खेलकुद

वर्षाले नेपाल निराश

  • महिला ट्वान्टी–२० विश्वकप छनोट
- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर ५, २०७४-नेपालले एसिया क्षेत्रको महिला ट्वान्टी–२० विश्वकप क्रिकेट छनोटमा सोमबार आयोजक थाइल्यान्डसँग १ अंकमै चित्त बुझाएको छ । वर्षाका कारण यी दुई टोलीबीचको खेल रद्द हुन पुग्यो । 

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले टस जितेपछि ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई ९० रन बनायो । जवाफमा नेपालले ३.४ ओभरमा विनाक्षति १० रन बनाएको समयमा खेल वर्षाले बिथोलिएर 

रद्द भयो । 

५ ओभरको खेल सम्भव भएको अवस्थामा विनाक्षति १४ रन बनाएको भए नेपाल विजयी हुन्थ्यो । दुबै टोलीले ५–५ ओभर नखेलेका कारण नतिजा ननिस्किएको हो । 

वर्षाले खेल रोकिनु अगाडि ज्योति पाण्डे ५ बलमा ४ र सीता रानामगर १७ बलमा ५ रन बनाई क्रिजमा थिए । यसअघि कप्तान रुबिना क्षेत्री र सरिता मगरले सुरुआतमा विकेट लिएपछि थाइल्यान्ड दबिएर खेल्न बाध्य भयो । रुबिनाले ओपनर सिरिन्तारालाई ५ तथा सीताले नाटाकन चान्टमलाई १८ र नाटाया बुचाथामलाई २ रनमा आउट गर्दा थाइल्यान्ड सातौं ओभरमा ३५–३ को स्थितिमा पुग्यो । सोही स्कोरमा नानापाट कोन्चारोइन्काई पहिलो बलमै रनआउट भइन् । 

रन आउट नै भएकी रत्नपोर्न पाडुङलेर्डले ५ रन बनाई । कप्तान सोर्नारिन टिपोचले २७ बलमा १७ रन बनाइन् । नारुमोल चाइवाईले ३७ बलमा २३ र चानिदा सुथिरिएङले १३ बलमा १३ रन बनाएपछि थाइल्यान्डको स्कोर हेर्न लायक बनेको थियो । 

नेपालले मंगलबार हङकङसँग खेल्नेछ । हङकङले सोमबारै मलेसियालाई ३५ रनले पराजित हरायो । हङकङले ७ विकेट गुमाई ७७ रन बनाएकामा मलेसिया १७ ओभरमा ४२ रनमा आउट भयो । 

यूएईले चीनलाई १६ रनले पराजित गरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को इभेन्टमा पहिलो विजय हात पार्‍यो । 

प्रकाशित: मंसिर ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार