विचार/विश्‍लेषण

एक मतदाताको ‘माइक्रो’ अपेक्षा

- सावित्री गौतम

नेताबाट जनताका अपेक्षा धेरै छैनन्– गाउँमा बस्नेलाई बाटो आइदिए पुगेको छ, सहरमा बस्नेलाई धारा खोल्दा पानी आइदिए पुगेको छ । तर मेरा इच्छा केही ‘गहिरा’ छन् ।

मंसिर २०, २०७४-हालै पोखरामा युवाहरूको एक समूहले ‘युवाको भोट सही उम्मेदवारको छनोट’ शीर्षकमा छलफल कार्यक्रम राखेको थियो । आयोजक र उपस्थित सबैजसो युवा उमेरका थिए । इन्जिनियर, इन्जिनियरिङका विद्यार्थी र केही अरू क्षेत्रका युवा पनि थिए । आमन्त्रित वक्ताहरू थिए— दुइटा ठूला भनिने राजनीतिक दलका नेता र अर्को केही अघि अस्तित्वमा आएको अर्को पार्टीका नेता, जो प्रत्यक्ष राजनीतिमा छन् र सबै उम्मेदवार हुन् । दुईजना गैरराजनीतिक वक्तामध्ये एकजना इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका प्राध्यापक डा. वसन्त गौतम र अर्को म आफैं । 

करिब एक हप्ताअघि नै उनीहरूले ‘हुन्छ’ भनिसकेपछि प्रचार–प्रसार गरिएको बहस कार्यक्रममा ‘ठूला’ दलका दुई उम्मेदवार अनुपस्थित रहे र यसको कारण घरदैलो कार्यक्रम भनियो । हातमा भोट लिएर ‘म तिमीलाई भोट दिन्छु, तर त्यसअघि तिमीले आफूलाई नै किन भोट दिउँ भनेर आश्वस्त पार्नुपर्छ’ भनिरहेका ५० भन्दा बढी युवाहरूलाई आफ्नो ‘भिजन’ सुनाएर एकैपटकमा प्रभावित गरी एकैबिहानको मात्रै लगानी गरेर कम्तीमा ५० मत आफ्नो पक्षमा पार्ने अवसर ती नेताले गुमाए । घरदैलोको नाममा घर–घरमा गएर ‘आउट डेटेड स्टन्ट’ गर्नुभन्दा चुनाव चिन्हभन्दा माथिको सोच भएका युवा मतदातासँग अन्तरक्रिया गर्नु आफैंमा प्रभावकारी चुनावी अभियान हो । २२–२३ वर्षका युवालाई आज नेताहरूले आश्वस्त पार्नसके उनीहरू वा उनीहरू संलग्न दललाई वर्षौंवर्ष मतदान गरिरहनेछन् ।

कार्यक्रममा डा. गौतम, जो प्राविधिक जनशक्तिको प्रतिनिधित्व गर्नुहुन्छ, उहाँको सुरुआती भनाइ थियो– आफूजस्तै लाखौं खर्च गरेर विदेशमा पढेका र नेपालमै बस्न चाहने पीएचडीधारी साथीहरू कसरी केही हजार मात्रको जागिर र अनुसन्धानको अत्यन्त आधारभूत सुविधासहितको प्रयोगशाला मात्रै नभएका कारण विदेशिइरहेका छन् । उहाँकै जस्तो कुनै पनि दलको ‘पुच्छर नसमातेका’ कारण पालो आएर पनि रोकिएको बढुवाको चिरपरिचित कहानी चाखलाग्दो नहोला । तर उहाँले नै पढेको कुनै एक राजनीतिक दलको घोषणापत्र, जसमा लेखिएको थियो– ‘८४ प्रतिशत शुद्ध खानेपानीको आपूर्ति भएको छ’ भन्नेचाहिँं सुन्न चाखलाग्दो मात्र होइन, उदेकलाग्दो समेत छ । गौतमको भनाइ थियो, ‘लेदो आउने पानीलाई ८४ प्रतिशत शुद्ध भनेका छन् ।’ मेरो यसमा थप जिज्ञासा छ— घोषणापत्रको आशय ‘पानीमा शुद्धताको मात्रा ८४ प्रतिशत छ, त्यसैले यत्तिको पानी पिए हुन्छ’ भन्ने हो वा ‘८४ प्रतिशत नागरिकले शुद्ध खानेपानी पाएका छन्, जाबो १६ प्रतिशत खासै चिन्ता मान्नुपर्ने विषय होइन’ भन्ने हो ।

कार्यक्रममा मेरोलागि थप बोल्नुपर्ने विषय थियो– महिलाका लागि प्रत्यक्ष राजनीति किन जरुरी छ ? मैले सुरु गरँें— महिलाका लागि राजनीति तिनै–तिनै कारणले जरुरी छ, जुन–जुन कारणले पुरुषका लागि जरुरी छ । बरु महिलाका लागि प्रत्यक्ष राजनीति बढी जरुरी छ, किनभने उनीहरूका केही विशिष्ट खालका मानवअधिकार हुन्छन्, जसको प्रत्याभूति कुनै महिला नीति निर्माण तहमा पुगेमात्रै हुने आस गर्न सकिन्छ । जस्तै– मातृत्व नैसर्गिक हो र विवाह निकै पछि जन्मेको संस्था हो भनेर बुझ्ने कोही महिला नीति निर्माण तहमा पुगे भने हजारौं एकल आमाहरूले मर्यादित जीवनको अधिकार पाउने थिए, जसलाई कुनै पुरुषले सन्तानकी आमा बनाएर भाग्छ । उनीहरू निर्धक्क आफ्ना बच्चा जन्माउँदा हुन्, हुर्काउँदा हुन् र राज्य र समाजले ‘अवैध’ नामकरण गर्ने बच्चालाई झाडीमा फालेबापत सुत्केरीजस्तो अत्यन्त नाजुक अवस्थामा प्रहरी हिरासतमा बस्नु नपर्दो हो । देशको मातृशिशु मृत्युदरमा केही सुधार आउँदो हो । वा देशको सिमाना रक्षा कलिला छोरीहरूको कोखलाई आरोपित गरेर हुँदैन, यसका लागि छुट्टै नीति–नियम बनाइनुपर्छ, उनीहरूलाई हुर्केपछि संसारको जुनसुकै कुनाको व्यक्तिलाई पनि आफ्नो जीवनसाथीको रूपमा चुन्न पाउने अधिकार छ भन्ने ‘भिजन’ भएका महिला नेतृत्वमा पुगे भने हामी आमाको नामबाट निसर्त नागरिकताको अधिकारको आस गर्न सक्छौं । वा अहिलेका लागि सबभन्दा आधारभूत कुरो, जसरी नेपालमा राजनीति पैसाको खोलो बगाउने खेल भनेर कुख्यात छ, कुनै पुरुष उम्मेदवारले पैतृक सम्पत्ति बेचेरै चुनावमा खर्च गरे पनि ‘उसकै अंश त हो, सके सकोस्’ भनेर बाउआमाले भन्ने चलन छ । तर त्यही स्थिति छोरी वा बुहारी राजनीतिज्ञका लागि कहाँ छ ? त्यसैले (सुन्दा खराब नै लागे पनि) सम्पत्ति खर्च गरेर चुनाव लड्न नसकेकै कारण टिकट पाउनबाट बञ्चित हुने यो अवस्थामा महिलाको पैतृक सम्पत्तिमा अधिकार, पहुँच र नियन्त्रणको व्यवस्था नीति निर्माण तहमै गर्नका लागिसमेत महिलाका लागि प्रत्यक्ष राजनीति जरुरी छ । यस्ता अरू अनगिन्ती कुरा छन्, जसले नीति निर्माण तहमा प्रशस्त महिलाको र बलियो उपस्थितिको माग गर्छन् । 

तर आजसम्म पनि नेपाली महिलाको गोप्य मताधिकार समेत परिवारका पुरुष सदस्य त के कुरा गाउँभरिका पुरुषको कब्जामा छ । यसका लागि भर्खरै सकिएको पहिलो चरणको निर्वाचनमा बझाङमा महिलालाई आफैं मत हाल्न नदिइएको मात्रै होइन, उनीहरूले मतपत्रमा छाप लगाए बिगार्छन् भनेर दलका प्रतिनिधिहरू मतदान नै बहिस्कार गर्न तम्सेको उदाहरण काफी छ । तर पनि बाल्यकालमै देखेको २०४६ सालको परिवर्तन, त्यसपछिको वर्षौं लामो भोगाइ र निर्वाचनताका नेताहरूले गर्ने वाचा र देखाउने विकासका ‘म्याक्रो’ सपनाहरूलाई केलाएको आधारमा चुनाव, नेता र विकासबारे मतदाताको रूपमा मेरा केही ‘माइक्रो’ अपेक्षाहरू छन्, जसकै आधारमा मैले कस्ता उम्मेदवारलाई भोट दिन्थेंँ वा दिन्नथेंँ भन्ने कुराहरूसमेत निर्धारित गर्छन्, जो तल प्रस्तुत हरफहरूमा उल्लेख छन् । 

खुइलिएको प्रचार शैली 

यतिखेर दलका नेताहरूले गर्ने भाषण, दलहरूले बनाएका चुनावी भिडियो वा सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनैमा पनि गालीगलौजको पुरानै तरिका बाहेक खासै नयाँ केही भेटिँंदैन । पुरानालाई नयाँहरू फेस (अनुहार) को दममा नभई फेसबुकको दममा राजनीति गरेकाहरू लाग्छन् । नयाँले जनतालाई घ्वाँ–घ्वाँ रुवाउने पुरानाहरूको विरुद्ध आफ्नो आत्माबाट निस्केको आवाज सुन्न बाध्य बनाउँछन् । कुनैले क्रान्तिकारी एजेन्डालाई ताजा–ताजा जमिनबाट खनेर निकाल्ने हामी हौं भनेका छन्, कुनैले हामी पचासौं वर्ष पुराना क्रान्तिकारी हौं भनेका छन् । कसैले हामी आए सबैको कल्याण हुन्छ भनेका छन्, कसैले यी आए देशै ध्वस्त हुन्छ भनेका छन् । 

सामाजिक सञ्जालको प्रचुर उपलब्धता भएको र ‘आईटी लिटरेट’ नयाँ पुस्तालाई सजिलै प्रभावित पारेर भोट जित्न सकिने युगमा सामाजिक सञ्जालमा सक्रिय नेताहरू समेतको प्रचारको असभ्य तरिका देख्दा वर्षाैंसम्म उनीहरूले प्रजातान्त्रिक अभ्यासका नाममा के अभ्यास गरे भनेर आश्चर्य लाग्छ । जो हेर्‍यो, त्यही मलाई यति–यति कारणले मत देऊ भन्नुभन्दा उसलाई यति–यति कारणले मत नदेऊ भन्नेमा मात्रै तँछाड–मछाड गरिरहेका छन् । त्यसैले म त्यस्ता उम्मेदवारलाई भोट दिन्थेँ, जसले आफ्ना स्पष्ट एजेन्डा र सपनाप्रति आशावादी बनाओस् र अरूलाई खुइल्याउने काम गर्दै नगरोस् । 

बत्ती मुनिका अँध्यारा 

हरेकजसो नेताहरूले हरेकपटक मत माग्ने बेला विकास र समृद्धिका ‘रेडिमेड एजेन्डा’लाई मात्रै अगाडि सार्ने गरेका छन् । समृद्ध समाजको बाधकका रूपमा रहेका विभेदलाई निमिट्यान्न पारेर मात्रै कल्पना गर्न सकिने समृद्ध समाजको चित्रबारे उनीहरू बोल्न नसक्ने मात्रै होइन, ती विभेदलाई आफैले अभ्याससमेत गरेका छन् । मतदाताका गुनासा उनै पुराना छन्– चुनावका बेला बाहेक नेता देखिंँदैनन्, देखिए पनि नयाँ र परिवर्तनकारी कुरा गर्दैनन् । पर्साका मतदाताले गरेको चुनावको बेला घरमै आएका नेताले ‘भोट मागेर फर्केको तर आफूले छोएको पानी नखाएको’ गुनासो वा सुदूर पश्चिमका सर्वसाधारणले दिएको ‘नेताहरूले आफ्ना भाषणमा छाउपडीजस्ता विकृतिको बारेमा चुइँक्कसम्म नगरेको’ अभिव्यक्ति बारेका समाचार यसैका उदाहरण हुन् । 

नेताहरूले हरेकपटक बाँड्ने आश्वासनमा विकास प्रमुख मुद्दा हुन्छ र त्यसमा उनीहरूले कति किलोमिटर वा कति लेनको बाटो बनाएँ, कतिवटा पुल र स्कुल बनाएँ भन्ने कीर्तिमान उल्लेख हुन्छ । सहरीकरणको नाममा कति खेतीयोग्य जमिन मासिएका छन्, अब बचाउन के गर्ने, मासिइनै सकेका ठाउँमा पनि कति असुरक्षित र अव्यवस्थित निर्माण भएका छन् र तिनले भविष्यमा २०७२ सालको भूकम्प वा अन्य खालका प्राकृतिक प्रकोप धान्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा कसैको ध्यानै छैन । गाउँमा भएको स्कुलमा आफ्नो खल्तीबाट रकम झिकेर सहयोग गरेको गफ नेताहरूले गर्छन् । तर त्यही स्कुलमै खल्तीमा पैसा नहुने कति अभिभावकका छोराछोरी पढ्नबाट बञ्चित छन् भन्न्नेबारे उनीहरूलाई जानकारी छैन । सहरीकरणले सबै खत्तम भयो भनेर भाषण दिँंदै गर्दा उनीहरू गाउँ छोड्न नचाहने कति जनसंख्या छन्, जो गाउँमै छोराछोरीले उच्च माध्यमिकसम्मको शिक्षा प्राप्त गर्ने स्थिति आए सहर झर्ने थिएनन् होला भनेर बिर्सन्छन् । खोलापारिको वा डाँडापारिको जस्तै स्कुल वारि बनाइदिए म पनि पढ्न जान सक्थेंँ भनेर कति धेरै अपांगता भएका विद्यार्थी हेरेर बस्दा हुन् भन्ने कुराको उनीहरूलाई पत्तै छैन । 

सहर बजारकै कुरा हुँदा फराकिलो बाटोका प्रशस्त कुरा हुन्छन् त साँघुरिँंदै गएका खुला ठाउँका बारेमा कुरा हुँदैनन् । जो नेताले कुुरा गरे जस्तो गर्छन्, उनीहरूमा समेत सहर बजारका खुला स्थान सार्वजनिक सम्पत्ति हुन् र सर्वसाधारण नागरिकले तिनको नि:शुल्क र निर्वाध रूपमा चौबिसै घन्टा उपयोग गर्न पाउनुपर्छ भन्ने चेत छैन । जति पनि व्यवस्थित गरिएका भनिएका खुला ठाउँ छन्, सबजसो सशुल्क छन्, जसले हरेक दिन पैसा तिरेर छिर्न नसक्ने सर्वसाधारणलाई आफ्नै ठाउँको रुखमुनि वा चौरमुनि पल्टिन सुस्ताउन पाउने अधिकारबाट समेत बञ्चित गरेको छ । 

विकास भनेको बाटो भन्नेमात्रै आधार मानेर भोट दिउँ भने पनि फराकिलो बाटोको फेन्सी चित्रमा थुप्रै प्वाल भेटिन्छन् । जस्तै– बाटो बनाउँदा दायाँ–बायाँका कति सय रुख काटिए, काटिनु हुन्थ्यो वा हुन्थेन, ती रुखको सर्वसाधारणको जीवन वा वातावरणमा कति महत्त्व हुन्छ, ती रुखले उपलब्ध गराउने अक्सिजन कति हुने थियो, अब त्यति नै रुखलाई त्यत्रै बनाउन कति वर्ष लाग्ला– विकासका ठूलठूला रासायनिक कुरा गरिरहेका नेताका अगाडि यी सबै प्रांगारिक कुरा हास्यास्पद लाग्न सक्छन् । त्यसैले स्पष्ट देखिने केमिकल कुरा– बाटो जतिसुकै लेनको बने पनि त्यहाँ साइकल यात्रुका लागि आधा लेनसमेत छुट्याइँदैन । पैदल यात्रुका लागि व्यवस्थित सडकपेटी छैनन्, ह्विलचेयर–बैसाखी प्रयोगकर्ता वा दृष्टिविहीनले त सडकपेटीमा भएका ठूलठूला भ्वाङहरूमा अड्केर ज्यानैसमेत गुमाउनुपर्ने अवस्था छ । सडक सभ्यताको सम्पूर्ण ठेक्का लिएका पैदल यात्रुले सहरको एउटा चोकको जेब्रा क्रसिङपछि अर्को खोज्न एक किलोमिटर भन्दा बढी हिँंड्नुपर्छ । 

गाउँघरका महिलाले आफ्नो नामको विकास बजेटको कुरा गर्दा ‘गाउँमा बाटो बनेको छ, त्यसमा तिमी महिलाहरू हिंँड्दैनौ र’ भनेर जनप्रतिनिधि वा राजनीतिक दलका नेताले सोध्ने प्रतिप्रश्न कहावतको रूपमै प्रचलित छ । दूरदराजका ठाउँको र महिलाको अन्य खालका सामाजिक सुरक्षाका प्रत्याभूतिका कुरा छोडौं, सहर बजारकै कुनाकाप्चाबाट एकाबिहानै स्कुल जाने छात्राहरू असुरक्षित छन् । सवारी साधनमा जानेहरूका लागि उनीहरूका गल्लीका बाटाघाटा खाल्डाखुल्डीले भरिपूर्ण छन्, अँध्यारा छन्, वा हिंँडेर जाने छोरीहरूलाई पुर्‍याउन आफैं गएर आमाहरूले उनीहरूलाई यौनहिंसाबाट बचाएको भ्रम बोकेर मख्ख पर्छन् । सहरका भित्री गल्लीका यी खाल्डा पुर्छु वा सडक बत्तीको व्यवस्था गर्छुसम्म भन्ने नेता देखिंँदैनन् । सहर, सडक, सडकपेटी, स्कुल, पार्क सबै ठाउँ धनीमानी र गाडी चढ्नेका लागिमात्र होइनन् र सहरका सुविधा पनि मध्य सहरमा बस्नेका लागिमात्रै होइनन् भनेर सोच्ने हरेक वर्ग—क्षेत्रका सर्वसाधारण नागरिकको मर्यादा र सुरक्षाको बराबर सम्मान गर्ने उम्मेदवार मेरो प्राथमिकतामा पर्ने थियो । यी सबै काम सजिलै पूरा गर्न देशले वर्षभरिमा हजारौं विशेषज्ञ उत्पादन गर्छ भन्नेसम्म थाहा भएको कुनै उम्मेदवार झनै मेरो प्राथमिकतामा पर्ने थियो । 

अन्त्यमा, 

नेताहरूबाट जनताका अपेक्षा धेरै छैनन् । गाउँमा बस्नेलाई बाटो आइदिए पुगेको छ वा सहरमा बस्नेलाई धारा खोल्दा पानी वा बिजुलीका ‘स्वीच अन’ गर्दा बत्ती बलिदिए पुगेको छ । थोरै मात्र पनि व्यवस्थित र सुरक्षित सार्वजनिक सवारी भइदिए पुगेको छ वा स्वास्थ्य क्षेत्रमा सामान्य सुधारमात्रै भइदिए पुगेको छ । बाँकी सबै परिश्रम उनीहरू आफैं गर्न तयार छन् । यी सबै अति आधारभूत काममात्रै गरेकोमा पनि नेपाली जनताले यसअघि केही व्यक्तिलाई पार्टी वा चुनाव चिन्हभन्दा माथि उठेर सराहना गरेका छन्, अपनाएका छन् । 

डा. गौतमले माथि भनेका जस्ता प्राज्ञिक र प्राविधिक जनशक्तिका अपेक्षासमेत सामान्य तलब र अनुसन्धान सुविधासहितको प्रयोगशालाभन्दा बढी छैनन् । तर बहुसंख्यक सर्वसाधारण नागरिकको अपेक्षा त तीभन्दा पनि निकै कम छन् । शिक्षा र स्वास्थ्यलाई समेत निजी र सरकारी नामकरण गरेर त्यसको गुणस्तर कम या बढी हुने देशमा उनीहरू दुईछाक खानमात्रै पुगे र छोराछोरीका लागि कम्तीमा हजार रुपियाँको स्कुल शुल्क तिर्नु नपरेमात्रै पनि देशमा बस्न तयार छन् । जब भाइबहिनी वा उनीहरूकै उमेरका युवाहरू टनाटन उभिएका चुनावी कार्यक्रममा दलका नेताहरू सामाजिक सुरक्षाका नाममा नागरिककै करबाट काटिने भत्ता यति पुर्‍याएँ वा म त्यो पार्टीले भन्दा बढाएर यति पुर्‍याउँथेँ भनेको सुन्छु, त्यतिबेला लाग्छ, कम्तीमा कुनै नेताले युवाहरूलाई सम्बोधन गरेर भनोस्, ‘म तिमीहरूसँगै मिलेर देशलाई समृद्ध बनाउँछु र रोजगारी दिन नसके बेरोजगार भत्ता दिन्छु, तिमीहरू देशमै बस ।’ कम्तीमा भत्ताकै नामको सही नारामा केही नयाँपन त हुन्थ्यो । 

एउटा मतदाताको रूपमा मेरा केही ‘गहिरा’ इच्छा अझै छन् । पहिलो— जुनसुकै पार्टीका नेता हुन्, उनीहरूले नयाँ पुस्ताका युवाहरूलाई हात हल्लाउने, ‘के छ’ भन्ने, धाप मार्ने र आफ्नो पकडमा राखिराख्ने झुन्डको रूपमा नभई स्वतन्त्र व्यक्तिको रूपमा व्यवहार गरुन् । दोस्रो– दलविशेष र चुनाव चिन्ह विशेषमा विश्वास नगर्ने कुनै नागरिकको स्वतन्त्र र आलोचनात्मक विचार राख्ने अधिकारलाई प्रायोजित विचार र पूर्वाग्रहबाट पीडित भनेर नेताहरू निषेध नगरुन् । तेस्रो— जितेर आएपछि उनीहरू सम्बन्धित दलका र उक्त दललाई भोट हाल्ने मतदाताका मात्रै जनप्रतिनिधि नबनुन् । चौथो र सबैभन्दा महत्त्वपूर्ण इच्छा— यी सबै कुरा बुझेको नेता आइसके भनेर निश्चिन्त नहोउन्जेल मतपत्र वा विद्युतीय ‘भोटिङ मेसिन’मा ‘राइट टु रिजेक्ट’ (अस्वीकार गर्ने अधिकार) प्रयोग गर्न पाइयोस् । 

sabitrigautam2012@gmail.com

 

प्रकाशित: मंसिर २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार