देश

६३ वर्षदेखि आरनमै

- पूर्ण विके, पोखरा

काम गरिरहेकैले मैले लौरोको सहारा लिनुपरेको छैन, यो उमेरमा पनि अझै घन उचाल्दैछु

मंसिर ९, २०७४-७१ वर्षीय धनबहादुर विक अझै घन उचालेर कुटो–कोदालो बनाउने गर्छन् । उनका दौंतरी भने लौरोको सहारामा हिँडडुल गर्छन् । पृथ्वी राजमार्ग छेवैको पोखरा–३२ लामेआहालमा विक आरनमा दैनिक कृषि औजार बनाउँदै–अर्जाप्दै गरेका भेटिन्छन् । ‘काम गरिरहेकैले मैले लौरोको सहारा लिनुपरेको छैन,’ उनले भने, ‘यो उमेरमा अझै घन उचाल्दैछु ।’

विकले आफू आठ वर्षको छँदा पिता रुद्रबहादुरबाट आरनको काम सिकेका हुन् । ‘पहिले कामको चाप धेरै हुन्थ्यो । अहिलेजस्तो बजारमा फलामका औजार पाइन्नथे । हामीले नै बनाउनुपथ्र्यो,’ उनले भने, ‘बुबाले काम एक्लैले धान्नै नसकेपछि मलाई पनि सिकाउनुभयो । औजार बनाउने काम थालेको ६३ वर्ष भइसकेछ । सीपले गर्दा यो उमेरमा अरूको भर पर्नु परेको छैन ।’ उनले दैनिक काम गर्ने आरन र घर करिब एक घण्टा टाढाको खुदीमा छ । दैनिक बिहान ८ बजे आउने र साँझ र फर्कने गर्छन् । 

बिहानको खाना श्रीमती ६६ वर्षीया सनसरीले ल्याइदिने गर्छिन् । आरनमा नियमित काम हुने भएकाले तनहुँको दुलेगौंडा, विजयपुर, खुदी, ढुंगेपाटन, गगनगौंडा लम्गादी र भञ्ज्याङ लगायतबाट गाउँले आउँछन् । हँसिया, खुर्पा, कुटो, कोदालो, बन्चरो र करौंती बनाउने र अर्जाप्ने काम लिएर आउनेलाई उनले सेवा दिएका छन् । ‘आफूले जानेको सीप भनेको यही नै हो । त्यसैले कहिल्यै पनि काम रोकेको छैन,’ उनले भने, ‘काम नरोकिने भएकाले नै मान्छेहरू टाढाटाढाबाट पनि आउँछन् । सिजनमा दिनमै १२/१५ सय रुपैयाँ पनि कमाइ हुन्छ ।’

दसैंको फूलपातीअघि करिब १५ दिन र मंसिरमा धान थन्क्याउने समयमा आरनमा कामको चाप बढ्ने उनले बताए । बसेर गर्ने काम भएकाले उनको दुवै घुँडा दुख्ने समस्या छ । उनले भने, ‘खुट्टा दुख्ने बाहेक ज्यानमा त्यस्तो अरू समस्या छैन ।’ ज्यानलाई कसरत पर्ने काम गर्न छाडेकाले मान्छेहरू बिहानै हिँड्ने, दौड्ने गरेको उनले बताए । ‘मलाई घरबाट आउजाउमा दुई घण्टा हिँड्नुपर्छ,’ उनले भने, ‘त्यसमाथि आरनको कामले ज्यान गलाउँछ । मलाई कामले नै कसरत पुगेको छ ।’

उनको खर्च भनेको कोइला खरिदमा हो । प्रतिबोरा कोइलाको ७ सय रुपैयाँ पर्छ । ‘पहिले पहिले सरकारले हामीजस्तालाई आरनका लागि कोइला किन्दा छुट दिन्थ्यो,’ उनले भने, ‘अब जति पर्छ त्यतिमै किन्नुपर्छ । आरन थाम्ने नयाँ पुस्ता पनि हराए, बजारमा सबै कारखानामा बनेका सामान 

आउन थाले ।’ 

हँसिया, कोदालो अर्जापेको ४०, खुर्पाको ८० देखि सय, खुकुरीको ७० र बन्चरोको सय रुपैयाँ ज्याला लिने गरेको उनले बताए । नयाँ हँसिया बनाएको ३ सय र खुर्पा बनाएको ७ सय रुपैयाँसम्म लिने गरेका छन् । कृषि औजार बनाउने सिजन बाहेकका दिन दिनको तीन/चार सय कमाइ हुने गरेको छ । उनका छोरा बलबहादुरले पनि आफ्नो पुरानो गाउँ तनहुँको मान्द्रेमा आरान चलाएका छन् ।

प्रकाशित: मंसिर ९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार