ‘योङ एन्ड इनर्जेटिक’ थिए । ‘स्टुडेन्ट’ लाई ‘थ्योरी’ भन्दा ‘प्राक्टिकल’ मा घोटाउँथे । ‘डु समथिङ न्यु’ भनेर जेम्स वाट, न्युटनदेखि आइन्सटाइनका किस्सा सुनाउँथे । 

‘भोलि सबैले सोलार सिस्टम बनाएर ल्याउनु’ भन्दै एक दिन ढकालले ‘होमवर्क’ दिए । ‘क्लास’ का सबैले ‘ब्ल्याङ्क पेपर’ मा पेन्सिलले ‘सोलार सिस्टम’ को ‘स्केच’ कोरेर ल्याए । ती सबै बीच राजन गुरुङचाहिँ समथिङ डिफेरन्ट देखिए । उनले काठ, बाँस, तार, टिन र रेडियोमा प्रयोग हुने ‘मोटर’ जोडेर ‘लाइभ सोलार सिस्टम’ बनाएका थिए । 

राजनको आर्ट र इनोभेसन देखेपछि ढकालले गुरुङलाई यस्तरी हौस्याए, जुन उनले कहिल्यै पाएका थिएनन् । साइन्स टिचरको त्यही इन्सपाइरेसनले राजनको इनोभेटिभ जर्नी ट्रिगर भयो । आखिर उनलाई ट्रिगर दबाउनु न थियो, एक्सिलेटर त पहिलेदेखि हर्ट एन्ड माइन्डमा छँदै थियो । 

‘शिव सरले त्यस दिन मलाई हौसला नदिनु भएको भए, सायद म अरू केही पनि गर्ने थिइनँ,’ राजन भन्छन्, ‘उहाँले मलाई हौसला मात्र दिनु भएन, हेल्प पनि गर्नुभयो, त्यसले अरू चीज बनाउन मोटिभेट गर्‍यो ।’ १९ वर्षीय राजनले काठ, बाँस, निगालोलगायतका ‘लोकल’ सामानलाई प्रयोग गरेर विभिन्न खाले ‘इक्युपमेन्ट’ बनाइसकेका छन् । उनले बनाएका ‘इक्युपमेन्ट’ ‘डमी’ मात्र होइनन्, चलाउन मिल्छन् । तिनलाई ठूलो ‘सेप’ मा निर्माण गर्न सकिने सम्भावना राजनले देखाइसकेका छन् । ‘चाहिनेजति खर्चको व्यवस्था गरिदिने मान्छे भए, धेरै कुरा बनाउन सक्छु, चलाएर पनि देखाएकै छु,’ उनी भन्छन् । 

ढकालको ‘हेल्प’ पछि बनाएका कुरा देखाउन लजाउने राजनले स्कुलमा ल्याएर ‘टिचर’ लाई देखाउन थाले । सुरुमा ‘ह्यान्ड जेनेरेटर’ बनाए । त्यसमा ‘इनर्जी’ ‘प्रोडक्सन’ मात्र भएन, बिजुली नै बल्यो । गुरुङको ‘इनोभेसन’ देखेपछि ‘टिचर’ हरूले उनले बनाएका सबै ‘इक्युपमेन्ट’ को प्रदर्शनी गर्ने व्यवस्था मिलाइदिए । प्रदर्शनीबाट आएको करिब ५० हजार रुपैयाँले थप ‘इक्युपमेन्ट’ बनाउन सहयोग पुग्यो ।

तीन वर्षअघि तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादव पर्वत पुगेका बेला गुरुङको ‘इनोभेसन’ हेरिन् । एसएलसी सकेपछि काठमाडौं आए ‘फर्दर स्टडी’ का लागि सहयोग गर्ने आश्वासन दिइन् । एसएसली गरेपछि गुरुङ काठमाडौं त आए तर सरकारी सहयोग पाउन सकेनन् । उनले फस्ट डिभिजन नल्याएकाले ‘साइन्स’ पढ्न पाउने भएनन् । ‘साइन्स’ नै पढ्न नपाएपछि ‘स्कलरसिप’ पाउने कुरै भएन । 

सरकारी सहयोग नपाए पनि गुरुङले आफ्नो ‘इनोभेसन’ लाई जारी राखे । पोखरा आएर दिदीसँग बस्न थाले । ‘लोकल’ चीज खोजेर त्यसमा पुराना रेडियो, टीभी, डीभीडी प्लेयरलगायतका पार्टपुर्जा जोडी थप नयाँ कुरा बनाउन थाले । गुरुङको ‘इनोभेसन’ बारे चर्चा हुन थाल्यो । ‘फ्यामेली’ को आर्थिक अवस्थाले ‘फर्दर स्टडी’ रोकिएको कुरा बाहिर आयो । त्यसपछि पोखरा इन्जिनियरिङ कलेजले उनलाई ‘फुल स्कलरसिप’ दिने निर्णय गर्‍यो । राजन अहिले त्यही इन्जिनियरिङ डिप्लोमा गर्दैछन् । 

गुरुङले ‘इनोभेसन’ लाई ‘कन्टिन्यु’ गर्दै ‘सेन्सर’ ले चल्ने तोप र ‘ड्रोन’ बनाएका छन् । उनले लाठीचार्ज गर्ने र होटलमा ‘टी सर्भ’ गर्ने रोबोट पनि बनाइसकेका छन् । यसै साता सकिएको ‘क्यान इन्फोटेक’ मा सहभागी हुन आइपुगेका गुरुङले सेन्सरबाट ‘ड्रोन’ उडाएर र तोप पड्काएर धेरैलाई चकित पारेका थिए । उनले त्यहाँ होटलमा ‘टी सर्भ’ गर्ने रोबोटलाई पनि काम गराएर देखाए । केही नयाँ कुरा बनाउन खोज्ने राजनले रिमोटबाट चल्ने ‘ड्रोन’ को साटो ‘सेन्सर’ ले चल्ने बनाएका हुन् । 

‘यो ड्रोनमा औषधि राखेर दुर्गममा पठाउन सकिन्छ, हातको सेन्सरले कन्ट्रोल हुने हुँदा सजिलो पनि छ,’ उनले भने, ‘यसका लागि फ्रिक्वेन्सी आवश्यक पर्छ, फ्रिक्वेन्सीका लागि सरकारसँग अनुमति लिनुपर्ने रहेछ, अनुमति लिएर यसलाई औषधि पठाउने काममा प्रयोग गर्न सकिन्छ ।’ गुरुङलाई ‘क्यान इन्फोटेक’ सम्म ल्याउन र ‘इनोभेसन’ का लागि सहयोग गर्ने ‘काइचो स्मार्ट स्कुल’ का सुमन पौडेल पनि यो ‘ड्रोन’ लाई ‘हुमेनिटेरियन’ ‘वर्क’ मा लाउन सकिने बताउँछन् । ‘ब्याड वेदरमा पनि ड्रोनलाई पठाउन सकिने भएकाले हुमेनिटेरियन वर्क’ मा लगाउन सकिन्छ,’ उनले भने, ‘यो ४ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीमा चल्न सक्छ ।’

जसरी ‘टिचर’ को ‘इन्सपाइरेसन’ ले राजनलाई ‘ट्रिगरिङ फ्याक्टर’ को काम गर्‍यो त्यसैगरी स्याङ्जाका कृष्ण तिमिल्सिना, चितवनका प्रयास रिमाल र हेटांैडाका सुमित ढकाललाई भने गत वर्षको ‘ब्लकेड’ ले ‘ट्रिगरिङ’ को काम गर्न पुग्यो । तीनै जना इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा मेकानिकल इन्जिनियरिङका ‘स्टुडेन्ट’ अनि ‘कार रेसिङ’ का पारखी । पढ्ने बाहेकको समय युट्युबमा ‘कार रेसिङ’ हेरेर बित्थ्यो । 

‘फाइनल सेमेस्टर’ नजिकिँदै जाँदा तिनलाई ‘प्रोजेक्ट’ को चिन्ताले सताइरहेको थियो । एक दिन युट्युबमा ‘कार रेसिङ’ को भिडियो खोज्दा उनीहरूले भेटे– ‘सोलार कार रेसिङ’ प्रतियोगिता । नेपालको संविधानमा असहमति जनाउँदै भारतले ‘ब्लकेट’ लगाएको बेला थियो । ‘सोलार कार रेसिङ’ ले तिनको दिमागमा पनि ‘सोलार कार’ बनाउने भूत चढाइदियो । ‘त्यसपछि हामी तीन जनाले सल्लाह गरेर सोलार कार बनाउने प्रपोजल तयार पार्‍यौं,’ तिमिल्सिना भन्छन्, ‘क्याम्पसमा गएर भोलिपल्ट हाम्रो प्रोजेक्टमा ज्वाइन गर्न चाहने साथीहरूलाई पनि समेटेर ८ जनाको ग्रुप बनायांै ।’ उनीहरूको समूहमा थपिए– पोखराकै सौगात कोइराला, नवलपरासीका राजन खनाल, बर्दियाका सागर अधिकारी, दोलखाका दीपक कार्की र मोरङका खगेन्द्र कार्की ।

स्वदेशमै कार त्यो पनि सोलारबाट चल्ने । ‘इन्जिनियर’ हरूले ‘इम्याजिनेसन’ त गरे तर ‘इन्जिन’ बनाउने कसरी ? अनि कारको नमुना बनाएर मात्र भएन गुड्नु पनि पर्‍यो । धेरैले उनीहरूलाई ‘डिस्करेज’ नै गरे । क्याम्पसका कतिपय प्राध्यापकहरूले समेत ‘यत्रो ठूलो प्रोजेक्ट आँटेर सक्सेस हुँदैनौ, सानो केही गर’ भन्ने ‘सजेसन’ दिए । ‘हामी अरूका कुरा सुनेर ‘डिस–मोटिभेटेड’ भएनौं,’ तिमिल्सिना भन्छन्, ‘नत्र त सक्सेस हुने चान्स नै थिएन ।’

आठ युवाको त्यो समूहले आखिर सोलारबाट चल्ने कार बनाएरै छाड्यो । भलै त्यसका लागि एक वर्षको मेहनत लाग्यो । उनीहरूले पुरानो गाडीको स्टेयरिङ खोजेर ल्याए । त्यसलाई धेरै मेहनत गरेर घोटीघोटी मिलाउने काम गरे । रक्सौल पुगेर डिफ्रेन्सियल र मोटर खरिद गरे । अनि तीनलाई जोडेर इन्जिन बनाउन सफल भए । टिन, फलाम र सिसाको साटो बाक्लो प्लास्टिक लगाएर कार तयार पारे । 

गत भदौमा उनीहरूले तयार पारेको कार गुड्यो आफ्नै क्याम्पस परिसरमा, त्यसपछि पोखरा सहरमा । नेपालीले बनाएको कार सहरमा गुडेपछि त्यसलाई हेर्नेको घुइँचो लाग्यो । उनीहरूले पोखरा उकालो मानिने नदिपुर हाइटमा पनि कार उकाले । ‘हामीले पोखरामा गुडाउँदा उकालो पनि चढेकाले नेपालको भूगोललाई पनि सुहाउने गरि कार बनाउन सकिँदोरहेछ भन्ने भएको छ,’ कार निर्माता समूहकै रिमालले भने । 

घाम र बिजुली दुवैबाट चार्ज गर्न मिल्ने ब्याट्री यसमा प्रयोग गरिएकाले उनीहरूले यो कारलाई नाम दिएका छन्– ‘सोलार हाइब्रिड’ । अहिले टोयोटा, होन्डालगायतका कम्पनीहरूले पेट्रोल वा डिजेलबाट चल्ने हाइब्रिड कार बनाइसकेका छन् । ती कारलाई ब्याट्री वा पेट्रोल–डिजेलबाट चलाउन सकिन्छ । तिनै कार जसरी दुईखाले ‘इनर्जी’ बाट चलाउन सकिने भएकाले उनीहरूले यो कारलाई पनि ‘सोलार हाइब्रिड’ भनेका हुन् । 

एक सय ९० वाटका दुईवटा सोलार प्यानल राख्न मिल्ने यो कारमा २४ भोल्टको ब्याट्री जोड्नुपर्छ । अहिले उनीहरूले १२–१२ भोल्टका दुईवटा ब्याट्री जोड्ने सिस्टम बनाएका छन् । करिब २ लाख खर्च गरेर बनाएको कारमा चार जना बस्न मिल्छ । एकपटक चार्ज गरेपछि करिब १ सय ५० किलोमिटर गुडाउन सकिने यो कार नेपालका लागि ‘सुइटेबल’ बताउँछन् रिमाल । ‘यो कार हामीलाई एकदमै ठीक हुन्छ, सिटी ड्राइभका लाग त सबैभन्दा राम्रो,’ उनले भने, ‘५ लाखसम्ममा नेपालमै बनाउन सकिन्छ ।’ लगानीकर्ता भेटे आफूहरू अझै ‘मोडिफाई’ गरेर स्वदेशमै सस्तोमा कार उत्पादनका गर्न सक्ने उनीहरू बताउछन् । 

पर्वतका गुरुङ र पोखराका युवाको ‘इनोभेटिभ ब्रेन’ लाई ‘क्लिक’ गरेर जागरुक बनाए–दुई फरक ‘इन्सिडेन्ट’ले । कतै तपाईंको ‘ब्रेन’ ले पनि ‘इनोभेसन’ का लागि ‘ट्रिगरिङ फ्याक्टर’ त खोजिरहेको छैन ? 

प्रकाशित: माघ २१, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार