समाचार

रोकिएला दोलखामा बुथकब्जा ?

  • २०४८ सालदेखि नै निरन्तर बुथकब्जा हुँदै आएको दोलखाको अन्तर्कथा
- कुलचन्द्र न्यौपाने र राजेन्द्र मानन्धर, चरिकोट (दोलखा)

स्थानीयका अनुसार दोलखामा २०४८ यताका कुनै पनि निर्वाचन बिनाधाँधली सम्पन्न भएनन् । तर वाम गठबन्धन र कांग्रेस दुवै उम्मेदवार भने बुथकब्जा नभए आफूले जित्ने दाबा गर्छन् । उम्मेदवारहरू अहिले पनि बुथकब्जाकै रणनीतिमा देखिन्छन् भने सुरक्षाकर्मी यसलाई तोड्ने तयारीमा लागेका छन् ।

मंसिर ४, २०७४-निर्वाचन मिति नजिकिँदै गर्दा दोलखामा मतदाता र मतदानस्थल सुरक्षाको चिन्ता बढेको छ । कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले एकअर्कालाई बुथकब्जा गर्न सक्ने आरोप लगाउँदै मतदाता सुरक्षाप्रति चिन्ता जनाएका छन् । उनीहरू भन्छन्, ‘बुथकब्जा भएन भने मै चुनाव जित्छु ।’ 

सुन्दै अचम्म लाग्छ, २०४८ सालदेखि नै दोलखामा बुथकब्जाको क्रमभंग भएको छैन । कांग्रेस, एमाले र पछिल्लो पटक चुनावमा प्रवेश गरेको माओवादीले समेत यही हतियार प्रयोग गर्दै आएको छ । जसका कारण यहाँ चुनावमा भिडन्त, हुलदंगा, मारकाटका घटना सामान्यजस्तै भएका छन् । गत स्थानीय तहकै चुनावमा यस्तै भिडन्तमा दुई जनाको ज्यान गएको थियो । 

कसरी हुन्छ बुथकब्जा ? 

पहिले दुइटा निर्वाचन क्षेत्र रहेको दोलखामा पुन:संरचनापछि एउटै मात्र छ । यसअघिको १ नम्बर क्षेत्रमा ०४८ सालदेखि गत स्थानीय तहको चुनावसम्म बुथकब्जाको क्रम रोकिएन । तत्कालीन १ नम्बर क्षेत्र हाल प्रदेशसभा ‘क’ मा पर्छ । यस प्रदेशबाट कांग्रेसका बर्मा लामा र वाम गठबन्धनबाट माओवादीका विशाल खडका प्रतिस्पर्धामा छन् । उनीहरू एकले अर्कालाई बुथकब्जाको रणनीति नबनाउन चेतावनी दिँदै आएका छन् । यी दुई उम्मेदवारको चेतावनीयुक्त अभिव्यक्तिले पनि यस पटक बुथकब्जा हुन सक्ने संकेत गरिसकेको एक मतदाताले बताए । 

विगतमा यी दुवै नेता चुनावका दिन हत्कण्डा मच्चाउनेकै सूचीमा पर्छन् । भर्खरै स्थानीय निर्वाचनमा आफ्नै गृहस्थल मेलुङ गाउँपालिका अध्यक्षमा ८६ मतले हारेको चोट बर्मालाई छ । ०७० को संविधानसभा चुनावमा दोलखा १ बाट एमाले र कांग्रेससँग हारेको चोट खडकालाई छ । यी दुवै ठाउंँका पराजयलाई बुथकब्जाको कारण मानिएको छ ।  

कांग्रेस, एमाले र माओवादीबाट आ–आफ्नो वर्चस्व रहेको मतदानस्थलमा बुथकब्जा हुँदै आएका छन् । स्थानीय कार्यकर्ता र ‘गुन्डा’ मार्फत ती मतदानस्थलमा एकलौटी मत खसालिन्छ । बुथकब्जा गर्न राजनीतिक दलहरूले काठमाडौंलगायत ठाउँबाट पेसेवर ‘गुन्डा’ समेत झिकाउने गर्छन् । मोटरसाइकल र गाडी रिजर्भ गरेर उनीहरू जिल्ला प्रवेश गर्छन् र योजनाअनुसार बुथकब्जा गर्ने केन्द्रमा उनीहरूलाई उम्मेदवारले खटाउँछन् । हतियारसहित पुग्ने गुन्डाले स्थानीय कार्यकर्ताको साथमा सुरक्षा निकाय र कर्मचारीलाई समेत नियन्त्रणमा राखेर मतपत्रमा एकलौटी छाप हाल्छन् । सामान्य मतदातालाई लखेटेर उनीहरूको नामको मत यस्तै गुन्डाहरूले एकलौटी रूपमा हालिदिने गर्छन्, जसलाई बुथकब्जाका रूपमा लिइन्छ ।  

गत स्थानीय तहको चुनावमा कांग्रेस, माओवादीको गठबन्धन र एमालेले आ–आफ्नो वर्चस्व रहेका इलाकाका करिब दर्जन मतदानस्थल कब्जा गरेका थिए । कांग्रेसले यस पटक वाम गठबन्धनले गौरीशंकरको खारे, चंखु, मार्बु, सुरी, जुुंगु, सहरे, मालु च्यामाजस्ता मतदान केन्द्रमा बुथकब्जाको रणनीति बनाएको आरोप लगाएको छ । यी बुथमध्ये मार्बु, सहरे, काब्रेलगायत स्थानमा यसअघि पनि बुथकब्जा भएका थिए । वाम गठबन्धनले पनि कांग्रेसबाट झुले, गैरीमुदी, डाँडाखर्क, जफे, भीरकोट, भेडु, नाम्दु, मिर्गेजस्ता ठाउंँमा बुथकब्जा गर्ने रणनीति बनाएको दाबी गरेको छ । स्थानीय निर्वाचनमा गैरीमुदी, झुले, जफे, नाम्दु, क्षेत्रमा कांग्रेसले कब्जा गरेको थियो । आफ्नो वर्चस्व स्थापित गर्न गत स्थानीय तहमा यस्तै भिडन्त र झडपमा परेर गौरीशंकर र मेलुङमा दुई जनाको ज्यान गएको थियो । 

गौरीशंकर गाउँपालिका २ स्थित जुगुमा एमाले र माओवादी केन्द्रबीच भएको झडपमा एमालेका वडा सदस्यका छोरा कुलबहादुर तामाङको मृत्यु भयो । जुन घटनाले जिल्लामा माओवादी र एमालेबीच ठूलो दरार खडा गराएको छ । उक्त घटनामा संलग्न भन्दै एमालेले हाल वाम गठबन्धनबाटै उम्मेदवार बनेका विशाल, माओवादी नेत्री देवी खडका, गंगा कार्कीलगायत ३९ जनाविरुद्ध ज्यानमुद्दा दर्ता गरेको छ । जुन मुद्दा अहिले अदालतमा विचाराधीन छ । वाम गठबन्धनबाट उम्मेदवार रहेका विशालले दुई पार्टीबीच तालमेल भएपछि यो मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढिरहेको बताए । पीडित र घाइते पक्षलाई राखेर कार्यक्रम भइसकेकाले जिल्लामा यही घटनालाई लिएर एमाले र माओवादीबीच द्वन्द्व नरहेको उनले दाबी गरे ।

सुरक्षा जाँच कडा 

प्रहरीले बुथकब्जाका लागि बाहिरबाट गुन्डा ल्याउन नदिन अहिल्यैदेखि जिल्ला नाकामा सुरक्षा जाँच कडा बनाएको छ । यात्रुहरूको झोला जाँंचदेखि शंकास्पद व्यक्तिलाई जिल्ला प्रवेश गर्न नदिएर फर्काउने गरिएको छ । दोलखाका ९४ मतदान केन्द्रमध्ये १२ वटालाई अति र बाँंकी सबैलाई संवदेनशील सूचीमा राखिएको छ । त्यसैअनुसार सुरक्षा व्यवस्थासमेत कडा बनाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले बताए । उनका अनुसार जिल्लाका सबै नाकामा पेसेवर गुन्डाको प्रवेश रोक्न कडा व्यवस्था गरिएको हो । 

०४८ सालदेखि निरन्तर बुथकब्जा हुनेमा गैरीमुदी बुथ पनि पर्छ । जहाँ मतदाता सुरक्षाका लागि कडा सुरक्षा निगरानी सुरु भइसकेको स्थानीयले बताए । ‘यसपाला चाहिँ आफ्नो भोट आफैं हाल्न पाइएला भन्ने आशा पलाएको छ,’ गैरीमुदीका वनबहादुर तामाङले भने, ‘नत्र सधैंको बुथकब्जाले कहिल्यै आफ्नो भोट आफंै हाल्न पाइएको होइन ।’

‘चुनावकै दिन गोली चल्ने, खुकुरी तरबार नचाउने, ढुंगामुढा हुने हुन्छ,’ गैरीमुदीका होटल व्यवसायी गोपाल तामाङ भन्छन्, ‘यसअघिका चुनावमा हुलदंगा भएको हात बाँधेर हेर्दै बस्थ्यौं, यस पटक पहिलेभन्दा सुरक्षा कडा भएकाले केही हुँदैन कि भन्ने आस छ ।’ 

उम्मेदवारहरूले पनि यस पटकको सुरक्षा व्यवस्था अघिल्ला चुनावको तुलनामा निकै कडा भएकाले बुथकब्जा गर्न कठिन हुने बताए । ०४८ सालदेखि नै वाम वर्चस्व रहेको दोलखामा यस पटक एमाले र माओवादी गठबन्धनका कारण कांग्रेसले थप असुरक्षा महसुस गरेको छ । कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रुद्रबहादुर खडकाले स्थानीय तहकै चुनावमा भएको घटना दोहरिन सक्ने बताए । ‘प्रहरीको थप सुरक्षा बल तत्कालै जान नसक्ने दुर्गम पहाडी इलाकाका सुरक्षामा बढी खतरा देखिन्छ,’ खडकाले कान्तिपुरसँग भने, ‘शान्ति र भयरहित वातावरणमा चुनाव गराउन सुरक्षा व्यवस्था अझ कडा बनाउन आवश्यक छ ।’

उनको जस्तै चिन्ता वाम गठबन्धनका उम्मेदवारमा पनि देखिन्छ । वाम गठबन्धनबाट एमालेका प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङले बुथकब्जा गर्ने गलत संस्कार बसेको भन्दै यसको अन्त्यका लागि आफूले राजनीतिक तहमा प्रयास गरेको बताए । वाम गठबन्धनकै प्रदेश उम्मेदवार विशालले यस पटक शान्तिसुरक्षा कडा पारिएकाले बुथकब्जा हुन नसक्ने ठोकुवा गरे । ‘अघिल्लो तुलनामा यस पटक सबै बुथलाई संवेदनशीलमा राखेर सुरक्षा कडा पारिएको छ । हामीलाई जित्न बुथकब्जा गरिरहनुपर्दैन,’ उनले भने, ‘विगतमा त्रिपक्षीय भिडन्त थियो । अलिकति मत बढी पार्न सके जितिन्छ भन्ने हुन्थ्यो र बुथकब्जा हुन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । अब हामी बुथकब्जालाई इतिहास बनाउन चाहन्छौं ।’

अंकगणित आ–आफ्नै  

दोलखामा ०४८ सालदेखि नै वाम वर्चस्व रहँदै आएको छ । ०५१ को मध्यावधिमा एक सिटबाहेक कांग्रेसले कहिल्यै जित हासिल गर्न सकेको छैन । ०५१ मा कांग्रेसका सादगी नेताको उपमा पाएका स्व. भीमबहादुर तामाङले जितेका थिए । ०४८ सालमा दुवै सिट एमालेले जितेको थियो । ०५१ को मध्यावधिमा कांग्रेस र एमालेले एक सिट जिते । ०५६ मा दुवै सिट एमाले, ०६४ मा दुवै सिट माओवादी र ०७० मा दुवै सिट एमालेले जित्यो । गत स्थानीय तहको निर्वाचनमा दुई नगरपालिका र सात गाउँपालिकामा वामपन्थीहरूकै वर्चस्व रह्यो । एमालेले दुई नगरपालिकासहित पाँच गाउँपालिका र कांग्रेसले दुई गाउँपालिकामा विजयी हासिल गर्‍यो । एमाले र माओवादीबीचको गठबन्धनले यस पटक कांग्रेसलाई झनै चुनौती थपिएको छ । 

स्थानीय तहको चुनावमा एमाले र माओवादीले पाएको मत जोडदा कांग्रेस झन्डै २७ हजार मतले पछाडि छ । यद्यपि कांग्रेस उम्मेदवारहरू बुथकब्जा नभई मतदाताले स्वतन्त्रपूर्वक मत हाल्न पाए आफूहरूको जित सुनिश्चित रहेको दाबी गर्छन् । ०७० को दोस्रो संविधानसभा चुनाव र हालैको स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्रबीच द्वन्द्वपूर्ण स्थितिले कांग्रेसले आफ्नो स्थिति सृदृढ हुने ठानेको छ । स्थानीय तहका चुनावमा दुई व्यक्तिको निधनलाई लिएर जिल्लामा एमाले र माओवादी केन्द्रबीच भित्रभित्रै असन्तुष्टि चुलिएकाले त्यसको लाभ आफूहरूलाई हुने कांग्रेसको प्रदेश ‘ख’ का उम्मेदवार केशवराज चौलागाईंले बताए । उनका अनुसार यस्तो असन्तुष्टिको मत २५ देखि ३० प्रतिशतसम्म कांग्रेसलाई आउने देखिन्छ ।

वाम गठबन्धनका उम्मेदवार विशालले विगतका द्वन्द्वबाट सिर्जित असन्तुष्टिको व्यवस्थापन भइसकेकाले कांग्रेसले त्यसको लाभ लिन नसक्ने दाबी गरे । ‘जहाँ संघर्ष हुन्छ, त्यहाँ एकता हुने कम्युनिस्ट दर्शन नै छ, अहिले हामी (एमाले र माओवादी) बीच भावनात्मक एकता भइसकेको छ,’ उनले भने, ‘कांग्रेसको यो खेती अब सकिएको छ ।’ 

जिल्लामा उम्मेदवारहरूले विकास एजेन्डालाई चुनावी मुद्दा बनाएका छैनन् । दोलखालाई ‘हाइड्रो हब’ पनि मानिन्छ । तर, नेताहरूले न त यसको विकासमा जोड दिएका छन्, न जिल्लाका सडक, खानेपानी, सिँचाइजस्ता मागलाई महत्त्वमा राखेका छन् । जिल्लामा भित्र बनेका अनगिन्ती सडक राजनीतिक नेतृत्वले भन्दा पनि कर्मचारीतन्त्रमा दोलखाले लिएको नेतृत्वका कारण सम्भव भएको स्थानीय बताउँछन् ।

वाम गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका उम्मेदवार गुरुङ र कांग्रेसका खडका अहिले अन्तिम चुनावी प्रचारमा गाउँकेन्द्रित आमसभामा छन् । जिल्लाको विकासका एजेन्डालाई भन्दा पनि राजनीतिक आलोचना र दोषारोषण गरेर प्रचार थालेका उनीहरू यतिबेला एकअर्काको बुथकब्जा रोक्ने रणनीतिमा केन्द्रित हुन थालेका छन् । एमाले उम्मेदवार गुरुङले वाम गठबन्धनका कारण आफूहरूको जित सुनिश्चित भएकाले आफ्नो पक्षबाट बुथकब्जा नहुने भन्दै कांग्रेसलाई ढुक्क रहन आग्रह गरे । कांग्रेसका खडका भने सरकारले अझै सुरक्षा व्यवस्था कडा पारेर दोलखामा निरन्तर चल्दै आएको बुथकब्जा रोक्नुपर्ने बताउँछन । रोचक त के छ भने गुरुङ र खडका व्यावसायिक साझेदारसमेत हुन् । त्यहीकारण व्यक्तिगत गालीगलौजमा उत्रिएका छैनन् । तर, दलीय आरोप/प्रत्यारोप चर्को छ ।

‘जनताको मताधिकार खोसिनु लोकतन्त्रका लागि राम्रो होइन । स्वच्छ र भयरहित निर्वाचन भए ठूलो मतान्तरमा जित्छौं, हामीलाई कुनै पनि धाँधली प्रपञ्च रच्न जरुरी छैन,’ गुरुङले भने । खडकाले वाम गठबन्धनबाट कांग्रेस समर्थक मतदातालाई बढी असुरक्षा भएको बताए । उनले बुथकब्जा रोक्न सके आफ्नो विजय सुनिश्चित रहेको दाबी गरे । ‘मतदाताले निर्भय र स्वतन्त्रपूर्वक मत हाल्न पाए कांग्रेसले यस पटक वाम वर्चस्व तोड्छ,’ उनले भने ।

दोलखामा केन्द्र र प्रदेशमा कांग्रेसले नयाँ अनुहार उतारेको छ भने वाम गठबन्धनबाट उम्मेदवार भएका सबै परीक्षण भइसकेका नेता हुन् । वाम गठबन्धनबाट उम्मेदवार रहेका गुरुङ यसअघि निर्वाचित सांसद हुन् । प्रदेशसभाका उम्मेदवार पशुपति चौलागाईं र खडकासमेत परीक्षण भइसकेका नेता हुन् । प्रदेश ‘ख’ मा वाम गठबन्धनका पशुपति र कांग्रेसका केशवराज दुवै चौलागाईं भएकाले उनीहरूबीचको भिडन्तलाई पनि रोचक मानिएको छ । 

प्रकाशित: मंसिर ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार