ब्लग

बदलिएको राजनीति, नबदलिएका जनता

- श्याम लुईंटेल, बेलायत

मंसिर ४, २०७४-कांग्रेस नेता स्वर्गीय गणेशमान सिंहले मेरा कथाका पानाहरुको पेज ७० मा ‘पेटपूजाको जोहो नभएको मानिसबाट अरुको निम्ति चिन्तन्को आसा गर्न सकिन्न’ लेखेका छन् । नेपाली राजनीतिक क्रान्तिलाई २००७ सालदेखि २०७४ सालसम्म हेर्ने हो भने राजनीतिमा निकै उतार चढाव आए । राजा समेत फालिए । गणतन्त्र आयो, तर राजनीतिक अवस्था भने पेटपूजाकै जोहो गर्ने मानिसको हातबाट बाहिर आउन सकेन । राजनीति र राजनीतिज्ञलाई नजिकबाट हेर्ने हो भने अहिलेको अवस्थामा ठ्याक्कै गणेशमान सिंहको विश्लेषणसंग मेल खान्छ । 

प्रजातन्त्रका लागि जेल बसेका नेताहरुले राजनीतिलाई कमाई खाने भांडो बनाए । तिनीहरुको पेट कहिल्यै भरिएन । बरु त्यसलाई सिद्धान्त, वाद, जाति, भाषा र क्षेत्रका विभिन्न रुपमा विभाजित गरे । जनतालाई भोको पेट मात्र भर्ने होइन सम्पत्ति, सत्ता र शक्ति हातमा लिनु पर्छ भन्ने अतृप्त चाहना जगाए । जसको फलस्वरुप राजनीतिलाई कमाई खाने भांडोका रुपमा पूर्ण रुपमा विकास गरियो । जनताले तिनैलाई भोटमार्फत लालमोहर लगाई दिए । त्यो पनि एक पटक होइन पटक पटक । 

विश्व राजनीतिलाई हेर्ने हो भने परिदृश्य फरक छ । बेलायतका जनताले दशकौंको युरोप सम्बन्धलाई गत वर्ष विच्छेद गर्ने निर्णय गरे । फ्रान्समा जनताका पक्षमा काम गर्न नसक्ने नेताहरु रिटायर्ड भए र नयां नेता उदाए । आयरल्याण्ड र अष्ट्रेलियामा जनताका पक्षमा काम गर्न नसक्दा वा आफ्ना चुनावी घोषणा पत्र अनुसारका काम गर्न नसक्नेलाई जनताले भोटमार्फत बाई बाई गर्दै युवाहरुलाई कार्यकारी पदमा आसन ग्रहण गराए । अष्ट्रियाको केही साता अघि सम्पन्न आमनिर्वाचनमा ३१ बर्षीय युवा सेवास्टियन कुर्ज नेतृत्वमा आए । अष्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टीका प्रमुख सेवास्टियन गठबन्धन सरकारको नेतृत्व सम्हाल्ने विश्वकै सबै भन्दा कान्छा नेता होलान् । त्यस्तै आयरल्याण्डमा प्रधानमन्त्री ३८ बर्षीय भरदकर छन् । भारतीय मुलका बुवा भएपनि उनको जन्म आयरल्याण्डमै भएको हो । 

जनता सधैं परिवर्तनका पक्षमा हुने विश्व परिदृष्यबाट नेपाल निकै टाढा रह्यो । मुलुक सञ्चालनको पद्धति विकास भइसकेका मुलुकहरुमा इमान्दार राजनीतिले ठाउं लिंदै गयो । हाम्रो जस्तो अल्पविकसित मुलुकमा कानुन, नियम, सुशासन र पद्धतिको धज्जी उठाइयो । सत्ता र शक्तिमा हुनेले जे मन लाग्यो त्यही कानुन बन्न थाल्यो । अदालत र प्रशासन सत्ताका तामेलदार जस्ता भए । राजनीतिक भागबण्डामै अदालतमा न्यायाधिश नियुक्त हुन थाल्यो । 

सिद्धान्त र वादलाई तिलान्जली दिंदै प्रमुख राजनीतिक दलहरु सत्ता स्वार्थका लागि जस्तासुकै काम गर्न थाले । एमाले, कांग्रेस, माओवादी केन्द्र, मधेसी दलहरु र पूर्व पञ्चका पार्टीहरु जोसंग नि मिल्न थाले । सत्तामा रहंदा एउटा भाषा अनि प्रतिपक्षमा रहंदा अर्को भाषा अब स्वभाविक लाग्न थाल्यो । विपक्षी नेताहरुलाई गाली गर्नु र आफ्ना नेताले फोहोर गरेपनि ‘हिराको टुक्रा’ भन्ने अज्ञानता नै हाम्रा उत्कृष्ट ज्ञानका स्रोत हुन थाल्यो । हामी तर्क भन्दा पनि कुतर्कमै रमाउन थाल्यौं । अनि हाम्रा नेताले गरेको नराम्रा कामलाई संरक्षण गर्दै चियागफ वा सोमरसमा रमाएपछि राजनीति दर्शन र वादलाई सिद्धान्त मानेर इमान्दार राजनीति गर्ने जनता पाखा लागे । भोका र स्वार्थीले राम्रो भविष्यको परिकल्पना गर्ने कुरै रहेन । ति स्वार्थसंग न त राम्रा एजेण्डा छन् न त हामीसंग राष्ट्र बनाउने सपना । छन् त केवल हावादारी गफ र पराम्परागत कुतर्क । नेताहरु कहां हाजिर लगाउनु र जुलुश नारा गर्नु हाम्रो दिनचर्या बन्न थाले । 

हामीलाई गास, बास, शिक्षा, स्वास्थ्य र सुशासन भन्दा पहिले क्षेत्रीय राज्य, पहिचान, आआफ्ना पक्षमा बोल्ने नेताहरु चाहिएको छ । कहिल्यै सुशासन दिन नसक्नेले पनि जाति, भाषा, क्षेत्र र पहिचानका कुरा गरेर जनता भुलाउने राजनीति नेपाली माझ रोप्न सफल भए । त्यही राजनीतिको भुमरीमा हामी परेर कुतर्क गर्दै दिन काटिरहेका छौं । मुलुकमा जुन सरकार आएपनि तस्करका हातमा छ । हामी भने आफैंले कसैलाई काम नै नगरी ‘राजनेता’ बनाई सक्यौं । जनताले ‘राजनेता’ का रुपमा स्थापित गर्न थालेपनि राजनीतिज्ञले समाज परिवर्तन गर्न सकेनन् । जनतामा चेतनाको स्तर बढाउनु पर्ने जिम्मेवारी लिएका नेताहरु जिम्मेवारहीन बने । उल्टो हवादारी गफका पुलिन्दा जोडिएको चुनावी घोषणा पत्र जनता माझ ल्याए । अहिलेका घोषणा पत्रलाई हेर्ने हो भने पार्टीहरुले ५ प्रतिशत पनि काम गर्ने खालको छैन् । घोषणा पत्र कार्यान्वयनका कुरा उठाउनुको सट्टा दैनिक चिया पसलदेखि रक्सी भट्टीसम्म राजनीतिक कुरा गर्ने, हावादारी कुरा गरेर दिन काट्ने, पैसा बांडेर खाने, सत्ता र शक्तिको लागि जे पनि गर्ने प्रवृत्ति दिनानुदिन बढ्न थाल्यो । हरेक बिषयमा नेपालीहरु विज्ञ छन् । अध्ययन गरेर विद्यावारिधी गरेका व्यक्ति एउटा अनपढ नेताको पुच्छर छ । अझ सोझै भन्ने हो भने उनीहरु पार्टीका कार्यकर्ता छन् । सर्वोत्कृष्ट ज्ञान भएको मानिसलाई आफ्नो क्षमतामा भन्दा पनि चाकडीमा विश्वास छ । त्यसैले कसैले पनि आफ्ना नेताले गरेका गल्तीका बारेमा प्रश्न उठाउने हिम्मत गर्दैनन् । उल्टो गल्ती ढाकछोप गर्ने हनुमान प्रवृत्ति जनतामा मौलाउंदै गएको छ ।

संघीय निर्वाचनमा ६ पटकसम्म निरन्तर टिकट पाएर चुनाव लड्ने वा आजीवन शक्तिमा रहने ठूला पार्टीका नेताहरुका आलिसान बंगला, गाडी, अदृश्य आम्दानीका बारेमा आवाज उठाउने मानिसहरु न्यून छन् । राजनीतिमा कति वर्ष सकृय रहने ? कति कार्यकाल दोहोर्याउने ? दलका एजेण्डा हेरेर भोट दिने भन्ने पद्दतिका कुराहरु अब एकादेशमा खोज्नु पर्ने बेला भइसक्यो । दिनभर सामाजिक सञ्जालमा गाली गर्ने अनि सांझ विहान त्यसैलाई ढोग्न पुग्ने बानी हामी अधिकांश नेपालीमा भइसक्यो । जतिसुकै नराम्रो काम गरेपनि एमाले, कांग्रेस, माओवादी केन्द्र, राजावादी र मधेसवादी छोडन नसक्ने बानी हामी परिसक्यौं । नयाँ पार्टीहरु आए भने त्यसलाई फलानो एजेण्ट हो भन्ने हाम्रो संस्कार बनिसक्यो । 

शक्तिमा नहुनेलाई हामी मान्छे गन्दैनौं । मिहिनेत गर्नेलाई हामी सम्मान गर्न सक्दैनौं । एक रातमा नराम्रो काम गरेर भएपनि धनी बन्ने हाम्रो रोग छ । त्यसका लागि हामी जस्तोसुकै काम गर्न तयार छौं । समाजले पनि इमान्दारिता भन्दा पैसा हुने वेइमानलाई सम्मान गरेकै छ । खादा लगाएकै छ । स्वार्थ हुने त यस्तो काममा लाग्ने नै भए, हामी आम जनतालाई पनि लोकतन्त्रले छोएको छैन् ।

रेमिट्यान्सले धानेको हाम्रो मुलुकका करिब ६० लाख जनता देश बाहिर भएको आँकडा छ । ति बाहिर बसेकाले पनि नेतालाई विदेश आउंदा खादा लगाएकै छन् । गाउं र जिल्लागत संगठन खोलेर आफूलाई नेताका हनुमानका रुपमा स्थापित गराएका छन् । 

विदेश आएर देखेको ज्ञानलाई पनि लाज पचाएर चाकडीमै व्यस्त छन् । विदेशमा दु:ख गरेर कमाउने नेपालमा धाक देखाउने प्रवृत्तिलाई गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको अधिवेशनले मलजल गरेको छ । यस्ता कार्यले नेपालमा आफू मिहिनेत नगर्ने, गलत तरिकाबाट अकुत सम्पत्ति कमाउने र एक दुई रातमै समाजमा धनी मानिसको रुपमा चिनिएर शक्ति हत्याउने अल्पविकसित मुलुकमा देखिएको ‘राजनीति’ नेपालमा चर्को रुपमा हावी भएको छ । राजनीतिको व्यापारले विद्यार्थीदेखि महिला, वुद्धिजिवी, कर्मचारी, व्यापारी, किसानदेखि राजदूतावाससम्मलाई छोएको छ । घरमै दुई छाक खाना खान धौ धौ छ, तरपनि त्यसले एमाले, माओवादी, कांग्रेस वा मधेसवादीको झण्डा बोकेको छ । कोही राजनीतिलाई दैनिक आम्दानीको स्रोतका रुपमा प्रयोग गरिरहेका छन् । अर्काथरी, आउने दिनमा स्रोतमाथि कब्जा जमाउन र सत्ता शक्ति हत्याउन राजनीतिको पछि लागेका छन् । 

बिरामी हुंदा औषधोपचार गर्न रकम छैन् । औषधिको मुल्य आकासिएको छ । दैनिक उपभोग्य सामाग्रीमा छोइ नसक्ने गरि मुल्य बढेको छ । उनीहरुकै पार्टीको सरकार र प्रतिपक्ष छ । राजनीतिमा बिगत दुई दशकदेखि पालैपालो हालिमुहाली छ । त्योसंग जनतालाई केही मतलव छैन । छोराछोरीले राम्रो स्वास्थ्य, शिक्षा पाएका छैनन् । तरपनि जनता नेताहरुकै पछि लागेका छन् । अब परिवर्तन भनेको पुस्ता नफेरिकन प्राय असम्भव देखिएको छ । यो पुस्ताकै जीवन यसरी चाकडीमै बित्ने निश्चित छ । किनकि मानिसले जे सिक्यो त्यही व्यवहारमा उतार्ने हो । यो पुस्ताले चाकडी र चाप्लुसी गर्ने तथा दास भएरै रमाउने सिकेको रहेछ । 

(लेखक नेपाल पत्रकार महासंघ बेलायतका बरिष्ठ उपाध्यक्ष हुन्)

 

प्रकाशित: मंसिर ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार