देश

मतदान गर्न एक रात बास

- कान्तिपुर संवाददाता , डडेलधुरा

मंसिर २१, २०७४-परशुराम नगरपालिका–७ मलास बतासेका विनोद बोहराको परिवार बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न बुधबार साँझै आफ्नो वडाको मतदान केन्द्र रहेको सादनी गाउँ आइपुगेको छ। बोहरा परिवारसँगै बतासे गाउँका अधिकांश मतदाता बुधबारै सादनी गाउँ आइपुगेर बास बसेका छन्।

‘केही पुरुष मतदाता भोलि बिहानै आउँछन् होला,’ बोहराले भने, ‘महिला र बूढापाका सबै आजै आइसकेका छन्।’ उनले मतदानकै दिन बिहान आउने मतदाता मतदान गरेर त्यही दिन फर्कन 

मुस्किल पर्ने पनि सुनाए। उनका अनुसार मतदान केन्द्र रहेको स्थलबाट बतासे गाउँ पुग्न करिब ७ घण्टा लाग्छ। उक्त क्षेत्रबाट बरु कञ्चनपुरको महेन्द्रनगर २ घण्टामै पुग्न सकिन्छ। 

नगरपालिकाको ७ नम्बर वडाको एउटा बतासे गाउँ मात्र होइन, एक दर्जनभन्दा बढी गाउँ विकट छन्। वडाध्यक्ष केशवसिंह बोहराका अनुसार मलास, बड्डिमलास, कसान, पीपलकोट, तालीगाडा, 

भुमिथाला, जामिरगाड, बस्नौटा र ददिगैरका मतदाता भोट हाल्न बास बस्ने गरी एक दिन पहिल्यै आउने गरेका छन्।

‘यी गाउँका बासिन्दालाई मतदान गर्न मात्रै होइन, अन्य सेवासुविधाका लागि समेत वडा सदरमुकाम आएर फर्कन बास बस्नैपर्छ,’ बोहराले भने, ‘नगरपालिकाको सदरमुकाम जोगबुढा आउनुपर्दा 

त कम्तीमा ३ दिन खर्च हुन्छ।’ मतदानका लागि अघिल्लो दिनको साँझ पुग्ने मतदाताहरू आफन्तको घरमा बास बसेका छन्। बोहराका अनुसार बतासेमा मात्रै अढाई सय मतदाता छन्।

 

‘भोट हाल्न ६/७ घण्टा पैदल हिँडेर आउँछौं, चुनावपछि गाउँठाउँको विकास होला भनेर,’ बड्डिमलासका धनबहादुर धामीले भने, ‘तर हाम्रा दु:ख जसाका तसै रहन्छन्।’ खानेपानी र 

बाटोघाटोलगायत विभिन्न योजना पुर्‍याउने नेताका प्रतिबद्धता विश्वास गरी बास बसेर भोट हाल्न आएको कसानका हरिलाल धामीले बताए। 

परशुराम नगरपालिका–८ को साइसन र घुम्तेगडाका बासिन्दाले पनि मतदानका लागि कम्तीमा ५/७ घण्टा हिँड्नुपर्छ। वडा नम्बर ११ का सिमलबन्डा, पलकाडी, पेउलीबन्दा, सुवाखान र पातलीका मतदाता पनि बुधबारै वडा सदरमुकाम वरपरका गाउँ आइपुगेका छन्।

प्रकाशित: मंसिर २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार