विश्व

मुगाबेविरुद्ध विशाल प्रदर्शन

- एजेन्सी, हरारे

मंसिर ३, २०७४-जिम्बावेका अपदस्थ राष्ट्रपति मुगाबेको राजीनामाका लागि दबाब दिन राजधानी हरारेमा भएको प्रदर्शन उत्सवमा परिणत भएको छ । प्रदर्शनकारीले ३२ वर्षे मुगाबे युगको अन्य भएको भन्दै उत्सव मनाएका छन् । 

प्रदर्शनकारीले उनीहरूले मुगाबेलाई बर्खास्त गर्न सेनाले खेलेको भूमिकाको समर्थन गर्दै उनीहरूलाई अंकमाल तथा जयजयकार गरेका छन् । एक प्रदर्शनकारीले जिम्बावेमा ‘नयाँ कुराको सुरुवात’ भएको जनाए । प्रदर्शनलाई सरकारी सेना तथा सत्तारूढ जानु–पीएफ पार्टीको समर्थनमा आयोजना गरिएको हो । 

जानु–पीएफका नेताहरूले शनिबार हुने र्‍यालीमा सहभागी हुँदै ऐक्यबद्धता जनाउने र देशको संकटबारे सप्ताहान्तमा बैठक गर्ने पनि जनाएका छन् । जानु–पीएफ पार्टीका अधिकांश क्षेत्रीय इकाई मुगाबेले राजीनामा दिनुपर्ने पक्षमा छन् । द हेराल्ड समाचारपत्रका अनुसार १० वटै प्रदेशमा रहेका पार्टीका संरचनाले उनलाई राजीनामा दिन आग्रह गरेका छन् । 

शुक्रबार साँझ जानु–पीएफका इकाईले मुगाबेले राष्ट्रपति र पार्टीको प्रमुखबाट राजीनामा दिन भनेका हुन् । जिम्बावेको स्वतन्त्रता सेनानीको एउटा संगठनका प्रमुख क्रिश मुत्सभाङा भन्छन्, ‘अब फेरि मुगाबेको युगमा फर्कन सकिँदैन त्यही भएर हामीले देशका सबै जनतालाई एक ठाउँमा ल्याइरहेका छौं, स्वतन्त्रता सेनानीहरूको सन्देश के हो भने अब पछाडि फर्कन सकिँदैन, उनले छाड्नैपर्छ ।’ 

अप्रत्याशित रूपमा कतिपय क्षेत्रीय नेताले सरकारी टेलिभिजनमार्फत मुगाबेको राजीनामा माग गरेका थिए । साथै, उनीहरूले मुगाबे– पत्नी ग्रेसले जानु–पीएफ पार्टी छाड्न र बर्खास्त उपराष्ट्रपतिलाई पार्टी केन्द्रीय समितिमा पुनर्बहाली गर्न माग गरेका छन् । अर्को महिना हुने पार्टीको महाधिवेशनसम्म मुगाबे जानु–पीएफका नेता तथा राष्ट्रपतिका रूपमा रहिरहन चाहेको बताइएको छ । स्वतन्त्रता आन्दोलनदेखि सँगै रहेका मुगाबेप्रति बफादार नेताले पनि उनलाई पद छाड्न भनेका कारण मुगाबे तनावमा परेका छन् । यसअघि मुगाबे सेनाले सत्ता हातमा लिएयता पहिलो पटक शुक्रबार एक सार्वजनिक कार्यक्रममा देखिएका थिए ।

अघिल्लो साता मुगाबेले उपराष्ट्रपति एमर्सन मनाङ्ग्याग्वालाई पदबाट हटाएर श्रीमती ग्रेस मुगाबेलाई जिम्बावेको सत्तामा पुर्‍याउने प्रयास गरेका थिए । सेनाले उनीसँग छलफल भइरहेको जनाउँदै त्यसको नतिजाबारे सर्वसाधारणलाई छिट्टै जानकारी दिने बताएको छ । घरमा नजरबन्दमा राखिएका उनी राजधानी हरारेमा भएको एक विश्वविद्यालयको कार्यक्रममा सहभागी भएका थिए । स्वतन्त्रता सेनानीहरू मुगाबेप्रति बफादार भए पनि उत्तराधिकारीबारेको शक्ति संघर्षबीच बुधबार सेनाले हस्तक्षेप 

गरेको हो । 

समाचार संस्था रोयटर्सका अनुसार कार्यक्रममा बोले लगत्तै उपस्थित केहीले उनको समर्थनमा हुटिङ गरेका थिए । यसअघि दक्षिण अफ्रिकी दूत र सेना प्रमुखसँगको भएको वार्तामा मुगाबेले राजीनामा दिन अस्वीकार गरेका थिए । 

प्रकाशित: मंसिर ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार