विचार/विश्‍लेषण

खानेपानीमा खेलबाड

- सम्पादकीय

मंसिर २०, २०७४-राजधानी उपत्यकामा ट्यांकरबाट हुँदै आएको पानी आपूर्तिलाई व्यवस्थित गर्न निर्देशिका जारी गरिए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । नियमनकारी निकायको कमजोरीका कारण उपभोक्ताको घर–घरमा खानेपानी ढुवानी गर्ने धेरै ट्यांकरले आधारभूत मापदण्डसमेत पूरा गरेको पाइँदैन । मानव स्वास्थ्यसँग जोडिने पानीजस्तो संवेदनशील क्षेत्रमा नियमनकारी सरकारी निकाय र व्यवसायीको लापरबाही निन्दनीय छ । दूषित पानी बिक्री संविधानप्रदत्त स्वास्थ्य तथा उपभोक्तासम्बन्धी मौलिक हकविपरीत समेत छ । 

उपत्यकामा ट्यांकरले बोकेको पानीमा हानिकारक जीवाणु भेटिएपछि यो व्यवसायलाई व्यवस्थित बनाउँदै उपभोक्ताकहाँ गुणस्तरीय पानी पुर्‍याउन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ‘ट्यांकर सेवा सञ्चालनसम्बन्धी निर्देशिका’ बनाएर गत वर्षदेखि लागू गरेको छ । निर्देशिकाअनुसार ट्यांकरका दुवै साइड र पछाडिको भागमा ढुवानीकर्ताको नाम, फोन नम्बर, प्रयोजन, अनुमतिपत्र र क्षमता उल्लेख गर्नुपर्छ । पिउनयोग्य खानेपानी (राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, ०६२ बमोजिम मापदण्ड पूरा भएको) का हकमा नीलो, घरायसी प्रयोजनको पानी (सामान्य घरेलु प्रशोधन गरेर वा उमालेर पिउन मिल्ने पानी) मा हरियो र पिउनबाहेक अन्य प्रयोजनको पानी (भान्साको प्रयोगबाहेक सरसफाइ, घर निर्माणलगायत कार्य) का हकमा पहेंलो स्टिकर प्रयोग गर्नुपर्छ । बोर्डले नीलो स्टिकर कसैलाई पनि बाँडेको छैन । खानेपानी आपूर्ति गर्नेलाई हरियो स्टिकर बाँडे पनि सबैले लिएका छैनन् । उपत्यकामा पाँच सयभन्दा बढी ट्यांकरले खानेपानी आपूर्ति गर्दै आएका छन् । निर्देशिकाका अन्य प्रावधान पालनामा पनि ट्यांकर व्यवसायी इमानदार देखिएका छैनन् ।

ट्यांकरले ल्याएको पानीको शुद्धता पनि सुनिश्चित छैन । उपभोक्तालाई कहाँबाट कसरी पानी भरेर ल्याइएको हुन्छ भन्ने थाहै हुँदैन । व्यवसायीको विश्वासका भरमा पानी किन्न उनीहरू बाध्य छन् । प्राय: ट्यांकरले फिल्टर नगरी सोझै पाइपबाट पानी भर्ने गरेको पाइएको छ । उदाहरणका रूपमा ट्यांकरहरूले पानी भर्दै आएको गोदावरीको लामकुण्डलाई नै हेर्न सकिन्छ । त्यहाँ मानिसले लुगा धोइरहेका हुन्छन्, बाटोमा फालिएको पानी पनि कुण्डमै मिसिन्छ । ट्यांकर व्यवसायीले त्यही पानी सोझै भरेर उपभोक्ताको घर–घर पुर्‍याएर बेच्छन् । सघन बसोबास भएको राजधानी उपत्यकामा हजारौं उपभोक्ताको स्वास्थ्यसँग जोडिएको यो विषयमा नियमनकारी निकायको लापरबाही अक्षम्य छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले घर–घरमा जोडिएका धारामार्फत पर्याप्त पानी पुर्‍याउन नसकेकैले उपभोक्ता ट्यांकरको महँगो पानी किन्न बाध्य भएका हुन् । उनीहरूको बाध्यताको फाइदा उठाएर प्रदूषित पानी बेच्नु व्यावसायिक आचरण पनि होइन । 

संविधानमा मौलिक हकअन्तर्गत स्वास्थ्यसम्बन्धी हकमा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीमा पहुँचको हक हुने प्रावधान छ । यस्तै, उपभोक्ताको हकमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने उल्लेख छ । यी हकको प्रत्याभूति उपभोक्तालाई दिलाउन पनि खानेपानीमा देखिएको चरम लापरबाही नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न जरुरी छ । व्यवसायीविरुद्ध उजुरी परे कारबाही गर्ने बोर्ड निर्देशकको भनाइ पनि गैरजिम्मेवार देखिन्छ । धेरै उपभोक्ताको ट्यांकरको स्टिकर र पानीको शुद्धताबारे अनभिज्ञ हुन्छन् । बोर्डले नै नियमित अनुगमन गरेर मापदण्डविपरीत पानी बेच्ने ट्यांकर व्यवसायीलाई कानुनी कारबाही गर्नुपर्छ । नियमनकारी निकाय बलियो भयो भने व्यवसायीहरू इमानदार बन्न बाध्य हुन्छन् । यस्तै, ट्यांकरले बोक्ने पानीको यथोचित मूल्य निर्धारण तथा मूल्यमा एकरूपता पनि आवश्यक छ । यस्तै, उपभोक्ताले किन्दै आएको जार र बोतलको पानीको शुद्धताबारे पनि बेला–बेला प्रश्न उठ्दै आएको र यदाकदा हुने परीक्षणमा हानिकारक जीवाणु पाइएको हुनाले तिनीहरूको शुद्धता नियमित परीक्षण गर्दै लापरबाही देखिए कारबाही गर्न पनि जरुरी छ ।

 

प्रकाशित: मंसिर २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार