बिर्सिएका भनेर सम्झिएकाको नाममा

विष्णु सापकोटा,असार १०, २०७४

जसलाई प्राय: सबैले बिर्सिएकै हुन्छन् । कहिलेकाहीं कसैले सम्झ्यो भने पनि त्यस्तो बेला सम्झिन्छ जति बेला बिर्सिएकाहरूलाई सम्झिने खास पर्व वा सन्दर्भ हुन्छ । अर्थात्, जसलाई बिर्सिएकाहरू भनेर नै सम्झिने गरिन्छ । अरुन्धती रोयलाई धेरै मानिसले सम्झिने कारण त्यही हो । बिर्सिएकाहरू भनेर सम्झिइनेलाई सधंै सम्झाइरहने लेखिकाका रूपमा । शक्तिशालीहरू, सत्तासीनहरू र धनीहरू धेरै कुरा बिर्सिन चाहन्छन् । उदीयमान भारतका उदीयमान प्रधानमन्त्रीले गुजरातको हिंसावरिपरिका जीवन बिर्सन चाहने होलान् । ‘मूलधार’ का भारतीयले कश्मीरी जनताका जीवनी बिर्सन चाहने होलान् । उदाउँदो अर्थतन्त्र भन्नुको अर्थ गरिब हुनु पाप हो भनेर भन्नेहरू धेरै हुनु हो । र, उनीहरूको स्थायी युद्ध गरिबीविरुद्ध कहिल्यै हुँदैन, केवल गरिबविरुद्ध हुने गर्छ । हुनेखानेका स्थायी दुश्मन नै गरिबहरू हुन् किनकि सहरमा गरिबको उपस्थिति नै उनीहरूको खुसीका लागि अवरोध हो । गरिबहरूलाई आफू गरिब हुने पाप गरेकोमा माफ मागेर पनि शान्ति छैन । हिन्दुवादी, पुँजीवादी भारतका यिनै कुराहरू नै अरुन्धतीका लेखकीय अशान्तिका कारण हुन् । समग्रमा, २० वर्षपछि आएको उनको दोस्रो उपन्यास ‘दी मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पिनेस’ धनी–शक्तिशाली अथवा ‘मूलधार’ का भारतीयले लेखिराखेको समकालीन इतिहासको एउटा ‘काउन्टर–इतिहास’ हो, अहिलेको भारतको एउटा वैकल्पिक कथ्य । 
साहित्यकारहरू इतिहास लेख्दैनन् । तर उनीहरूले लेख्ने कथाले इतिहासलाई सच्याउनचाहिँ सक्छ । तसर्थ हरेक साहित्य एक हिसाबमा एउटा राजनीतिक र इतिहासको दस्ताबेज नै हो । त्यसमा पनि राजनीतिक लेखनबाट आफ्नो उपन्यासकारको पहिचानलाई नै ओझेल पारेकी लेखिका अरुन्धतीको राजनीतिक उपन्यास ‘दी मिनिस्ट्री’ माथिको यो औपन्यासिक टिप्पणीमा पनि तसर्थ राजनीति नै मिसिएको हुनेछ । संसार नै आखिर यति राजनीतिक भइसकेको जो छ π देश, राष्ट्र लोकतन्त्र जे भने पनि, यो आखिर जसका लागि वा जुन जनताका लागि भनेर बनेको छ— चाहे भारत होस् वा नेपाल या अरू कुनै देश–तिनीहरूबाट प्राय: ठाउँमा यो ‘हाइज्याक’ नै भएको छ तिनैबाट जो सुरुमा उनै जनताका मुक्तिकामी भएको दाबा गरेर आएका हुन्छन् । शासक र त्यो वर्गसँग प्रत्यक्ष/परोक्ष जोडिएकाहरूले आफ्नो संवेदनशीलता नै यसरी गुमाइसकेका हुन्छन् कि हुनुपर्ने के थियो र के भइरहेको छ भनेर छुट्टयाउने आफ्नो सामथ्र्य नै गुमाएर उनीहरू पनि त्यही ‘सिस्टम’ का एउटा अंग बन्न पुगेका हुन्छन् । अरुन्धतीले त्यही ‘हाइज्याक’ भएको लोकतन्त्र र आम रूपमा हराएको संवेदनशीलतालाई आफूले कथामा भनेकी मात्र छैनन्, आफ्नो दोस्रो उपन्यासमा उनी आफैं त्यो कथा भएकी छन् ।
पहिलो कृति विख्यात भएका लेखकका लागि दोस्रो कृतिको अघिल्लोसँग अत्यधिक मात्रामा तुलना हुने जोखिम जसलाई पनि हुन्छ । यो विषयमा थप कुरा अलिक पछि गरौंला, अहिलेलाई यति मात्र : ‘द गड अफ स्मल थिंग्स’ खास धेरैले नचिनेकी, भित्र औपन्यासिक र राजनीतिक आगो धेरै भएकी तर सामाजिक रूपमा अन्तर्मुखी एक साधारण भारतीय महिलाले लेखेको कृति थियो । जबकि उनको दोस्रो उपन्यास त्यस्ती लेखिकाले लेखेको हो जसको पहिलो उपन्यास असी लाख प्रतिभन्दा बढी बिक्री भइसकेको छ र त्यससँगैका बीस वर्ष उनका सामाजिक र राजनीतिक लेखनीले उनलाई सधैं सकारात्मक वा नकारात्मक जे भए पनि चर्चामा मात्रै राखेको छ । दोस्रो उपन्यास त्यही विश्वचर्चित अरुन्धती ब्रान्डले लेखेको भयो जबकि पहिलोचाहिँ एक अपरिचित भारतीय महिलाद्वारा लेखिएको थियो । यी दुई उपन्यासबीचको एउटा प्रमुख अर्थपूर्ण फरक यही नै हो । दोस्रो उपन्यासमा लेखिकाको व्यक्तित्वको ओज र बोझ हावी छ, जबकि पहिलोमा त्यस्तो दुवै थिएन । 
अरुन्धतीका राजनीतिक लेख पछ्याउने सबैलाई थाहा छ उनीभित्रको सिर्जनात्मक आगोले कस–कसलाई पोल्छ । पुँजीवादको क्रूरतम पञ्जाले मानवतालाई कसरी खाएको छ, ‘देश’ बनाउने ‘राष्ट्रिय’ योजनाहरूले कसरी गरिब, निमुखा आदिवासी–दलितहरूबाट नै थप त्याग खोज्छन्, र ‘महान्’ भारतको उर्लंदो महत्त्वाकांक्षामा को अटाउँछन्, को अटाउन सक्दैनन् भन्ने कुरा उनले भन्दा बढी सशक्त रूपमा कसले लेखेको होला ? ‘दी मिनिस्ट्री’ मा लेखिकाले महान् कहलाइएको देशको समकालीन इतिहासको एउटा त्यस्तो कथा भन्छिन् जसका हिरोहरू सीमान्तका कथाविहीन नागरिक छन् । अथवा, तिनका कथाहरूलाई बुर्जुवा समाजले खासमा कथा नै मान्दैन । ‘दलित भएर पनि राम्री रहिछे’ भनिनेजस्ता कथा, जगजित सिंह र सिजा रोयको ‘माँ सुनाओ मुझे वह कहानी, जिस मे राजा ना हो, ना हो रानी’ जस्ता कथा π
यी राष्ट्र वा देश भनिने संस्थाहरू आखिर कसका लागि हुन्— अरुन्धतीको २० वर्षदेखिको राजनीतिक प्रश्न यसैको वरिपरि छ । दोस्रो उपन्यासमा त्यही प्रश्नलाई निश्चित पात्रहरूमार्फत् उनले यसरी सोध्छिन् कि आम पाठकको संवेदनशीलतालाई त्यसले नराम्रोसँग हल्लाइदिन्छ । राज्यका घटना इतिहासमा अभिलेख हुँदा त्यहाँ सीमान्तका पात्रका दृष्टिकोणलाई ठाउँ पुग्दैन । जस्तो नेपालमै पनि कवि श्रवण मुकारुङले नलेखुन्जेल बिसे नगर्चीहरूको कथा नेपालको एकीकरणको गाथामा अटाएको थिएन । पुरुष र महिलामा विभाजित समाजमा ती दुवै लिंग मिलेर बनेको ‘हिजडा’ पात्र अन्जुमको यो ‘नर्मल’ भनिने समाजप्रति कस्तो दृष्टिकोण र टिप्पणी होला ? धार्मिक अतिवादीको भीडले आफ्नै निर्दोष बाबुलाई बीच सडकमा पिटी–पिटी मार्दा आफू जीउ जोगाउन त्यही भीडमा मिसिएर बाँचेको एउटा युवकले नरेन्द्र मोदी नेतृत्वको हिन्दुत्ववादी पुनर्जागरणलाई कसरी हेर्ला ? कश्मीरी भएर कश्मीरमै बाँच्नेहरूले यी राष्ट्रहरूका ‘जंगी शान र निशान’ लाई कसरी हेर्लान् ? ‘दी मिनिस्ट्री’ को सामाजिक पृष्ठभूमि यही हो । 
यो चर्चा गरिरहँदा यस्तो पनि अर्थ नलागोस् कि यो उपन्यास एउटा शास्त्रीय पाराको, माक्र्सवादीले भन्नेजस्तो ‘साहित्य भनेको समाजको ऐना हो’ भनिने सामाजिक यथार्थवादी धारको कृति मात्र हो ।
 वास्तवमा अरुन्धतीले कसैको पनि संवेदनशीलतालाई हिर्काउन बाँकी राखेकी छैनन्— चाहे ती कामरेडहरू 
हुन् वा सामन्त, चाहे त्यो भारत होस् वा
 पाकिस्तान, चाहे ‘उच्च’ वर्ग हुन् वा मध्यम । चाहे अन्ना हजारे हुन् वा अरविन्द केजरिवाल नै । उपन्यास राजनीतिक जरुर छ तर त्यो राजनीति सुखद रूपमा औपन्यासिकताको मानकभित्रै छ । 
उपन्यासको रमाइलो विशेषता के छ भने यसमा ‘स्वतन्त्र भारत’ को खास गरी विगत २० वर्षका मुख्य राजनीतिक घटना र त्यसको वरिपरि स्थापित ‘राष्ट्रिय’ संकथनलाई तिनै घटनामा सहभागी पात्रहरू सिर्जना गरेर समयको त्यो दस्तावेजलाई ‘जनताको’ नजरबाट सच्याउन खोजिएको छ । उपन्यासमा कथावाचक फरक–फरक छन्, बेला–बेलामा एउटा पात्रको वर्णन गर्न अर्को पात्रलाई भूमिका दिइएको छ । उपन्यास यसरी सचेतनापूर्वक बुनिएको छ कि यसमा कथाको मूलपात्र वा ‘प्रोटागोनिस्ट’ पनि को हो भनेर ठ्याक्कै छुट्टाउन सकिँदैन । कतिपय कथानकले सोझै प्रश्न पनि गर्छन्— साँच्चै यो कथाको खास ‘हिरो’ को हो र ‘भिलेन’ को हो ? विभाजित समाजमा कसैका हिरो अर्काथरीका मान्छेका लागि भिलेन नै हुने भए । कहिले अन्जुम मूलपात्रजस्तो प्रतीत हुन्छिन्, कहिले तिलोत्तमा । के पनि सहजै भन्न सकिन्छ भने तिलोत्तमा पात्रले लेखिका अरुन्धती स्वयंका निश्चित चारित्रिक विशेषता बोकेकी छन् र त्यस हिसाबमा उपन्यासमा आत्मकथात्मक अंश पनि प्रशस्त छ । कथावाचनमा डायरी, नोटजस्ता शैली मिसाएर आवश्यकताअनुसारको प्रयोग पनि टन्नै गरिएको छ ।
उपन्यास सुरु भएपछिका १३८ पृष्ठसम्म यस्तो लाग्छ मानौं लेखिकाले २० वर्षसम्म उपन्यासमा ओकल्न नपाएको आगो यहीं एकै भागमा अन्जुमको पात्रतामार्फत् पोखेकी छन् । कविको आवरणमा कोमल देखिन चाहने ‘कवि प्रधानमन्त्री’ अटलविहारी वाजपेयी–कालदेखि ‘गुजरातका लल्ला’ मोदीको सर्वशक्तिमान प्रधानमन्त्रीको रूपमा उदय हुँदासम्मका समयभित्रको कठोरतालाई ती सुरुका पानाहरूमा उदांगो पारिएको छ । त्यो प्राथमिक आगो निक्लिसकेपछि जब तिलोत्तमाको उपन्यासमा प्रवेश हुन्छ तब एकै छिन त्यहाँ त्यस्ती लेखिका भेटिन्छिन् जुन लगभग ‘द गड अफ स्मल थिंग्स’ की जस्तै छन् । पंक्तिकारको ठम्याइमा १३९ देखि १६८ सम्मका पृष्ठ उपन्यासका उत्कृष्टमध्येका हुन्, काव्यिक हिसाबले । उनको पहिलो उपन्यास पढेर जो केवल उनको दोस्रो उपन्यासको प्रतीक्षा गरिरहेका थिए, तिनीहरूले पुरानी उपन्यासकारलाई पहिलोचोटि यति बेलै भेटाउँछन् यी पृष्ठहरूमा । त्यसपछि भने ती आक्कलझुक्कल मात्रै भेटिन्छिन् । अन्जुम त्यस्ती पात्र छन् जसमा उपन्यासको सम्पूर्ण संसार ठोकिन्छ यद्यपि तिलोत्तमा आएपछि उनको धेरै भूमिका हुँदैन । तिलोत्तमा यस्ती पात्र हुन जसको वरिपरि उनका तिन प्रेमी पात्र मात्रै घुम्दैनन्, समकालीन भारतको इतिहासको एउटा शक्तिशाली ‘काउन्टर–कथ्य’ पनि घुम्छ ।
कस्ता खालका उपन्यास कस्ता पाठकलाई मन पर्छ भन्ने कुरा त पढ्नेको पृष्ठभूमिमा भर पर्ने नै भयो । कसैलाई उपन्यासमा काव्यको लालित्य हावी भएको ठाउँ रसिक लाग्ला । तर कसैलाई त्यही कुरा बुर्जुवा स्वादको भद्दा कथ्य लाग्ला । लेखिकाको रूपमा अरुन्धतीको शक्ति पात्रहरूको मनोविज्ञानलाइ केस्रा–केस्रामा केलाउन सक्ने क्षमतामा छ । बुर्जुवा, बौद्धिक, मध्यम वर्ग, मिडिया, प्राज्ञिक आदि सबको ढोंग, कृत्रिमता र सतहीपनलाई उनी जब घोचपेच गर्छिन्, एकदम सहज र शक्तिशाली रूपमा गर्न सक्छिन् । त्यो कला उनका राजनीतिक र सामाजिक लेखनमा पनि देखिइसकेको छ । तर यस उपन्यासमा उनले राम्रो कथा भन्नेतिर मात्र नसोची लेखिनैपर्ने कथा लेख्नमा ध्यान दिएको देखिन्छ । व्यंग्य र पढे–लेखेका भनिनेहरूको संवेदनशीलतालाई त यति धेरै खाले विम्बमार्फत् हिर्काइएको छ कि, कहिलेकाहीं धेरै खाले पाठक आफंैलाई लाग्न सक्छ यो त मै जस्तालाई उडाइएको हो । आफैं जस्तालाई नै उडाइएको भए पनि त्यो यसरी बुनिएको छ कि पढ्दा आफैंलाई आनन्द लाग्छ । हामी धेरै मानिस आ–आफ्नो ढोंगमा जो बाँचिरहेका छौं, त्यो ढोंगलाई कसैले आएर खोतालिदिनु रमाइलो नै कुरा हो । दिल्लीमा हिजडाहरूको संसारले बाहिरी संसारलाई ‘दुनिया’ भनेर सम्बोधन गर्दारहेछन् । त्यही ‘सम्पूर्ण’ दुनिया जुन आफूलाई सम्पूर्ण भन्ठान्छ तर सम्पूर्ण होइन, त्यो दुनियालाई त्यसमा नअटाउने दुनियाले कसरी हेर्दोरहेछ— त्यो व्यंग्य आफैंमा गज्जब छ । जेलाई ‘दुनिया’ ले ‘नर्मल’ भन्छ, त्यो कसरी नर्मल हुन सक्छ ? भनेर प्रश्न गर्ने अरुन्धती आफ्नो औपन्यासिक उत्कृष्टतामा छिन् ‘दुनिया’ माथिको त्यो प्रहारमा ।
हिन्दुत्ववाला मोदी–बीजेपीको भारत अहिले जे भएको छ, र त्यस उदीयमान भारतमा को उदाउँदा कस्ता–कस्ता व्यक्ति र समुदाय अस्ताउनुपरेको छ भनेर देखाउन उपन्यास सफल छ । कल्पना गरौं : त्यत्रो आफैंमा प्रख्यात ‘ब्रान्ड’ बनेकी लेखिकाले आफ्नो २० वर्षपछि लेखिएको उपन्यासको सुरुआत आफ्नो प्रमुख पात्रलाई हिजडाहरूको ‘ख्वाबगाह’ बाट समेत निकालेर चिहानघाटमा बसाइ सारेर सुरु गर्छिन् भने उनलाई आफ्नो समाजको असमावेशीपनाप्रति कत्रो ठूलो झोंक होला π ‘दुनिया’ यस्तो 
भइसकेको छ, कि त त्यसमा टिक्न नसकेर मर्नेहरू छन् वा जो बाँच्न चाहन्छन् तिनीहरू पनि चिहानघाटमा गएर मात्र आफ्नो संसार सिर्जना गर्न सक्छन् ‘जन्नत गेस्ट हाउस’ का रूपमा ।
यो उपन्यास कस–कसलाई बढी मन पर्ला भन्न त केही दिन अझै पर्खनैपर्ला तर कसलाई मन पर्ने छैन भनेर अहिले नै भन्न सकिन्छ । उनको पहिलो उपन्यास पढेर मुग्ध भएका कतिपय मानिस उनको राजनीतिक विचार र उनले सामाजिक अभियन्ताको रूपमा खेलेको भूमिकाको कारणले बिच्किएका पनि हुन सक्छन् । उनको पहिलो उपन्यास नपढेका वा मन नपराएका केही होलान् जसलाई फेरि उनको राजनितिक कुरा मन पर्छ र यो दोस्रो उपन्यास उनीहरूले खोजेको जस्तो हुन सक्छ । शासक वर्गकाले त उनको कुनै पनि लेख वा उपन्यास मन पराउने कुरै भएन । शासक नभए पनि शासकले जस्तो सोच्ने वर्ग पनि त्यसमै पर्ने भइहाल्यो । सम्पूर्ण भारतवर्षकै इतिहास पुनर्लेखन गर्न तम्सेको हिन्दुत्ववादी वर्तमान भारतीय नेतृत्वले त यो उपन्यासलाई स्विकार्ने कुरै भएन । न अन्ना हजारे समर्थकले, न केजरिवालवालाले, कांग्रेसवाला पनि झन स्वतन्त्र भारतलाई दशकौंसम्म ठेक्का लिएकाहरू भए जसलाई अरुन्धतीले बाँकी राख्ने कुरै भएन । त्यसो भए को होलान् त उनको यो दोस्रो उपन्यासका खास प्रशंसक ?
देश, विकास, समाज, सभ्यता आदिका नाममा काम कुराहरू अघि बढ्दा वास्तवमा कति कुराहरू पछि परेका छन् भनेर व्यक्तिका जीवनका गहिराइबाट भनिएका कथाप्रति जसको रुचि छ, यो उपन्यास तिनीहरू सबैले मन पराउलान् । उनले प्रयोग गर्ने विम्ब, भाषिक लालित्य, वर्तमानका कठोर कथालाई बेला–बेलामा जादुयी यथार्थ सिर्जना गरेर भनिने सांसारिक तर अलौकिक लाग्ने कथा जसलाई मन पर्छ, तिनले यो उपन्यास खोजी खोजी पढ्लान् । उनका सामाजिक टिप्पणीप्रति सधैं सहमत हुन नसक्ने तर कथा भन्ने र तर्क गर्ने उनको शिल्पीबाट जो औधि प्रभावित छन्, उनीहरू त उनका स्थायी उत्सुक पाठक भई नै हाले । एउटा ‘राष्ट्रिय’ घटनामा सीमान्तभित्रको पनि सीमाको कुनै पात्रको मनोदशाले उपन्यासमा धेरै ठाउँ पाउँछ, जो धेरैलाई मन पर्ने कुरा हो । तर एकदम रोचक लाग्ने कुरा के छ भने, यदि एउटा पात्रको विवाह हुँदै छ वा सम्बन्धविच्छेद हुँदै छ भने, त्यो कुरा दुई–चार हरफमै सम्पन्न भइहाल्छ । तर त्यसपछिका वा अघिका मनोदशा वा घटनाले यथेष्ट ठाउँ पाएका छन् उपन्यासमा ।
उपन्यासकै रूपमा मात्र हेर्ने साहित्यिक समीक्षकले ‘दी मिनिस्ट्री’ भन्दा ‘दी गड अफ स्मल थिंग्स’ बढी राम्रो भन्ने पक्कै छ । यो उपन्यास अहिले भएको भन्दा अलिकति छोटो हुँदा पनि फरक पर्ने थिएन किनकि कतिपय घटनाको वर्णन अलिक धेरै हो कि जस्ता लाग्छन् । मध्यमवर्गीय स्वादले जस्तो औपन्यासिकता मन पराउँछ, त्यस्तो लेख्न सक्ने उनको कला त छँदै छ तर त्यो बेला बेलामा मात्र देखिन्छ । कतिपयलाई २० वर्ष पर्खेको उपन्यास यत्ति हो त भन्ने पनि लाग्न सक्छ । तर प्रस्ट के देखिएको छ भने उनको बढीजस्तो ध्यान धेरै खालका वर्ग र समुदायका संवेदनशीलतालाई हिर्काउनु नै रहेको छ : जेलाई तिमीहरू ठीक भइरहेको देखेका छौं, त्यो सायद ठीक होइन भनेर देखाउन । लेखिका आफैं नै ती घटनाको अंश भएर प्रस्तुत भएकी छन् जसको कथा अन्यथा समाजले एकतर्फी रूपमा मात्रै भनेको थियो । उनी घटनालाई बाहिर बसेर हेर्ने र सबै देख्ने कथावाचिकाका रूपमा छैनन्, यहाँ उनी आफू नै घटनामा सामेल भएकी छन्, व्यक्तिगत जीवनमा जस्तै उपन्यासमा पनि । पहिलो र दोस्रो उपन्यासको बीच अर्को फरक यो पनि हो ।
अन्त्यमा, उनलाई मन नपराउने अनगिन्तीमध्ये केहीले भन्ने गर्छन् : आफू त्यति धेरै बिक्री हुने किताब लेखेर धनी हुने, अनि कुरा फेरि गरिब निमुखा सीमान्तका पात्रको मात्र गर्ने ? उनको जवाफ हुने गरेको छ : गरिबको कुरा बोलिदिन पनि कोही धनी मान्छेकै आवश्यकता छ । यदि म पनि गरिब नै हुन्थे भने त तिमीहरूले मेरा यत्ति कुरा पनि किन सुन्थ्यौ र ? अब तिनैमध्ये कतिलाई फेरि रिस उठ्ने होला— यी त नयाँ किताबबाट झन् धेरै धनी हुने भइन् र त्यही स्रोतको माध्यमबाट तिनै सीमान्तका मुद्दाको बारेमा झन धेरै बोल्ने भइन् । ‘सिस्टम’ को अंग भएर चुप लागेर बस्न नसक्नेहरू सायद यस्तै हुन्छन् । र, अब उनी यस्तो ब्रान्ड र आफंैमा एउटा यस्तो संस्था बनिसकेकी छन् कि ‘दी मिनिस्ट्री’ सबैभन्दा बढी तिनैले पढ्न सक्छन् जसलाई उनले कठोर प्रहार गरेकी छन्, विगत २० वर्षदेखि यो उपन्याससम्म !

 

पूरा पढ्नुहोस्

एउटामा अवार्ड, अर्कोमा पत्तासाफ !

सुशील पौडेल,असार १०, २०७४

उत्कृष्ट कामको तारिफ र भविष्यका लागि हौसला प्रदान गर्न अवार्ड दिइने गरिन्छ । हामीकहाँ बर्सेनि ७०–८० फिल्म रिलिज हुन्छन् । जसमा अवार्ड कार्यक्रम नै झन्डै डेढ दर्जन आयोजना हुने गर्छन् । सबैले विधागत उत्कृष्टलाई नै अवार्ड दिने भए पनि परिणाममा आकाश–पातालको फरक पर्छ । त्यसैले पनि प्राय: अवार्ड आयोजकलाई आफ्नालाई अवार्ड दिन वा अवार्ड बेचेर पैसा कमाउनकै लागि यस्तो ‘खेती’ गर्ने गरेको आरोप बलियो बनेको हो ।पूरा पढ्नुहोस्

प्रकाशककी पत्नी

ऋचा भट्टराई,असार १०, २०७४

उसका दुइटै कुकुर दाँत लहर छोडेर पर–पर उछिट्टिएका थिए । पन्ध्र महिनासम्म एउटै रौँ नपलाएको टाउकोमा अचानक कालो कपाल घुम्रिएर झाँगिएको थियो । दायाँ गालाको एउटा कुनामा कसैले नङले कोतरेको जस्तो लामो दाग थियो ।पूरा पढ्नुहोस्

‘पावर हाउस’

विनोद पाण्डे,असार १०, २०७४

सुशन भारी र साहब आलम दुई इन्डबाट बलिङ गरिरहेका थिए । साहबलाई परिवर्तन गरेपछि पवेलियन इन्डबाट बलिङ गर्न आए सागर पुन । उनीहरू सबै भैरहवा क्षेत्रका हुन् । अघिल्लो महिना भएको प्रधानमन्त्री कपमा क्रिकेटमा सुशन, साहब र सागर स्पिन बलिङ घुमाउँदै थिए आफ्नो पुख्र्यौली क्षेत्र पश्चिमाञ्चलविरुद्ध । पूरा पढ्नुहोस्

भविष्यवाणी गर्न नसकिने टिम

हिमेश,असार १०, २०७४

कारण धेरै होलान्, तर नेपालका धेरै क्रिकेट प्रशंसक पाकिस्तानको समर्थक हुने गर्छन् । अझ पाकिस्तान र भारत क्रिकेटको मैदानमा भिड्नुपर्छ, तटस्थ प्रशंसक पनि पाकिस्तानतिरै मोडिन्छन् । यस्तो किन हुन्छ, भारत अथवा पाकिस्तानका क्रिकेट खेलाडीको मुखबाट त प्रत्यक्ष सुन्न पाइएको छैन । तर एक भारतीय फुटबल खेलाडीले भने यस्तै प्रसंग चल्दा अनौपचारिक रूपमा भनेको सुनेको छु, ‘नेपाली खेल प्रशंसकले भारतलाई समर्थन नगर्नु आफ्नो ठाउँमा होला, तर पाकिस्तानलाई किन समर्थन गर्छन्, त्यो भने म बुझ्न सक्दिनँ ।’पूरा पढ्नुहोस्

चीनले विश्व शासन कहिले गर्छ ?

विनोद सिजापती,असार १०, २०७४

सन् १९४५ मा जन्मेका बेलायती नागरिक मार्टिन ज्याकेस कुनै समय ‘माक्र्सिजम टुडेका’ मासिक पत्रिकाका संस्थापक सम्पादक थिए । हाल तिनी बेलायतको द गार्डेन पत्रिकाको स्तम्भकार छन् । लन्डन स्कुल अफ इकनोमिक्स र क्याम्ब्रिज विश्वविद्यालयलगायत चीनको टिसिंगहुआ र सिंगापुरको ली क्वान यु स्कुल अफ पब्लिक पोलिसीजस्ता विश्व प्रसिद्ध शिक्षण संस्थानहरूमा अनुसन्धान र अध्यापन गर्छन् । पूरा पढ्नुहोस्

‘डकुमेन्ट्री–मेकिङ मेरो धर्म हो’

असार १०, २०७४

समयको हिसाबमा सन् १९९७ मा आएको ‘लिसन टु द विन्ड’ मेरो पहिलो डकुमेन्ट्री हो । त्यसपछि साना–ठूला गरेर १४ वटा डकुमेन्ट्री आए अहिलेसम्म । पूरा पढ्नुहोस्

नेपथ्यमा गुन्जिरहने एउटा धून...

कुमारी लामा,असार १०, २०७४

सम्झना भन्नु नै कुटुकुटु मुटु दुखाइरहने बिरामी पो हो कि ।पूरा पढ्नुहोस्

उनीहरू कहाँ पुगे होलान् ?

माधव घिमिरे,असार १०, २०७४

प्रधानमन्त्री फेरिनेबित्तिकै झापा र मोरङमा रहेका भुटानी शरणार्थीको आग्रह हुन्छ— स्वदेश फिर्तीको वातावरण बनाइदिनुस् । हालै शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पनि शरणार्थीका प्रतिनिधिमूलक संस्थाले स्वदेश फिर्तीको वातावरण बनाइदिन आग्रह गरे । उनीहरूले अहिलेसम्म दर्जनभन्दा बढी प्रधानमन्त्रीलाई स्मरणपत्र दिंदै यस्तो आग्रह गरिसकेका छन् ।पूरा पढ्नुहोस्

केरुङ सपना

जगदीश्वर पाण्डे,असार १०, २०७४

२०७२ असोज ३ मा नेपालमा संविधान जारी भएपछि भारतले लगाएको ५ महिना नाकाबन्दीमा बेइजिङबाट हजारौं दूरी पार गरेर करिब दश लाख लिटर इन्धन सिगात्से–केरुङ–रसुवागढी हुँदै काठमाडौं आइपुग्यो । तिब्बतको सिगात्सेसम्म रेलकै डिम्बामा इन्धन ल्याइए पनि त्यहाँबाट यता भने चिनियाँ ट्यांकरमा ल्याइएको थियो । पूरा पढ्नुहोस्

बिदाइ

घनश्याम खड्का,असार १०, २०७४

‘कहाँनिर आइपुग्यौ ?’ मलाई जस्टिनाले फोन गरी, ‘छिट्टो है, फेरि हामी मात्रै ढिलो होलाम् नि फेरि ।’अप्रिलको सप्ताहन्तको त्यस क्षण मनमा अनौठो भावतरङ्ग उठिरहेको थियो मेरो । समयको पंखा अति विछट्टको रहेछ, कहिले नरोकिने ।पूरा पढ्नुहोस्

‘ट्रेन अगाडि बढ्दै जान्छ, स्टेसनहरू छाडिन्छन्’

देवेन्द्र भट्टराई,असार १०, २०७४

नेपाली संगीत जगत्मा शान्ति ठटाल कुनै परिचय दिइनुपर्ने नाम होइन । ठटालले सन् १९५७ मा कोलकातामा पहिलोपटक नेपाली गीत रेकर्ड गराएको हिसाबमा उनी ६० वर्षदेखि संगीत जगत्मा अनवरत साधनारत छिन् । पूरा पढ्नुहोस्

जंक बुक !

राजेन्द्र पराजुली,असार १०, २०७४

कागजमा छापिएर आउने सबै पुस्तकाकार थोक साहित्य हुन् ? कि वाङ्मय मात्रै ? वाङ्मय र साहित्यबीचको फरक रेखा कहाँ र कसरी कोरिएको छ ? आधुनिक बजारशास्त्रमा यो रेखाको कुनै अर्थ छ कि छैन ? पूरा पढ्नुहोस्