समाचार

खुडा प्रहार गरी बाबुछोरासहित तीनको हत्या

- प्रताप विष्ट, हेटौंडा

कार्तिक २८, २०७४-मकवानपुरको मनहरी—७ विजौनाका एक युवकले खुडा प्रहार गरेर छिमेकी तीन जनाको हत्या गरेका छन् ।

३२ वर्षीय सुमन बराइलीले हातमा खुडा लिएर ५५ वर्षीय सीताराम धिताल, १६ वर्षीय सुदन धिताल र ६५ वर्षीय जीतबहादुर ब्लोनलाई प्रहार गरेर मंगलबार अपरान्ह हत्या गरेका छन् । सीताराम र सुदन बाबुछोरा हुन् । गर्धनलगायत शरीरको विभिन्न भागमा खुडा प्रहार गरेर सख्त घाइते भएका थिए । सीताराम धितालको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो भने सुमन र जीतबहादुर भरतपुर अस्पताल पुर्‍याउने बितिक्कै मृत्यु भएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए । 

घरबाट खुडा लिएर निस्केका बराइलीले सबैभन्दा पहिला सीतारामको टाउकोमा खुडा प्रहार गरेका थिए । त्यसपछि उनीसँगै रहेका सुदनको गर्धन र टाउकोमा प्रहार गरेर भुइँमा लडाएका थिए । चिच्च्याएर दौडिइरहेका जीतबहादुरलाई पछिपछि टाउकोमा खुडा प्रहार गरेर बराइलीले भुइँमा ढालेका थिए । बराइलीलाई नियन्त्रण लिन गएको मनहरीको प्रहरी टोलीलाई पनि खुडा देखाएर तर्साउन खोजेका थिए । प्रहरी र स्थानीय गाउँलेले घेरा हालेर उनलाई नियन्त्रणमा लिएको थियो । 

दुई छोराको बाबुसमेत रहेका बराइलीले घरमा पनि बेलाबेलामा परिवारलाई खुडा देखाएर तर्साउने गरेको आमा सानी बराइलीले बताइन् । घटना देखेपछि बराइलीको पत्नी र दूई छोरा पनि बेहोस भएका छन् । उनीहरुको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ । 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार