मनोरञ्जन

वीरबहादुरको राजधानी यात्रा

  • ‘पहिचान झल्किने गीत गाउँछु । पक्लक्क मरेर गए पनि नाम त रहन्छ नि ।’
- सजना बराल, काठमाडौं

‘टुङना अन्दाजमै सिकेको हुँ । असली बाजा परेछ, एकदम सुरमा बज्छ । भनेजस्तै भाका दिन्छ ।’

मंसिर १९, २०७४-सांगीतिक समूह कुटुम्बसँग स्टेज सेयर गरेयता टुङनावादक वीरबहादुर विश्वकर्मालाई काठमाडौं आइरहनुपर्ने भएको छ । यसमा उनी खुसी छन् । यहाँ आउँदा घाटा हुँदैन । दुई/चार पैसा कमाएर घर फर्किन्छन् । त्यसले पाँच सदस्यीय परिवारको जीविका चल्छ । 

यसपालिको काठमाडौं यात्रा भने अलि चिन्ताजनक रह्यो । हुन त उनी खुसीसाथै राजधानी हिँडेका थिए । रत्नपार्क आउनुपर्ने गाडी कोटेश्वरमै बसिदिनाले तनाव आइलाग्यो । चालकले वीरबहादुर र उनका भान्जालाई रत्नपार्क जाने अर्को गाडीमा राखिदिए । रत्नपार्क ओर्लिएपछि मामा–भान्जाको होस उड्यो । तिनले अघिल्लो गाडीमै झोलाझ्याम्टा छोडेछन् । 

धन्न, टिकट काउन्टर गएर बुझ्दा झोला सुरक्षित रहेको जानकारी पाए । तर, झोला भएको गाडी तुरुन्तै सिन्धुपाल्चोकको लिस्तीकोट फर्किएकाले उनले तत्काल फेला पार्न सकेनन् । ‘चालकले तीन दिनपछि जस्ताको तस्तै थमाउँछु भनेको छ,’ वीरबहादुरले कान्तिपुरलाई सुनाए, ‘धेरै थोक त होइन, लत्ताकपडा छन् । त्यो अरूलाई के काम ?’ यसपछि सिभिल मल छेउको गेस्ट हाउसमा टुङना बज्यो । वीरबहादुर त्यसको तालमा नाचुँला झैं गर्दै थिए । ‘कस्तो पीर परेको थियो मलाई,’ उनले टुङना बिसाएर भने, ‘आँखा नदेख्ने गरिब मान्छे परियो, दु:ख गरेर जोडेको सामान हराउँदा साह्रै चित्त दुख्छ ।’ 

भुइँचालोले ‘मासिदिएको’ घर सम्झिँदा चाहिँ उनलाई अवश्य पीर लाग्छ । भोटेकोसी गाविसमा पर्ने काङलाङको एउटा कान्लोमा उनको घर थियो । वि.सं. २०७२ वैशाख १२ को भूकम्प आउँदा दुईमहिने छोरा र तीन वर्षकी छोरीसहित उनी घरभित्रै थिए । ‘खाँबो ढलेर मलाई भसक्कै थिच्यो,’ उनी सम्झिन्छन्, ‘छोरी खाटमुनि पसिछ । छोरालाई कोक्राले बचायो ।’

वीरबहादुरलाई उनकै जहानले उद्धार गरिन् । आँखा देख्नेहरू धमाधम टहरा बनाउन थाले । विश्वकर्मा परिवार अत्तालियो । गाउँलेले दया गरेर खाँबा गाडिदिए । एक वर्ष त्यसमै गुजारा चलाए वीरबहादुरले । टहरा मर्मत गर्दावर्दा उनलाई ४० हजार रुपैयाँ ऋण लागेछ । कुटुम्ब ब्यान्ड र अन्य दाताले सहयोग नगरेको भए ऋण अझै धेरै हुन्थ्यो ।

‘एउटा बलियो घर बनाउने धोको छ,’ टुङनावादक विश्वकर्मा, तामाङ लवजमा बोल्छन्, ‘ढुंगामाटोको गारो र काठको खाँबो राख्न मन छैन । त्यसले किचेर झन्डै ज्यान गयो ।’ काठमाडौं र अन्य ठाउँमा कार्यक्रम गरेर कमाएको पैसा उनी घर निर्माणमा लगाउन खोज्दै छन् । सरकारी सहयोगबाट पाएको ५० हजार रुपैयाँले जग खनेर गाह्रो उठाउन थालेका छन् । अब कार्यक्रमको निम्ता धेरै आइदिए पक्की घरमा बस्ने उनको सपना चाँडै साकार हुने थियो ।

तीन वर्ष साधना

वीरबहादुर जन्मैदेखि दृष्टिविहीन हुन् । जन्मेको चार दिन, चार रात उनलाई अभिभावकले भोकै राखेका थिए । तर, उनी बाँचे । उनकी दृष्टिविहीन दिदीचाहिँ चार/पाँच दिनकी हुँदा बितिन् । त्यसको केही वर्षपछि वीरबहादुरका बाबु परलोक भए । आमा र दाजुका भरमा उनी जसोतसो हुर्किए । 

गरिबीका कारण पढ्न पाएनन् । भारी बोक्न सिके । दृष्टिविहीनलाई यो काम सहज थिएन । लड्दैपड्दै बाटो पहिल्याए । तातोपानी नाकाबाट सामान भित्र्याउँथे । भरिया बनेर खासा र दूधपोखरी धेरै धाए । ‘अहिले बल छउन्जेल जसोतसो गरुँला तर पछि कसरी बाँच्ने ?’ यही प्रश्नले उनलाई कलाकर्म सिकायो । मुरली बजाउन आउँथ्यो । विरहका धुन निकाल्थे । तर, यसले खासै फलिफाप गरेन । 

झारफुक पनि गरी हिँड्ने वीरबहादुरले आफ्ना गुरु, गावा स्याङ्मो लामाले टुङना बजाएको सुनेका थिए । यसको धुन मज्जाको लाग्थ्यो । एकदिन उनलाई यही बाजा पो ‘कामको चिज’ होला भन्ने लाग्यो । गुरुसँग ५ सय रुपैयाँमा टुङना किने । उनीबाटै थोरबहुत बजाउने तरिका सिके । यसबाट स्याब्रु र होजुङ्मा भाका निकाल्न उनलाई तीन वर्ष साधना गर्नुपर्‍यो । ‘अन्दाजमै सिकेको हुँ,’ अनुहार हँसिलो पार्दै भने, ‘असली बाजा परेछ, एकदम सुरमा बज्छ । भनेजस्तै भाका दिन्छ ।’

सामान बोक्न जाँदा उनी टुङना लिएर जान थाले । त्यसअघि भारी बोकेबापत ३/४ हजार रुपैयाँ कमाउने उनलाई टुङनाले ६ दिनमा १७ हजार रुपैयाँ दिलायो । ‘त्यो मध्ये ८ हजार रुपैयाँ मसँगै गएका दाइलाई दिएँ,’ वीरबहादुर भन्छन्, ‘उहाँको हालत मेरो भन्दा खराब भएकाले माया लाग्यो । सकेको सहयोग गरेँ ।’ लिस्तीकै मेला पर्व, नारायणस्थान मन्दिरतिर टुङना बजाउँदै गीत गाउन निस्किए । यसले उनको आर्थिक अभाव टार्न धेरै सहयोग गर्‍यो ।

पहिचान झल्किने गीत

वीरबहादुर सिन्धुपाल्चोकमा मात्रै सीमित रहेनन् । उनको वादन र गायन कला युट्युबले मनग्गे प्रचार गरेको छ । ‘लाइभ प्रोग्राम’ हेर्नेहरूले उनको भिडियो खिचेर अपलोड गरिदिएका छन् । खाली खुट्टा भुइँमा टुक्रुक्क बसेर ‘...यतिमा राम्रो यो लाली जोवन फेरिफेरि फर्केर आउँदैन...’ गाएको भिडियो हेर्नेहरूले उनलाई ‘असली कलाकार’, ‘लुकेको प्रतिभा’ जस्ता उपमा दिने गरेका छन् । अहिले युट्युबमा उनका प्रशस्तै भिडियो छन् । यसबारे ३३ वर्षे वाद्यवादक तथा गायकलाई अलिअलि थाहा छ । गाउँ/ठाउँ र जीवनका भोगाइ उतार्ने भएकाले आफ्ना गीत श्रोताले मन पराउने गरेको उनी बताउँछन् । ‘पहिचान झल्किने गीत गाउँछु । पक्लक्क मरेर गए पनि नाम त रहन्छ नि,’ उनी भन्छन्, ‘आफ्नै विशेषताको गीत गाउनुपर्छ भन्ने लाग्छ । तिब्बती, शेर्पा र तामाङ भाका गाउन सक्छु ।’

युट्युबकै कारण उनी कुटुम्बसम्म पुगेका थिए । ब्यान्डले गत वर्ष उनलाई काठमाडौं बोलायो । पाँच दिन रिहर्सल गरेपछि पाटन दरबार संग्रहालयको प्रांगणमा कार्यक्रम गरियो । उनले कुटुम्बको वाद्यवादनमा ‘कलकत्ते काइँयो...’ गाए । अनि एकल टुङनावादनमा गुन्जिए : 

यो संसार त नराम्रो थिएन

हेर्न मलाई आँखाले दिएन

घिम्फेको गामैमा

भेटघाट हाम्रो हुन्छ कि हुँदैन

घुम्न जाऊँ लिस्ती मैदानमा... 

उनसँग अहिले तीन वटा टुङना छन् । एउटाको टाउको भाँच्चिएको छ । दुइटा राम्रो अवस्थामा नै भएको बताए । तीमध्ये लामा गुरुसँग किनेको टुङना प्रिय लाग्छ । कार्यक्रममा जाँदा त्यही बोक्छन् । चारतारे यो बाजा अहिले लोपोन्मुख छ । बनाउने मान्छे छैनन् । यही भएर उनको टुङ्ना किन्न खोज्ने प्रशस्त छन् । ‘एक जनाले त ३० हजार रुपैयाँ दिन्छु भन्नुभएको थियो,’ वीरबहादुर भन्छन्, ‘बेच्नेबारे सोच्नै सक्दिनँ । यही कलाले मलाई बचाइरहेको छ ।’

प्रकाशित: मंसिर १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार