प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

पूर्वको ‘कर्णाली’ मा पूर्वाधार विकास साझा मुद्दा

- गंगा बीसी/विद्या राई, भोजपुर
मतदाता भन्छन्– ‘विकासै विकासको खोलो पनि चाहिएन, पानी खान पाए पुग्छ, मर्ने बेला मुखमा एक थोपो पानी परोस्, किरियापुत्रीले एक आम्खोरा पानीले काजकिरिया सक्नुपर्ने बाध्यता हटोस्’

कार्तिक २९, २०७४-पूर्वको ‘कर्णाली’ भनेर चिनिने यो जिल्लामा विकासको मुद्दाले पहिलो प्राथमिकता पाएको छ । पहिलो चरणको निर्वाचनमा विकासका नारा लिएर कांग्रेस, माओवादीेका उम्मेदवारले मुख्य गरी सदरमुकाम जोड्ने सडक कालोपत्रे प्रतिबद्धता व्यक्त गरेका छन् ।

लेगुवा–भोजपुर ५४ किलोमिटर सडक कच्ची भएकाले वर्षभरि गाडी चल्न मुस्किल हुन्छ । त्यसकारण सडक कालोपत्रेको मुद्दा मुख्य गरी उठेको हो । यसमा मतदाता र उम्मेदवारको मुख्य चासो छ ।

प्रतिनिधिसभामा एक क्षेत्र भएको यो जिल्लामा लोकतान्त्रिक गठबन्धनले कांग्रेसका उमेशजंग रायमाझी र वाम गठबन्धनले माओवादीका सुदन राईलाई उठाएका छन् । दुई गठबन्धनका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने आकलन छ । रायमाझीलाई संघीय फोरम र दुई राप्रपाले समर्थन गरेका छन् । राईलाई एमालेले समर्थन गरेको छ । स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन ९ हजार ३० मतले अगाडि छ । 

विगतका सबै निर्वाचनमा वाम गठबन्धनले जित्दै आएको यो किल्ला तोड्न रायमाझीलाई र साख जोगाउन राईलाई चुनौती छ । उनीहरू दुवैले जितका लागि स्थायी सरकारसहितको पूर्वाधार विकासलाई मुख्य मुद्दा बनाएका छन् । रायमाझीले जलस्रोत, पर्यटन र कृषि विकास तथा प्रवद्र्धन गरी रोजगारी सिर्जनालगायत योजना अघि सारेको बताएका छन् । ‘विकास मेरो मुख्य मुद्दा हो, सडक र विद्युत् विस्तार तीव्र पार्नुपर्छ,’ उनले भने ।

राईले चाँडै पार्टी एकता गरेर निर्माणाधीन पूर्वाधार विकासका योजनालाई निरन्तरता दिने र अािर्थक समृद्ध जिल्ला निर्माण गर्ने योजना लिएर मतदाता फकाउँदै छन् । ‘सडक मुख्य समस्या हो, यसको विकास मेरो मुद्दा हो,’ उनले भने ।

स्थानीय बुद्धिजीवी पूर्ण राईले प्रदेश १ को पिछडिएको जिल्लाका रूपमा भएकाले भोजपुरमा निर्वाचनका बेला विकासको मुद्दा उठ्नु स्वाभाविक भएको बताए । ‘मुख्यत: सदरमुकाम जोड्ने सडक समस्या हो । मध्यपहाडी लोकमार्गको पनि बिजोग छ,’ उनले भने, ‘त्यसकारण विकासको मुद्दा बढी उठेको हो ।’ उनले स्वास्थ्य संस्थाको सुधार, शैक्षिक गुणतस्तरका मुद्दामा भने उम्मेदवारले कम ध्यान दिएको आरोप लगाए । 

अरुण गाउँपालिका ६, जरायोटारकी ७६ वर्षीया लीलामाया थापा खानेपानी ल्याइदिनेलाई भोट दिने पक्षमा छिन् । ‘भोट माग्ने बेला उम्मेदवारका बिन्ती जानेकै हो नि † आमा, दिदी, बहिनी, भाउजू भन्दै ज्यूज्यू गर्छन्, जितेर गएपछि मुन्टो फर्काएर हिँडछन्, यो पालाचाहिँ जसले खानेपानी ल्याइदिने विश्वास दिलाउँछ, उनैलाई भोट लाइन्छ,’ उनले भनिन् । 

‘विकासै विकासको खोलो पनि चाहिएन, पानी खान पाए पुग्छ,’ ८३ वर्षीय अर्का देवीबहादुर श्रेष्ठले भने । ‘मर्ने बेला मुखमा एक थोपो पानी परोस्, किरियापुत्रीले एक आम्खोरा पानीले काजकिरिया सक्नुपर्ने बाध्यता नहोस्,’ उनलाई पनि गाउँमा खानेपानी चाहिएको छ ।

शिक्षक बबिन्द्र भण्डारीले स्थानीय विकासका मुद्दाले निर्वाचनमा प्राथमिकता पाएको जनाए । ‘सबैलाई विकास चाहिएको छ,’ उनले भने ।

जिल्लाको पूर्वी भेगमा पर्ने यो गाउँ विद्युत् र सडक विस्तारमा अगाडि रहे पनि अन्य विकासमा निक्कै पछाडि छ । 

खानेपानी नहुँदा पिउन, खाना पकाउन, सरसफाइ गर्न उनीहरूलाई गाह्रो छ । चरम सुक्खा, खडेरी र खानेपानी अभावले उत्पादन नहुँदा ३ महिना पनि खान पुग्दैन । ‘खानेपानी भए जे गर्छु भन्दा पनि सकिन्थ्यो होला, पानी नभएकाले चामल, नुन/भुटुन, सागसब्जी सबै अन्तैबाट किनेर ल्याएर खानुपरेको छ,’ उनले सुनाइन् । भूकम्प गएयता यो समस्याले विकराल रूप लिएको हो । 

‘अब त नदीको पानी तानेर भए पनि खुवाउनुपर्‍यो,’ ७१ वर्षका भीमबहादुर माझीले गाउँमुन्तिरको अरुण नदी देखाउँदै भने । 

संघीय संरचनापछि भोजपुरमा २ नगरपालिका, ७ गाउँपालिका र ८१ वडा छन् । निर्वाचनमा कांग्रेसले ४, एमालेले ४ र माओवादीले एक स्थानीय तहको नेतृत्व जितेका थिए । ४ तह जिते पनि कांग्रेस नेतृत्वको गठबन्धनले ५ उपप्रमुखसहित २६ वडा हार्नुपरेको थियो । वाम गठबन्धनले ७ उपप्रमुखसहित ५५ वडा जितेको थियो । यसअघिका दुई निर्वाचन मतपरिणाम हेर्ने हो भने गठबन्धन गरे पनि कांग्रेस नेतृत्वलाई २०१५ सालको इतिहास फर्काउन हम्मे पर्ने देखिन्छ । सम्पन्न स्थानीय तह निर्वाचन मतपरिणम हेर्दा पनि वाम गठबन्धन नै अगाडि देखिन्छ । 

उसको २० हजार १० मत छ । प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनको १० हजार ९ सय ८० मत छ । दुईबीच ९ हजार ३० मतको मतान्तर छ । दुवै निर्वाचन परिणाम हेर्ने हो भने कांग्रेस नेतृत्वको गठबन्धनले मतान्तर घटाउँदै लगे पनि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन जित्न निकै कसरत गर्नुपर्ने देखिन्छ ।

भोजपुर जनजाति बाहुल्य निर्वाचन क्षेत्र हो । ०६८ सालको जनगणनाअनुसार ६५.२८ प्रतिशत जनसंख्या जनजातिको छ । आगामी निर्वाचनमा १ लाख १३ हजार ८ सय ९१ ले मतदाताले भाग लिँदैछन् । जसमध्ये ६० प्रतिशत बढी जनजाति छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ लाख १३ हजार ८ सय ९१ मतदाताले भाग लिँदै छन् ।

प्रदेशसभामा पनि कडा प्रतिस्पर्धा

प्रदेशसभा ‘क’ मा संघीय फोरमका अजम्बर राई ‘काङमाङ’ र ‘ख’ बाट कांग्रेसका गोविन्द कार्की उठेका छन् । वाम गठबन्धनले प्रदेश ‘क’ बाट राजेन्द्र राई र ‘ख’ बाट शेरधन राईलाई उम्मेदवार बनाएको छ । 

 प्रदेश ‘क’ मा उठेका फोरमका अजम्बर र एमालेका राजेन्द्र दुवै ०७० सालको चुनावअघिसम्म एमालेमा थिए । दुवै अनेरास्ववियुमा सँगै काम गरेका थिए । 

‘जिल्लाको समग्र विकासका लागि जित्नु आवश्यक छ,’ एमालेका राईले भने ।

एमालेले पहिचानको मुद्दा नस्विकारेको भन्दै अजम्बर बाहिरिएर संघीय फोरममा लागेका थिए । यस पटक दुई सहयात्री आमनेसामने छन् । ‘जिल्लालाई योजनाबद्ध ढंगले अघि बढाउन मेरो जित आवश्यक छ,’ अजम्बर भन्छन् । उनी ०७० मा संघीयबाट चुनाव लडेका थिए भने राजेन्द्र पहिलोपल्ट अनुभव लिँदै छन् । ०७० कै मत परिणाम हेर्दा भने परिणामका हिसाबले अजम्बर पछाडि छन् । 

वाम गठबन्धनतर्फ एमालेको ११ हजार ४ सय ५० र माओवादीको ३ हजार ५ सय ६७ गरी १५ हजार १७ मत छ । लोकतान्त्रिक गठबन्धनतर्फ कांग्रेसको ८ हजार ९ सय ७०, संघीयको ४ हजार ६६ र तत्कालीन राप्रपाको ७ सय ६२ गरी १३ हजार ७ सय ९८ छ । राजेन्द्र १ हजार २ सय १९ मतले अगाडि त छन् नै । अजम्बर पनि यस क्षेत्रको मतदाताका लागि प्रिय मानिन्छन् । यसले दुवैबीच तीव्र प्रतिस्पर्धा हुने देखाएको हो ।

प्रदेश (२) मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका गोविन्द कार्की र वामबाट शेरधन राईबीचको प्रतिस्पर्धामा छ । शेरधन ०५६, ०६४ र ०७० मा चुनाव जितेर उनी चौथो पटक मैदानमा छन् । उनी मुख्य मन्त्रीको दाबेदारका रूपमा अघि सरेका छन् । उनले ०६४ को चुनावबाहेक अन्यमा जितेका, २ पटक सांसद र पूर्वसञ्चार मन्त्रीसमेत हुन् । ०६४ मा उनले निर्वाचन हारे पनि वाम गठबन्धनकै माओवादीका सुदनले जितेका थिए । कांग्रेसका गोविन्द यसैपल्ट पहिलोचोटि चुनावमा उत्रँदै छन् ।

‘मुख्यमन्त्रीका लागि मेरो सम्भावना छ, जिल्लालाई समृद्ध गर्न सकिन्छ,’ शेरधनले भने । 

कांग्रेस उम्मेदवारले जलविद्युत्लगायत विकासमा आफ्नो जोड भएको दाबी गरे । प्रदेश (१) मा ५८ हजार ३ सय ८३ र प्रदेश (२) मा ५५ हजार ३ सय ६२ मतदाता छन् । 

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार