फिचर

के पाए नि पाख्रिन दाइले ?

  • गाउँबस्ती र प्रवाससम्म भरिया, कुल्ली र निमुखाको मर्म गाउँदै हिँडेका खुशीराम पाख्रिन लोकगीतको प्रगतिवादी फाँटका सरल, इमानदार र प्रतिबद्ध साधक थिए ।
- सङ्गीत श्रोता, काठमाडौं

जीवनको अन्तिम घडीसम्म पनि खुशीराम पाख्रिन हातमा माइक र ज्यानमा जोस भरेर युवाहरूलाई देश बनाउन आह्वान गरिरहेका थिए र भविष्यको सपना देखिरहेका थिए ।

मंसिर ९, २०७४-अहिलेका टिनेजरहरूले उनका गीतको ‘कभर सङ’ गाएनन् । सामाजिक सञ्जालमा उनका दैनिकीको ट्रेन्डिङ चलेन । न सहरका खुला चोकमा उनका महँगा कन्सर्टहरू भए, न रेडियो–टेलिभिजनमै उनको गीत दोहोरिई–दोहोरिई बजे । लाइक र कमेन्ट बटुल्ने ध्येयको प्रतिभा प्रदर्शन–होडबीच खुशीराम पाख्रिन (२००९– २०७४) कतै थिएनन् । उनी त थिए नेपाली सङ्गीत इतिहासको त्यो धारामा, जसले लोकलयलाई जनताको सुखदु:ख र न्यायप्राप्तिको आन्दोलनसँग निरन्तर जोड्यो, गाउँबस्ती र प्रवाससम्म भरिया, कुल्ली र निमुखाको मर्म गाउँदै हिंड्यो । उनी लोकगीतको प्रगतिवादी फाँटका सरल, इमानदार र प्रतिबद्ध साधक थिए । संगीत सिर्जना र गायनमा विचारबद्ध भएर बिताएको झन्डै चार दशक अवधिमा पाख्रिनले आफ्नो त्यस्तो मौलिक पदचाप छाडेका छन्, जो अहिलेको चमकधमक दुनियाँले नदेख्न सक्छ तर इतिहासले अवश्यै त्यसको मूल्यांकन र पुन:मूल्यांकन गर्नेछ ।

पहाडी जिल्ला गोरखाको निम्नवर्गीय तामाङ परिवारमा जन्मेका खुशीरामको बालादिन र युवा उमेर चितवनमा बित्यो । दस वर्षअघि काठमाडौंमा भएको एक कार्यक्रममा उनले भनेका थिए, ‘म रामेश, रायन, मञ्जुलहरूका गीत सुनेर किशोर उमेरमा प्रभावित भएको हुँ ।’ पञ्चायतकालमा व्यवस्थाविरोधी संगीत सिर्जना गरेर नयाँ धारा निर्माण गर्ने वेदना र संकल्प परिवार रायन र रामेशहरूले नै चलाएका थिए । पाख्रिनले यही धारा समाते, जुन धाराका लागि सरकारी स्वामित्वको रेडियो नेपाल पनि आफ्नो थिएन, निजी स्तरका रत्न रेकर्डिङहरू पनि आफ्ना थिएनन्, न त कोलकाता वा मुम्बईसम्मको व्यवासायिक पहुँच नै थियो ।

२०३९ सालमा भारतको गोरखपुरमा गीत गाउँदै पाख्रिनसहितको चितवन सांस्कृतिक परिवार । 

पाख्रिनले आफ्नै सिर्जनात्मक बुतामा चितवनमा सानोतिनो सांगीतिक टोली बनाए । राजनीतिक रूपमा चौथो महाधिवेशन (पछि मोटो मशाल) सँग आबद्ध उनी वेदना र संकल्प परिवारको ठूलो प्रभाव रहेको मध्यपञ्चायतमा आफ्नो पाइलो राख्ने जमिन खोज्दै जनवादी संगीतका क्षेत्रमा प्रवेश गरेका थिए । पञ्चायतको उत्तराद्र्धमा मोटो मशालसँग प्रतिबद्ध भएर उनले चितवन सांस्कृतिक टोली बनाए । कतिले यसलाई पाख्रिन सांस्कृतिक परिवार पनि भन्ने गर्थे । यही टोलीको नेतृत्व गर्दै उनी पार्टीकै अभियानअन्तर्गत स्वदेश र प्रवासमा जनवादी गीत गाउँदै आफ्नो सीप र कलाकारिता निखार्दै लगे । रामेश, रायन, मञ्जुलले एकछत्र प्रभाव जमाइरहेको समयमा आफ्नो बेग्लै पहिचान बनाउनु सजिलो कुरा थिएन । तर खुशीरामका ‘गैंती बेल्चा उचालेर’, ‘कालो वनको बीचैमा’ जस्ता गीतले सुर र शब्दमा समेत मौलिकता दिँदै श्रोताको मन जित्यो ।

२००७ सालको परिवर्तन, २००६ सालमा कम्युनिस्ट पार्टी स्थापनासँगै नेपालमा जागृतिपूर्ण लोकसंगीतको आधुनिक चरण सुरु भएको देखिन्छ । यसै सेरोफेरोबाट गोकुल जोशी, केवलपुरे किसान, सुरुआती कालका धर्मराज थापा आदिले लोकलयमा जनपक्षीय गीतको देशभित्र र भारतमा समेत प्रचारप्रसार गरेको पाइन्छ । पञ्चायत सुरु भएको केही समयपछि यस धाराको नेतृत्व रामेश, रायनबाट भयो । पञ्चायतकै दोस्रो प्रहरमा यही धारामा निस्केका जनवादी संगीतकर्मीहरूमध्येका हुन् पाख्रिन । चालिसको दशकको सुरूमा उनको गीतिसंग्रह ‘आँसुको भाका’ प्रकाशित भयो । माक्र्सवादी समालोचक तथा चिन्तक मोहन वैद्य ‘चैतन्य’ ले उक्त गीतिपुस्तकको समीक्षा गर्दै २०४४ सालमा पाख्रिनलाई ‘सबल श्रमजीवी प्रतिभा’ भनेका थिए । उक्त पुस्तकमा उनले भरिया, कुल्ली, मजदुर, सुकुम्बासी, महिला, किसान, विद्यार्थी, बालबालिका, सिपाही, प्रवासीजस्ता श्रमजीवी र निम्न वर्गका जनताको सुखदु:खलाई गीतमा ढालेका थिए ।

चालीसकै दशकदेखि पार्टीको सांस्कृतिक विभागको इन्चार्ज रहेका र खुशीराम पाख्रिनसँग निकटतम संगत एवं अन्तक्र्रियामा रहेका समालोचक चैतन्य (हाल : क्रान्तिकारी माओवादीका महासचिव) उनलाई सामन्तवाद–साम्राज्यवादविरोधी सांस्कृतिक आन्दोलनमा व्यावहारिक मैदानमै क्रियाशील योद्धाका रूपमा स्मरण गर्छन् । भन्छन्, ‘पञ्चायतविरूद्धको सांस्कृतिक आन्दोलनमा उहाँको मुख्य योगदान हो, उहाँले सांगीतिक जीवनको जग पञ्चायतकालमै बनाउनुभयो ।’ पाख्रिनका पुराना साथी एवम् गायक जीवन शर्मा आफू वेदना, संकल्पका गीतसँगै पाख्रिनका गीत गाउँदै जनवादी धारामा लागेको सम्झन्छन् । पंक्तिकारसँग उनले भने, ‘आफ्नो जति क्षमता र तागत थियो, त्यो सबै उहाँले नेपाली सर्वहारा वर्गको मुक्तिका निम्ति लगानी गर्नुभयो ।’

रेकर्ड भएका र नभएका गरेर पाख्रिनले चार/पाँच सय गीतहरू सिर्जना गरे । ‘आँसुको भाका’ गीतिसंग्रह दुई भागमा संकलित छ भने कलम, जनादेशलगायत पत्रिकामा उनका थुप्रै रचना प्रकाशित छन् । २०४६ सालपछि गठित अखिल नेपाल जनसांस्कृतिक संघको सांस्कृतिक टिम सामना परिवारका कलाकारका लागि उनी अभिभावकका रूपमा आस्था र सम्मानको केन्द्रमा रहे । युद्धावधिमा खुशीराम पाख्रिन नयाँ कलाकारहरूका लागि गौरवशाली र प्रेरक नाम हुन्थ्यो । पार्टीनीतिअनुसारको पत्रकारिता र कला–साहित्य सिर्जना माओवादी युद्धावधिको एउटा परिपाटी बनेको थियो । त्यसैअनुसार ०५० को दशकयताको पाख्रिनको सिर्जनात्मक काम माओवादी आन्दोलनको वैचारिक–राजनीतिक परिधिमा प्रतिबद्ध रहेको देखिन्छ । ‘जनादेश’ पत्रिकामा चौथो पातोमा (विभिन्न अंकमा) छापिएका उनका ‘रोल्पा : नझुक तिमी एक्लै छैनौ’, ‘होसियार, हे होसियार’, ‘मुक्ति योद्धा हो’ लगायतका गीतहरूमा पार्टीको तत्कालीन कार्यनीतिक अभिव्यक्ति पाइन्छ । त्यस्तै ‘लालझोपडीका मान्छेहरू’ लगायतका उनका रेकर्डेड सिर्जनाले ‘जनयुद्ध’ को सौन्दर्यलाई स्वर दिएका छन् । माओवादीलाई शान्तिप्रक्रियातिर मोड्न महत्त्वपूर्ण मानिने चुनबाङ बैठकमा प्रस्तुत गरिएको उनको निर्देशनको अपेरा खुबै रुचाइएको थियो । तैपनि पञ्चायतकालीन ‘हाम्री चेली बिरानु देशमा’, ‘कालो वनको बीचैमा’, ‘गैंती बेल्चा उचालेर... के पायो नि कुल्ली भाइले’ जस्ता जनमनमा बसेका मर्मस्पर्शी गीत सिर्जनाको अवधि पाख्रिनको युद्धकालीन र युद्धोत्तरकालभन्दा कैयौँ गुना प्रभावशाली र ऊर्जाशील देखिन्छ । 

खुशीराम विरासत र संगीत चिन्तन

जसरी कला साहित्यको मूल्यांकन निरपेक्ष कलावादी कोणबाट मात्र गरेर पुग्दैन, त्यसरी नै कलाकारको इतिहास पनि समाजको इतिहाससँग नजोडी अधुरो हुन्छ । नेपालमा माओवादी ‘जनयुद्ध’ ले उत्खनन गरेका महत्त्वपूर्ण आयामहरूमध्ये एउटा हो— सीमान्त समुदायको जागरण । यो कुरा सांगीतिक क्षेत्रमा पनि देखिन्छ । खुशीराम आर्थिक हिसाबले विपन्न मात्रै होइन, सामाजिक–सांस्कृतिक र ऐतिहासिक रूपमा सीमान्त परिवारमा जन्मे, हुर्के । भारतबाट आएका निर्मल लामा, पारिजात, गोपाल योञ्जनजस्ता एकाध नामहरूको सन्दर्भ बेग्लै भयो, अन्यथा तामाङ समुदायबाट जन्मने–हुर्कनेलाई देशभित्रैको पञ्चायतकालीन पर्यावरणले प्रतिभाशाली हुने अवसरहरू दिंदैनथ्यो । यो सन्दर्भ किन स्मरणीय छ भने खुशीरामले विरासतमै काव्यअभ्यास वा संगीत साधना गर्ने मौका पाएका होइनन् । र, पनि उनी निरन्तर आफ्नो बर्कतले भ्याएसम्म संघर्षरत रहिरहे । युद्धकालमा उनले आफ्ना एक छोरा पनि गुमाए तर सांगीतिक प्रतिबद्धतामा कहिल्यै विचलित भएनन् । 

जीवनको अन्तिम घडीसम्म पनि उनी हातमा माइक र ज्यानमा जोस भरेर युवाहरूलाई देश बनाउन आह्वान गरिरहेका थिए र भविष्यको सपना देखिरहेका थिए । विडम्बनाको विषय के छ भने उनले विश्वास गरिरहेको राजनीतिक आन्दोलन त्यस्तो जँघारमा पुगेर खुट्टा उचालेको छ, जसले कुल्ली, भरिया र मजदुरका दु:खहरू सम्झन्छ कि ठेकेदारकै गाडीमा इन्धन भरिदिन्छ भन्ने टुङ्गो छैन । नेताहरू पाख्रिनका होइन, राष्ट्रवादी गीतकारका सिलोक सम्झन थालेका छन् । आन्दोलनमा हिंडेको जन उपाधियुक्त कलाकारहरूको फौज अब त्यस्तो टोलीमा परिणत भएको छ, जो बिग्रँदै गरेको नेतृत्वसँग प्रतिवाद गर्दैन, बरु भात मात्रै मागिरहन विवश छ, जो बजार–विधिसँग जुध्न सक्दैन, बरु डराईडराई बजारमै कतै ओत माग्न अभिशप्त छ । अनि आजको पार्टी–राजनीति पनि परसम्मको भविष्य वा सपनाबाट निर्देशित छैन, जसरी पनि चुनाव जित्ने र जसरी पनि सिंहदरबार वा बालुवाटार मुकाम पुग्ने बाटो खोजिरहेको छ । चार महिनाअघि अर्कै पार्टीको चुनावी गीत गाइदिने ‘लोकप्रिय’ हरू चार महिनापछि ‘वरिष्ठ जनवादी गायक’ का रूपमा खुशीरामकै पार्टीको चुनावी गीत गाइरहेका छन् ।

खुशीराम पाख्रिनलाई सम्झँदा नेपालको जनवादी संगीत क्षेत्रको अर्को डरलाग्दो खड्को पनि सम्झनैपर्छ । त्यो हो— सङ्गीत चिन्तनमा खडेरी । जनताका बीचमा अत्यन्तै लोकप्रिय र स्थापित गायक तथा संगीतकारहरू नेपालमा छँदै छन्, सिर्जनामा उनीहरूको प्रभावशाली व्यक्तित्व पनि छ तर दुर्भाग्य उनीहरू संगीत चिन्तन गर्दैनन्, बरु नेता वा शासकहरूसँग गनगन गर्छन् । संगीतकर्मीलाई स्वतन्त्र सर्जक वा चिन्तकका रूपमा होइन, अरनखटन गर्ने टोलीका रूपमा लिने प्रवृत्ति राजनीतिक नेतृत्वमा पनि बलियो छ । बोलीवचनमा पनि सांस्कृतिक ‘टोली’ वा ‘परिवार’ भनेर चिनाइन्छ । पछिल्लो समय संगीतकर्मलाई चिन्तनकर्मसँग र नयाँ परिवेशसँग जोडेर लैजानुपर्छ भन्ने विचार निर्मित हुँदै थियो र पाख्रिन पनि यो छलफलमा सहभागी हुँदै थिए, भलै अब यो जिम्मेवारी नयाँ पुस्तामा सरेको छ । 

व्यवस्था फेर्न हिंड्ने धेरै असल योद्धाहरू यतिखेर आफ्नै पार्टी फेर्न नसक्ने विडम्बना झेलिरहेका छन् । खुशीराम पनि माओवादी पार्टीको उतारचढाव, टुटफुट र अकल्पनीय घुम्तीमराइबाट हैरान थिए र धेरै अर्थमा त्यसको सिकार भएका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष, संविधानसभामा सभासद, राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित, जनसांस्कृतिक महासंघका संरक्षक र माओवादी पार्टीका केन्द्रीय सल्लाहकार भए । तर धेरै हदसम्म पार्टीसँग उनका गुनासा, चित्तदुखाइ र असन्तुष्टि थिए ।

उत्तराद्र्धको चिन्ता

‘साथीभाइहरू तथा जनताको प्रेरणाले नै धेरै गीतहरू लेखियो । अब त जनपक्षीय गीत सुन्ने 

संस्कार हराउँदै जाला भन्ने डर भइसक्यो । तर सच्चा जनताका पक्षधरहरूले आफ्नो वर्गको मुक्तिको लडाइँ जुनसुकै रूपमा होस्, जारी राख्नेछ । त्यसरी नै युग बदल्ने जनसंगीत पनि कहिल्यै निभ्ने छैन । 

आफ्नो ठाउँबाट निरन्तर कलमहरू चलिरहनेछ, स्वरहरू गुन्जिरहनेछ ।’

जीवनको उत्तराद्र्धमा पाख्रिन कुन कुराले सबैभन्दा बढी चिन्तित थिए भन्ने कुराको साक्ष्य हो, गीत–संगीत सम्बन्धमा भदौ २१ गते लेखेको उनको यो फेसबुक स्टाटस । मृत्यु हुनुभन्दा अढाई महिनाअघि मात्रै जनपक्षीय गीत सुन्ने संस्कार हराउँदै जान लागेको भन्दै उनले त्यसको कारकका रूपमा ‘वर्ग मुक्तिको लडाइँ’ को अहिलेको हालततिर संकेत गरेका थिए । 

इतिहासकार एरिक हाब्सबाम भन्छन् : ‘इतिहासबाट शिक्षा लिने वा पाठ सिक्ने हो भने दुई जना मान्छे त चाहिन्छन् नै । पहिलो जानकारी दिने, दोस्रो त्यसलाई सुन्ने ।’ पाख्रिनले जनसंगीत क्षेत्रमा हिंडेको बाटो र त्यसको सौन्दर्यमूल्यको स्थापनाका लागि पनि यतिखेर कम्तीमा दुईथरी मान्छेको खाँचो छ : उनका बारेमा बताउनेहरू, अनि सुनेर त्यसको मूल्य ग्रहण गर्नेहरू । अनि यतिखेरको राजनीतिलाई प्रश्न गर्नेहरूको पनि त्यत्तिकै खाँचो छ, जसले सोधोस्— पाख्रिन दाइले के गाएको थियो ? पाख्रिन दाइले के जिन्दगी बाँचेको थियो ? अनि यो लोकतन्त्रको सुविधाभोग कुनै ठेकेदारले त गरिरहेको छैन ?

प्रकाशित: मंसिर ९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार