विचार/विश्‍लेषण

बुद्धबारे विभ्रम

- प्रा. प्रमोद मिश्र, काठमाडौं

बुद्ध त राष्ट्रिय खोसाखोस भन्दा माथिका हस्ती हुन्, होइन र ?

मंसिर २०, २०७४-भगवान् गौतम बुद्धको राष्ट्रियता र जन्म सम्बन्धी विवाद एकपल्ट फेरि चुलिएको छ । तर यसपाली दलाई लामा स्वयम्ले नेपालीको घाउ कोट्याएका छन् र मिडिया तथा सामाजिक सञ्जालमा निकै हल्लीखल्ली मच्चिएको छ ।

मलाई पनि यस कुराले निकै झोँक चल्थ्यो, एक समयमा । २०४५ भदौ–असोजको कुरा हो । म भर्खर अमेरिकाको एउटा विश्वविद्यालयमा भर्ना भएको थिएँ । नयाँ हावापानी, नयाँ पढाइ–लेखाइ खुब रमाइलो हुँदै थियो । एकदिन एउटा पर्चा हात पर्‍यो र त्यो हेरेपछि कन्सिरी तातेर आयो । भगवान बुद्ध सम्बन्धी एउटा कार्यक्रम धर्म अध्ययन विभाग (रिलिजन डिपार्टमेन्ट) ले आयोजना गरेको रहेछ (हो, अमेरिकाको प्राय: हरेक विश्वविद्यालयमा धर्मको पढाइ हुन्छ) र त्यसैको निम्तो रहेछ, त्यो पर्चा । तर बुद्ध भने भारतमा जन्मेको लेखिएको थियो । बुद्धबारे के नै भन्लान् भनेर नजाने सुर कसेको मान्छे त्यो देखेपछि नगई भएन भनेर गएँ । त्यतिन्जेल म लुम्बिनी गइसकेको थिएँ । त्यतिमात्र होइन, स्नातकोत्तर सम्मको पढाइ सिध्याएर आफ्नै जिल्ला मोरङको एउटा कलेजमा पढाउँदै गर्दा केचना जंगलबाट सखुवाका गगनचुम्बी रूख डङडङ्ती ढाल्दै राँगा गाडामा हाल्दै घरमा ल्याइसकेको थिएँ । ‘यो देश मेरो पनि हो, अरूले मात्र जंगल पँmडानी गर्न पाउने ?’ भन्ने राष्ट्रिय भावना पलाइसकेको थियो, म गाउँलेमा पनि । 

कार्यक्रममा बुद्ध धर्मका ती अग्ला विद्वान प्राध्यापकलाई भेट्ने बित्तिकै सोधेंँ, ‘के उदेकलाग्दो गलत सूचना पर्चामा लेखाउनुभएको, महाशय † बुद्ध नेपालमा जन्मेको कुरा यहाँलाई थाहै छैन ? म त बुद्ध जन्मेको ठाउँ लुम्बिनी पुगेको पनि छु, जो कि नेपालकै सिमानाभित्र पर्छ । विश्वास लाग्दैन भने आफै गएर हेरे भो ।’ ती विद्वान पहिले त हच्किए, तर फेरि सोचेर भने, ‘यसबारे अलि विवाद त छँदैछ नि विद्वानहरूमाझ, होइन र ?’ मैले भनेँ, ‘बुद्ध लुम्बिनीमै जन्मेका हुन् । जस्तो कि बौद्ध ग्रन्थ र विद्वत् समाजले भन्छ, लुम्बिनी त संसारको एउटै ठाउँमा छ । त्यो हो, नेपाल ।’ 

सन् १९८३ मा मोरङको एउटा कलेजबाट १०/१२ जना विद्यार्थी लिई लुम्बिनी र तिलौराकोट जाँदा त्यहाँ बार लगाएको ढिस्कोमाथि सिन्दुरे रंग पोतिएको एउटा देवी मूर्ति, अलिअलि खनखान गरेको जमेको पानीले भरिएको परतिरको खाल्डो र चर्केको अशोक स्तम्भमात्र थियो । त्यस स्तम्भमा बुद्ध यहीं जन्मेका हुन् र मगध सम्राट अशोकले स्तम्भ स्थापनाका अवसरमा त्यहाँका बासिन्दाको मालपोत पनि घटाएको वा मिनाहा गरेको भन्ने उल्लेख थियो । फेरि बुद्धको जन्मबारे विवाद किन ? 

लुम्बिनी यात्रा गर्नुभन्दा अघि नै विद्यार्थी छँदै म राजगिर र नालन्दा गइसकेको थिएँ, एक साताका लागि पटना विश्वविद्यालयबाट श्रमदान गर्न । २/३ दिन ग्रामीण भेगमा पुल वारिपारिको सडक माटोले भरिसकेपछि नालन्दा जाँदा भर्खरै उत्खनन भएको ठाउँमा हजार वर्षअघि डढेका चामलका काला दाना भुइँमा त्यत्तिकै पोखिएको देखेंँ । घुँडा टेकेर हातमा पार्दा ती कनिकालाई सुमसुम्याउँदै घुँक्क–घुँक्क रोएको पनि थिएँ, सहपाठीहरू अगाडि लाजै लाग्नेगरी ।

बुद्ध र बुद्धमार्गमा मेरो चाख नि:स्वार्थ नभए पनि यो घाँटी निमोठुवा र आत्मश्लाघा राष्ट्रवादबाट भने प्रेरित थिएन, त्यतिखेर । कविरपछि राहुल सांकृत्यायनको मद्दतले मैले बुद्धलाई भेटेको थिएँ, हिन्दु समाजको जातीय पाखण्डबाट निकास पाउन । तसर्थ पनि बुद्ध जन्मस्थल बारे भ्रमपूर्ण प्रचारले पिरोलेको थियो, मलाई । फेरि दक्षिण एसियामै ऐतिहासिक दस्तावेजका आधारमा अतीतबारे निष्कर्ष निकाल्न हिन्दु मिथक र पौराणिक गाथाले भरिएको समाजमा बुद्ध धर्मले नै सर्वप्रथम सिकाएको हो । फेरि तिनकै बारे भ्रम किन ? तर ती बुद्धिजमका प्राध्यापक टसमस भएनन्, आफ्नो अडानबाट । शाक्य राज्य अहिलेको नेपाल–भारत दुबैतर्फ रहेकाले र लुम्बिनी विवादास्पद भएकाले बुद्ध भारतमै जन्मेका हुन् भन्ने कुरामा उनले अड्डी कसिरहे । 

बुद्धको जन्मबारे जानी वा अन्जानी भ्रम अरूले झैं मैले पनि पढ्दै, सुन्दै आएको छु । र यस्तो बुझाउनै नसकिने जानी–जानी अज्ञानी किन हुन्छन्, कतिपय भारतीय र अन्य विद्वान भन्ने प्रश्नले मलाई घरि–घरि घोचिरहन्छ ।

यसको पहिलो उत्तर विद्वत्ताकै नालीबेलीसँंग गाँसिएको छ । अरू धेरै कुरालाई जस्तै विद्वत्तालाई पनि फेसनले के छाड्थ्यो ? खासगरी पश्चिमा मुलुकहरूमा । र त्यसमा पनि त्यहाँका उपभोक्ताले के रुचाउँछन्, त्यही तिनलाई 

टक्र्याउनुपर्ने बाध्यता हुन्छ, उपभोक्तावादको चलन अनुसार । अध्यात्मका पश्चिमा उपभोक्ताले पनि विश्वभरिबाट र त्यसमा पनि खासगरी दक्षिण एसिया र भारतबाट अध्यात्मका विभिन्न सामग्री आयात गर्छन् । योग जस्तै बुद्धिजम यसमा अग्रणी स्थानमा पर्छ । र अध्यात्मको मामिलामा त भारतलाई विश्वस्रोत नै मानिन्छ र मानिँदै आइएको छ, भारत विज्ञ (इन्डोलोजिस्ट) र पूर्वेली संस्कृति विज्ञ (ओरिएन्टलिस्ट) हरू, खासगरी विलियम जोन्स (१७४६–१७९४) र म्याक्स म्युलर (१८२३–१९००) कै पालादेखि । यी भारतका प्रशंसकहरूले भारत सम्बन्धी ज्ञानलाई मात्रै अद्भुत भनेर प्रस्तुत गरेनन्, पाश्चात्य जगतले भारतबाट के सिक्न सक्छ भनी लेखे पनि । उदाहरणका रूपमा म्याक्स म्युलरले भारतबारे क्याम्ब्रिज विश्वविद्यालयमा शृङखलाबद्ध प्रवचन नै दिए, जसलाई किताबका रूपमा ‘भारत : हामीलाई यसले के शिक्षा दिन्छ’ (१८८३) शीर्षकमा छपाए । यसरी तिनले भारतलाई पाश्चात्य सभ्यताको विशृङखलताको विकल्पका रूपमा अघि सारे । आध्यात्मिक उपभोगको यस स्थापित कथ्यमा नेपाल यात फिट हुँदैन या फेरि नेपाल भारतकै आध्यात्मिक भूगोलमा विलिन हुन्छ । जटाधारी हिप्पीहरूले काठमाडौंको ठमेललाई बनारसको विकल्पमा भोगचलन गर्ने परिपाटी त ६० को दशकपछि मात्र बसेको हो । 

तर अहिले भारतीयहरूमा अचानक बुद्धप्रति यस्तो मोह किन ? भारतबाट त बुद्ध ज्ञान र बौद्धमार्गी निमिटयान्न भइसकेका थिए, केही आदि शंकराचार्यको ग्रन्थ दहन उत्साहले र केही मुसलमान लडाकुहरूको बारम्बार नालन्दा र तक्षशिला जस्ता बौद्ध ज्ञान केन्द्रहरूलाई ध्वंस पार्ने असहिष्णु आक्रमणले । शताब्दियौंको विध्वंस र लुटका क्रममा बोधगया हिन्दु मन्दिरमा परिणत भइसकेको थियो र त्यसको स्वामित्व एकजना हिन्दु मठाधीशको हातमा गइसकेको थियो । छेवैको नालन्दा गौचरण भइसकेको थियो । ढिस्को त थियो, तर केको ढिस्को ? यो त १९ औं शताब्दीको अन्त्यमा र बीसौंको सुरुमा अंग्रेजहरूले पाँचौं र सातौं शताब्दीका चिनियाँ पर्यटकहरूका आख्यानका आधारमा बोधिवृक्ष भएको ठाउँ र नालन्दा क्षेत्र ठम्याउनसके । त्यसैले त सन् ५० को दशकमा बीआर अम्बेडकरले आफ्ना दलित अनुयायीहरूसँंगै बौद्ध धर्म अंँगाल्नु अघि भारतमा आदिकालदेखिका बौद्धमार्गी छँदै थिएनन् । राहुल सांकृत्यायन समेतले बौद्ध धर्म अँंगालेका मात्र हुन् ।

तर भारतजस्तो नजिकैको छिमेकमा पनि बुद्धको जन्मथलो बारे यत्रो विभ्रम किन ? पश्चिममा जस्तै भारतमा पनि फेसनले पिटेको छ । सूचना र ज्ञान फेसनजस्तै आउँछ, जान्छ । जम्मु र कश्मिर पाकिस्तानमा छ भनी कुनै शिक्षित भारतीय भन्ला त्यहाँ ? पाकिस्तान बारे सदासर्वदा सशंकित, भित्री भारतको कोकोहोलोले कान फुटेका र रापतापले तिरमिरिएका कतिपय शिक्षित भारतीयलाई आफ्नै पूर्वोत्तर राज्यहरूबारे ज्ञान र चासो हुँदैन । थाइल्यान्ड र मणिपुरबाट पढ्न आएकालाई एउटै ठान्छन् र आफ्नै देशका जनतालाई विदेशी ठानी बेङलोर, पटना, दिल्ली सहरहरूमा दु:ख दिएको समाचार सञ्चार माध्यममा आइरहन्छ । तिनका लागि नेपालको यात अस्तित्व नै छैन, भए पनि भारतकै एउटा भाग होला भन्ने हुन्छ, ‘भुटान, सिक्किम, दार्जिलिङ, नेपाल– कौन क्या हैं, भाइ ?’ भनेर । उनीहरूको दिमागमा यी सबै आर्यावर्त र जम्बुद्विपकै भाग त हुन् । ‘क्या फरक पड्ता हंै ?’ तिनलाई नेपालका दाजुभाइ मुरमुरिएको के थाहा ? 

तर फेरि नेपालमा पनि बुद्धको जन्मबारे यस्तो होहल्ला किन ? काठमाडांै उपत्यकाका शताब्दियौंदेखिका बौद्ध धर्मावलम्बी कुर्लिए त राम्रै गरेछन्, साँच्चिकै चित्त दुखेछ भन्नुपर्ने हुन्छ । तर रूढीवादी नेपाली राज्यले स्थापना कालदेखि नै रैथाने बौद्धमार्गी, जो जनजाति छन्, तिनीहरू विरूद्ध गरेको विभेद र अहिलेसम्म लुम्बिनीलाई गरेको तिरस्कार देख्दा दलाई लामाको भनाइमा यो के खेला गरेको भन्ने लाग्छ । तर केको खेला हुन्थ्यो † भारतीयहरूको राष्ट्रवादी बहिरोपन र अन्धोपन जस्तै यो पनि नेपाली राष्ट्रवादको विद्रुप रूप नै हो । बुद्ध २९ वर्षको उमेरमा गृहत्याग गरेपछि एक–दुई पटकमात्र घर फर्के र भारतमै ज्ञान प्रचार गरे, भारतमै परिनिर्वाण प्राप्त गरे । यस्ता नेपाली र भारतीयका लागि बुद्ध फगत् एउटा राष्ट्रिय विज्ञापन सामग्रीमा खुम्चिन पुगेका छन् र यो सामग्री राष्ट्र आख्यानको एक भाग बनेको छ, जसमा टोपी र लवेदा सुरुवाल अर्को एक भाग बनेको छ । तर बुद्ध भनेको राष्ट्रिय खोसाखोस भन्दा माथिका हस्ती हुन्, होइन र ? 

साँच्ची नै भन्दा बुद्ध न नेपालमा जन्मेका हुन् न भारतमा, कमसेकम अहिलेको भारतमा त पक्कै होइन । गीताको ‘भारत’ (‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत’) हिन्दु सभ्यताको अर्थमा बुझिन्छ, नकि युरोपेली ढाँचाको आधुनिक राष्ट्र–राज्यको अर्थमा । नेपाल शब्द पुरानो नाम भए पनि काठमाडौं उपत्यकालाई अलि पहिलेसम्म पनि नेपाल भनिन्थ्यो । सिद्धार्थ अवश्य लुम्बिनीमा जन्मेका हुन्, जो शाक्यहरूको राज्य थियो, जुन अहिलेको नेपाल–भारत सिमानामा फैलिएको थियो । उनी मगध राज्यमा ६ वर्षको कठोर परिश्रमपछि बुद्ध भए र कोशल राज्यमा प्रथम दिक्षा दिए र तात्कालिक विभिन्न राज्यमा आफ्ना सत्य र मार्गको प्रचार–प्रसार गरे र उतै परिनिर्वाण प्राप्त गरे । हो, बुद्धको जन्मस्थान लुम्बिनी भने पक्कै अहिलेको नेपालमा छ । 

बुद्धले कुन देशको नागरिकता लिन्थे र कुन देशको राष्ट्रियता अंँगाल्थे भन्ने कुरा न महामहिम दलाई लामालाई थाहा हुनसक्छ, न अरू कसैलाई । यसबारे गन्थन नै बेकारको हुन जान्छ । भारतीय र नेपाली संकीर्ण राष्ट्रवादका अगाडि उनले भरसक मानवतावादका कुरा नै गर्ने थिए । आँट छ भने आफ्ना जातीय, धार्मिक राष्ट्रिय संकीर्णतालाई त्यागेर ‘बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी’ भने भैगो नि । मनमा शान्ति पनि हुन्छ, राष्ट्र कल्याण पनि ।

मिश्र अमेरिकाको लुइस विश्वविद्यालयमा अंग्रेजीका विभागाध्यक्ष हुन् ।

प्रकाशित: मंसिर २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार