समाचार

सत्तापक्ष नै आपराधिक गतिविधिमा संलग्न : टंक राई

- कान्तिपुर संवाददाता, खोटाङ

कार्तिक २८, २०७४-माओवादी केन्द्रका नेता टंक राईले वाम गठबन्धनदेखि तर्सिएर सत्ता पक्षले चुनाव भाँड्नका लागि आपराधिक गतिविधि सञ्चालन गरेको आरोप लगाएका छन् ।

दिक्तेलमा मङ्गलबार आयोजित वाम बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै राईले अहिले देशभर भइरहेको बम विस्फोट र गोली हान्नेसम्मको हर्कत सत्तापक्षले नै गरेको आरोप लगाएका हुन् । ‘विप्लव समूहको हवाला दिएर सत्तापक्षले नै आपराधिक गिरोह परिचालन गरेर बम विस्फोट र गोली हान्नेसम्मको हर्कत सुरु गरेको छ ।’ माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहेको राईले भने–‘वाम गठबन्धनदेखि तर्सिएर चुनाव नगराउने षड्यन्त्र हो यो ।’

सरकारले इमानदारपूर्वक चुनाव सम्पन्न गराउनु पर्ने र उम्मेदवारहरुको सुरक्षा गर्नु पर्ने राईले बताए । ‘सरकारले इमानदारपूर्वक चुनाव गराउनु पर्छ ।’ राईले भने–‘यदि चुनावदेखि डराएर उम्मेद्वारहरुको सुरक्षा दिन सक्दिन भन्छ भने हामी आफैं सुरक्षा व्यवस्था मिलाउँछौं ।’

 

लोकतन्त्रको हवाला दिने कांग्रेस नेतृत्वको सरकारले चुनावै नगराउने षड्यन्त्र गर्नु लोकतन्त्रमाथिको प्रहार भएको राईले जनाए । ‘जब जब कांग्रेसले सत्ता सञ्चालन गर्छ तब-तब लोकतन्त्र खतरामा पर्छ’ राईले भने–‘वाम गठबन्धनको जितले अधिनायकवाद फस्टाउँछ भन्ने कांग्रेस सत्तामा हुँदा पटक–पटक लोकतन्त्र सिध्याएको इतिहास हामीसामु छ’ राईले थपे–‘२०१५, २०५१ र २०५६ सालमा कांग्रेसले लोकतन्त्रलाई सिध्याएको छ ।’

राईले वाम एकताले बहुमतको सरकार निर्माण गर्ने र त्यसले मुलुकको समृद्धि दिने भएकाले आआफ्नो क्षेत्रमा वाम गठबन्धनलाई जिताउन आग्रह गरे । 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार