प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

चेपाङ बस्तीमा सधैं अनिकाल : कहिल्यै बन्दैन चुनावी मुद्दा

  • ८० प्रतिशत चेपाङ लालपुर्जाविहीन, शिक्षा, स्वास्थ्य र खानेपानीको चर्को समस्या
- विमल खतिवडा, मैनाडाँडा (चितवन)

मंसिर ७, २०७४-कालिका नगरपालिका-१० स्थित मैनाडाँडाकी ७० वर्षीया नरमाया चेपाङ थला परेको ३ वर्ष भयो । उपचारका लागि भरतपुर अस्पताल पुगिन् । साता दिनसम्म त्यहीं बसिन् । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिए । खर्च धेरै लाग्ने डरले आत्तिँदै परिवारको साथ लागेर घर फर्किन् ।

अहिले थलिएरै बस्नु परेको छ । भदौमा भित्र्याएको मकैले अब साता दिनसम्म धान्ला । उनका लागि एकै ठाउँमा बसेर दिन कटाउनुको विकल्प छैन । मोटरबाटो चल्ने सिद्धि दोभानबाट करिब एक घण्टाको दूरीमा गाउँ छ । प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनको समय नजिकिँदै गरे पनि उनी यसबारे अनभिज्ञ छिन् । ‘पहिले पनि बिरामी छु भनेकी थिएँ, नेताहरूले भोट हालेपछि उपचार हुन्छ, दु:खका दिन जान्छन् भन्दै छोरा/बुहारीलाई भुलाए । उनीहरूले बोकेर लगे,’ उनले भनिन्, ‘चुनाव जितेपछि नेताहरू फर्किएर आएनन्, कहाँबाट उपचार पाउनु, कहाँबाट सुखका दिन आउनु ? ।’ उनलाई उपचार पाए आफैं ज्याला मजदुरी गरेर खान सक्थें भन्ने लागेको छ तर उपचारका लागि खर्च छैन । अनिकाल सुरु हुन लागेको छ । 

६ महिना अनिकाल र ६ महिना सहकाल भने पनि खोरियाको मकै/कोदोले जेनतेन ४ महिना खान पुग्छ । ‘यो उमेरसम्म आउँदा कहिल्यै अनिकालले छाडेन,’ उनले बिलौना गर्दै भनिन्, ‘गरिबका पनि दिन आउँछन् भन्थे, खै यो जुनीमा त आउलाजस्तो छैन ।’

 

७ जनाको परिवार छ । सधैं खान-लाउनको समस्या हुन्छ । ‘अघि-पछि हाम्रो दु:ख बुझ्न कोही आउँदैनन्,’ श्रीमान् चन्द्रबहादुरले भने, ‘जब चुनाव आउँछ, तबमात्र पीडा पोख्न पाइन्छ, चुनाव सकिएपछि पीडा सुन्नेहरू गाउँमा देखा पर्दैनन् ।’ जितेपछि उम्मेदवार गाउँ फर्किंदैनन् । कार्यकर्तालाई खटाउँछन् । ‘हाम्रो गाउँमा खानेपानी छैन, बाजेको पालादेखि भोग्दै आएको अनिकाल अहिले पनि उस्तै छ,’ टाक्सीडाँडाका हर्कबहादुर चेपाङले भने, ‘पीडा सहेर कहिलेसम्म दलको 'भोटबैंक'का रूपमा प्रयोग भइरहने ? ।’ 

उनले बेरोजगारी समस्याले गर्दा बिहान-बेलुकाको छाक जुटाउन समस्या हुने गरेको सुनाए । ज्याला मजदुरी गर्नुको विकल्प छैन । ‘सधैं बिहान-बेलुकाको छाक कसरी जुटाउने भन्ने पीर मात्र हुन्छ,’उनले भने, ‘परम्परादेखि चेपाङसँग जोडिएर आएको अनिकाल कहिल्यै दलका चुनावी मुद्दा बन्दैनन् ? भोको पेट कहिलेसम्म भोट खसाल्न मात्र दौडिने ? हाम्रो काम चुनावमा जो उठ्छ, उसलाई जिताउने मात्र हो त ?’ 

यो उनको मात्र प्रश्न र पीडा होइन । गरिबीको समस्या झेलिरहेका चेपाङ समुदाय सबैको प्रतिनिधि समस्या हो । गाउँमा चुनाव कहिले हुँदैछ भनेर समेत गाउँले जानकार छैनन् । जति जानकार छन् उनीहरू यो पटक दलका उम्मेदवारलाई गरिबी हटाउन र लालपुर्जा दिन प्रतिबद्धता नजनाएसम्म भोट नदिने अडानमा छन् । वर्षौंदेखि बस्दै आएको जग्गाको लालपुर्जा दिनुपर्ने माग विकटका गाउँलेको छ । अधिकांश लालपुर्जाविहीन छन् । भित्ता-पाखा र खोरियामा बसोबास गर्दै आएकाहरू जग्गाको लालपुर्जा नहुँदा हरेक अवसरबाट वञ्चित छन् । 

लालपुर्जा नभएकै कारण भूकम्पमा घर भत्किएकाहरूले अझै सहयोग पाउन सकेका छैनन् । ‘चुनावका बेला मात्र गाउँ पस्ने दलका लागि हाम्रा समस्या कहिल्यै चुनावी नारा बन्न सकेनन्,’ स्थानीय यमप्रसाद चेपाङले भने, ‘भोक र अभावमा कहिलेसम्म दलका नेतालाई चुनाव जिताउने ?, यो जवाफ अब हामीलाई चाहिन्छ ।’

  

२०६८ को जनगणनाअनुसार मुलुकभर ६८ हजार ३ सय ९९ चेपाङको जनसंख्या छ । चेपाङ अगुवाका अनुसार चेपाङको कुल जनसंख्याको ८० प्रतिशत लालपुर्जाविहीन छन् । ६ पुस्तादेखि पुर्जा नपाउनेहरू छन् । बढी बसोबास चितवन, मकवानपुर, धादिङ, गोरखा र तनहुँमा छ । चितवनमा सबैभन्दा धेरै ४० प्रतिशत चेपाङ लालपुर्जाविहीन छन् । उनीहरूको बास डाँडापाखा र ओडारमा छ ।  

यस्तै मकवनापुरमा २५ प्रतिशत, धादिङमा १५ र गोरखामा ५ प्रतिशत चेपाङको लालपुर्जा छैन । सबैभन्दा बढी लालपुर्जा नहुने चितवनको राप्ती नगरपालिकाको लोथर र कोराकका छन् । त्यसपछि माडी नगरपालिकाको बाँदरझुला र पदमपुरमा छन ।

चितवनमा यो समुदायको बसोबास बढी छ । जहाँ चेपाङको जनसंख्या २८ हजार ९ सय ८९ छ । दोस्रो मकवानपुरमा १९ हजार २ सय ३३ र तेस्रो धादिङमा १४ हजार ४ सय ९२ छ । चौथो गोरखामा ३ हजार ४ सय ५४ छ । अन्य जिल्लामा  बसोबास फाट्टफुट्ट छ । पूर्वसांसद गोविन्दराम चेपाङका अनुसार कुल जनसंख्यामा वर्ष दिनसम्म खान पुग्ने चेपाङ ७ प्रतिशत छन् । त्यस्तै ९ महिना पुग्ने २५ प्रतिशत, ६ महिना पुग्ने ४० र ३ महिना सम्म मात्र पुग्ने चेपाङ २८ प्रतिशत छन् । 

‘अति सीमान्तकृत समुदाय चेपाङको मुख्य समस्या भनेको खाद्यान्न हो,’ नेपाल चेपाङ संघका शिक्षा विभाग प्रमुख तिलक चेपाङले भने, ‘चेपाङप्रति दलहरू उदासीन बन्दा यी समस्या उनीहरूको चुनावी मुद्दा कहिल्यै बन्न सकेनन् ।’ उनका अनुसार कुल जनसंख्यामा २३ प्रतिशत मात्र साक्षर छन् । ७७ प्रतिशत चेपाङ निरक्षर छन् । ३५ प्रतिशतको नागरिकता छैन । 

प्रतिनिधि र प्रदेश सभातर्फको प्रत्यक्ष निर्वाचनमा कुनै पार्टीले यो समुदायबाट उम्मेदवार छानेनन् । ‘ चेपाङ समुदाय अझै गरिबीको रेखामुनि छन्,’ पूर्वसांसद गोविन्दरामले भने, ‘यसको अन्त्य हुन जरुरी छ, चेपाङ समुदायलाई आत्मनिर्भर बनाइनुपर्छ ।’ 

प्रदेशसभातर्फ कांग्रेसले मकवानपुरबाट सन्तबहादुर चेपाङ र धादिङबाट एमालेले जितेन्द्र चेपाङलाई समानुपातिक सूचीमा नाम राखेको छ । माओवादी केन्द्रबाट छैन । ‘विकट बस्तीहरूमा चेपाङ समुदाय अहिले पनि कठिन अवस्थामा बसोबास गर्न बाध्य छन्,’ चेपाङ अगुवा केपीकिरण शर्माले भने, ‘कम संख्या भए पनि यो समुदायले बढी पीडा खेप्नु परेको छ, राज्यको ध्यान यसतर्फ जान जरुरी छ ।’ उनले बर्सेनि अनिकालको सामना गर्दै आएको यो समुदायको गरिबी अन्त्य गर्न राज्य गम्भीर भएर लागिपर्नु पर्ने बताए । 

गाउँमा नजिकमा विद्यालय छैनन् । पढ्न जानका लागि ४ घण्टाभन्दा बढी पैदल हिँड्नुपर्छ । स्वाथ्यचौकीमा स्वाथ्यकर्मी बस्दैनन् । उपचार नपाई अकालमा ज्यान फाल्नुको विकल्प हुँदैन । बिना पूर्वाधार नगरपालिका घोषणा गरिए पनि विकट बस्तीहरूमा खानेपानीको हाहाकार छ । बिजुली नहुँदा अन्धकारमा बस्नु परेको छ । कहीं कतै सोलार भए पनि टुकीबत्तीको भरपर्नेको संख्या बढी छ । जनचेतनाको कमीले गर्दा बालविवाह गर्नेको संख्यामा कमी आउन सकेको छैन । 

प्रकाशित: मंसिर ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार