समाचार

‘लाहुरे’ राजनीति

- दुर्गा खनाल, बेनी (म्याग्दी)

म्याग्दीको राजनीतिमा पञ्चायतकालदेखि नै ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको दबदबा छ । राजनीतिक पार्टीदेखि सामाजिक संघसंस्थासम्म यही पृष्ठभूमिका व्यक्तिको पकड रहिआएको छ । बेलायती, भारतीय र नेपाली सेनाबाट अवकास पाएकाहरु सामाजिक संघसंस्था र राजनीतिमा जोडिएका छन् । अनुशासित, इमानदार, आर्थिकरूपले सबल हुने भएकाले दलहरूले पनि उनीहरुलाई नै उम्मेदवार बनाउने गरेका छन् ।

मंसिर ५, २०७४-बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन् । २०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय भएका उनी यसपटक पुन: उम्मेदवार बनेका हुन् ।

‘लाहुरे’ पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी जिल्लामा एक्ला उम्मेदवार भने होइनन् । प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा कांग्रेसबाट यमलाल फगामी उठेका छन् । भारतीय सेनाबाट अवकास पाएपछि राजनीतिमा प्रवेश गर्नेबित्तिकै उनले पार्टीबाट टिकट पाए । त्यस्तै कांग्रेस र राप्रपाको गठबन्धनबाट प्रदेश ‘क’ मा राप्रपाका भीमप्रसाद गौचन उम्मेदवार छन् । पञ्चायतकालमा दरबारसँग निकट सम्बन्ध राख्ने र  धेरै विवादमा मुछिएका उनी अहिले पनि चुनावी प्रस्पिर्धामा छन् । गौचन भारतीय सेनाबाट जागिर अवधि पुरा नहुँदै फर्किएका हुन् ।  

म्याग्दीको राजनीतिमा पञ्चायतकालदेखि नै ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको दबदबा छ । राजनीतिक पार्टीदेखि सामाजिक संघसंस्थासम्म यही पृष्ठभूमिका व्यक्तिहरुको पकड रहिआएको छ । बेलायती, भारतीय र नेपाली सेनाबाट अवकास पाएकाहरु सामाजिक संघसंस्था र राजनीतिमा जोडिएका छन् । किन उनीहरु राजनीति आए त ? ‘मैले बेलायतका सुखसुविधा छोडेर जनताको सेवा गर्न आएको छु, आफ्नो सीप र क्षमताको प्रयोग जनतालाई नै प्रयोग गर्छु,’ म्याग्दीमा गाउँघरमा मत माग्दै गर्बुजा यसै भन्ने गर्छन् । 

‘फौजी संगठनमा काम गरेका मान्छे अलिक अनुशासित हुन्छन्, आर्थिक अवस्था पनि अरूको भन्दा सबल हुन्छ,’ स्थानीय म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक तारानाथ शर्मा भन्छन्, ‘लाहुरेहरूको जिल्ला भएकाले उनीहरुको भोट तान्न पनि दलहरुले त्यस्तालाई अघि सार्ने गरेका छन् ।’ उनका अनुसार फौजी पृष्ठभूमिका व्यक्तिहरुको सामाजिक संलग्नता पनि राम्रो छ । त्यसैले उनीहरु छिटै दलहरुको पहुँचमा पुग्छन् । 

‘राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक प्राय: सबै क्षेत्रमा भूपु सैनिकको नेतृत्व छ’, एमाले जिल्ला कमिटीका पूर्वसचिव समेत पूर्वलाहुरे खुमबहादुर बानियाँले भने, ‘गाउँका सामाजिक काममा मात्र होइन कांग्रेस, एमाले, माओवादीसमेतका जिल्लाको राजनीतिक नेतृत्वमा लाहुरेहरुको पकड छ ।’ गाउँठाउँको बाटो, खानेपानी, कुलो र विद्यालयका भवन निर्माणमा आर्थिक योगदानसँगै अनुशासित तवरले अगुवाइ गर्ने भएकाले लाहुरेलाई हेर्ने सामाजिक दृष्टिकोण पनि राम्रो रहेको उनले बताए । 

भारतीय सेनाबाट सेवानिवृत्त कांग्रेसका जिल्ला सचिव मिनबहादुर कार्की विदेशमा सिकेको सीपलाई प्रयोग गर्न सकिन्छ भनेर राजनीतिमा आएको बताउँछन् । ‘फौजीहरू देशविदेश बुझेका, अनुशासनमा बस्ने र नचाहिने कुराको लोभ नगर्ने हुने भएकाले समाजमा छिटै घुलमिल हुन्छन्,’ उनले भने, ‘प्रवृत्तिका हिसाबले फौजीले राजनीति जान्दैनन् । तर, हाम्रो समाजले जान्दिन भनेर टाढा बस्न दिँदैन, अगाडि ल्याए यसले केही काम गर्ला भन्ने आस राख्छ ।’   

गत स्थानीय तहको चुनावमा पनि ‘लाहुरे’ पृष्ठभूमिका धेरै उम्मेदवारले जितेका छन् । अन्नपूर्ण गाउँपालिका प्रमुखमा भारतीय सेनाबाट अवकास पाएका डमबहादुर पुनले जिते । त्यही गाउपालिकाको वडा ६ को सदस्यमा देवेन्द्र गर्बुजा र बेनी नगरपालिका–१ मा टेकबहादुर रावलले चुनाव जितेका थिए । बेनीनगरपालिका–८ को सदस्यमा हिमबहादुर भण्डारीले जितेका छन् ।    

पञ्चायतकालमा नरबहादुर पुन, हरिबहादुर पुन, भोगबहादुर पुन र भीमप्रसाद गौचन जस्ता फौजी पृष्ठभूमिका व्यक्तिहरुको म्याग्दीमा दबदबा थियो । नरबहादुर राष्ट्रिय पञ्चायत सदस्य र भोगबहादुर जिल्ला पञ्चायत सभापतिसम्म भए ।  

भीमप्रसाद गौचन भने तत्कालिन पाखापानी गाउँपञ्चायतको प्रधानपञ्च हँुदै २३ वर्षमै जिल्ला पञ्चायत सभापति, राष्ट्रिय सभा सदस्य, राज्यमन्त्री  समेत बने । शिक्षित मतदाताको एउटा जमात गौचनलाई राजनीतिमा निकै विवादित र बदनाम पात्र मान्छन् । पञ्चायतकालमा उनीमाथि गाँजा, मूर्ती तस्करी, हत्या र गुण्डागर्दीको आरोप पनि लाग्ने गरेको थियो । ०४३ साल वैशाखको राष्ट्रिय पञ्चायतमा निर्वाचन आफ्नो पक्षमा पार्न सरकारी उम्मेदवार भएका उनले शक्तिको दुरुपयोग गरी शिखमा दुइजना र सिंगामा एकजनाको हत्या गराएको आरोप छ । उक्त घटना साप्ताहिक विमर्श पत्रिकाले प्रकाशित गरेपछि काठमाडौंमा पत्रकार पदम ठकुराठीलाई गोली प्रहार गरी हत्या प्रयासको अभियोगमा उनले कैद सजाय भुक्तान पनि गरेका हुन् । 

बहुदल आएपछि पञ्चायती पृष्ठभूमिका भीमप्रसाद र उनका भाई जगत गौचनले राप्रपा पार्टीमा बसेर राजनीति थाले । अहिले पनि उनीहरु सक्रिय छन् । 

२०५६ सालको चुनावबाट  ‘फौजी’ पृष्ठभूमिका नारायणसिंह पुनको उदय भयो । पहिले कांग्रेसको क्रियाशील सदस्यसमेत नरहेका नेपाली सेनाका पूर्वक्याप्टेन पुन २०५६ को चुनावमा कांग्रेसको टिकट लिएर म्याग्दी भित्रिए । उनले त्यो चुनाव मात्र जितेनन्, मन्त्रीसमेत भए र माओवादी आन्दोलनको अवतरणका लागि भूमिका समेत खेले । अहिले कांग्रेसको राजनीतिमा जिल्ला सभापति नै भएर चुनावी प्रतिस्पर्धामा गर्बुजा छन् ।

कांग्रेसका मीनबहादुर कार्की, महाधिवेशन प्रतिनिधि डमबहादुर पुन, एमालेका खुमबहादुर बानियाँ, देउबहादुर छन्त्याल, भीमबहादुर रावल, माओवादी केन्द्रका बागवीर पाइजा र खुमबहादुर थापासमेत दर्जन बढी पूर्वलाहुरेहरू  सक्रिय छन् । जिल्ला तथा गाउँका सामाजिक संघसंस्था, उपभोक्ता समितिहरू, सहकारी र कृषक समुहमा पूर्वलाहुरेहरु छन् । 

‘गाउँमा टिकेका लाहुरे मात्र हुन् । युवाहरु त धेरै विदेशतिर छन्,’ ताकम मावि ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका भारतीय सेनाबाट सेवानिवृत्त जगतबहादुर थापाले भने, ‘म मात्र ताकमका मुख्य पाँचवटा सामाजिक संस्थाको अध्यक्ष छु । सबै गाउँमा म जस्तै बुढौली उमेरका भूपूहरुले लौरी टेक्दै विकास र राजनीति थेगेका छौं ।’

फौजी अनुशासनमा हुर्केकाले भूपूहरुको काम तुलनात्मक रुपमा पारदर्शी ठानिन्छ । त्यसैले पनि उनीहरुले अवसर पाइरहेको प्राध्यापक शर्मा बताउँछन् । फौजी पृष्ठभूमिका व्यक्तिलाई दलहरुले अघि सार्नुका पछाडि  आर्थिक स्वार्थ पनि जोडिएको  छ । ‘अहिले राजनीति ‘मनि र मसल’ को पकडमा पुगेको छ,’ बार एशोसिएसनका जिल्ला अध्यक्ष डा. भुपेन्द्र खडाले भने । आर्थिक रुपमा केही सबल हुने र चुनावी खर्चको जोहो गर्न सक्ने भएकाले यस्ता व्यक्तिहरु अगाडि आइरहेको उनको भनाई छ । 

आउँदै हराउँदै 

गैरआवासीय नेपालीको संस्था एनआरएन जस्तै ठूलो संस्था ‘मोना’ गठन गरेर जिल्लाको शैक्षिक र सामाजिक क्षेत्रमा योगदान गरिरहेका म्याग्देलीको ठूलो जनसंख्या वैदेशिक रोजगारीमा छ । जिल्लावासीका अनुसार २०/२२ हजारको संख्यामा म्याग्देली प्रवासमा छन् । प्रवासमा रहनेमा पनि विदेशी फौजीका जागिरेको संख्या उल्लेख्य छ । बेला बेला गाउँघर फिर्दा उनीहरू सामाजिक संघसंस्था हुँदै राजनीतिमा पनि होमिन्छन् । जित्नेहरूको नाम केही समय जिल्लामा चल्छ । चुनावमा पराजित भए तुरुन्तै वा जितेर गएपनि पदमुक्त भएपछि उनीहरू जिल्लाबाट पलायन हुने गरेका छन् ।

भारतीय सेनामा भर्ती भए पनि घर फर्किएका भीमप्रसाद गौचन २०१७ मा पाखापानी गाउँपञ्चायतको प्रधानपञ्च निर्वाचित भएपछि म्याग्दीको राजनीतिमा लाहुरेको प्रवेश सुरू भएको हो । तर उनीबाहेक अरु लाहुरे अल्पकाल मात्रै राजनीतिको क्षेत्रमा देखिएका छन् । उनी आफैं पनि लामो समयपछि पुन: सक्रिय भएका हुन् । २०३९ मा राष्ट्रिय पञ्चायत सदस्य जितेका नरबबहादुर पुन हङकङका लाहुरे थिए । उनी अहिले बेलायत बस्छन् । २०५१ मा एमालेबाट जितेका नीलबहादुर तिलिजा पदमुक्त भएयता अमेरिका पलायन भएका छन् । ०५६ मा भारी मतले विजयी कांग्रेसका नारायणसिं पुन नेपाली सेनाका पूर्व कर्णेल थिए । उनी जिल्लाको साबिक शिख गाविसका थिए । शान्ति प्रक्रियामा पनि भुमिका खेलेका उनले पनि आफ्नै दल खोलेका थिए । २०६२/६३ को जनआन्दोलनपछि भने उनी राजनीति छाडेर हेकिलप्टर उडाउने आफ्नो व्यवसायमा थिए । उनको मृर्गौलाको उपचार हुँदाहुँदै २०६४ फागुनमा निधन भएको थियो । उनीपछि भने जिल्लाबाट उनी जति राजनीतिक उचाइमा पुग्ने ‘फौजी’ निस्किएका छैनन् । 

‘जिल्लाको राजनीतिमा लाहुरेहरू आए, आएका छन् तर, उहाँहरूको सक्रियता विभिन्न कारणले दिगो हुन सकेन,’ बार एशोसिएसनका जिल्ला अध्यक्ष खडा भन्छन्, ‘राजनीतिमा निरन्तरता ठूलो कुरा हो । तर, सोझा मान्छेहरू यो विभिन्न दाउपेच लाउनुपर्ने क्षेत्रमा धेरै समय रस लाग्दैन ।’ केही समय सक्रिय रहेर राजनीतिबाट पलायन हुनुको कारण आर्थिक हैसियतसँग पनि जोडिएर आउने उनले बताए । 

प्राध्यापक तारानाथ शर्मा जिल्लाको राजनीतिमा लाहुरेको उपस्थिति केलाउँदा उनीहरू स्वेच्छा नभइ दलीय स्वार्थका लागि प्रयोग भइआएको मान्नुपर्ने बताउँछन् । ‘लाहुरे आर्थिक हिसाबले सबल हुन्छन्, दिन र काम गर्न अघि सर्छन्,’ उनले भने, ‘त्यसैले उनीहरूको स्वेच्छाभन्दा बढि दलहरूले प्रयोग नै गरेका छन् । स्वेच्छाले आउनेहरू लामो समय टिक्छन्, टिकेको नदेखिनु अरुले उचालेर राजनीतिमा ल्याइएको अवस्था नै हो भन्नुपर्छ ।’ गाउँघरका विकासे योजना र सामाजिक कामको अगुवाइ गरेभन्दा राजनीति फरक क्षेत्र भएकाले इमानदार लाहुरे टिक्न गाह्रो हुने उनले बताए ।   

यस्तो छ अहिलेको प्रतिस्पर्धा

म्याग्दीमा एउटा मात्र चुनाव क्षेत्र छ । यहाँ लोकतान्त्रिक र बाम दुवै गठबन्धनका उम्मेदवार छन् । बाम गठबन्धनबाट प्रतिनिधि सभामा एमालेका भूपेन्द्र थापासँग लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका खमबीर गर्बुजा प्रतिष्पर्धी छन् ।  गर्बुजा २०७० मा एमालेका नवराज शर्मासँग पराजित भएका थिए । त्यसयता परिवारका सदस्य बेलायत बसेपनि उनले भने गाउँ र पार्टी छाडेका छैनन् । 

प्रदेशसभा ‘क’ मा माओवादीका विनोद केसीसँग लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका भीमप्रसाद गौचन प्रतिस्पर्धी छन् ।  प्रदेशसभामा ‘ख’ मा कांग्रेसका यमलाल फगामी र एमालेकी नरदेवी पुन प्रतिस्पर्धी छन् । राजनीतिक र अर्थशास्त्रमा स्नातकोत्तर पुन एमालेबाट समानुपातिकतर्फकी पूर्वसांसद हुन् । 

स्थानीय तहको चुनावमा बेनी नगरपालिका र पाँच गाउपालिकामा गरि कांग्रेस ४ प्रमुख र २ उपप्रमुख विजयी भएको हो । त्यसैगरि एमालेका उम्मेदवारले २ प्रमुख र ३ उपप्रमुख जिते । सबै ६ स्थानिय तह निर्वाचनका ४५ वडामध्ये कांग्रेसले १५, एमालेले २३ वडा, माओवादी केन्द्रबाट ५ वटा वडा र २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् भने राप्रपाले एक उपप्रमुख जितेको हो । माओवादी केन्द्रका केही कार्यकर्ता स्थानीय तहमा स्वतन्त्र पनि उठेका थिए । दुइजना स्वतन्त्रले बाम गठवन्धनलाई समर्थन गरेका छन । स्थानीय तह निर्वाचनमा म्याग्दीमा मतदाता संख्या ७१ हजार ४ सय ६३ थियो, यसपटकको निर्वाचनमा ४ हजार १ सय ७७ मतदाता थपिएका छन् । 

प्रकाशित: मंसिर ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार