क्षेत्रीय

अस्पतालमै अलपत्र

- जनकराज सापकोटा, काठमाडौं

जेष्ठ ४, २०७३-ललितपुर छपेलीका उद्धव खड्का १८ दिनदेखि वीर अस्पतालको न्युरो सर्जरी शाखाको बेडमा लम्पसार छन् । पाँच कक्षामा पढ्ने नौ वर्षका उनका छोरा अरुण बाको वरिपरि दिनभर दौडिरहन्छन् । अस्पतालले बिहान–बेलुका दिने नि:शुल्क भोजन उनी बालाई खुवाउँछन् र आफू पनि खान्छन् । उनका अरू दुई भाइ भने गाउँमै छन् । स्याउला झार्न रूख चढेका बा खुरमुरिएर झरेपछि लामो समयसम्म अचेत भए । त्यही बेला उनकी आमा कता हिँडिन् उनलाई पत्तो भएन । 

उद्धव सुस्तरी बोल्न सक्छन् । बेलाबेला घाँटीमा शब्द अड्केजस्तो हुन्छ । उद्धवलाई स्याहार गर्ने, औषधि किनेर ल्याइदिने, सन्चो बिसन्चो सोध्ने र पथ्यको व्यवस्था गरिदिने कोही छैनन् । नौ वर्षको छोरा दिनभर बाको वरिपरि घुमिरहन्छ । उद्धवलाई हेर्ने आफन्त को हुन् ? अस्पताल प्रशासनलाई त्यसको ठ्याक्कै पत्तो छैन । उनलाई भर्ना गर्ने बेलामा बिरामीको पुर्जामा उनका भाइ लक्ष्मण खड्काको नाम छ र ठेगाना भट्टेडाँडा ललितपुर लेखिएको छ । त्यस्तै सोही पुर्जामा बिरामीको छिमेकीको रूपमा सुनीता लामा र ठेगाना गागलफेदी लेखेर केरिएको छ । अरुणले सुनाए, ‘अंकलले बुवालाई ल्याएर अस्पतालमा छाडे र फर्केर पनि आएनन् ।’

डाक्टर राजीव झाका अनुसार उद्धवको घाँटीको मुख्य नसा छिनेको छ । त्यसैले उनको हातखुट्टा चल्दैन । भन्छन्, ‘यो बडो जटिल समस्या हो । 

हाम्रो अस्पतालमा यसको उपचार सम्भव छैन ।’ उद्धवलाई बुझ्ने आफन्त नभएका कारण अस्पतालले उनलाई चाहेर पनि डिस्चार्ज गर्न सकेको छैन । तर उनलाई कहिलेसम्म अस्पतालको बेडमा राखिरहनुपर्ने हो भन्ने प्रश्नको उत्तर पनि कसैसँग छैन । उद्धवले सुस्तरी सुनाए, ‘अब म चल्न नसक्ने कहाँ जानु ?’ उपचारमा संग्लन डाक्टरहरूका अनुसार उनलाई लामो समयसम्म फिजियोथेरापी गराएर विशिष्ट प्रकारको ह्विलचेयरमा हिँडाउने अभ्यास गराउन सकिन्छ । 

उद्धवजस्तै समस्या भएका बिरामी वीर अस्पतालका निम्ति नयाँ घटना होइन । झाका अनुसार चार वर्षमा मात्रै वीर अस्पतालमा १ सय ५० यस्ता बिरामी अस्पतालमा भर्ना भएका थिए । कतिपय यस्ता बिरामीहरू सडकमा वा अन्य सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा फेला पारेर प्रहरीले अस्पताल ल्याएर बुझाउँछन् । बिरामीमा आफन्तले नै अस्पताल लगेर छाड्ने र आफू फरार हुने घटना पनि उत्तिकै हुन्छन् । झा भन्छन्, ‘कैयन् बिरामी त यस्ता हुन्छन्, जो बेहोसमा हुन्छन् र महिनौंसम्म होसमा आउँदैनन् । कोही भने कमजोर स्मरणशक्ति भएका हुन्छन् ।’ परिचय नखुलेका बिरामीको ठेगान पत्ता लगाउने, उनीहरूका परिवारका सदस्यसँग सम्पर्क गराउने कामको संस्थागत अभ्यास अहिलेसम्म छैन ।

अस्पतालको मेडिकल अब्जर्भेसन वार्डमा अर्का एक बिरामी छन्, वैशाख १३ गते भर्ना भएका । बेहोस अवस्थामा उनलाई कसले अस्पताल ल्याएर छाड्यो र उनका आफन्त को हुन्, अस्पतालसँग कुनै रेकर्ड छैन । चेकजाँचपछि उनको दिमागको एक नसामा रगत जमेको पत्ता लाग्यो र लामो समयसम्म इमरजेन्सी वार्डमा राखेर उपचार गरियो । झन्डै दुई हप्तापछि होस खुलेका उनले आफ्नो नाम पदमबहादुर थुलुङ बताए भने स्थायी ठेगाना खोटाङको दिक्तेल बताए । थुलुङले सुस्तरी आफू अविवाहित रहेको, दाइ राजबहादुर टुसालमा बस्ने र आफू घर निर्माणको काम गर्ने बताए । उनले आफ्ना आफन्तहरू काठमाडौंमा रहेको बताए पनि अस्पतालको रेकर्ड अनुसार उनी बेवारिसे बिरामी हुन् । किनकि उनको उपचारको क्रममा कोही अस्पतालमा सम्पर्कमा आएका छैनन् ।

थुलुङको उपचारमा संग्लन स्टाफ नर्स अम्बिका घिमिरेले अस्पतालमा स्टाफ मिलेर पैसा उठाएर उनका निम्ति डाइपर किनिदिएको बताइन् । लगातार ओछ्यानमा थला परेका कारण थुलुङको पिठ्युँतिर थोरै घाउ छ । उनी ओछ्यानबाट उठेर शौचालयसम्म जान सक्दैनन् । पिसाब पाइपबाट गराइएको छ भने दिसा डाइपरमा । घिमिरेले भनिन्, ‘हप्तैपिच्छै एकाध यस्ता बेवारिसे बिरामी हुन्छन् । कोही साँच्चैका बेवारिसे हुन्छन् भने कोही नातागोता र आफन्तीले बोझ बोक्न नचाहेर छाडेका ।’ बेवारिस बिरामीको औषधि किन्न, नयाँ कपडा फेरिदिन र दिसापिसाब गराइदिन सधैं मान्छेको खाँचो हुन्छ । घिमिरेले भनिन्, ‘कति आफन्त त यस्ता हुन्छन्, बिरामी ल्याएर मिल्काउँछन् र सन्चो भएपछि खुसुक्क लिएर जान्छन् ।’ 

अस्पतालका अनुसार प्रत्येक महिना एक दर्जनका हाराहारीमा यस्ता बिरामीहरू अस्पतालमा आउँछन् । तर तिनीहरूको उपचार कसरी र कुन खर्चले गर्ने भन्ने अस्पतालसँग व्यवस्थित योजना छैन । न त सरकारले नै अस्पताललाई त्यस्तो कुनै आर्थिक स्रोत जुटाइदिएको छ । अस्पतालमा आउने यस्तै बेवारिसे बिरामीहरूको उपचारमा सहयोग जुटाइदिने वा उपचारपछि सामान्य हेरचाह मात्र चाहिने बिरामीहरूलाई आश्रम वा सेवा केन्द्रहरूसम्म पुर्‍याइदिने काममा सञ्जीवनी सेवा केन्द्र सञ्चालित छ । तर महँगो उपचार खर्च लाग्ने वा लामो समयसम्म स्याहारसुसार चाहिने सबै बिरामीका निम्ति सधैं सेवा केन्द्रले सहयोग जुटाउन वा सहयोगी संस्था खोजिदिन सम्भव पनि छैन । सेवा केन्द्रमा दुई वर्षभन्दा लामो समयदेखि स्वयंसेविकाको काम गर्दै आएकी गीता अधिकारीका अनुसार सेवा केन्द्रले मात्रै प्रत्येक महिना २० देखि २५ बेवारिसे र परिचय नखुलेका बिरामीलाई सेवा पुर्‍याउँछ । बेवारिसे भएका उद्धवका लागि डाइपर जुटाउन लागिपरेकी गीताले सुनाइन्, ‘बेवारिसे बिरामीको अवस्था देखेपछि थाहा हुन्छ, कस्तो छ तिनीहरूको हालत ।’ ओछ्यानमै दिसापिसाब गरिरहेका उद्धवलाई अस्पतालकै पियनहरूले सघाइरहेका छन् ।

अचम्म त यो छ कि, गरिब र दु:खीहरूले उपचार नपाइरहँदा सरकारले भने मन्त्रिपरिषद्बाटै निर्णय गरेर पहुँचवाला र विशिष्टहरूको उपचारका निम्ति करोडांै रुपैयाँ खर्चिएको इतिहास छ । २०७२ असोजमा मात्रै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषद्ले २ सयभन्दा बढी व्यक्तिलाई औषधोपचारका नाममा १५ लाख रुपैयाँदेखि १ लाख रुपैयाँसम्म आर्थिक सहायता दिने निर्णय गरेको थियो । डाक्टर झाले सुनाए, ‘बेवारिसे र परिचय नखुलेका बिरामीलाई हेर्ने राज्यले छुट्टै नीति नै नबनाएसम्म सरकारी अस्पतालमा बिरामीको बिचल्ली त कायम रहनेछ नै, त्यस्तो प्रभावकारी उपचार पनि जटिल बनिरहनेछ ।’ 

प्रकाशित: जेष्ठ ४, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार