समाचार

कांग्रेस उम्मेदवार लक्षित गरेर बम विस्फोट

- नारायण शर्मा, नवलपरासी

मंसिर ९, २०७४-पहाडमा चुनाव प्रचारमा गएका कांग्रेस उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट गराइएको छ । त्यहाँ मानवीय क्षति भने भएको छैन । 

महेन्द्रराजमार्गको चोरमाराबाट पहाडी बुँदीकाली गाउँपालिकामा शनिबार बिहान गएका पूर्वी नवलपरासी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार विष्णु कार्की र प्रदेशसभाका उम्मेदवार विष्णु लामिछाने चढेको जिपलाई लक्षित गरेर पहाडी मार्गको झिरुभञ्याङ भन्ने स्थलमा शनिबार बिहान साढे ९ बजे शक्तिशाली बम विस्फोट गराइएको हो । विस्फोट हुँदा जिप अगाडि कटिसकेकाले (छलिएको) कसैलाई पनि नलागेको र सुरक्षित रहेको उम्मेवारसँगै रहेका बोमलाल थापाले टेलिफोनमा बताए । विस्फोट भएको इलाका प्रहरी कार्यालय रुद्रपुरगढीबाट ३ किलोकिटर पश्चिम पर्दछ । विस्फोट भएको स्थल महेन्द्र राजमार्गबाट १६ किलोमिटर उत्तर कच्ची सडकमा पर्दछ । 

कांग्रेसका उम्मेदवारसहित ३ वटा जिपमा कार्यकर्ता पहाडी गाउँमा प्रचारमा गएका थिए । पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले उम्मेदवारलाई लक्षित गरेर बम फालिएको खबर आएको र घटनास्थलमा प्रहरी पुगेको जानकारी दिए । उनले पहाडमा लुकेर बसेकाहरुले घटना गराएर भागेको हुनसक्ने बताए । 

पहिलोपटक उम्मेदवारहरु पहाड पसेको मौका छोपेर मतदाता त्रसित बनाउन र उम्मेदवारलाई हत्या गर्ने योजनाअनुसार बम विस्फोट गराइएको कांग्रेस जिल्ला सभापति तथा प्रदेशका उम्मेदवार विष्णु लामिछानेले बताए । उनले पहाडमा प्रचार गरेर मात्र फर्किने योजना रहेको सुनाए । पहाडी बुलिंटार, बुंदीकाली र हुप्सेकोट गाउँपालिकामा प्रचारका लागि ३ वटा जिप र मोटरसाइकलमा २ उम्मेदवारसहित ५ दर्जन कार्यकर्ता पहाडतिर गएका छन् । 

नेकपाका कार्यकर्ता भूमिगत 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहका कार्यकर्ता एकाएक भुमिगत भएको खबर छ । जिल्लामा परिचालित रुकुम, रोल्पा र प्युठानबाट आएका उक्त पार्टीका नेताहरुले आफ्नो फेसबुक एकाउन्ट बन्द गरेर टेलिफोन सम्पर्क नहुने बनाएका छन् । उनीहरु भूमिगत भएका कारण त्यसो गरेको हुनसक्ने अनुमान छ । 

शशांकलाई गाडीमा पहाड जान रोक 

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार शशांक कोइरालाई लक्षित गरेर घटना घटाउन सक्ने त्रासका कारण सुरक्षा निकायले पहाडमा गाडीमा जान रोक लगाएको छ । कोइरालाको क्षेत्रमा एउटा गाउँपालिका पहाडमा पर्दछ । 

देशका विभिन्न स्थानमा उम्मेदवार लक्षित गरेर बम विस्फोटका घटना गराइएपछि सुरक्षा निकायले कोइरालालाई पहाडमा गाडी चढेर नजान आग्रह गरेको हो । तनहुँ र पाल्पासँग सिमाना जोडिएका नवलपरासीका ४ वटा गाउँपालिका पहाडमा पर्दछ । 

सुरक्षाकर्मीको आग्रहअनुसार कोइराला सोमबार पहाडी क्षेत्रको डेढगाउँ, कोटथर र बुलिंटारमा हुने चुनावीसभामा हेलिकप्टरबाट जाने कार्यक्रम तय भएको कांग्रेसले जानकारी दिएको छ ।  

प्रकाशित: मंसिर ९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार