समाचार

प्रदेश ३ का २४७ मतदानस्थल ‘अति संवेदनशील’

- कान्तिपुर संवाददाता , हेटौंडा

कार्तिक २९, २०७४-सुरक्षा निकायले प्रदेश ३ का १० जिल्लामा २ सय ४७ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । प्रदेश ३ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरेले भौगोलिक विकटता, विगतमा भएको चुनावी झडप र माओवादीको विप्लव समूहको हिंसात्मक गतिविधिका कारण ती मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको जानकारी दिए । यस्तै, सुरक्षा निकायले ३ सय ८७ मतदानस्थललाई संवेदनशीलमा राखेको छ ।

 

३ प्रदेशका १० जिल्लामा १ हजार २ सय ५१ मतदानस्थल छन् भने मतदान केन्द्र २ हजार ५ सय ६८ छन् । ‘अति संवेदनशीलको सुरक्षाका लागि फरक ढंगले व्यवस्था गरेका छौं,’ घिमिरेले भने, ‘थ्रेटका आधारमा सुरक्षा प्रबन्ध मिलाएका छौं ।’ प्रदेश ३ को मतदानस्थलको सुरक्षाका लागि ९ हजार ५ सय प्रहरी र १२ हजार ५ सय म्यादी गरी २२ हजार सुरक्षाकर्मी खटाइने जनाइएको छ । यस्तै, सुरक्षाका लागि सशस्त्र बल र नेपाली सेना पनि रहनेछ । मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो अर्थात् बाहिरी घेरामा नेपाली सेना रहने व्यवस्था छ । 

३ नम्बर प्रदेशमा १८ प्रतिनिधिसभा र ३६ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ । १० जिल्लामध्ये ६ जिल्लामा मंसिर १० मा र ४ जिल्लामा मंसिर २१ मा चुनाव हुनेछ । 

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार