समाचार

बास खोज्दै भूकम्पपीडित

  • छाप्रा बनाएर बसेको निजी जमिनबाट समेत हटाइएका विस्थापित भन्छन्, ‘जसले बास दिन्छ, भोट उसैलाई’
- घनश्याम खड्का, कृष्ण थापा, उत्तरगया (रसुवा)

मंसिर ९, २०७४-त्रिशूली खोलाको बगरमा बडो दु:खले सम्याएको एक टुक्रो बलौटे जमिनमा पुराना टिनको एउटा छाप्रो छिमेकीहरूको सहयोगमा भर्खरै बनाएकी छन् माइली तामाङले । शुक्रबार उनले आफ्ना थाङ्ना, भोटा, केही भारी दाउरा र अलिकति चामल छाप्रोभित्र हुल्न ठिक्क पारेकी थिइन् । 

‘आजबाट यहाँ सरिसक्नुपर्नेछ,’ थाकेका आँखाले जसोतसो ठडिएको छाप्रोतिर हेर्दै उनले भनिन्, ‘अब मेरो घर यही हो ।’ भुइँचालोले रसुवाको हाकु–९ गोगनेमा रहेको उनको घर मात्रै नभएर गाउँ नै पुरिदिएपछि माइली र उनका धेरै छिमेकी बेत्रावती झरे । राहतमा जुटेको जस्तापाताले एउटा झुप्रो बनाए अनि लस्करै बसे । भूकम्पले घर भत्काएपछि रसुवाको गोगने, तिरु, मैलुङ, करुमर्‍याङलगायत झन्डै तीन सयभन्दा बढी घर परिवार माइलीझैं रसुवा–नुवाकोटको सिमानामा पर्ने बेत्रावतीमा झरेका थिए । 

त्यतिबेला आपत परेकाले मिलेको समथर जमिनमा बसेका उनीहरूलाई पछि जग्गाधनीले धपाए । ‘त्यसपछि हामी बेत्रावतीभन्दा पर निजी जग्गामा महिनाको ५ सय भाडा तिरेर नौबिसे भन्ने गाउँमा छाप्रो हालेर बस्यौं,’ माइली भन्छिन्, ‘अब त्यहाँबाट पनि हामीलाई उठाइयो ।’ जग्गाधनीले पेट्रोलपम्प बनाउने योजना अघि सार्दै विस्थापितलाई अन्यत्रै जान भनेपछि अन्तत: उनीहरू उत्तरगया गाउँपालिका ५ खाल्टेस्थित त्रिशूली नदीकिनारको बगरमा सरिरहेका छन् । कोही सर्ने तयारी गर्दैछन् भने कोही बगरको उबडखाबड जमिन सम्याएर भर्खरै खाँबो गाड्ने तरखरमा छन् । खाल्टेको दृश्य यतिखेर युद्धको प्रकोपबाट भागेर हिँडेका मानिसले निर्जन ठाउँमा बस्ती बसाउन खोजिरहेको जस्तो देखिन्छ ।

यसरी घर सर्ने दर्जनौं विस्थापितको हुलमा थिए केहीअघि कतारबाट फर्किएर आएका ३५ वर्षीय करसाङ लामा । उनी शुक्रबार दिनभरि बगर सम्याएर खाँबो गाड्ने तरखरमा जुटिरहेका देखिन्थे ।‘के गर्ने, बस्ने बास त नभइनहुँदो रहेछ,’ उनले भने, ‘बिरालाले बच्चा सारेझैं हामीलाई छाप्रो सार्नुपरिरहेको छ ।’

भुइँचालो गएर घर मात्रै नभई हाकु–८ तिरुस्थित गाउँ नै पुरिएको खबर उनले कतारमै पाएका थिए । त्यसपछि नेपाल फिरेका उनले बेत्रावतीको सात बिसे र त्यसपछि नौबिसेमा जस्ताले बेरेको एक कोठे छाप्रो बनाए । अहिले त्यही जस्तापाता उक्काएर र त्यसमा केही पाता थपथाप पारेर उनी खाल्टेमा अर्काे अलिक लामो टहरो बनाउने ध्येयमा छन् । आफूजस्ता धेरै विस्थापितहरूको यस्तो बिचल्ली हुँदासमेत अहिलेसम्म सरकार, राजनीतिक दलका नेता र सामाजिक संघसंस्था कसैले पनि केही नगरिदिएकामा उनको चित्त दुखाइ छ ।

‘नेताहरू भोट माग्ने बेला मात्रै हामीकहाँ आइपुग्छन्,’ उनले भने, ‘आफूले जिते सबैलाई एकै ठाउँमा बस्ती बसालेर राखिदिने वाचा पनि गर्छन् तर पूरा गर्दैनन् ।’

स्थानीय उत्तरगया नगरपालिकाका अध्यक्ष उपेन्द्रराज लम्साल पनि उनीहरूसामु भोट माग्न आउँदा यही वाचा गरेर गएका थिए । ‘हामीले उनलाई भोट पनि हाल्यौं र जितायौं पनि,’ अर्का विस्थापित ४२ वर्षीय लाक्पा तामाङ भन्छन्, ‘तर खै त, त्यसपछि न फर्केर आए न हाम्रा लागि केही नै गरिदिए, बरु उल्टै भएको छाप्रोबाट पनि लखेटिनुपर्‍यो ।’ 

भुइँचालोका कारण लाक्पाले गोगनेस्थित घर मात्रै गुमाएनन्, छोरालाई निकाल्न खोज्दा त्यसैमा पुरिएर देब्रे खुट्टा पनि गुमाउन पुगे । ‘अरू साथीहरू त तैबिसेक ज्यालामजदुरी गरेर गुजारा गरिरहेका छन्,’ उनी भन्छन्, ‘मेरो त त्यो अवस्था पनि छैन, सधंै यसरी कति दिन चल्ला ?’ टहरो बनाउँदै, भत्काउँदै र सार्दै गर्दा विस्थापितहरूले राहतमा पाएका जस्तापाता प्वालै प्वाल परेका छन् । त्यसबाट हावा छिर्ने र शीत चुहिने हुनाले उनीहरूलाई जाडोमा झन् सास्ती छ । 

‘चिसोमा जस्ताको घरभित्र बस्नु एकझर पानीमा प्रत्येक रात रुझ्नुजत्तिकै हो,’ २४ वर्षीया सजिना तामाङ भन्छिन्, ‘चिसोका कारण हाम्रा भएका लुगाफाटा पनि एकै वर्षमा मक्किएर काम नलाग्ने भए, निकै नै गाह्रो छ गुजारा चलाउन ।’

विस्थापितलाई चिसोले बिरामीसमेत बनाएको छ । बच्चाहरूमा टाउको दुख्ने, जिउ सुन्निने र आउँ पर्ने समस्याले सताउने गरेको उनीहरू बताउँछन् । कसैले वास्ता नगरेकाले नेताहरूलाई विश्वास गरेर भोट हाल्न धाइरहन उनीहरूमा उत्साह छैन ।

प्रकाशित: मंसिर ९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार