खेलकुद

‘यो दिन सोचेको थिइनँ’

- राजु घिसिङ, काठमाडौं

कार्तिक २९, २०७४-नेपाली राष्ट्रिय फुटबल टोलीका १५ औं कप्तान अनिल गुरुङ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिँदा मंगलबार निकै भावुक बने । १० वर्ष अन्तर्राष्ट्रिय फुटबल खेलेका उनले नेपाल–फिलिपिन्सको खेल सकिएलगत्तै मैदानलाई ढोगेका थिए ।

‘कसरी भनौं, भित्री मनदेखि एकदमै खुसी छु । दु:खी पनि । किनभने बिदाइ हुँदै छु । मैले जति बेला राष्टिय टिमबाट खेलेको थिएँ, त्यस बेला यो (संन्यास) दिन पनि आउँछ भन्ने सोचेको थिइनँ । मैले फुटबलमा यसरी सम्मान पाउँछु भनेर जीवनमा सोचेको पनि थिइनँ,’ अन्तिम खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सम्मानित भएपछि उनले भने, ‘लिग भयो भने क्लबबाट निरन्तर खेल्नेछु ।’ मैदानको ढोगाइबारे उनले भने, ‘यो ठाउँले नै मलाई सबै चिज दिएको छ । जति छु यो मैदानले नै गर्दा छु । यसलाई म सम्मान गर्छु ।’

अक्टोबर ८, २००७ मा मस्कटमा भएको विश्वकप छनोटमा ओमानसँग २–० ले पराजित भएको खेलमार्फत् उनले राष्ट्रिय टिममा ‘डेब्यू’ गरेका थिए । त्यसमा उनलाई प्रशिक्षक श्याम थापाले पहिलो रोजाइमा खेलाएका थिए । मस्कटबाट सुरु उनको अन्तर्राष्ट्रिय फुटबलको करिअर १० वर्ष चल्यो । बिदाइको खेलमा भने उनी सुजल श्रेष्ठको स्थान लिँदै सब्स्टिच्युटका रूपमा ८१ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । यससँगै उनले ५० क्यापको कोसेढुंगा पनि पार गरे ।

‘जति मिनेट खेल्छु सक्दो खेल्छु भनेर मैदानमा छिरे तर भित्र प्रवेश गरेपछि आङै जिरिङ भयो,’ अन्तिम खेलबारे उनले सुनाए, ‘राष्ट्रिय टिमका लागि अन्तिमपल्ट मैदानमा प्रवेश गर्दा कस्तो भएको थियो भनी म शब्दमा व्यक्त गर्न सक्दिनँ । खेलमा भन्दा बाहिरै ध्यान दिइरहेको थिएँ । हो मैले खेलमा ध्यान दिनुपर्छ तर मैले बाहिर नै हेरिरहको थिएँ, जुन बेला मलाई फ्यानहरूले सपोर्ट गरेर अनिल गुरुङ भनी चिच्याइरहेका थिए ।’

३१ वर्षीय उनले प्रतिभावान र जुनियर खेलाडीलाई अवसर दिन पनि आफूले संन्यासका लागि उपयुक्त समय रोजेको बताए । नौ गोल गरेका उनले भने, ‘नेपाली फुटबलमा मैले देशलाई केही दिएजस्तो लाग्छ र आउने दिनहरूमा राष्ट्रिय टिमलाई अगाडि लैजान खेलहरू निरन्तर भइरहनुपर्छ । त्यसले मात्रै नेपाली टिमलाई बलियो बनाउँछ र त्यसैमा केन्द्रित हुनुपर्छ ।’

आफ्नो जर्सी नम्बर १०, समर्थकको माया र मिडियालाई संन्यासपछि निकै ‘मिस’ गर्ने उनले बताए । उनले भने, ‘यहाँसम्म आइपुग्ने कहिल्यै सोचेको थिइनँ । बुबाको चाहना म भर्ती भएर लाहुरे होस् भन्ने थियो तर फुटबल खेल्नतिर लागें र यहाँसम्म आइपुगें । फुटबलमा नाम पनि छ, दाम पनि छ । परिवारलाई साथ पनि दिए । अहिले म जुन स्थानमा छु, त्यो हेर्दाखेरि बुबा (स्वर्गीय बिलबहादुर) खुसी नै हुनुहुन्छ होला भन्ने लाग्छ ।’

फरवार्डका रूपमा अनिलले पोखराको सहारा क्लबको एकेडेमीबाट ब्रिगेड ब्जाइज, थ्रीस्टार, मनाङ मस्र्याङ्दी, एनआरटी हुँदै भारतको सिलोङ लाजोङबाट पनि खेलिसकेका छन् । पाँच वर्षयता मनाङबाट निरन्तर खेल्दै आएका उनी इंग्ल्यान्डको छैटौं डिभिजन क्लब वोकिङमा गरेको ट्रेनिङलाई करिअरकै ‘टर्निङ प्वाइन्ट’ मान्छन्, जसले उनको स्तर वृद्धि गरेको थियो । उनी एनआरटी र सिलोङमा छँदा नेपालकै सबभन्दा महँगा फुटबलर थिए । गत वर्ष मलेसियामा भएको सोलिडारिटी कप विजेता बन्नु नै उनको अन्तर्राष्ट्रिय खेलजीवनको सबभन्दा ठूलो सफलता हो । खेलमा पहिलो रोजाइमा नरहे पनि उनी त्यस बेला टिम कप्तानका रूपमा रहेका थिए ।

 

‘नेपालको राम्रो खेल’

‘यमनसँग पनि बराबरी गरको थियौं तर हामीले खेलेको खेलमध्ये आज राम्रो खेलेजस्तो लाग्छ,’ नेपाली टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले भने, ‘बल पोजेसन राख्न खोजेका थियौं, सफल भइयो । दोस्रो हाफअगाडि फरवार्ड बढी खेलाइएकाले आक्रमण गर्न सक्यौं ।’ कप्तान अनिल गुरुङले भने, ‘हाम्रो टिमले मिहिनेत गरेर खेल्यो । एक अंक आउनु नै सफलता हो ।’ थोमस डुलीले सम्हालेको फिलिपिन्सलाई एसियन कपमा छनोट हुन एन्फा कम्प्लेक्समा जित आवश्यक थियो । खेलपछि उनले भने, ‘हामीले सुरुमा ३–५–२ को संरचनामा खेलेका थियौं, दोस्रो हाफमा परिवर्तन गरेपछि राम्रो भयो । तर नेपालले चार फरवार्ड खेलाएपछि हामी दबाबमा पर्‍यौं । खेल पनि तीव्र गतिमा चल्यो ।’ 

 

अनिलको करिअर

२०६१ ब्रिगेड ब्वाइज क्लब

२०६२ थ्री स्टार क्लब

२०६३ मनाङ मस्र्याङ्दी

२०६४–६५ एनआरटी

(मासिक २६ हजारको कीर्तिमान)

२०६६–६८ सिलोङ लाजोङ

(तीन वर्षको ६३ लाख पारिश्रमिक)

२०६९– मनाङ मस्र्याङ्दी

(ए डिभिजन लिग विजेता २०७०)

राष्ट्रिय टिम

डेब्यू: नेपाल ०–२ ओमान (विश्वकप छनोट)

८ अक्टोबर, २००७/मस्कट

क्याप ५०

गोल ९

उपाधि : एएफसी सोलिडारिटी कप (२०१६)

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार