समाचार

सीमावर्ती गाउँमा भोट बिग्रेला भन्ने चिन्ता

- राजेन्द्र मानन्धर, दोलखा (लामाबगर)

मंसिर ७, २०७४-तिब्बती सीमासँग जोडिएको लामाबगरका ४३ वर्षीय गिन्ड तामाङलाई आसन्न चुनावमा कतिवटा मतपत्र हुन्छ थाहा छैन । उम्मेदवार को–को हुन् पनि चिन्दैनन् । कसलाई भोट दिने भन्ने प्रश्नमा भन्छन्, ‘कसलाई कसलाई ?’

चुनावको दिन नजिकिँदै गर्दा दोलखामा भने मतदाता शिक्षा नपाएकाले भोट बिग्रन्छ कि भन्ने सर्वसाधारणमा चिन्ता छ । यो क्षेत्रका मतदाता कोदो र जौ भित्र्याउने चटारोमा छन् । बारी र बस्तु चराउने जंगलमा भेटिने यी क्षेत्रका बासिन्दाका लागि निर्वाचन आयोगको मतदाता शिक्षा कार्याक्रम प्रभावहीन भएको पाइयो ।

लामाबगर चौकीपारिको आफ्नै घरमा भेटिएका गिन्डसँगै भेटिइन् उनकी पत्नी सारी तामाङ । उनलाई पनि मतदान गर्नेबारे सिकाइएको छैन । दलका स्थानीय नेताहरू पनि उनीसँग भोट माग्न आइपुगेका छैनन् ।

यी बस्तीका प्राय: महिला भोट हाल्नै नजाने भएकाले गिन्डापत्नी सारीलाई चुनावबारे कुनै चासो छैन । उनलाई सोध्दा यस्तो जवाफ पाइयो– भोट हाल्ने तरिका सिकाउन कोही आए ? ‘छैन ।’ भोट हाल्न जानुहुन्छ ? ‘जाँदिनँ ।’ किन ? ‘श्रीमान् जानुहुन्छ ।’ तपाईं किन नजाने ? ‘बाख्रा कसले हेर्दियोस् नि ?’ ४१ टेकेकी सारीकै जस्तो जवाफ यस गाउँका प्राय: महिलाहरू दिन्छन् ।

जिल्लामा मतदाता शिक्षाका लागि १ सय ९० स्वयंसेवक खटिएका छन् । ‘यहाँ मात्र ३ जना छन् रे,’ राजनीतिप्रति चासो राख्ने लामाबगरका ७८ वर्षीय अच्युतराज आचार्य भन्छन्, ‘यो गाउँमा को–को आए, देखिएका छैनन् ।’ मतदातालाई नसिकाएकै कारण यस गाउँका धेरैले मत बदर गर्ने उनले सुनाए । यो वडामा गएको स्थानीय तह चुनावमा २० प्रतिशत मत बदर भएको थियो ।

लामाबगरमा राजनीतिक दलहरूको सामान्य प्रचारप्रसार भने देख्न सकिन्छ । आयोगले खटाएका प्रतिनिधिले शिक्षक र विद्यार्थीबाहेक मतदाताको पहुँच नहुने विद्यालयको भित्तामा नमुना मतपत्र, भोट हाल्ने तरिका सिकाइएका पोस्टरहरू टाँसेका छन् । उनीहरूले घरघर पुगेर मतदाता शिक्षा दिने बताए ।

लामाबगरका वडाध्यक्ष हिरण्यबहादुर गुरुङले खटिएका प्रतिनिधिहरूलाई प्रत्येक घरमा पुगेर मतदाता शिक्षा दिन अनुरोध गरिरहेको बताए । ‘प्रत्येक घरमा नपुगे नियमअनुसार गर्न सक्ने कारबाही गर्छु भनेर सचेत गराएको छु,’ उनले प्रत्येक घरमा पुगेर मतदाता शिक्षा नदिएको पाइए कामको सिफारिस नगर्ने बताए ।

यही वडाकी २७ वर्षीया पार्वती तामाङले टीभीमा मतदान गर्न सिकएको मात्र हेरेको बताइन् । उनका अनुसार अहिलेसम्म मतदान गर्न सिकाउन भने कोही आएका छैनन् । यहाँका महिलाहरूले भोट नबिग्रियोस् भनेर टीभी नै हेरेर भए पनि मतदान गर्न सिकिरहेको बताइन् ।

यो वडाको लप्चे गाउँ सबैभन्दा विकट मानिन्छ । लामाबगरको बस्तीभन्दा एकदेखि दुई दिनमा पुग्न सकिने उक्त गाउँका मतदातालाई चुनाव आएको थाहै हुँदैन । उम्मेदवारको मुखै नदेख्ने उक्त गाउँवासीले न आयोगका कर्मचारी देख्छन् न त दलका नेता कार्यकर्ता नै । राजधानी बस्ने सचेत मतदाता पुगेपछि उनीहरूले भनेकै आधारमा मतदान हुने लप्चीका अगुवा कर्मा शेर्पा बताउँछन् । ‘भोट हाल्ने क्रममा हामी गाउँ पुगेपछि मात्र लप्चीमा चुनावबारे जानकारी हुन्छ,’ उनले भने । 

गौरीशंकर गाउँपालिकास्थित बेदिङ गाउँका मतदाताको अवस्था पनि लप्चेको जस्तै छ । जिल्लाभर मतदाता शिक्षा प्रभावकारी नभएका गुनासाहरू आइरहेका छन् । अनुगमनका क्रममा स्वयंसेवकहरू खटिरहेको तर भनेजति प्रभावकारी नभएको आयोगबाट खटिएका अनुगमनकर्ता रामचन्द्र दंगालले सुनाए ।

प्रकाशित: मंसिर ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार