देश

असुरक्षित गर्भपतनले ज्यानकै जोखिम

- वसन्तप्रताप सिंह, बझाङ

जेष्ठ ४, २०७३-

  • गर्भपतनका औषधि गाउँघरमा खुलेआम बिक्री 
  • अविवाहित महिला अस्पताल जाँदैनन्, मेडिकलमा पुग्छन्
  • कतिले खल्तीमै बोकेर हिँड्छन् 
  • ‘महिनामा कम्तीमा ७/८ वटा केस आउँछन्’

दाँतोला रजाडाकी पुतली विष्टको पेटमा २ महिनाको गर्भ थियो । एक छोरा र छोरीकी आमा पुतलीले अर्काे बच्चा नजन्माउने निर्णय गरिन् । छिमेकी गाविस मेलबिसौनाको खौला बजारमा रहेको एक मेडिकलबाट औषधि किनेर खाइन् । त्यही औषधिले झन्डै उनको ज्यान लियो । अत्यधिक रक्तस्रावले गम्भीर अवस्थामा पुगकी उनलाई जिल्ला अस्पताल बझाङका चिकित्सकले नै रगत दिएर बचाए । निरक्षर पुतलीलाई आफूले सेवन गरेको औषधि र पसलको नाम समेत थाहा छैन ।

‘यस्तो होला भन्ने थाहा पाएको भए अस्पताल नै आएर गर्भ फाल्थे,’ उनले भनिन्, ‘हामी नपढेका मान्छे डाक्टर नै होला भन्ने लाग्यो । कसैलाई नसोधी खाइहालें ।’ मेलबिसौनाको खौला बजारस्थित सबै मेडिकलमा गर्भपतन गर्ने औषधि सजिलै पाइने गरेको उनले बताइन् ।

सरकारले तालिमप्राप्त स्वास्थ्यकर्मीहरूले मान्यताप्राप्त स्वास्थ्य संस्थामा मात्र गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ । तर, मेलबिसौनामा मात्र नभई जिल्लाभरिका सबै मेडिकल स्टोरमा गर्भपतन गराउने औषधि सजिलै पाइन्छ । भर्खरै सीएमए पास गरेका हरूले पनि गाउँमा खुलेआम औषधि बिक्री गर्ने गरेको धुलीका किन्थ्या रोकायाले बताए ।

‘भर्खर पास गरेर आएका केटाहरूले समेत खल्तीमै औषधि बोकेर हिँडेको र बेचेको मैले धेरै पटक देखेको छु,’ उनले भने, ‘काँडा गाविसमा न सरकारको मान्यताप्राप्त गर्भपतन गराउने संस्था छ न त त्यहाँका मानिसलाई कसरी गर्भपतन गर्दा सुरक्षित हुन्छ भन्ने नै थाहा छ ।’

सदरमुकाम चैनपुरबाट गाउँका मेडिकलहरूलाई औषधि आपूर्ति गर्ने एक मेडिकल सञ्चालकका अनुसार गाउँमा सुरक्षित गर्भपतन गराउने संस्था छैनन्, सबैले मेडिकलकै औषधि प्रयोग गरेर गर्भ फाल्छन् । सदरमुकाममा समेत मेडिकलको औषधि प्रयोग गरेर गर्भपतन गराउनेको संख्या पछिल्लो समय हात्तै बढेको ती मेडिकल सञ्चालकले बताए । ‘महिनामा १५/२० जनालाई हामीले नै औषधि दिने गरेका छौं,’ उनले भने, ‘श्रीमान् घरमा नभएका र विवाह नगरेका महिला अस्पताल जान सक्दैनन् । हाम्रैमा आउँछन् ।’ 

एक पटक गर्भपतन गराउँदाको औषधि खर्च आफूले २ हजार लिने गरेको बताउने ती सञ्चालकले गाँउघरमा त्यही औषधिको ५/७ हजारसम्म लिने गरेको बताए । असुरक्षित गर्भपतनले जोखिममा परेपछि मात्र उनीहरू अस्पताल आउने गरेको जिल्ला अस्पताल प्रमुख डा. विष्णु खतिवडाले बताए ।

‘महिनामा कम्तीमा ७/८ वटा यस्ता केसहरू अस्पताल आउँछन्,’ डा. खतिवडाले भने, ‘धेरै अविवाहित त सामाजिक डरका कारण अस्पताल नपुगेरै पनि मरेका होलान् ।’ अवैध रूपमा गर्भपतन गराउने र औषधि बेच्नेलाई कारबाही नभएका कारण पनि यसको खुलेआम बिक्री भइरहेको उनको भनाइ छ । 

जिल्ला प्रशासन कार्यलयमा अहिलेसम्म यस्ता घटनाको उजुरी नआएको प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले बताए । ‘अवैध रूपमा गर्भपतन गराएको थाहा पाएमा प्रशासनले कारबाही गर्छ,’ उनले भने, ‘अब स्वास्थ्यकर्मीको सहयोगमा मेडिकलहरूको अनुगमन गरेर नियमविपरीत काम गर्नेलाई कारबाही गर्छौं ।’ सरकारले बझाङमा जिल्ला अस्पताल सिमखेत, रायल र देउलेकस्थित प्राथमिक स्वास्थ्य केन्द्र र अमिसा अस्पताल चैनपुरलाई मात्र गर्भपतन गराउने मान्यता दिएको छ । 

अस्पतालमा तोडफोड

आकस्मिक उपचार कक्षमा भर्ना भएका एक बिरामीले आइतबार राति जिल्ला अस्पतालमा तोडफोड गरी अत्यावश्यक उपकरणलगायत अन्य भौतिक सम्पत्तिमा क्षति पुर्‍याएका छन् । दमका बिरामी भनेर अस्पताल भर्ना भएका जयपृथ्वी ९ का धर्मराज जोशीले तोडफोड गर्दा आकस्मिक कक्षमा रहेका दुईवटा अक्सिजन कन्सनट्रेटर पूर्ण रूपमा काम नलाग्ने गरी फुटेका छन् । आकस्मिक कक्षमा सुतिरहेका जोशीले आइतबार राति १२ बजेतिर उठेर कक्षमा रहेका टेबुल, दराज र ६ वटा कुर्सीसमेत तोडफोड गरेको जिल्ला अस्पताल प्रमुख डा. विष्णुप्रसाद खतिवडाले बताए ।

प्रकाशित: जेष्ठ ४, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार