प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

उठेन माझी बस्ती

- कुलचन्द्र न्यौपाने, टीकाप्रसाद भट्ट, रजगाउँ (रामेछाप)

भोज खुवाएर भोट माग्ने तयारीमा रहेका उम्मेदवारहरूलाई भूकम्पपीडित माझी परिवारको आग्रह छ– ‘भोज खुवाउनु पर्दैन, घर बनाउन दोस्रो किस्ता अनुदान लिएर आउनू’

मंसिर ५, २०७४-भूकम्प गएको साढे दुई वर्ष बित्यो । सदरमुकाम मन्थलीबाट पश्चिम तामाकोसी किनारस्थित रजगाउँको माझी बस्ती भने अझै उठ्न सकेको छैन । यहाँका बासिन्दा यसपालिको कठ्यांग्रिँदो जाडो पनि झुपडीमा विताउन विवश छन् । 

२०४५ भदौ ५ को भुइँचालोमा पनि यो माझी बस्ती यसरी नै सोत्तर भएको थियो । त्यतिबेला राजा वीरेन्द्र माझी बस्ती अवलोकनमा आएको स्थानीय ध्रुव सुवेदी स्मरण गर्छन् । ‘राजा वीरेन्द्रले त्यतिबेला माझीहरूलाई यहीँ आएर राहत बाँडेका थिए,’ ५५ वर्षीया सुकमाया माझी ०४५ सालको भूकम्पले पुर्‍याएको क्षति अझै सम्झिन्छिन् । त्यतिबेला राजाले पीडितका लागि भनेर पाल, खानेकुरा, थाल, कचौरा, कपडा पठाएको सुकमाया स्मरण गर्छिन् ।

‘त्यतिबेला पनि एउटै घर ठाडो रहेन, सबै ढली गयो । बल्लबल्ल बनाएको, फेरि त्यस्तै भयो । हाम्रो त भाग्य नै यस्तै रहेछ,’ उनले भनिन् ।

निर्माणाधीन घरअगाडि केशव माझीको परिवार । ०७२ को भूकम्पले ध्वस्त बस्ती अझै उठ्न सकेको छैन ।तस्बिर : कान्तिपुर

रजगाउँ र आसपासका १ सय ४५ घरधुरी ०७२ को भूकम्पले ढले, कुनै घर सद्दे रहेनन् । भूकम्पको अढाई वर्षसम्म पनि बस्ती उठ्न सकेको छैन । ‘ढुंगा र माटोका दुई तलाका घर थिए, सबै ढलेपछि हामी लामो समय माथि डाँडामा टेन्ट लगाएर बस्यौं,’ स्थानीय केशव माझीले भने, ‘घर बनाउनकै लागि यही ठाउँमा झुपडी बनाएर बस्यौंं तर अहिलेसम्म पनि घर बनाएर सर्न सकिएको छैन ।’ पहिलो त सरकारले राहत दिन ढिलाइ गर्‍यो । ‘अहिले बनाउने मिस्त्री पाइएको छैन,’ उनले भने, ‘पहिलो किस्ता ५० हजार रुपैयाँसम्म आयो । अब डेढ लाख आउने कुरा हुँदै छ तर अहिलेसम्म पाएको छैन ।’

पहिलो किस्ता पाएपछि केहीले जग हालेका छन् तर माथि उठाउन सकेका छैनन् । कतिपयको जग्गाको समस्या छ । बिहीबार कान्तिपुर टिम रजगाउँ पुग्दा कामनी माझी आफ्नै नाममा जग्गा नभएकाले घर बनाउन अनुदान नपाएको गुनासो गर्दै थिइन् । जग्गाको टुंगो नलागेकै कारण घरको जग पनि खन्न नपाएकाले समस्या चाँडो सुल्झाइदिन आग्रह गरिन् । ‘जग्गा भएकाले जगसम्म भए पनि उठाएका छन्, हामीले त त्यही पनि गर्न पाएनौं,’ उनले भनिन् ।

पुर्जाकै जग्गा भए पनि नापीका बखत अर्काकै नाममा दर्ता भएका कारण कामनीजस्तै यहाँका धेरै माझी अहिले पनि घडेरीविहीन छन् । ‘मेरो त नारायण माझीका नाममा जग्गा परेछ, अब जग्गा पनि किन्नुपर्छ पो भन्दै छन्, जग्गै किन्नुपर्‍यो भने मैले कसरी घर बनाउने ?’ कामनीले दुखेसो पोखिन् । ‘दुई वर्षसम्म राहत कहिले आउला र घर बनाउँला भनेर बसियो, ५० हजार राहत आएपछि घर बनाउन खोज्दा त जग्गै अर्काका नाममा रहेछ,’ टिनले बारेर बनाएको एउटै कोठाको झुपडीमा ६ जनाको परिवार बस्दै आएको देखाउँदै सुकमायाले थपिन्, ‘नापीको मान्छे आएर कहिले जग्गा छुट्याइदेला र घर बनाउने होला ?’

भूकम्पपीडित यी माझीको परम्परागत व्यवसाय डुंगा तार्ने र माछा मार्ने हो तर यी दुवै काम अहिले उनीहरू गर्दैनन् । अर्काको खेत अधियाँ गरेर धेरैले जीविका चलाएका छन् । आम्दानीको अरू स्रोत छैन । कतिपय मजदुरी गर्छन् । भूकम्प गएपछि गाउँका १७ पुरुषले घर बनाउने मिस्त्री तालिम लिए । मिस्त्री तालिम लिएकालाई भने अहिले भ्याइनभ्याई छ । ‘जताततै मिस्त्रीको माग छ,’ हर्कबहादुर माझी भन्छन्, ‘सरकारले अझै तालिम दिएर मिस्त्री बढाउनुपर्छ, नत्र अर्को जाडोसम्म पनि घरभित्र बस्न सकिन्न ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय सचिवालयका प्रमुख ऋषिराम आचार्यले दोस्रो किस्ताको रकम वितरण भइरहेको बताए । उनका अनुसार जिल्लामा ४५ हजार ४० घरपरिवार भूकम्पपीडित रहेकामा ४१ हजार ३ सय ७८ ले पहिलो किस्ता पाएका छन् । दोस्रो किस्ता पाउनेमा ७ हजार ९ सय ८६ छन् । तेस्रो किस्ता भने ७ सय ५० घरपरिवारले पाएका छन् । ‘घर बनाउन सुरु गरेकालाई दोस्रो किस्ता पनि दिने प्रक्रिया अघि बढेको छ,’ उनले भने ।

दोस्रो किस्ता नपाउँदा घर बनाउनै रोक्नुपरेको केशव माझीले बताए । सरकारले घर निर्माणका लागि दिने ३ लाख रुपैयाँ अनुदान तीन किस्तामा दिने गरेको छ । पहिलो किस्ता ५० हजार, दोस्रो डेढ लाख र तेस्रो किस्तामा एक लाख दिने नियम छ । ‘अहिलेसम्म दोस्रो किस्ता पनि पाएका छैनांै, कहिले तेस्रो किस्ता पाउने र घर सम्पन्न हुने ठेगान नै छैन,’ उनले भने ।

चुनाव नजिकिएपछि राजनीतिक दलका नेताहरू भोट माग्न आउन थालेका छन् । केही दिनअघि कांग्रेसका उम्मेदवार कान्छाराम तामाङ यो गाउँमा आइपुगेका थिए । एक/दुई दिनभित्रै वाम गठबन्धनका उम्मेदवार पुग्ने खबर आइपुगेको छ । विपन्न माझीहरूको यो बस्तीमा उम्मेदवारहरू भोज खुवाएर मत आकर्षित गर्ने दाउमा छन् । उनीहरूले भोजको बन्दोबस्त गर्नसमेत अह्राइसकेका छन् ।

‘अब हामी भोजभतेरमा बिक्दैनौं,’ गेरेबहादुर माझी, बादी माझी र हर्कबहादुर माझीले एकै स्वरमा भने, ‘हाम्रो समस्या जसले समाधान गराउन सक्छ, त्यसैलाई भोट दिने निर्णय हुन्छ, भोजभतेरले हुँदैन ।’ गत स्थानीय तहको चुनावमा पनि भोजभतेर लगाएका कारण यस पटक पनि हुन सक्ने अडकल अर्का केशव माझीले गरे । ‘स्थानीय चुनावमा पनि भोज भएको थियो, अहिले पनि हुने हल्ला छ, म त्यतिबेला पनि गइनँ, अहिले पनि जान्नँ ।’ भोजको सट्टा माझीहरूले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान बढाउन, सिँचाइ, खानेपानी, मोटरबाटो बनाइदिनुपर्ने माग राख्ने भएका छन् । ‘हामीलाई खसी काटेर भोज खुवाउन पर्दैन, काम गर्ने नेता भए पुग्छ,’ गोरे माझीले भने, ‘भूकम्प गएपछि हामीलाई धेरै नेताले आश्वासन दिए, मीठामीठा कुरा गर्ने गरे तर अहिलेसम्म हाम्रो गाउँ उस्तै छ, अनुदानकै पैसा पनि बल्लतल्ल पहिलो किस्ता आएको छ । अर्को किस्ता आउन कति समय लाग्ने हो, पत्तो छैन ।’

सरकारले दिने ३ लाख रुपैयाँ अनुदानले घर नबन्ने उनीहरू बताउँछन् । ‘बाटाको सुविधा र ढुवानी कम लाग्ने ठाउँमा कम्तीमा ४ लाख रुपैयाँ लागेको छ,’ उनले भने, ‘बाटो नभएका ठाउँमा बोकेर सामग्री लैजानुपर्दा त ५ लाख बढी लाग्ने भयो ।’ चुनावमा सरकारलाई ५ लाख रुपैयाँसम्म राहत दिन उम्मेदवारसँग आग्रह गर्ने उनले बताए ।

प्रकाशित: मंसिर ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार