समाचार

३६ नक्कली चिकित्सकबारे प्रहरीको निष्कर्ष

  • १६ करोड ठगी
- केपी ढुंगाना, काठमाडौं
बिगो भराई ५/५ वर्ष कैद सजाय माग

असार १७, २०७३-पक्राउ परेका ३६ नक्कली चिकित्सकले उपचारका नाममा सर्वसाधारणसँग १६ करोड रुपैयाँभन्दा बढी ठगी गरेको निष्कर्षमा प्रहरी पुगेको छ । अनुसन्धानक्रममा खुलेको १६ करोड ठगीको रकम पीडितका नाममा भराई नक्कली चिकित्सकलाई ५/५ वर्ष कैद सजाय माग गर्दै प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयसमक्ष अनुसन्धानको प्रस्तावित राय पठाएको छ । 

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबीबीएस र एमडी गरेर चिकित्सकको रूपमा काम गरेको संस्थाबाट प्राप्त आम्दानी विवरणका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगीको रकम यकिन गरेको हो । चिकित्सकका रूपमा काम गरेको संस्थाबाट लिएको मासिक पारिश्रमिक, दैनिक जाँच्ने बिरामीको संख्या आदिका आधारमा ३६ जनाले सर्वसाधारणबाट १६ करोड रुपैयाँ ठगी गरेको निष्कर्षमा प्रहरी पुगेको हो । 

‘उनीहरू कार्यरत संस्थाबाट लिने मासिक पारिश्रमिक, दैनिक जाँच्ने बिरामीको संख्या र शुल्क विवरणको आधारमा बिगो रकम निकालेका हौं,’ अनुसन्धानमा संलग्न ब्युरोका एक अधिकारीले भने, ‘३६ चिकित्सकबाट करिब १६ करोड रुपैयाँ ठगी भएको देखिन्छ ।’

ब्युरो अधिकारीका अनुसार काठमाडौंका केही चिकित्सकको अनुसन्धानको प्रस्तावित राय पठाउन बाँकी छ । झापा, सुनसरी, मोरङ, जनकपुर, चितवन, लमजुङ, वीरगन्ज, दाङ र ललितपुरबाट पक्राउ परेका २० चिकित्सकको अनुसन्धानको प्रस्तावित राय जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पठाइसकिएको छ । काठमाडौंका ८ चिकित्सकको फाइल बिहीबार गएको र बाँकीको शुक्रबार पठाउने स्रोतले जनायो । 

ब्युरोले ती चिकित्सकका गतिविधिले मुलुकी ऐनको ठगी महलको १ नम्बर र २ नम्बर अनुसार कसूर आकर्षित भएको निष्कर्ष निकालेको छ । ठगीको महल १ मा कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल–अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मामा रहेको छ उसलाई ललाई–फकाई वा जाल परिपञ्च गरी झुटो कुरालाई सद्दे हो भनी झुक्याई धोका दिई अर्काको हकको चल–अचल धनमाल लिए दिए ठगी हुने उल्लेख छ । महल २ मा कसैले आफ्नो नाम ढाँटी अर्को मानिसको नाउँलाई मेरो हो भनी अरूको नोक्सान र आफ्नो फाइदा हुने काम गर्नुलाई समेत ठगी भनिएको छ । महल १ र २ अनुसारको कसूर प्रमाणित भए बिगो खुलेको हकमा बिगो भराई पाँच वर्ष कैदको प्रावधान मुलुकी ऐनमा छ । ‘पक्राउ परेका ३६ जनाकै अनुसन्धान सकाएर सम्बन्धित जिल्लाको न्यायाधिवक्ताको कार्यालयमा फाइल पठाइरहेका छौं,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘अनुसन्धानका क्रममा जुटेको प्रमाण र अभियुक्तको बयानको आधारमा मागदाबी प्रस्ताव गरेका हौं ।’

ब्युरोले संकलन गरेको विवरणमा सबभन्दा धेरै ठगी मोहम्मद रहुल्लाको देखिएको छ । धुलिखेल र नेसनल मेडिकल कलेजमा काम गरेका उनले यसबीचमा करिब एक करोड रुपैयाँ ठगी गरेको ब्युरोको निष्कर्ष छ । नर्भिक, अल्का र बीएन्डबी अस्पताल तथा अर्थराइटिस केयर सेन्टर वीरगन्जमा काम गरेका अरुणकुमार गुप्ताले ८२ लाख ठगी गरेको प्रहरी दाबी छ । विनीताले ६४ लाख, निलिमा खडका महतले ४५ लाख, गजानन्द प्रकाश भण्डारीले ४० लाख, मनीष अर्यालले ३१ लाख, दिनेशकुमार साह तेलीले २८ लाख, सुनील आचार्यले २६ लाख, सरोजकुमार सिंहले १५ लाख, रजनी आग्रवालले १४ लाख, पन्नालाल पटेलले १० लाख ठगी गरेको खुलेको प्रहरीको प्रस्तावित राय प्रतिवेदनमा उल्लेख छ । 

७ वर्षदेखि लोकहित डेन्टल अस्पताल, स्माइल डेन्टल केयर सेन्टर कुपन्डोलमा काम गरेका गणेश शाहले १० लाख रुपैयाँ ठगी गरेको प्रहरीको निष्कर्ष छ । रन्धिर राजवंशीले ९ लाख, रामजी यादवले करिव ७ लाख ठगी गरेको प्रहरी दाबी छ । सबभन्दा कम २ लाख रकमसम्म खुलेको ब्युरो स्रोतले जानकारी दियो । ‘एक वर्षमा जम्मा ११ जना मात्रै बिरामी जाँच्ने नक्कली चिकित्सकसमेत देखिए,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘केहीले महिनाको १० हजार लिएर काम गरेको विवरण समेत आएको छ ।’

अनुसन्धानका ४ आधार 

ब्युरोले पक्राउ चिकित्सकले चिकित्सकीय अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलमा पेस गरेको शैक्षिक प्रमाण पत्र र सम्बन्धित विश्वविद्यालयको रेकर्डमा रहेको प्रमाणपत्रको विवरण, उनीहरूविरुद्ध परेको पीडित र नेपाल मेडिकल काउन्सिलको जाहेरी, उनीहरू कार्यरत संस्थाले दिएको आर्थिक 

विवरण र बयानमा खुलेको विवरणलाई उनीहरूको कसूर प्रमाणित गर्ने आधार बनाएको हो । पक्राउ परेका अधिकांश चिकित्सकले आफ्नो शैक्षिक प्रमाणपत्र सक्कली नै रहेको दाबी गर्दै सम्बन्धित विश्वविद्यालयको विवरणसँग मेल नखाएकोबारे जानकारी नै नभएको दाबी गरेको अनुसन्धानमा संलग्न ब्युरोका अधिकारीले जानकारी दिए ।

गुप्ताविरुद्ध ३ उजुरी

पक्राउ परेका नक्कली चिकित्सकबाट उपचार गर्दा भएको मानवीय र शारीरिक क्षति पुगेकालाई ब्युरोले निवेदन दिन गरेको आग्रहपछि ब्युरोमा तीन उजुरी परेका छन् । तीनवटै उजुरी नर्भिक, बीएन्डबी र अल्कामा बाथ रोगविज्ञको रूपमा काम गरेका अरुणकुमार गुप्ताविरुद्ध परेको हो ।

२०७२ मा अल्का अस्पतालमा गुप्ताले बाथ रोगको उपचारका क्रममा इन्जेक्सन दिएको र त्यसपछि हातका औंला चल्न नसकी बांगो हुँदै गएको भन्दै एक पीडितले एक लाख ५० हजार क्षतिपूर्ति दाबी गर्दै उनीविरुद्ध निवेदन दिएका छन् । यसैगरी अर्को उजुरीमा अल्का अस्पतालमै गुप्ताले उपचार गरेर दिएको औषधि खाँदा बाथ निको हुनुको साटो शरीरको अंग नै चल्न छाडेको दाबी गर्दै एक लाख क्षतिपूर्ति दाबी गरिएको छ । तेस्रो निवेदकले गलत औषधि दिएको भन्दै उपचारका क्रममा खर्च भएको १५ हजार क्षतिपूर्ति माग गरेका छन् ।

प्रकाशित: असार १७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार