समाचार

हिमपहिरोले एबीसीमा जोखिम

  • तलबाट हुने कटान र माथिबाट खस्ने पहिरोका कारण आधार शिविरमा रहेका ४ होटल जोखिममा
- दीपक परियार, अन्नपूर्ण (कास्की)

कार्तिक २८, २०७४-८० नाघेका जगन गुरुङ अन्नपूर्ण आधार शिविर (एबीसी) मा भकारीले बारेर होटल सुरु गर्दा भर्खरकै थिए । २०३५ मा पहिलो होटल स्नोल्यान्ड चलाएका उनलाई हिमालको फेदसम्मै घाँसेमैदान भएको सम्झना ताजै छ । ‘मैले होटल सुरु गर्दा ऊ त्यहाँसम्म भेडीगोठ बस्थे,’ हिमनदीले कटान गरेको विशाल भूभाग देखाउँदै उनले सम्झिए, ‘हेर्दाहेर्दै यहीँसम्म आइसक्यो ।’ 

४० वर्षको अवधिमा हिमनदीले कटान गरेको देख्ने उनी एक्लो होइनन् । अन्नपूर्ण सेन्चुरी होटलका सञ्चालक जेबी गुरुङ पनि हिमपहिरो र कटानको प्रत्यक्षदर्शी हुन् । बुबाले सुरु गरेको होटल उनले २० वर्षदेखि धानिरहेका छन् । हेर्दाहेर्दै हिमपहिरो र कटान धेरै वर आइसक्यो । ‘यसरी नै कटान बढदै गए छिट्टै यहाँ ‘एबीसी थियो रे,’ भन्नुपर्ने बेला आउँछ,’ उनले भने ।

आफूभन्दा पछिको पुस्ताले एबीसी देख्न नपाउने हुन् कि भन्ने चिन्ता उनलाई सधैं लागिरहन्छ । गहिरो हिमनदीको हिउँ पग्लेर भित्रभित्रै माटो खोतल्दा कटान भइरहेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा पर्ने एबीसी ४ हजार १ सय ३० मिटरको उचाइमा छ । यहाँबाट एकैसाथ अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, माछापुच्छ्रे, हिउँचुली, गन्धर्वचुली, गंगापूर्णलगायत हिमाल अवलोकन गर्न सकिन्छ ।

हिमनदीले बर्सेनि कटान गर्दा एबीसीको अस्तित्व संकटमा छ । अन्नपूर्ण हिमशृंखलाबाट उत्पन्न हिमनदीले गर्ने कटान रोकथाममा चासो नदिँदा एबीसी पुग्ने पदयात्रा मार्गकै भविष्य संकटमा परेको छ । तलबाट हुने कटान र माथिबाट खस्ने पहिरोका कारण आधार शिविरमा रहेका ४ होटल जोखिममा छन् । पदमार्गमा पर्ने माछापुच्छ्रे बेस क्याम्प (एमबीसी) सम्मै ग्लेसियरले कटान गरेको छ ।

उक्त कटान एबीसीसम्म करिब २५ र एमबीसीसम्म आइपुग्न १ सय मिटर मात्रै बाँकी छ । ग्लेसियरले गरेको कटानको हालसम्म कुनै अध्ययन भएको छैन । ठूलो पहिरोसहितको कटानले गर्दा पर्यटन व्यवसायी चिन्तित छन् । एबीसी संकटमा पर्दा पदमार्गमा रहेका सयौं होटल र सरकारले समेत पर्यटकबाट आउने आम्दानी गुमाउनुपर्ने अवस्था आउने उनीहरूको भनाइ छ ।

पदमार्गमा पर्ने वीरेठाँटी, घान्द्रुक, शिवै, न्यु ब्रिज, झिनु, छोम्रोङ, भनुवा, सिनुवा, बम्बू, दोभान, हिमालय, देउराली, एमबीसी र एबीसीसम्म सयौं होटल, रेस्टुरेन्ट एवं किराना पसल खुलेका छन् । यहाँका व्यवसायीको आम्दानीको मुख्य स्रोत नै पर्यटन व्यवसाय हो ।

०४३ देखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले आफ्नो मातहतमा ल्याए पनि ग्लेसियरबाट भइरहेको कटानको हालसम्म कुनै अध्ययन गरेको छैन । एक्याप घान्द्रुक कार्यालय प्रमुख विदुरविक्रम कुइँकेल ६ वर्षअघि र अहिले एबीसी पुग्दा हिमनदीको कटान ४/५ मिटर वर सरेको बताउँछन् । उनी अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले असोज २५ मा एबीसीमा गरेको पर्यटन महोत्सवका क्रममा पुगेर फर्किएका हुन् । उनले जलवायु परिवर्तनको असरले कटान भइरहेको बताए ।

तापक्रम वृद्धिले हिउँ पग्लिएर पानी बन्दा ठूलो भूभाग कटानमा परेको उनले सुनाए । ‘एबीसीको भविष्य के हुने भन्नेबारे बहस चलेको छ,’ उनले भने, ‘वातावरणविज्ञ र भूगर्भविद् नै ल्याएर अध्ययन गर्न जरुरी छ ।’

अन्नपूर्ण क्षेत्रअन्तर्गतको एबीसीको पदयात्रा मार्गका योजनाकार बेलायती नागरिक कर्णेल जिम्मी रोबटर््स हुन् । उनले सन् १९६६ मा एबीसी पदयात्रा मार्गको रेखांकन गरेका थिए । उनलाई सहयोग गर्ने पोखराका पर्यटनविद् झलक थापा पनि अन्नपूर्णको ग्लेसियरसम्बन्धी कुनै अध्ययन भएको बारेमा आफूले थाहा नपाएको बताउँछन् । एबीसी पदयात्रा मार्गको पहिलो पदयात्री भने एरिक सिप्टन हुन् । उनले सन् १९६६ मै एबीसीसम्म पदयात्रा गरेका थिए । 

अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर सरकारले नै हिमनदीले गरेको कटानको विस्तृत अध्ययन गर्नुपर्ने बताउँछन् । ‘यो गाउँपालिकाले मात्रै गर्न सक्ने विषय होइन,’ महोत्सवको अवसरमा एबीसी पुगेका उनले भने, ‘केन्द्र सरकारले नै अध्ययन गरेर रोकथाममा ध्यान दिनुपर्छ ।’ 

उनले प्रदेश नम्बर ४ कै पर्यटनको मेरुदण्डको रूपमा एबीसी रहेकाले प्रदेश सरकारको गठनपछि सम्बन्धित निकायलाई झक्झक्याउने बताए । महोत्सव उद्घाटनका अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले कटान रोकथामको मागसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिलाई १४ बुँदे ध्यानाकर्षणपत्र पनि बुझाएको छ ।

समितिका अध्यक्ष ललित गुरुङ र वडाध्यक्ष हिमबहादुर गुरुङले तत्कालीन संसदीय विकास समिति सभापति रवीन्द्र अधिकारी, सांसद शारदा पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेल, कार्यकारी निर्देशक सिद्धार्थ वज्राचार्य र गाउँपालिका प्रमुख युवराज कुँवरलाई उक्त पत्र बुझाएका हुन् । 

कटानले आधारशिविरको क्षेत्रफल घटदै गएकाले यसको संरक्षणका लागि तत्काल कदम चाल्नुपर्ने माग उनीहरूको छ । पर्यटन समिति अध्यक्ष ललितले भने, ‘ग्लेसियरबाट हुने क्षयीकरण रोक्न तत्काल उचित प्रबन्ध गरिनुपर्छ ।’ 

हिमाल आरोहणमा सबैभन्दा जेठो हिमालका रूपमा चर्चित अन्नपूर्णको आधार आसपास गरिने पदयात्रा विश्वका उत्कृष्ट १० पदयात्रामध्येमा पर्छ । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेपछि हिमाल आरोहणतर्फ आकर्षण बढेको थियो ।

फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ ८ हजार ९१ मिटर छ । यो सफलतासँगै सन् १९५३ मे २९ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथा सर्वप्रथम स्व. तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । विश्वकै सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भए पनि आरोहणका दृष्टिले निकै कठिन मानिन्छ । एबीसीसम्मको पदयात्रा एक सातामा पूरा गर्न सकिन्छ । यहाँ विदेशी र स्वदेशी पर्यटकको घुइँचो लाग्ने गर्छ ।

‘आयु २० देखि ३० वर्ष’ 

जिल्ला समन्वय समितिका इन्जिनियर नवराज शर्मा जलवायु परिवर्तनले नै आधारशिविरमा हिमपहिरो र क्षयीकरण निम्त्याएको दाबी गर्छन् । तापमान वृद्धिको असर नेपालका हिमालमा परेको उनी बताउँछन् । उनका अनुसार हिउँ र तापक्रमको रासायनिक प्रतिक्रियाले क्षयीकरण निम्त्याएको हो । 

‘एबीसीमा हेर्दा करिब ४० देखि ५० वर्षको अन्तरालमा डेढ सयदेखि २ सय मिटरको चौडाइ र ५० देखि ७० मिटरको गहिराइमा हिमनदीले कटान गरेको हुनुपर्छ,’ महोत्सवमा पुगेका उनले भने । उनको भनाइलाई आधार मान्ने हो भने हिमालको भित्रपट्टि कडा चट्टान नै भएर हिमालका टाकुराहरू अडिएका छन् । तर बाहिरपट्टि हरेक दिन दिउँसो तापक्रम बढेर १५ देखि २० डिग्री सेल्सियससम्म पुग्ने र राति माइनस ३० देखि १५ डिग्रीसम्म हुँदा २४ घण्टाभित्र तापक्रमको उतारचढाव ३५/४० डिग्री सेल्सियससम्म फरक पर्छ ।

 चिसो र तातो एकैपटक सँगसँगै ‘फेस’ गर्दा छिटो क्षयीकरण भएको उनी बताउँछन् । ‘पानीको विशेषता के हो भने ४ डिग्री सेल्सियसमा त्यसको सबैभन्दा बढी आयतन हुन्छ,’ उनले भने, ‘जब चिसो हुन्छ आयतन घट्छ र ४ डिग्रीभन्दा बढी सेल्सियस हुँदा पनि त्यसको आयतन घट्छ । आयतन बढ्ने र घट्ने ‘भोल्युमेट्रिक चेन्ज’ प्रत्येक घण्टा, प्रत्येक दिनमा भइरहँदा त्यहाँ वरिपरि भएका माटो, बालुवा, सिल्टजस्ता कणहरू फुट्छन् ।’ 

एबीसीमा १५/२० मिटरको गहिराइमा उक्त प्रक्रिया भएको उनको अनुमान छ । उनका अनुसार २० मिटरसम्मको गहिराइमा ग्लेसियर बाँडिएको छ । कतै माटो छ । फेरि अर्को सतह ग्लेसियरको छ । फेरि माटो छ । क्रमश: क्षयीकरण हुने र बढ्ने, घट्ने भएकाले पानीले हानेर ढुंगालाई फुटालेर बालुवा बनाउने प्रक्रियाजस्तै क्रमश: त्यहीँभित्र भएकाले एबीसी क्षेत्र एकदमै अस्थिर देखिन्छ ।

दक्षिणबाट उत्तरतर्फ धकेलिइरहेको इन्डियन टेक्टोनिक प्लेट र दक्षिणतर्फ बढिरहेको तिब्बतीयन प्लेटबीचको टकराव क्रमश: बढदै जाँदा पनि त्यहाँभित्र रहेका संरचनालाई कमजोर बनाउने काम गरेको विभिन्न अध्ययनले देखाएको उनले सुनाए । नेपालको सन्दर्भमा त्यसलाई मेन सेन्ट्रल थ्रस्ट (एमसीटी) भनिन्छ । टेक्टोनिक प्लेटले पनि एमसीटीलाई हानिरहेको, पृथ्वीको आन्तरिक बनावट र ग्लेसियरको कारण पनि यहाँ धरै क्षयीकरण भइरहेको छ । एबीसीको हकमा तापक्रम वृद्धिले ग्लेसियर भित्रभित्रै फुटदा क्षयीकरण भइरहेको छ ।

 यही क्रममा क्षयीकरण हुँदै जाने हो भने हाल आधारशिविर रहेको स्थान २० देखि ३० वर्षमा क्षयीकरण भएर सकिने सम्भावना रहेको उनको दाबी छ । ‘यसलाई जोगाउने उपाय भनेकै तापक्रम सन्तुलन हो,’ उनले भने, ‘त्यसका लागि विश्व परिवेशमै जानुपर्छ । स्थानीयस्तरमा हामीले गर्न सक्ने भनेको सतहमा देखिने क्षयीकरणलाई कम गर्न हिमाली क्षेत्रमा कुन वनस्पति उचित हुन्छ अनुसन्धान गरेर सतहको १/२ मिटरको भागलाई जरामार्फत जोगाउन सकिन्छ ।’ 

केही सामान्य सिभिल संरचना राखेर बायोइन्जिनियरिङमार्फत तुरुन्तै हुनसक्ने खराबीलाई रोक्न सकिने अर्को उपाय उनी सुझाउँछन् । 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार