विचार/विश्‍लेषण

विभेदमा परेका सहिद

  • सन्दर्भ : छिन्ताङ सहिद सप्ताह
- भिसा काफ्ले

कार्तिक २९, २०७४-जब करेसामा ढकमक्क सयपत्री फुल्छ, अनि झ्याली, झ्याम्टा र ढोलको आवाज खाल्साली (खोकु, छिन्ताङ, आँखीसल्ला) जनताका कानमा पर्न थाल्छ, तब मन ढक्क फुलेर आउँछ । किनकि यी सबै बाडाङमी (खाल्सा क्षेत्रका राई जातिको प्रमुख चाड) आएको संकेत हो । बाडाङमी सुरु भएसंँगै खाल्सा फेरि एकपटक दुख्छ । ३९ वर्षदेखिको पुरानो घाउ बल्झेर आउँछ । किनकि २०३६ सालमा यहाँ बम र संगीन नाचेर निहत्था जनताको रगतमा युद्धको होली खेलिएको थियो ।

अन्य १ सयभन्दा बढीलाई राजद्रोह मुद्दामा ७ वर्षसम्म जेल हालेको थियो । ती मध्ये अझै धेरैले बेला–बेलामा त्यसबेलाको दु:ख विसाउँछन् र धेरैको मन रुवाउँछन् । जसका लागि प्रत्येक वर्ष कात्तिकक अन्तिम साता (२३ गतेदेखि २९ सम्म) सहिद सप्ताहको अवसर हुन्छ । त्यहाँ सहिद परिवार र त्यसबेला राज्यको ज्यादती खेपेकाहरूलाई दोसल्ला पहिर्‍याएर सम्मान गरिन्छ । त्यही ०३६ सालको काण्डलाई नुनचुक छर्न नेताहरू पुरानै शैलीमा भाषण वाचन गर्न थाल्छन्, ‘खाल्साली जनता निरंकुशतासँग कहिल्यै डगेनन्, बरु बन्दुकको नाल खान तयार भए । महान छन्, छिन्ताङे सहिदहरू ।’ तर साढे ७ वर्ष राज्यद्रोहको मुद्दामा जेल परेका ८० वर्षीय पञ्चमान राई औषधी–उपचार नपाई घरमै थला परेका छन् । ५ वर्ष जेल परेका कुमार राई, चित्रमान राईहरू अझै पाखुरी बजारिरहेका छन् । शरीरमा एकथोपा रगत रहुन्जेल अन्याय र अत्याचारको विरोध गर्ने कसम खाएका छन् । प्रत्येक वर्ष उनीहरू आफूसँगका सहयोद्धाहरूका लागि मौन धारण गरेर गोपाल आनन्दी राई, श्रीमाया राई (हाङखिमा साइँली), भैरवबहादुर खालिङ राई, पुत्रमान राई, गणेशबहादुर विक, टंकबहादुर विक, बलबहादुर खत्री, पेशलमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाई, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगाबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राई र झगेन्द राईलाई सम्झन्छन् । 

देश चुनावी माहोलमा होमिएको छ, प्रजातन्त्रपछि गणतन्त्रको नवीनतम शासन प्रणाली सुरु भइसकेको छ । बलबहादुर राई भने पाख्रीवास नगरपालिका वडा नं. १० मा अधियाँमा लिएको बारीमा कुटो–कोदालोमै छन् । उनलाई चुनाव नलागेको भने हैन । तर दिनभर काम नगरे बिहान–बेलुका हातमुख जोर्न उनलाई गाह्रो छ । बलबहादुर तिनै व्यक्ति हुन्, जसले ७ वर्षको उमेर हँुदा बाबु पुत्रमान बहुदलीय प्रजातन्त्र ल्याउने अभियानमा लागेकाले राजद्रोहीको आरोपमा तत्कालीन पञ्चाती सरकारले खेदेर तमोर नदीमा ज्युँदै फालेर मारिदिएको थियो । ३८ वर्षपछि तिनै पुत्रमानका छोरा गाउँपालिकाको वडा सदस्य भएका छन् । तर आर्थिक रूपमा भने परिवार पाल्न धौधौ छ । सहदि गोपाल आनन्दका छोरा योगेन्द्र राई ३ नम्बर वडा वडाध्यक्ष भएका छन्, श्रीमाया राई (हङखिमा राई) का छोरा भलकमान राई एमाले जिल्ला कमिटी सदस्य छन् । भैरव खालिङका छोरा सत्यनारायण राई नायव सुब्बा छन् । राजनीतिक रूपमा केही परिवारका सदस्य सक्रिय रहे तापनि आर्थिक रूपमा भने अधिकांशको जीवनस्तर उक्सनसकेको छैन । अझै पनि बिहान–बेलुकाको छाक टार्न बनिबुतोकै भर पर्नुपरेको छ । छिन्ताङ सहिद परिवार संरक्षण समितिका संयोजकसमेत रहेका बलबहादुरका अनुसार गणेश विक र बलबहादुर खत्रीका परिवार सम्पर्कमा नै छैनन् । 

बहुदलीय व्यवस्था ल्याउन पूर्वमा चेतनाको विगुल फुक्ने खाल्साले २०४६ पछि ५ जना सांसद र १ जना मन्त्री पाइसकेको छ । यो क्षेत्रले जहिल्यै पनि कम्युनिष्ट नै रोजेको छ । छिन्ताङको समग्र विकासका निम्ति भन्दै ९ वर्षअघि गुरुयोजना तयार गरी करिब २ करोड रुपैयाँ त्यसमा विनियोजन भए तापनि काम भने सन्तोषजनक रूपमा हुन नसकेको सहिद परिवारका सदस्यहरू बताउँछन् । २०४६ सालको बहुदलीय व्यवस्था स्थापनापछि यो ठाउँको देशभर चर्चा भए तापनि सोचे अनुरुप विकास हुन सकेन । अझ सहिद परिवार र त्यसबेला यातना खपेका परिवारको अवस्था भने दयनीय छ । ग्राभेल सडकले सुन्तला, अदुवा जस्ता स्थानीय उत्पादनले बजार पाउन थालेपछि भने त्यस क्षेत्रका जनतालाई केही आशातित बनाएको छ । 

तर विडम्बना, माओवादीले सञ्चालन गरेको दसवर्षे सशस्त्र युद्धमा ज्यान गुमाएका सबैलाई सरकारले पालैपालो राष्ट्रिय सहिद घोषणा गर्न कन्जुस्याइँ गरेन । अझ ०६२/६३ को जनआन्दोलनपछि राजनीतिक आवरणमा थरीथरीका सहिद घोषणा भए । तर एकदलीय पञ्चायती शासनको विरुद्ध आवाज उठाउने खाल्साली वीरहरू सरकारको नजरमा कहिल्यै पनि सहिद हुन सकेनन् । २०४६ पछि ६ जना कम्युनिष्ट नेता प्रधानमन्त्री बने, तर कम्युनिष्ट आस्था राखेर आन्दोलनमा ज्यान गुमाएका ती वीर सपुतलाई राज्यका सहिद भन्न हिच्किचाइरहे । 

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार