साहित्य/विविध

अस्वीकृत अभियन्ताको निधन

- कान्तिपुर संवाददाता , लन्डन

मंसिर ४, २०७४-लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित वरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठको ७० वर्षको उमेरमा आइतबार बिहान लन्डनमा निधन भएको छ । उनलाई शनिबार चिन्ताजनक अवस्थामा लन्डनस्थित वकिङको सेन्ट पिटरमा हस्पिटल भर्ना गरिएको थियो । श्रेष्ठ सन् २००८ देखि सपरिवार बेलायतको वकिङमा बस्दै आएका थिए ।

नेपाली साहित्यमा ‘अस्वीकृत आन्दोलन’ का प्रवर्तक श्रेष्ठ २००४ माघ ११ गते ओखलढुंगामा जन्मेका थिए । ओखलढुंगा हुँदै धरान बसाइँ सरेर बेलायत आइपुगेका उनले सन् १९९७ मा भारतको गोरखपुर विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका थिए । बीसको सुरुवाती दशकबाटै नेपाली साहित्यमा लागेका उनले २०३६ सालमा ‘अस्वीकृत आन्दोलन’ घोषणासँगै ‘अस्वीकृत जमात’ बनाएका थिए । प्रजातन्त्रका पक्षमा साहित्यकारहरूले चलाएको ‘बुट पालिस आन्दोलन’ मा पनि उनको संलग्नता थियो ।

वर्षदिनअघि मात्रै उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनी अक्सिजन साथमा लिएरै पनि साहित्यिक गतिविधिमा सरिक भइरहन्थे । उनका ‘कालो कथा’, ‘मुक्ति प्रसंगका अस्वीकृत कथाहरू’, ‘विघटन’ लगायत नेपाली र अंग्रेजी भाषाका गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । पछिल्लो समय बुद्ध दर्शनको अध्ययन र लेखनमा समर्पित उनले बुद्धका जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यास समेत लेखेका थिए । बेलायतमा रहेर उनले ‘बुद्ध वाज बोर्न इन नेपाल’ अभियान पनि चलाएका थिए । 

डा. श्रेष्ठ लुम्बिनी कपिलवस्तु डे अभियानका संस्थापक अध्यक्ष र बुद्ध फाउन्डेसन यूकेका सल्लाहकार समेत थिए । विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले ‘पछिल्लो भेटमा अझै बाँचेर केही गर्ने आफ्नो चाहना रहेको’ बताएको खुलाए ।

‘उहाँ एकदमै गहन अध्ययनशील स्वभावको हुनुहुन्थ्यो,’ बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले भने, ‘पछिल्लो समय लुम्बिनी र बुद्धको ऐतिहासिक र सांस्कृतिक अध्ययनतिर लाग्नुभएको थियो ।’

प्रकाशित: मंसिर ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार