प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

रामेछापको बेथान दंगाग्रस्त क्षेत्र घोषणा

- टीकाप्रसाद भट्ट, रामेछाप

मंसिर ४, २०७४-

वाम गठबन्धन र कांग्रेसको चुनावी कार्यक्रम जुधेको कारण देखाउँदै स्थानीय प्रशासनले रामेछापको बेथानलाइ मंगलबार देखि दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ख बमोजिम बेथानमा सभा जुलुस र अन्य कुनै पनि कार्यक्रम गर्न रोक लगाइएको छ । सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले उक्त आदेश जारी गरेका हुन् । प्रशासनले प्रयोग गरेको दफा बमोजिम एकै थलोमा ५ जनाभन्दा बढी मानिसहरुको भेला हुन पाइँदैन ।

प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार मंगलबार बेथानमा वाम गठवन्धन र कांग्रेसको चुनावी कार्यक्रम जुधेको र  दुवैपक्ष कार्यक्रम रोक्न तयार नभएपछि शान्ति सुरक्षाको दृष्टिले उक्त आदेश जारी गरिएको हो । शान्ति सुरक्षामा खलल पर्ने अवस्था देखिएकोले बेथानलाइ अर्को आदेश नभएसम्मका लागि दंगाग्रस्त क्षेत्र घोषणा गरीएको उनले बताए । 

पश्चिमी रामेछापको बेथानमा वाम गठवन्धनले पूर्व निर्धारीत कार्यक्रम गर्न नसकेपछि मंगलबार शक्ति प्रदर्शंन गर्ने तयारीका साथ चुनावी कार्यक्रम तय गरेको थियो । पूर्व निर्धारीत कार्यक्रममा गठवन्धन तर्फका प्रतिनिधिसभाका उम्मेदवार  एवं विनाविभागिय राज्य मन्त्री श्यामकुमार श्रेष्ठ बेथान पस्न सकेका थिएनन् । उनलाई स्थानीय युवाहरुले सांसद विकास कार्यक्रम अन्तरगत विकासका योजना बाँड्दा कमिसन खाएको आरोप लगाउँदै बेथानमा प्रवेश निषेधको घोषणा गरेका थिए । 

युवाहरुको अवरोध पछि श्रेष्ठ हिलेदेविको कार्यक्रम सकेर फर्केका थिए । श्रेष्ठले आफुले कुनैपनि कमिसन नखाएको भन्दै त्यसलाइ पुष्टि गर्न चुनौति दिँदै आएका छन् । 

बेथान माओवादीको पकड क्षेत्र रहँदै आएको  थियो । यसपटक काँग्रेसबाट पूर्णबहादुर तामाङ्ग (कान्छाराम) उम्मेदवार भएपछि स्थानीय सयौं युवा कांग्रेसमा प्रवेश गरेका थिए । पहिलो पटक निर्धारित कार्यक्रम गर्न नसकेर शक्ति प्रदर्शनसहित मंगलबार बेथानमा वाम गठबन्धनको चुनावी सभा राखेपछि कांग्रेसले पनि सोहि दिन शक्ति प्रदेर्शन गर्ने तयारी गरेपछि प्रशासन दंगाग्रस्त क्षेत्र घोषणा गर्न पुगेको हो । 

प्रकाशित: मंसिर ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार