प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

उजुरी परेकाले मतगणना गर्न आयोगको आदेश कुर्दै

  • मतपेटिका मुसाले काटेमा छुट दिइने
  • प्रत्येक वडाको छुट्टै मत गनिने
- राजेन्द्र मानन्धर, दोलखा

मंसिर २१, २०७४-निर्वाचनसम्बन्धी उजुरी परेकाले दोलखामा मतगणना गर्न निर्वाचन आयोगको निर्णय पर्खनु पर्ने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार मध्यान्ह भएको सर्वदलीय बैठकले आयोगको निर्णय आएपछि मात्रै मतगणा सुरु गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस दोलखाले गौरीशंकर गाउँपालिकाको केही स्थानमा धाँधलीपूर्ण निर्वाचन भएको दाबी गर्दै उजुरी गरेको थियो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक प्रमाणहरु गइसकेको भए पनि आयोगले निर्णय नपठाउँदा तोकिएको समयमा मतगणना हुन्छ वा हुन्न भन्ने अन्योल भएको छ । कांग्रेसले आयोगको निर्णयजस्तो आउँछ त्यसलाई स्वीकार्ने तर जबरजस्ती मतगणना गरिए मतगणना बहिष्कार गर्ने बताएपछि निर्णय पर्खने सहमति भएको हो ।

मतपेटिका मुसाले काटेको भए छुट

सर्वदलीय बैठकले दोलखा जिल्ला अदालतका भवनका कोठाहरुमा राखिएका मतपेटिका मुसाले काटेको खण्डमा छुट दिइने भएको छ । लामो समयसम्म राखिएको मतपेटिकाको सिलहरु मुसाले काटेको हुनसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जानकारी गराइएपछि त्यसो भएमा छुट दिइने दल र उम्मेदवारहरुले बताएका हुन् । बैठकले मतपेटिका हल्ला टुटफुट भए, केही सिलहरु चोटपटकले खुस्किएको भए गणना कार्यमा अवरोध नगर्ने निर्णय पनि भएको छ ।

प्रत्येक वडाको छुट्टै गनिने

निर्वाचन आयोगले कुनै पनि संकेतहरु नदेखियोस् भनेर मिसाएर गनिने निर्देशन गरेको भए पनि दोलखामा प्रत्येक वडाहरुको मत छुट्टाछुट्टै गनिने भएको छ ।

जिल्लाको ७४ वटा वडामा के कति मत खसेको रहेछ भनेर आँकलन गर्न सजिलोका लागि सबै दलहरुले छुट्याएर गनिनु पर्ने प्रस्ताव गरेका थिए । सबै दलको सहमति भएकाले त्यसरी मतपत्रहरु गनिने निष्कर्षमा बैठक पुगेको हो ।

दोलखास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा मतगणनासम्बन्धी सर्वदलीय बैठक हुँदै । तस्बिर : राजेन्द्र मानन्धर/कान्तिपुर

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार