समाचार

रेटिना जाँचमा विपन्नलाई ठूलो राहत

  • विश्वकै उत्कृष्ट उपकरणबाट स्वदेशमा आँखा जाँच सुरु
- जितेन्द्र साह, विराटनगर
आज विश्व मधुमेह दिवस

कार्तिक २८, २०७४-विश्वकै उत्कृष्ट गुणस्तरको रेटिना (आँखाको पर्दा) जाँच यन्त्र ‘साइरस एचडी–ओसीटी’बाट न्यून शुल्कमा सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालमा उपचार सुरु भएको छ । अचानक दृष्टिविहिन भएमा, आँखाको अगाडी कालो दागजस्तो देखेमा, चिनी र उच्च रक्तचापका बिरामीको दृष्टिमा गडबडी देखिएमा यो आधुनिक उपकरणले जाँच गरेर तत्काल उपचार खोजिन्छ ।

अप्टिकल कोहरेन्स टोमोग्राफी (ओसीटी) नामको यो सबैभन्दा आधुनिक यन्त्रबाट पाँच मिनेटभित्र आँखा भित्रको हरेक कुनाको जटिल समस्या पता लगाउन सकिने उक्त अस्पतालकी रेटिना विज्ञ डा.इच्छा जोशीले बताइन् । ‘यो प्रविधिमा एकै पटकमा आँखाको रेटिनाको समग्र भागको स्क्यान गरेर स्पष्ट तस्बिर निकाल्न सकिन्छ,’उनले भनिन्,‘रेटिनाको छ तहमध्ये कुनमा पानी जमेर अवरोध उत्पन्न भएको छ भन्ने यो यन्त्रबाट मात्र थाहा हुन्छ, यो प्रविधिमा समस्याको सहजै विश्लेषण गर्न सकिन्छ ।’

अन्तर्राष्ट्रिय बजारमा १ करोड १० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त उपकरण जर्मनीस्थित एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले उक्त अस्पताललाई नि:शुल्क उपलब्ध गराएको हो । कुनै दल, नेता, मन्त्री वा सरकारले नभइ अस्पताल व्यवस्थापनले स्वयंले पहल गरेर उपकरण मगाएको हो ।   

स्वदेश र विदेशका गरी यहाँ दैनिक आउने औषत १ हजार ५ सय बिरामीमा झन्डै ३५ जनामा आँखाको जटिल समस्या देखिने गरिएको उक्त अस्पतालका दृष्टि जाँच प्राविधिक सुशीलकुमार शाहले बताए । ‘यस्तो कठिन रोगको बेलैमा जाँच एवं उपचार नभएमा आँखाको नसा सुकेर जीवनभरकालागि नेत्रहिन हुनसक्छन्,’उनले भने ।

शाहको अनुसार धमिलो वा तिरमिर देख्ने बिरामीले कम्तीमा एकदेखि तीन महिनाको अन्तरालमा यो जाँच गराएमा आँखाको ज्योति गुम्नबाट बच्न सक्छन् । ‘उच्च रक्तचाप र सुगर बढ्न गइ आँखामा समस्या भएर आएकालाई एक महिना/पन्ध्रह दिनभित्रमा पुन: जाँचकोलागि बोलाउँछौं,’शाहले भने । नियन्त्रणपछि पनि तीनदेखि ६ महिनामा नियमित परीक्षण गराउनु पर्ने उनले बताए ।

‘पुरानो प्रविधिमा रेटिनाको मात्र जाँच हुन्थ्यो, अहिलेकोमा जलबिन्दु, कोर्निया (आँखाको नानी), आँखाले देखेको कुरालाई तस्बिर बदल्ने न्यूरोसेन्सरी तन्तुको समेत तस्बिर खिच्न (फन्डस फोटो) मिल्छ,’प्राविधिक शाहले भने,‘आँखाको नसाभित्रको अवरोध एवं स्राव (लिकेज) पता लगाउन एन्जिओग्राफी समेत यसैबाट गरिन्छ ।’

विश्वको गरिब समुदायका अपांगको जीवनस्तर उकास्ने अभियानमा लागेको जर्मनीस्थित एक गैर सरकारी संस्था सीबीएम इन्टरनेशनलले उक्त अस्पताललाई उक्त आधुनिक मेशीन उपलब्ध गराएको हो । निजी अस्पताल, नर्सिंग होम र क्लिनिकमा नीकै महंगो पर्ने यो सेवा नि:शुल्क, अर्ध शुल्क एवं सहुलियत शुल्कमा नेपाल नेत्र ज्योति सँघद्वारा सञ्चालित उक्त गैर नाफामुलक अस्पतालमा भित्रिएपछि सिमित आय भएका वर्ग एवं विपन्न समुदायलाई ठूलो राहत भएको छ ।

थ्रीडी कम्प्युटर ग्राफिकसहितको एचडी (हाई–डिफिनिसन) स्तरको यो यन्त्र प्रयोग गर्ने आफूहरु मुलुककै पहिलो स्वास्थ्य संस्था समेत भएको उक्त अस्पतालका प्रबन्धक कुमार पृथुले बताए । योभन्दा कम गुणस्तरको यस्तै यन्त्रबाट निजी अस्पतालमा जाँच गराउँदा ३ हजार रुपैयाँभन्दा बढी पर्छ । यहाँ भने यो सेवा मात्र १ हजार ६ सय रुपैयाँ शुल्कमा सहज उपलब्ध छ । पृथुका अनुसार गरिब एवं असहाय रोगीको हकमा अर्ध शुल्क, सहुलियत शुल्क वा नि:शुल्क यो सेवा उपलब्ध गराइरहेका छौं । ‘बढीजसो नि:शुल्क नै हुन्छ,’उनले भने । 

उक्त अस्पतालमा एचडी/थ्री डी सुविधा नभएको अर्को यस्तै उपकरण हिडेलवर्ग रेटिनल टोमोग्राफ (एचआरटी) पनि छ । दृष्टि जाँच प्राविधिक शाहका अनुसार एचआरटी यन्त्रबाट धेरै पटक रेटिनाको परीक्षण गर्नुपथ्र्यो, अहिले आएको नयाँ उपकरणमा भने आँखा झिमिक्क नगर्दै एकै पटकमा सम्पूर्ण जाँच भइहाल्छ ।

‘बिरामी र चिकित्सक दुवैको समयको बचत भएको छ,’डा.जोशीले भनिन्,‘यही जाँचकोलागि राजधानी, छिमेकी भारत र अन्य मुलुक धाउनु परेन ।’ डा.जोशीका अनुसार पुरानोभन्दा नयाँ यन्त्र चलाउन पनि सहज छ ।

यसअघिको एचआरटी यन्त्रमा मुख्यत: जलबिन्दुको मात्र परीक्षण हुन्थ्यो । समयमै उपचार नहुँदा नेत्रहीन बनाउन सक्ने जलबिन्दु रोगमा दृष्टि सम्बन्धी स्नायु ( अप्टिक नर्भ ) मा विभिन्न कारणले क्षति पुगि उत्पादन हुने आँसुको प्रवाह अवरुद्ध हुन पुग्छ  ।

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार