विचार/विश्‍लेषण

प्याथोलोजी सेवाको नजरअन्दाज

  • सन्दर्भ : अन्तर्राष्ट्रिय प्याथोलोजी दिवस
- डा. रुणा झा
ओपीडी र वार्डको भीडभन्दा टाढा प्रयोगशालाभित्र हुने परीक्षण सेवा र बिरामीको सम्पर्कमा धेरै नआउने प्याथोलोजिस्टलाई जस दिएको देखिँदैन ।

कार्तिक २९, २०७४-क्यान्सर वा अर्वुद रोग यस्तो समूहको रोग हो, जसमा शरीरको कुनै तन्तु अनियन्त्रित रूपमा बढ्न थाल्छ र वरिपरिका अंगहरूमा मात्र नभई शरीरका अन्य अंगहरूमा समेत फैलिएर सो अंगको गतिविधिमा समेत असर गर्छ र अन्तत: बिरामीको मृत्यु नै हुन्छ । यस्तो रोगबारे समयमै थाहा पाउन सकिए क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ । यस क्यान्सर रोग निदानको लागि नभई नहुने सेवा हो, प्याथोलोजी । प्याथोलोजी २ वटा ग्रिक शब्द प्याथोज (रोग) र लोगोज (ज्ञान मिलेर बनेको) अथवा रोगसम्बन्धी ज्ञान लिने विषयलाई प्याथोलोजी भनिन्छ । प्याथोलोजीलाई प्रमाणमा आधारित आधुनिक चिकित्साको मेरुदण्ड मानिन्छ । आधुनिक चिकित्सा पद्धतिका ७० प्रतिशत निर्णयहरू प्याथोलोजीको नतिजामा आधारित हुन्छ । प्याथोलोजीको अभ्यास सबै क्लिनिकल विषयसँग जोडिएको छ । त्यसमध्ये पनि क्यान्सरको निदान सम्बन्धमा अहिलेसम्म पनि प्याथोलोजी परीक्षणलाई नै ‘गोल्ड स्टान्डर्ड’ परीक्षण मानिन्छ । 

रोयल कलेज अफ प्याथोलोजिष्ट्सले प्याथोलोजीलाई विभिन्न समूहमा वर्गीकरण गरेको छ– क) जनरल प्याथोलोजी (शरीरमा रोग लाग्ने कारण, रोग लाग्ने प्रक्रिया र शरीरको प्रतिकार गर्ने तरिका सम्बन्धी ज्ञान) ख) एनाटमिक अथवा सर्जिकल प्याथोलोजी (माइक्रोस्कोपको सहायताले रोगले ग्रसित कोशिकाहरू सिधै हेर्न सकिने ज्ञान) ग) क्लिनिकल प्याथोलोजी (रगत र शरीरको अन्य तरल पदार्थको परीक्षण गर्ने ज्ञान) घ) केमिकल प्याथोलोजी अथवा बायोकेमेष्ट्री (विभिन्न रोगमा शरीरमा आउने रासायनिक परिवर्तनको अध्ययन र परीक्षण) ङ) हेमाटोलोजी (एनिमिया, थालेसेमिया, हेमोफिलिया, रगत क्यान्सर आदि रगतमा हुने रोग सम्बन्धी अध्ययन र परीक्षण), च) जेनेटिक्स (विभिन्न रोगमा मानव जिनमा परिवर्तन सम्बन्धी अध्ययन र परीक्षण), छ) इम्युनोलोजी र ज) माइक्रोबायोलोजी । क्यान्सर परीक्षणमा एनाटोमिक अथवा सर्जिकल प्याथोलोजीको भूमिका सबैभन्दा महत्त्वपूर्ण छ । 

पेट दुखेर इन्डोस्कोपी गराउनुभएको छ वा रोगले ग्रसित कुनै अंग अपरेसन गरेर निकाल्नुभएको छ भने तपाईहरूलाई थाहा होला, त्यसरी निकालिएको मासुलाई प्रयोगशालामा परीक्षणका लागि पुर्‍याउने गरिन्छ । यी सबै परीक्षणको मुख्य उद्देश्य क्यान्सर भए/नभएको, क्यान्सर भए कस्तो खाले, कति कडा र कुन अवस्थाको वा क्यान्सर नभए अरू कुन रोग हो, त्यो थाहा पाउनु हो । प्रयोगशाला पुर्‍याइएको मासुको टुक्रा नाङ्गो आँखाले परीक्षण गरी त्यसपछि माइक्रोस्कोपको मद्दतले कोशिकाहरू अध्ययन गरेर रोग पत्ता लगाउने विषय नै प्याथोलोजी हो । पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने प्याप स्मेयर या शरीरमा पलाएका कुनै गाँठागुँठीको एफएनएसी अथवा पातलो सुइले छेडेर त्यहाँबाट निकालेको नमुनाको परीक्षण पनि कोशिकाहरूकै माइक्रोस्कोपिक अध्ययन गरेर गरिन्छ । यसरी पहिला नग्न आँखाले र त्यसपछि माइक्रोस्कोपको सहायताले कोशिकाहरूमा देखिएको परिवर्तनलाई नै आधार बनाएर एउटा नतिजामा पुगिन्छ । 

प्याथोलोजीको इतिहास नयाँ होइन, पन्ध्रौं शताव्दीमा इटालियन चिकित्सक एन्टिनियो बेनिभिनीले मृत शरीर बिच्छेदन गरी अध्ययन गरेर रोग पत्ता लगाउने गरेका थिए, जसलाई हामी अटप्सी वा बोलचालको भाषामा पोस्टमार्टम भनेर बुझ्ने गर्छांै । जिओमानी मोर्गगनी (१६८२–१७७१) ले ६०० भन्दा बढी अटप्सीबाट प्राप्त जानकारीलाई बिरामी जीवित छँदै भेटिएका लक्षणहरूसँंग जोडी कुन रोगमा कस्तो लक्ष्यण देखापर्छ भन्ने सम्बन्धी किताब नै लेखेका थिए । त्यसपछि यस विषयमा किताबहरूको ओइरो नै लाग्यो । माइक्रोस्कोपको प्रयोगसँगै उन्नाइसौं शताव्दीको दोस्रो भागमा प्याथोलोजीले नयाँ युगमा प्रवेश गर्‍यो र यसको श्रेय जर्मन चिकित्सक रुडोल्फ विर्चोव (सन् १८२१–१९०२) लाई जान्छ । प्याथोलोजीका पिता भनेर पनि यिनै रुडोल्फ विर्चोवलाई चिनिन्छ । 

प्याथोलोजी सम्बन्धी ज्ञान भएको विशेषज्ञ चिकित्सकलाई प्याथोलोजिष्ट भनिन्छ । चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) अध्ययन पूरा गरेपछि ३ देखि ५ वर्षसम्मको एमडी अध्ययन सकेपछि प्याथोलोजिष्ट भइन्छ । प्याथोलोजिष्टलाई रोयल कलेज अफ प्याथोलोजिष्ट्सले वर्गीकरण गरेको प्याथोलोजीका विभिन्न विधाको ज्ञान भए पनि मुख्यत: एनाटमिक वा सर्जिकल प्याथोलोजी र हेमाटोलोजीमा हुन्छ । प्रयोगशाला चिकित्साको क्षेत्रमा आधुनिक कम्प्युटराइज्ड उपकरणको खोजसँंगै प्रयोगशालाकर्मीले गर्दै आएका धेरै काम उपकरणले विस्थापित गर्दै गए पनि प्याथोलोजिष्टले गर्ने क्यान्सर र अन्य रोगसम्बन्धी परीक्षण प्याथोलोजिष्टको आँखाले के देख्छ र दिमागले त्यसलाई कसरी बुझ्छ, त्यसमा भर पर्छ । नेपालमा १९० जति रजिष्टर्ड प्याथोलोजिष्ट छन् । महाराजगन्ज मेडिकल केलज, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र अन्य निजी मेडिकल कलेजहरूले पनि प्याथोलोजीमा एमडी अध्यापन गराइरहेका छन् । तथापि यहाँका अधिकतम ‘प्याथोलोजी’ प्रयोगशाला वास्तविक प्याथोलोजी सेवा र प्याथोलोजिष्ट बिना नै सञ्चालन भइरहेको पाइन्छ । 

विश्वमा क्यान्सर मृत्युको दोस्रो ठूलो कारण हुने गरेको छ र वर्षेनि यस रोगबाट मृत्यु हुनेको संख्या बढ्दो छ । नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएकामा हामी चिन्तित छांै । जसमध्ये क्यान्सर पनि एक हो । तर यसको निदानका लागि चाहिने प्याथोलोजी सेवा सरकारी अस्पतालहरूमै पनि कतै–कतै मात्र छ भने यस्तो सेवाबाट धेरै फाइदा नहुने भएकाले निजी क्षेत्रमा सञ्चालित प्रयोगशाला र अस्पतालहरू पनि यो सेवा प्रवाहमा आकर्षित भएको देखिँदैन । क्यान्सर र यो जस्तो डरलाग्दो अन्य रोगबारे चिकित्साका अन्य विशेषज्ञताले जति शंका गरे पनि निचोडमा पुग्न प्याथोलोजी सेवा र प्याथोलोजिष्टको क्षमतामै भर पर्नुपर्ने हुन्छ । प्याथोलोजी आधुनिक चिकित्साको मेरुदण्ड मानिए पनि र प्यथोलोजिष्टलाई डाक्टरको पनि डाक्टर भनिए पनि ओपीडी र वार्डको भिडभन्दा टाडा प्रयोगशालाभित्र हुने यस्ता परीक्षण सेवा र बिरामीको सम्पर्कमा धेरै नआउने प्याथोलोजिष्टलाई जश दिएको देखिँदैन । त्यसैले होला, सन् २०१४ देखि रोयल कलेज अफ प्याथोलोजिष्ट्स संयुक्त अधिराज्यको आह्वानमा विश्व्यापी स्वास्थ्य चुनौतीमा प्याथोलोजिष्ट र प्याथोलोजीको योगदान सम्बन्धी जनचेतना जगाउने र कदर गराउने उद्देश्यले विभिन्न देशहरूमा अन्तर्राष्ट्रिय प्याथोलोजी दिवस मनाउन थालिएको हो । 

विश्व स्वास्थ्य संगठनले मे २०१७ मा क्यान्सर रोकथाम सम्बन्धी प्रतिबद्धता व्यक्त गरेसँगै रोयल कलेज अफ प्याथोलोजिष्ट्सले यस वर्षको अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसमा विश्वव्यापी गोलमेच छलफल नै राखेको छ । यस छलफलमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरूले विश्व स्वास्थ्य संगठनको यो प्रतिबद्धतालाई पूरा गर्न प्रभावकारी, लागत प्रभावी र दिगो प्याथोलोजी सेवा कसरी पुर्‍याउने भन्ने विषयमा ध्यान दिने बुझिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय प्याथोलोजी दिवस १५ नोभेम्बरमा ‘विथआउट प्याथोलोजी देयर इज नो मेडिसिन’ अर्थात ‘प्याथोलोजीबिना चिकित्सा छैन’ भन्ने नाराका साथ विभिन्न देशमा मनाइँदैछ । नेपालमा प्याथोलोजिष्टहरूको एकमात्र छाता संगठन ‘एसोसियसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल’ ले पनि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउँदैछ । आशा छ, आउने दिनमा प्याथोलोजीको महत्त्व र बुझाइ अझ वृद्धि हुँदै जानेछ ।

डा. झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट हुन् । 

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार