मनोरञ्जन

क्रिटिक्स अवार्ड ‘कालोपोथी’ लाई, रौनियार उत्कृष्ट निर्देशक

  • २०७२ को अवार्ड ‘पशुपतिप्रसाद’ लाई
- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २८, २०७४-चलचित्र समीक्षक समाजले २०७३ र २०७२ सालका क्रिटिक्स अवार्डका विजेता घोषणा गरेको छ । समाजले जारी गरेको विज्ञप्तिअनुसार २०७३ सालको उत्कृष्ट फिल्मको अवार्ड मीन भामको ‘कालोपोथी’ ले प्राप्त गरेको छ । 

‘सेतो सूर्य’का लागि दीपक रौनियारले निर्देशक, ‘कालोपोथी’का लागि मीन भाम र अविनाशविक्रम शाहले पटकथा, ‘सेतो सूर्य’का लागि डेभिड बार्करले सम्पादन, छायाँकनमा ‘कालोपोथी’का लागि अजिज जम्भाकिभले अवार्ड पाएका छन् । उत्कृष्ट अभिनेतामा  अवार्ड ‘जात्रा’का लागि विपिन कार्की र ‘पुरानो डुंगा’का माओत्से गुरुङ छनोट भएका छन् भने ‘लभ सासा’का लागि केकी अधिकारीले अभिनेत्रीको पुरस्कार पाएकी छन् । 

समाजले एकैसाथ अघिल्लो वर्ष २०७२ को अवार्ड पनि घोषणा गरेको छ । २०७२ मा ‘पशुपतिप्रसाद’ उत्कृष्ट फिल्म घोषित भएको छ । ‘पशुपतिप्रसाद’बाटै दीपेन्द्र के खनालले निर्देशन र खगेन्द्र लामिछानेले पटकथाको अवार्ड पाएका छन् ।

‘कबड्डी कबड्डी’का लागि शैलेन्द्र डी कार्कीले छायाँकारको अवार्ड पाएका छन् । सम्पादनमा ‘क्लासिक’का सुरेन्द्र पौडेल अब्बल घोषित भएका छन् । अभिनयतर्फ ‘फन्को’का लागि सौगात मल्ल र ‘कबड्डी कबड्डी’का लागि रिस्मा गुरुङले अवार्ड पाएका छन् । 

समाजले यसअघि घोषणा गरिसकेको २०७१ को समेत गरी तीनै वर्षका अवार्ड मंसिर ६ गते राजधानीमा वितरण गर्ने जनाएको छ । २०७१ मा ‘कबड्डी’ ले फिल्म, ‘टलकजंग भर्सेज टुल्के’का लागि निश्चल बस्नेतले निर्देशक, ‘कबड्डी’का लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले पटकथा, ‘तान्डव’का लागि बनिस शाह र मिलन श्रेष्ठले सम्पादन तथा ‘सुन्तली’का लागि ओन्ड्रा बेलिकाले पुरस्कार पाएका थिए । यस वर्षका लागि ‘कबड्डी’का दयाहाङ राई उत्कृष्ट अभिनेता तथा ‘सुन्तली’का लागि प्रियंका कार्की उत्कृष्ट अभिनेत्री घोषित भएका थिए । 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार