विचार/विश्‍लेषण

निष्ठाको राजनीति गर्ने अवसर

- कृष्णप्रसाद पौडेल

लोकतन्त्रका आधारभूत सिद्धान्तमा कुनै सम्झौता नगर्ने प्रतिबद्धताले मात्र हाम्रो राष्ट्र निर्माणको अभियानले सफलता पाउनेछ ।

मंसिर २१, २०७४-अबको हाम्रो यात्रा समृद्धिको हो भन्नेमा कुनै दुविधा छैन । समयले मूलप्रवाहका राजनीतिक पार्टी र तिनका शीर्ष नेतालाई फेरि एकपटक आफू सुध्रिने र आफ्ना आसेपासेलाई सुधार्ने अन्तिम मौका दिएको छ । यो कुरा मनन गर्न सकेनन् भने उनीहरू इतिहासका पानामा उपहासका पात्रका रूपमा चित्रित हुनेछन् । मुख्यत: यो निर्वाचनपछि बन्ने सरकारले यो कुरा बिस्र्यो भने प्रतिपक्षमा रहने पार्टीले समेत अर्को मौका पाउने छैन । यस अर्थमा हामी ढिलै भए पनि देश निर्माणको नयाँ घुम्तीमा आइपुगेका छौं । तर यो यात्राका केही महत्त्वपूर्ण र अप्ठ्यारा खुट्किला छन्, जसलाई पार गर्न दृढ अठोट चाहिन्छ । 

नेपाली समाजको समस्या र जटिलताको स्पष्ट चित्र र त्यसका आधारमा फराकिलो र दूरगामी दृष्टिकोण सहितको असल नियत भएको राजनीतिक नेतृत्व विकास गर्ने खाकाविना हामीलाई धेरै पर पुर्‍याउँदैन । साथै यो बहसले कस्ता पात्रले मात्र यस्तो परिवर्तनको नेतृत्व गर्न सक्छन् भन्ने कुराको समेत पेचिलो उत्तर दिनेछ । यस अर्थमा पनि अहिले राज्य पुन:संरचनाको अभ्यास भैरहँदा इतिहासको कठघरामा उभिएका वाद, उपवाद र नेपाली सत्ताको चरित्रको फराकिलो तर आलोचनात्मक विश्लेषण झनै सान्दर्भिक हुन्छ । 

नेपालको समृद्धिको यात्रा शङ्खेकिराको गतिमा छ । आजसम्म नेताहरूले आफूलाई मात्र केन्द्रमा राखे । परिवर्तनलाई संस्थागत हुन नदिने संयन्त्रलाई फेरबदल गर्नुको साटो तिनैको फरिया समातेर सत्तारोहण गरिहाल्ने सपना देखे र गरे पनि । मुलुकको समृद्धिको यात्रा यो तरिकाले तय हँुदैन भन्ने उनीहरूलाई धेरै पहिले र राम्रोसँग थाहा थियो । तर उनीहरू मौकामा चौका हान्नेमै केन्द्रित थिए । 

अहिले सबैतिर समृद्धिको मात्र चर्चा छ, चुनावी सभा, कोठे बहस र चिया पसलमा । केही राजनीतिक अम्मलीलाई बहसका फुदा सुन्ने, एकअर्कालाई गाली गरेकामा हौसिने र ताली पिट्ने अनि बाहिर निस्केर सत्तोसराप गाली गर्ने यो आम प्रवृत्ति भएको छ । आर्थिक, सामाजिक विकास भएन मात्र भन्छन् सबै । सात दशक लामो यात्रामा हामी कहाँ चुक्यौं भन्ने आँट कसैलाई छैन । इतिहासको समीक्षा गर्न र सच्याउन नचाहने तर समृद्धिको सपना बाँड्न भने सधैं तँछाड–मछाड छ । केही नेपाल बनाउन सिंगापुर वा अन्य मुलुकबाट समृद्धिका सूत्रको नक्कल गर्ने कुराको सपना बाँड्छन् । यस्तो सूत्रले नेपाल समृद्ध बन्दैन भन्नेसम्म हेक्का छैन, उनीहरूलाई । हाम्रो आफ्नै सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा भौगोलिक विशेषताको जगमा टेकेर मात्र नेपाल समृद्ध हुने हो । समाज र संस्कृति त फेरांैला, तर इतिहास र भूगोल त फेरिँदैन । हाम्रा प्रयत्नले मात्र परिवर्तित समाज निर्माण हुन्छ । 

हाम्रा नेताले बिराएको बाटो पछ्याउन इतिहासतर्फ फर्केर हेरे पुग्छ । नेपालको राज्यसत्ताले राजा र पछि राणाको पारिवारिक शासनकालदेखि नै परम्परागत धार्मिक तथा सांस्कृतिक भाग्यवादी चिन्तनमा संकुचित मूलत: पहाडे राजनीतिक नेतृत्वको निर्देशन र नोकरशाही कर्मचारीतन्त्रको मिलेमतोमा राज्य ढुकुटी दुरुपयोग गरी सीमित वर्गको स्वार्थ रक्षा गर्दै आएको थियो । हरेक राजनीतिक स्वतन्त्रता आन्दोलनपछि यो दुष्चक्र तोडिने आम नेपालीको अपेक्षा थियो र त्यसैले सधंै साथ दिए परिवर्तनका पक्षमा । तर रजनीतिको केन्द्रमा रहेका नेताहरूले त्यस्तो हुनुको साटो राजनीतिक आन्दोलनका उपलव्धिलाई अत्यन्त साँघुरो व्यक्तिगत स्वार्थका वरिपरि मात्र केन्द्रित गर्दै तिनै पुराना संरचना कायम राख्ने र यसैबाट सत्ता लम्ब्याउने सपना देखे । परिणामत: यही दुष्चक्रले नै आम नेपालीलाई परनिर्भरताको साङलोमा बाँधेर आधुनिक विकासका नाममा अविकासको बन्दी बनाउँदै आएको छ । सरसर्ती हेर्दा अहिले पनि सत्ताको यो चरित्रमा आधारभूत रूपमा धेरै फेरबदल आएको छैन । 

नेपाल र नेपालीको समृद्धिको पहिलो तगारो भनेको धृतराष्ट जस्तो दृष्टिविहीन राजनीतिक नेतृत्व हो । दोस्रो, अठारांै शताब्दीको औद्योगिक युगमा कारखाना चलाउने संयन्त्रका रूपमा विकसित कर्मचारीतन्त्र हो । यो संयन्त्रमा माथिको आदेश र आफ्ना मान्छेको कार्यभारका सर्त थपेर राणाकालमा झनै भुत्ते बनाइएको हो । यही भुत्ते हतियार बोकेर समृद्धिको सपना बाँडिँदैछ । राजनीति, सेवा, धर्म, व्यापार र व्यवसाय सबैतिर मौलाएको यो कर्मचारीतन्त्र नै भ्रष्टाचारको जग बनेको छ । यसलाई फेर्ने सोच बिनाको समृद्धिको कार्यदिशा अर्को एउटा थपिएको ढोँगमात्र हो । 

सबैभन्दा पहिले, हामीभित्र विषवृक्षका रूपमा मौलाएको भ्रष्टाचारको जरो नै उखेल्नु पर्नेछ । यो काम भनसुन, आफ्ना मान्छे र लेनदेनलाई थाहा नपाए जस्तोगरी सघाएका शीर्षनेता र लुटपाटमै रमाएका अन्य नेता तथा कार्यकर्ताबाट सम्भव छैन । यसका लागि धेरै अनुशासित र दृढ इच्छाशक्ति भएका अगुवालाई उनीहरूको भूमिका स्पष्ट पारेर अख्तियार दुरुपयोग नियन्त्रणको जिम्मेवारी दिन सक्नुपर्छ । यस्तो कठोर निर्णय गर्नसके मात्र आम मानिसमा नेतृत्वप्रति विश्वास बढ्छ । सँगै यो अख्तियारीको सीमा कर्मचारीमात्र हैन, समाजका सबै तहमा हुने भ्रष्टाचार नियन्त्रणका लागि हुनुपर्छ । योभन्दा पहिले गरिएका सबै खाले भ्रष्टाचारलाई क्षमा नगरी यो कार्य सम्भव छैन । आम नागरिक एकपटक क्षमादान दिनु र भ्रष्टाचारी सबैले सुध्रिने कसम खानुको विकल्प छैन । कसरी भन्ने वा गर्ने बुझाइमात्र फरक हो । यसका लागि निजामती कर्मचारी पुन:संरचना, खरिद ऐन परिमार्जन र लेखा परीक्षणलाई समय–सापेक्ष बनाउन आवश्यक छ । अब बन्ने संघीय संसद्ले यो कुराको प्रस्ताव सकेसम्म चाँडो ल्याउनसके मात्र सम्भव छ, अन्यथा ‘रात रहे अग्राख पलाउँछ’ ।

दोस्रो, लोकतान्त्रिक सिद्धान्तको चेतना र अभ्यासबिना अबको समाज अगाडि बढ्दैन । नेता तथा पार्टीहरूले यस बारेमा लामै भाषण वा घोषणा गरे पनि उनीहरू यसप्रति इमानदार हुनसकेका छैनन् । त्यसो हँुदो हो त यस पटकको निर्वाचनमा गुन्डा, दलाल र ठेकेदारले हैन, निष्ठावान कार्यकर्ताले टिकट पाउने थिए । भ्रष्ट भनी चिनिएका नेता तथा कार्यकर्ताले टिकट पाउने थिएनन् । अब पनि यही कुरामै अल्झिएर बस्ने कुरा पनि भएन । तर यो निर्वाचन सकिएसँगै आ–आफ्ना पार्टी शुद्धीकरण अभियानमा नेतागण लागेनन् भने उनीहरूलाई पत्याउनुपर्ने कुनै कारण बाँकी रहँदैन । लोकतन्त्रका आधारभूत सिद्धान्तमा कुनै सम्झौता नगर्ने प्रतिबद्धताले मात्र हाम्रो राष्ट्र निर्माणको अभियानले सफलता पाउनेछ । 

तेस्रो, समृद्धिको आधार, बाटो र गन्तव्यको ठम्याइ नभएसम्म हामी केही परसम्म पनि पुग्दैनौं । तर अहिलेसम्म पनि यसको खाका कस्तो हुने भन्नेमा सार्थक बहस भएको छैन । चलनचल्तीको विकासले साँचो अर्थमा हाम्रो समृद्धिको सपना साकार हुन्छ कि हुँदैन ? यो यक्षप्रश्नको चित्तबुझ्दो उत्तर खोज्न अब ढिलाइ हुँदैछ । दुई ठूला देशको बीचमा रहेको हाम्रो देशको तुलनात्मक लाभका क्षेत्रहरू के–के हुन् ? मुख्यत: भूराजनीतिक यथार्थको कसीमा भारतसँंगको हाम्रो सम्बन्ध के हो ? अहिले नै स्पष्ट भए हुन्छ, जुन दिनसम्म हामी कम्तीमा छिमेकी जत्तिकै सबल, सक्षम र समृद्ध हुँदैनौं, हामी हेपिनुको विकल्प छैन । समृद्ध भयौं भने हाम्रा सम्बन्धहरू नयाँ ढंगले परिभाषित हुँदै जान्छन् । 

सँगै राजनीतिमा भन्ने र गर्ने कुरा नजिकैमात्र पुर्‍याउने अठोट गर्ने हो भने हामीलाई समृद्ध हुन कसैले रोक्दैन । तर नेपालको समृद्धिको सपना बाँड्नेहरूको राजनीतिक चेतनाको स्तर अझै खड्किएको छ । आशा गरौं, परिवर्तनको जबर्जस्त चाहनासँगै यो पनि उन्नत हुँदै जाला । अर्को कुरा, आम नेपालीको आम्दानी र रोजगारी सुनिश्चित गर्ने मुख्य उत्पादनको क्षेत्र के हो भन्ने आधारभूत प्रश्नको उपयुक्त उत्तर नहुनेसँग अब समृद्धिको नेतृत्वको अपेक्षा गर्न सकिँदैन । 

पर्यटन र जलविद्युतमा हौसिएका नेताहरू हाम्रो जीविकाको मुख्य आधार कृषि सपार्न उदासीन छन् । यसबाट पनि नाप्न सकिन्छ, उनीहरूको वैचारिक उचाइ । अन्त्यमा, अब पनि परम्परागत राजनीतिबाट माथि उठेर फेरिएको सन्दर्भमा विचार र संगठनलाई पुरक बनाउँदै अघि बढ्न नसक्ने हो भने मूलप्रवाहका राजनीतिमा अगुवा ठानिएको यो पुस्ता नेपालको कर्मचारीतन्त्र जस्तै भुत्ते सावित हुनेछ र त्यससँंगै इतिहासको रछ्यानमा पुरिनेछ । यो अग्निपरीक्षामा सफल वा असफल के हुने हो, आफैं रोज्ने मौका छ । 

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार