समाचार

मेचीपारिका बासिन्दा सोध्छन्- ‘देश छ तर खोइ सरकार ?’

- पर्वत पोर्तेल, महेशपुर (झापा)

पुस २७, २०७३-मेचीमा पुल नभएकैले हरेक वर्षामा महेशपुर र ज्यामिरगढीका करिब तीन सय परिवार गाउँमै थुनिन्छन्, स्कुल बन्द हुन्छ 

०००

‘भोट माग्ने बेला विकासको बाढी ल्याइदिन्छौं भन्छन् । विकासको होइन, मेचीको बाढी मात्रै आइरहेको छ’

नेपालको भौगोलिक सिमाना पूर्वमा मेचीसम्म मात्रै छैन । झापाका महेशपुर र ज्यामिरगढी गाविसका केही वडा मेचीपारि छन् । तर त्यहाँका बासिन्दा सोध्छन्, ‘देश त छ तर खोइ सरकार ?’ 

साविकको महेशपुर–२ (हाल भद्रपुर–१) डोलोबस्ती र ज्यामिरगढी–२ ग्वालबस्ती मेचीपारि पर्छन् । डोलोबस्तीका करिब १ सय ४२ घरधुरी र ज्यामिरगढीका पनि त्यही हाराहारीका बासिन्दा वर्षौंदेखि सरकारी सेवासुविधाबाट वञ्चित छन् । उनीहरूसँग नेपाली नागरिकताबाहेक अरू कुनै सरकारी सुविधा छैन । ‘बिजुली, पानी, सडक, औषधोपचार केही छैन,’ डोलोबस्तीका ८५ वर्षीय जीवन राजवंशीले भने, ‘मेचीपारि पनि नेपाल छ भन्ने सरकारलाई पत्तै छैन ।’ यो बस्तीमा उनको चौथो पुस्ता बित्न लाग्यो । 

पूर्वाधारैबिनै वर्ष दिनअघि महेशपुर गाविस भद्रपुर नगरपालिकामा गाभियो । स्थानीयले नगरपालिका भएपछि सुविधा पाइएला भन्ने अपेक्षा गरे । तर, त्यो अपेक्षा पूरा भएको छैन । 

‘बिजुलीका पोल गाडेको २ वर्ष बित्यो,’ नरमाया राजवंशीले सुनाइन्, ‘अहँ बिजुली आएन ।’ केही पोल बाढीले बगाइसकेको छ । मेची नदीमा पुल नभएकाले वर्षायाममा स्थानीय गाउँमै बन्धक बन्छन् । बारम्बारको आग्रहपछि झोलुंगे पुल निर्माणका लागि ठेक्का लागेको पनि दुई वर्ष बित्यो तर ठेकेदार कम्पनीले अहिलेसम्म सिन्को भाँचेको छैन । १८ महिनाभित्र काम सक्ने कम्पनीको सर्त थियो । ‘पुल बन्छ भन्छन्, कहिले हो थाहा छैन,’ नरमायाले सुनाइन् ।

पुल नहुँदा अहिले पनि मेची तर्न स्थानीयलाई सास्ती छ । यहाँका बासिन्दा सम्पूर्ण कुरामा भारतको भरमा छन् । डोलोबस्ती बंगालको खोरीबारी र विहारको पुर्निया जिल्लाअन्तर्गतको नेमुगुढीसँग जोडिन्छ । भद्रपुर बजारभन्दा ठाकुरगन्ज पुग्न उनीहरूलाई सहज छ । डोलो गाउँका पूर्ववडा अध्यक्ष जितलाल राजवंशीले मेचीपारि सरकारको उपस्थिति शून्य रहेको बताए । ‘यो क्षेत्रले कहिल्यै राज्यको सुविधा पाउन सकेन,’ जितलालले भने, ‘राज्यले सधैं पराई सम्झियो हामीलाई ।’

डोला गाउँमा २०४४ सालतिरै स्कुल स्थापना भएको हो । अहिले भव्य पक्की भवनमा छ मेची निमावि । कक्षा ७ सम्म पढाइ हुन्छ । आगामी शैक्षिक सत्रदेखि ८ सम्म पढाइ हुने आश्वासन पाएका छन् गाउँलेले । तर, विद्यालयको पढाइप्रति स्थानीय सन्तुष्ट देखिन्नन् । आठ जना शिक्षक छन् । वर्षामा उनीहरू मेची तरेर आउन नसक्दा पढाइ ठप्प हुन्छ । 

‘हामी सीमारक्षक’

२०२० सालताका मेची नदी बगेको स्थान अहिले भारतीय भूभागमा छ । ०२२ सालतिर नदीले धार फेरेपछि भारतले कब्जा गरेको त्यो ठाउँ नेपालकै रहेको बताउँछन् स्थानीय जगेश्वर महतो । ‘हामी बसेका छौं र भारतले थप अतिक्रमण गर्न सकेको छैन,’ ६४ वर्षीय महतो भन्छन्, ‘हामी त सीमारक्षक हौं । यो गाउँ नभएको भए भारतले मेची नदीलाई सिमाना मान्दै धेरै नेपाली जमिनमाथि कब्जा जमाइसक्थ्यो ।’

पहिले डोलोबस्तीभन्दा निकै पर थियो भारतीय भूभाग । तर, नेपाल सरकारको अनुपस्थितिको फाइदा उठाउँदै अतिक्रमण हुँदै आयो । ‘भारतले हाम्रो गाउँलाई मात्रै अतिक्रमण गर्न सकेको छैन,’ अगुवा अर्साद राजवंशी भन्छन्, ‘अन्त सबैतिर खम्बा गाडिसक्यो ।’ यो क्षेत्रमा करिब १० हेक्टर जमिन अतिक्रमण भएको सरकारको अनुमान छ । त्यस्तै मेचीपारिको अर्को गाउँ ज्यामिरगढी–१ र २ मा पनि १० हेक्टर जमिन भारतले अतिक्रमण गरेको छ । अर्साद राजवंशीका अनुसार द्वन्द्वकालमा प्रहरी चौकी विस्थापित भएको मौका छोपेर भारतले यो क्षेत्रमा पुन: अतिक्रमण सुरु गरेको थियो तर स्थानीयले प्रतिकार गरे । ‘यो गाउँ नजिकै भारतले बस्ती बसाउन थालेको थियो,’ उनले भने, ‘हामीले थाहा पाएपछि प्रशासनको सहयोगमा अतिक्रमण हटाइयो ।’ 

छैन शौचालय

छिमेकी ५ नम्बर वडा जिल्लाकै पहिलो खुला दिसामुक्त वडा हो । तर, वडा नम्बर २ मा कसैको घरमा पनि शौचालय छैन । बालकदेखि वृद्धसम्म शौचका लागि मेची नदी धाउँछन् । ‘बिहान त मेची नदीतिर नफर्किए पनि हुन्छ,’ प्रहरी चौकीका असई भानुभक्त श्रेष्ठले भने, ‘नगरपालिका भइसक्दा पनि कसैका घरमा शौचालय नहुनु दु:खद हो ।’ 

भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले सीमाक्षेत्र विकास कार्यक्रमअन्तर्गत सबै घरधुरीमा शौचालय निर्माणका लागि नगरपालिकाले पहल सुरु गरेको बताए । यस वर्ष तराईका ३० जिल्लामा सीमाक्षेत्र विकास कार्यक्रम लागू भएको छ । उनले गाउँको समग्र पूर्वाधार विकासका लागिसमेत पहल भइरहेको बताए । ‘यो वर्ष बाटो निर्माणका लागि नगरपालिकाले १ लाख रुपैयाँ विनियोजन गरेको छ,’ राईले भने ।

अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको पहलमा सामुदायिक स्वास्थ्य इकाई राखिएको छ । यसले सानोतिनो समस्या हुँदा उपचार गर्न भारतै जानुपर्ने बाध्यता कम गरेको छ । इकाईमा अहेव, अनमी र सहयोगी एक–एक जना छन् । तीनै जना करारमा नियुक्ति गरिएका हुन् । 

स्थानीय भने भारतबाट घर–घर आउने स्वास्थ्यकर्मीको औषधिमा बढी विश्वास गर्छन् । ‘हामीले दिएको औषधि हत्तपत्त खानै मान्दैनन्,’ स्वास्थ्यकर्मी मुना भुजेलले भनिन्, ‘घरमै ल्याइदिने भारतीयको औषधिलाई गाउँलेको बढी विश्वास गर्छन् ।’ 

नेताप्रति आक्रोश

स्थानीयका अनुसार भोट माग्ने बेलाबाहेक नेता तथा राजनीतिक दलका मान्छे हत्तपत्त मेचीपारि पुग्दैनन् । ‘भोट माग्ने बेला विकासको बाढी ल्याइदिन्छांै भन्छन्,’ मोहन मेहताले भने, ‘विकासको होइन, मेचीको बाढी मात्रै आइरहेको छ सधैं ।’ ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सिंगो गाउँले माओवादीका पूर्णसिंह राजवंशीलाई भोट हाल्यो । ‘उनी पनि हाम्रै समुदायका व्यक्ति हुन्, समस्या बुझ्लान् भनेर भोट हालियो, फर्किएर आएनन्,’ मेहताले भने । 

गाउँले दोस्रो संविधानसभा निर्वाचनका बेला भने विभक्त भए । कसैले कांग्रेसका कृष्ण सिटौलालाई भोट दिए भने कसैले मधेसी जनअधिकार फोरमलाई । केहीले एमाले र राप्रपालाई पनि भोट हालेको सुनाए । ‘जुन पार्टीलाई जिताए पनि फर्किएर आउने होइन, हाम्रो गाउँ विकास गर्ने होइन,’ मोहनले आक्रोश पोखे, ‘अब कसैलाई भोट हाल्दिनँ ।’

प्रकाशित: पुस २७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार