पुस्तकसँगै हुर्कौं

अनन्त वाग्ले, चैत्र २०, २०७३

हरेक वर्षको ‘अप्रिल फुल’ बारे सबैजसो जानकार छन् । यस दिन मानिसलाई झुक्याउँदै र उटपटयाङ गर्दै नरमाउने कमै होलान् । तर यसको भोलिपल्ट अप्रिल २ मा पर्ने महत्त्वपूर्ण दिवसबारे कमैलाई थाहा होला । यो दिन अन्तर्राष्ट्रिय बालपुस्तक दिवस हो । सन् १९६७ देखि यो दिवस संसारभर नै विविध कार्यक्रमका साथ मनाउने गरिएको छ । केही वर्ष यतादेखि नेपालमा पनि मनाउन थालिएको छ । 

बालसाहित्यको विकासमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था आईबीबीवाईमा आवद्ध विश्वका ८० भन्दा बढी देशमा यो दिवस विशेष रूपमा मनाइन्छ । ती ८० मध्येका कुनै न कुनै देशले बर्सेनि यो दिवसका लागि नारा तथा विशेष लोगो तय गर्छन् । अनि विशेष सन्देशसाथ संसारभर त्यसको प्रचार गर्छन् । बालबालिकालाई कथा सुनाउँछन् । नयाँ पुस्तक उपहार दिन्छन् । नयाँ किताब सार्वजनिक गर्छन् । पुस्तक मेला गरिन्छ । बालबालिका पनि आफूले पढेका पुस्तकबारे छलफल गर्छन् । यस वर्ष रूसले यो दिवसको संयोजन गरिरहेको छ । यस वर्षको बालपुस्तक दिवसको नारा ‘पुस्तकसँगै हुर्कौं’ रहेको छ । बालपुस्तक दिवस अप्रिल २ मा मनाउनुको खास कारण पनि छ । यस दिन विश्व विख्यात परिकथाकार हान्स क्रिस्चियन एन्डर्सनको जन्मदिन पनि हो । १ सय ५० भन्दा बढी भाषाहरूमा अनुदित एन्डर्सनका कथा संसारमै सर्वाधिक बालबालिका र पाकाहरूबाट समेत पढिन्छन् । कुरूप टिउरो (अग्ली डक्लिङ), बादशाहको नयाँ लुगा (इम्पेरर्स न्यु क्लथ), राजकुमारी र केराउको गेडा (दि प्रिन्सेस एन्ड दि पिच), सानी जलपरी (लिटिल मर्मेड) र सलाई बेच्ने केटी (दि म्याचेच गर्ल) एन्डर्सनकृत १ सय ७० कथामध्ये सबैभन्दा लोकप्रिय मानिन्छन् । उनका बाबु घरघरमा जुत्ता सिउँदै हिँड्थे । उनी ११ वर्षको हुँदा बाबुको मृत्यु भएपछि आमाले दोस्रो विवाह गरिन् । यसरी बेसहारा बनेका एन्डर्सन लेखनप्रतिको उत्कट चाहनाले संसारभर प्रसिद्ध भए । उनको देश डेनमार्कमा मात्र होइन, संसारभरि नै उनलाई अत्यन्त श्रद्धा गरिन्छ । 
सानो उमेरमा बालबालिकाले जति धेरै किताब पढे, उनीहरूको भाषा त्यत्तिकै राम्रो हुन्छ । जसको भाषा राम्रो छ, उसले अध्ययन, रोजगारलगायत हरेक क्षेत्रमा सफलता र अवसर पाउँछ । भाषामा राम्रो भएका बालबालिकाको अरू सबै विषयमा पनि रम्रो नतिजा पाइन्छ । यी सबै तथ्य अनुसन्धानबाट पत्ता लागेका कुरा हुन् ।

हिजोआज रेडियो, टीभी, कम्प्युटर, मोबाइलजस्ता माध्यमका कारण किताबको महत्त्व घट्दै गएको पो हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ । तर सूचना र सञ्चार प्रविधिमा जतिसुकै विकास भए पनि किताबको बेग्लै महत्त्व छ । यसको प्रभावकारिता घट्ने सम्भावना कमै छ । पुस्तकप्रेमी र असल पाठकहरू भन्छन्– किताबको स्वाद अरू कुनै माध्यमबाट पनि पाइँदैन । त्यसैले अन्तर्राष्ट्रिय बालपुस्तक दिवसको सन्दर्भमा पनि हामी पनि किताब संस्कृतिमा रमाउन सिकौं है । यही दिवसका सन्दर्भमा रूसी लेखक सर्जेयी माखोतिनले दिएको सन्देश यस्तो छ– ‘बालककालमा म ब्लक र साना खेलौना जोडजाड गरेर घर बनाउँथे । अनि छानाको ठाउँमा चित्रमय बालपुस्तक राख्थेँ । सपनीमा म घरमाथि चढ्थेँ । सलाईको बट्टाले बनाएको ओछयानमा पल्टन्थेँ । 
अनि तारा चम्चमाइरहेको आकाश र बादल नियाल्थेँ । यो सबै मलाई मन परेको तस्बिरमा आधारित हुन्थ्यो । म अन्तरआत्मादेखि नै बालकमा जीवनको नियम पछयाउँछु, जो सुरक्षित र शान्त वातावरण चाहन्छन् । यसमा बालपुस्तकले साँच्चै मलाई सघाउँछन् । 
म हुर्किएँ । पढ्न सिकेँ । मेरो कल्पनामा किताब घरको छानाभन्दा भिन्न भयो । यो पुतली या चराझैं देखिन थाल्यो । किताबका पाना पखेटाझैं लाग्न थाले, जसले सुकेका पातकोजस्तै धुन निकाल्छ । झयालमा रहेको किताबले वेगका साथ झयाल खोल्दै अज्ञात शून्यतालाई चिर्न खोजेझैं देख्छु । म त्यसलाई हातमा लिन्छु र पढ्न थाल्छु, अनि त्यो शान्त हुन्छ । अनि म अर्कै संसारमा बत्तिन्छु, जहाँ कल्पनाको संसार फैलन थाल्छ । 
आहा ! कसैको हातमा नयाँ किताब देख्नुमा कत्ति मज्जा छ, त्यो केको बारेमा होला भनेर उर्लिने जिज्ञासा ख्याल रमाइलो हुन्न । तिमी त्यसको अन्तिम पृष्ठ हेर्न लोभिन्छौ । आहा ! त्यसमा क्या वासना आउँछ, जसलाई छपाइको मसी र गममा भाग लाउन सकिँदैन । त्यो किताबको आफ्नै सुवास हो, जो आफैँमा उत्तेजक र अनुपम हुन्छ । केही पृष्ठको वासना लिइसक्दा पनि किताब ब्युँझेको हुन्न । जब तिमी पढ्न थाल्छौ, बल्ल त्यो ब्युँझिन्छ । 
तिमी बढिरहेका छौ । संसार झन्झन् जटिल बन्दै छ । तिमीले अनेकौं प्रश्न सामना गरिरहेका छौ, जसको जवाफ दिन वयस्कहरू पनि तयार छैनन् । तैपनि तिमीले शंका र रहस्यहरू सुनाउनु महत्त्वपूर्ण छ । यस्तो बेला किताब तिमीलाई सघाउन आउँछ । हामीलाई लाग्छ : यो किताब मेरै बारेमा लेखिएको होला । र, मन पर्ने पात्रले एक्कासि तिमीले जस्तै चिच्याउँछ । उसले पनि उस्तै समस्या भोग्छ र आफूलाई आफ्नै बान्की दिन्छ । र, अर्को पात्र सधैं तिमीजस्तो हुन्न तर तिमी उसलाई आफ्नो आदर्शको रूपमा चाहन्छौ । अनि ऊजस्तै बहादुर र सम्पन्न हुने चाह गर्छौ । 
जब कुनै बालक या बालिकाले भन्छन् कि ‘मलाई पढ्न मन लाग्दैन’ त्यसले मलाई हाँसो लाग्छ । मलाई ती बालबालिका हुन् भन्नेमा शंका लाग्छ । उनीहरू आइसक्रिम खान्छन्, खेल्छन् र रमाइला सिनेमा हेर्छन् । अर्को किसिमले भन्दा उनीहरू रमाइलो मन पराउँछन् । खासमा पढाइ भावना र व्यक्तित्व विकासको कडा काम मात्र होइन, सबैभन्दा पहिला त यो महान् आनन्द हो ।’

पूरा पढ्नुहोस्

पढ्ने कसरी ?

जेष्ठ ७, २०७४

पढाइका विभिन्न तरिका हुन्छन् । कुनै पनि पाठ सबै विद्यार्थीले एउटै तरिकाले सिक्दैनन् । कोही कानले सुनेको कुरा राम्ररी सम्झन सक्छन् । कतिले आँखाले हेरको दृश्य लामो समयसम्म याद गर्न सक्छन् । अनि कतिचाहिँ जिस्किँदै, खेल्दै पढिरहेका हुन्छन् ।
पूरा पढ्नुहोस्

कविता

जेष्ठ ७, २०७४

सुरु भई कहाँबाट
पूरा पढ्नुहोस्

ढुकुरको गुँड

सलोजा, जेष्ठ ७, २०७४

सीमान्तलाई चराहरू खुब मन पर्छ । बचेरा (चराको बच्चा) समाउन पाउँदा अझ आनन्द लाग्छ । त्यसैले आफ्नै घरमा पालेको परेवाको गुँडमा गएर बचेरा समाउने, परेवालाई दु:ख दिने, जबरजस्ती गुँडबाट निकालेर उडाने गर्छ ।
पूरा पढ्नुहोस्

डोरी तानातान

जेष्ठ ७, २०७४

यो खेल सामान्यत: ८ देखि १२ वर्षसम्मका बालबालिकाले खेल्न सक्छन् । यो खेलमा २ वटा टिम सहभागी हुन सक्छन् । प्रत्येक टिममा ५ देखि ७ खेलाडी हुनुपर्छ । यो खेलका लागि एउटा लामो डोरी, एउटा सानो मैदान तथा खेल सञ्चालनका लागि १ जना सिटीसहितको रेफ्री चाहिन्छ ।
पूरा पढ्नुहोस्

संरक्षण क्षेत्र

अब्दुल्लाह मियाँ, जेष्ठ ७, २०७४

तिमीहरूलाई थाहै होला हाम्रो मुलुकमा स–साना कीराफटयांग्रा र अनेकौं प्रकारका चराचुरुंगीदेखि हात्तीजस्ता ठूला जनावर पाइन्छन् । रंगीबिरंगी पुतलीदेखि गैंडा, बाघ, भालु, हिउँ चितुवा, कस्तुरी मृग पनि छन् । विभिन्न प्रजातिका रूख, बिरुवा, र वनस्पतिका साथै हिमाल, भू–दृश्य र प्राकृतिक छटाका लागि पनि हाम्रो देश धनी छ ।
पूरा पढ्नुहोस्

नाक

डा. सुमनराज ताम्राकार, जेष्ठ ७, २०७४

आँखामा पट्टी बाँधे पनि तिमी फूलको मीठो सुवास वा ढलको दुर्गन्ध सजिलै थाहा पाउन सक्छौ । भान्सामा पस्नेबित्तिकै धनियाँ र हिङको गन्ध छुट्टयाउन सक्छौ । यो कसरी थाहा पाउँछौं होला ? नाककै कारण यो सम्भव भएको हो ।
पूरा पढ्नुहोस्