कान्तिपुर कतार

कुबेतमा : के गर्ने ? के नगर्ने ?

- कान्तिपुर संवाददाता , काठमाडौं

असार २२, २०७३-

य तिखेर खाडीमा रहेका नेपाली समाजमध्ये कुबेतमा बिस्तारै नराम्रो छाप पर्ने क्रम बाक्लिँदै छ । आफ्नो भविष्य खोज्दै कुबेतमा पुगेका कतिपय नेपालीको अवाञ्छित क्रियाकलापबाट समाजकै बदनाम हुन गइरहेको छ । हरेक दिनजसो स्थानीय सञ्चारमाध्यममा नेपालीहरू आपराधिक क्रियाकलापमा लागेको फोटोसहित घटनाहरू सार्वजनिक हुने क्रम छ । 

केही दिनअघि कुबेतको सल्वा क्षेत्रमा प्रहरीले ‘रक्सी भट्टी’ नै फेला पार्‍यो । २५० वटा ड्रम र १५ सय बोत्तलमा रक्सी बनाएर राखिएको अवस्थामा काम गर्ने ७ नेपाली समातिए । जुन भट्टी नेपालीबाटै सञ्चालित थियो । 

अर्को घटना थियो, महबोयुलाको । त्यस क्षेत्रबाट एउटा फ्ल्याट भाडामा लिएर संगठित रुपमा यौन व्यवसाय गरिरहेको अभियोगमा तीनजना नेपाली महिला पक्राउमा परे । प्रहरी बिग्रेडियर अब्दुल्लाह साफाहका अनुसार उनीहरू यौन व्यवसायमा संग्लन थिए । छापा मार्दा पक्रिए । 

परिबन्दमा परेका नेपालीलाई आपराधिक क्रियाकलापमा लगाउनेहरू नेपाली नै छन् । जेलभित्र मात्रै खोज्दै जाने हो भने हत्या, लागूऔषधजस्ता कार्यमा संग्लन अभियोगमा सजाय पाएका ३४ जना नेपाली जेलमा छन् । त्योसँगै नेपाली नेपालीबीच हुने मारपिटले अर्को रूप लिएको छ । समूहसमूहबीच झैझगडा हुने, हप्ताअसुली कार्यमा देखिने कार्यले कुबेतमा नेपाली समाजप्रतिको छाप धमिलो हुँदै गइरहेको छ । 

दूतावासलाई समस्यामा परेर निस्किएका महिलालाई आपराधिक क्रियाकलापमा प्रयोग गरेकोप्रति अर्को चिन्ता छ । सीधै दूतावासमा पुगे त ती महिलाहरू सुरक्षित भएर नेपाल फिर्छन् । दलालको हातमा परे भने झन् दु:ख पाउने स्थिति छ । २२ वर्षदेखि कुबेतमा कार्यरत वागलुङका दिलबहादुर पुन मगर ‘सोझा नानीहरूलाई उद्धार गरेर राख्ने बहानमा अपराधजन्य कार्यमा लगाउने कार्य डरलग्दोसँग हिसाबले बढिरहेको’ मा चिन्ता गर्छन् । 

कुबेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाललाई नेपाली समाजलाई कसरी जनचेतना दिने भन्नेमा चिन्ता थपिएको छ । स्थानीय कानुनलाई पूर्ण रूपमा पालना गर्न नेपाली समाजलाई बारम्बार गर्दै उनी यतिखेर नेपाली बस्ने क्याम्पतिर दौडिन थालेका छन् । 

‘कुबेतमा बस्दा के गर्न हुने र के गर्न नहुने’ भनेर सूची लिएर बाढ्न थालेका छन् । ‘कसैलाई पनि आँच आउने व्यवहार हामीबाट गर्नु हुँदैन,’ उनी भन्छन्, ‘प्रवासमा बस्दा सबैले आफ्नो र देशको इज्जत प्रतिष्ठा जोगाउने कार्य गर्नुपर्छ । 

गर्न हुने कार्य 

    िआफ्नो कार्य लगनशीलता, मिहिनेत एवं इमानदारीका साथ गर्ने 

    िकुबेतको कानुनको पालना 

    िराहदानी तथा आवासीय अनुमति (अकाम) को म्याद सकिनुभन्दा पहिले नै नयाँ राहदानी र आवासीय अनुमति लिने 

    िआफ्नो राहदानी, आवासीय अनुमति सिभिल आईडी, बैंक कार्डको फोटोकपी राख्ने । बिनाकारण त्यस्ता कागजपत्र कसैलाई नदिने 

    िपरिवारलाई नियमित रूपमा सम्पर्कमा राख्ने । 

    िरोजगारीबाट आफूले आर्जन गरेको रकमको सदुपयोग गरी बचत रकम नेपाल पठाउँदा बैंक मार्फत पठाउने 

    िकार्यस्थलमा समस्या वा गुनासा आएमा पहिला कम्पनीलाई खबर गर्ने । समाधान नभए दूतावासमा सम्पर्क गर्न आउने ।

    िआफू कार्यरत कम्पनी, घरमालिक वा अरूले कसैले कुनै कागजातमा सही गर्न भनेमा राम्रोसँग बुझेर मात्रै सही गर्ने 

    िसमस्या परेका नेपालीलाई सक्दो आफूले सहयोग गर्ने 

    िखानपिन, पहिरन र रहनसहनमा उचित ध्यान दिने 

    िबाटो काट्दा, ट्राफिक नियमको पालना गर्ने । जेब्राक्रर्सिङबाट मात्र बाटो काट्ने 

    िअरबी र अंग्रेजी भाषा जानकारी राख्ने

    िनेपालमा घुम्न कुबेती नागरिकलाई प्रोत्साहन गर्ने 

    िनेपालमा सकारात्मक र सबल पक्षको बारेमा कुबेती तथा विदेशीलाई जानकारी दिने 

    िव्यक्तिसँग रकम लेनदेन गर्दा भरपाई, प्रमाण राख्ने 

    िफुर्सादको समयमा आफ्नो क्षमता विकासका कार्य गर्ने 

    िनेपाल र नेपालीको गौरव एवं इज्जत बढाउने कार्य गर्ने 

गर्न नहुने कार्यहरू 

    िकुबेतको कानुन, धर्म र संस्कृति विपरीतका कुनै कार्य नगर्ने 

    िलागूपदार्थ ओसारप्रसार सेवन एवं बेचबिखन नगर्ने 

    िमदिरा (जाँडरक्सी) उत्पादन, सेवा एवंल बेचबिखन नगर्ने 

    िनेपाली नागरिक एवं विदेशीसँग अनावश्यक जमघट, झगडा, होहल्ला, कुटपिटजस्ता कार्य नगर्ने । कुनै पनि प्रकारका हतियार साथमा लिएर नहिड्ने । 

    िआर्थिक प्रलोभनमा परेर हाल कार्यरत घर/कम्पनीबाट नभाग्नुहोला । अन्य नेपालीलाई भाग्न नउक्साउनुहोला । अर्को कार्यस्थलमा गैरकानुनी रूपमा काम गर्नुहोला एवं गर्न प्रेरित नगर्नुहोला । 

    िगैरकानुनी रूपमा महिला एवं पुरुषसँगै बसोबास नगर्नुहोला 

    िस्वीकृतिबिना कार्यस्थलमा अनुपस्थित नहुनुहोला । कार्यस्थलमा हड्ताल नगर्नुहोला । 

    िअन्य व्यक्तिको सिभिल आईडी, बैंक कार्ड प्राप्त गरेमा दुरुपयोग नगर्नुहोला । त्यस्ता कार्ड वा कागजात नजिकको प्रहरी कार्यालय वा नेपालीको भए नेपाली दूतावासमा बुझाउनुहोला ।

    िमदिरा सेवन गरेर सवारी साधन नचलाउनुहोला 

    िफेसबुक, ट्विटर इमेलजस्ता सञ्चार माध्यमको दुरुपयोग नगर्नुहोला 

    िरमजानको समयमा निषेधित समयमा कुनै पनि खानेकुराहरू खुला रूपमा नखानुहोला ।

    िमहिलालाई कुबिचार वा कुदृष्टिले नहेर्नुहोला 

    िठगी एवं चोरी नगर्नुहोला र त्यस्तो मनसायले कुनै कार्य नगर्नुहोला । 

    िनिषेधित क्षेत्रमा धूमपान नगर्नुहोला 

    िसुरक्षित र भरपर्दो नभएसम्म कसैसँग पनि रकम लेनदेन नगर्नुहोला 

    िअत्यधिक गर्मीमा बढी काम नगर्नुहोला । त्यसपछि तुरुन्तै बढी चिसोमा नबस्नुहोला । बढी चिसो खानेकुरा पनि नखानुहोला । 

    िनेपाल र नेपालीको गौरव एवं इज्जतमाथि आँच आउने कुनै पनि कार्यहरू नगर्नुहोला ।

प्रकाशित: असार २२, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार