प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

महानगरका मतदाता भन्छन् - ‘सडक र खानेपानी चाहियो’

- घनश्याम खड्का, काठमाडौं
‘अब जित्नुभयो भने बाटो पिच गरिदिनुहोला, कसैलाई चिप्लिएर लड्न नपरोस्’

कार्तिक २८, २०७४-दुर्गम भेगका जनताले भोट माग्न आउनेहरूसँग खानेपानी र सडकको आशा गर्छन् । महानगरका बासिन्दाचाहिँ के चाहन्छन् ? सुन्दा अनौठो लाग्ला, उनीहरूको माग पनि उस्तै छ— खानेपानी र सडक । पानी नआउने धारा, धूलो उड्ने सडक, नबग्ने ढल र धूवाँ फाल्ने गाडीहरूदेखि महानगरका बासिन्दा वाक्कदिक्क छन् । उनीहरू भोट माग्न आउनेलाई यी समस्या तेस्र्याउँछन् र विकास गराइपाऊँ भनी माग राख्छन् । 

त्यसैमध्येकी हुन् बालाजु बाइसधाराकी ३३ वर्षीया क्याफिना डंगोल । ‘सहर भनेर के गर्नु, सडकको हालत खत्तम छ,’ बालाजु बाइसधाराकी ३३ वर्षीया क्याफिना भन्छिन्, ‘घाम लाग्दा धूलो उडेर सासै फेर्न हुँदैन, पानी पर्दा हिलो भएर खुट्टै टेक्न मिल्दैन । यस्तो पनि राजधानी सहर रे †’ क्याफिना काठमाडौं क्षेत्र नं ७ का ५८ हजार ५ सय ५७ मतदातामध्येकी एक हुन् । वनस्थली चोकदेखि बालाजु बाइसधारासम्मको बाटो सरकारले विस्तार गर्न भनेर भत्काएको तीन वर्ष पूरा भयो । तर, पिच भने आजसम्म भएको छैन । त्यसै सडकको किनारमा फेन्सी पसल गरेर बस्ने क्याफिनालाई सडकको यस्तो लथालिङ्गे अवस्थाले निकै दु:ख दिएको रहेछ । 

‘पसलमा नबसौं भने व्यापार चौपट हुन्छ,’ उनी भन्छिन्, ‘बसौं भने धूलो उडेर सासै फेर्न मुस्किल, तीन–तीन वर्षदेखि यस्तो अस्तव्यस्त सडकछेउमा बास बस्दा मान्छेको हाल के हुन्छ होला, तपाईं आफैं विचार गर्नुस् त †’ बिहान उज्यालो हुनुअघि नै दुवैतिरको मोटरको ताँती लाग्न सुरु हुने यो सडकमा दिनहुँजसो हुने दुर्घटनाको साक्षीसमेत हुन् क्याफिना । उनले सडकको यो हाल सुनाउँदै गर्दा चुनाव प्रचारका लागि आइतबार त्यसै टोल आइपुगेका प्रतिनिधिसभाका उम्मेदवार रामवीर मानन्धरको गाडीमा एउटा बाइक चिप्लिँदै ठोक्किन आइपुग्यो । सडकमा पोखिएको पानीले हिलो हुँदा सन्तुलन गुम्न गई लडेको बाइकले उम्मेदवारको गाडीको रियरभ्यु मिरर भाँचिदियो । 

‘नेताकै गाडी परेछ,’ ती युवा धूलो टकटक्याउँदै उठे र चुनावी प्रचार सामग्रीले सजिएको गाडीलाई संकेत गर्दै उनले रामवीरलाई भने, ‘अब जित्नुभयो भने बाटो पिच गरिदिनुहोला, ताकि कसैलाई चिप्लिएर लड्न नपरोस् ।’ रामवीरले मुस्कुराएर प्रतिउत्तर फर्काउनुअघि नै ती युवा हुइँकिए । काडमाडौं वडा नं १६ मा पर्ने त्यस क्षेत्रका बासिन्दाको अनुभवमा यस्तो दुर्घटना उनीहरूका अघिल्तिर दिनहुँजस्तो हुन्छ । ‘सडक खराब हुँदा धूलो उड्ने मात्रै होइन, हिँडडुल गर्नेको ज्यानकै असुरक्षा छ,’ रानीबारी घर भई त्यसै क्षेत्रमा पसल गरेर बस्ने सञ्जु गुरुङ भन्छिन्, ‘काठमाडौंको मुटुमै यस्तो हालत छ, हिमाल पहाडतिर के हालत होला झन् ?’ भोट माग्न आउनेसँग बाइपासवासी अचेल सडक पिच गरिपाऊँ भनेर नमस्ते फर्काउँछन् । यसअघि पनि सांसद भइसकेका यस क्षेत्रका वाम गठबन्धनका उम्मेदवार रामवीर मानन्धरलाई त क्याफिनाले फोनै गरेर तु पिच गरिदिए भोट हालिदिने प्रस्ताव पनि गरेकी रहिछन् । ‘उनले हुन्छ, त भने तर सडक उस्तै छ,’ उनी भन्छिन्, ‘सडक पिच नगर्नेलाई त म भोटै हाल्दिनँ ।’ लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी पाएका रामवीरका प्रतिस्पर्धी राप्रपाका विक्रमबहादुर थापा पनि मतदाताको यो मागसँग जानिफकार छन् । ‘म आफैं पनि धूवाँ–धूलोको भुक्तभोगी हुँ,’ उनी भन्छन्, ‘तर हामी सांसदको काम सडक बनाउने र पानी दिलाउने होइन, नीति बनाउने हो । त्यसैले म उहाँहरूलाई यसका लागि स्थानीय तहलाई सक्रिय बनाउन मद्दत गर्ने वाचा गर्छु तर झुटो आश्वासन भने दिन सक्दिनँ,’ महानगरका मतदातालाई भने नीतिसँग भन्दा पनि पूर्वाधारका सामान्य सुविधा सफा हावा, राम्रो हालतको सडक र स्वच्छ पानी नै मुख्य आवश्यकता भएको छ । 

‘मलाई डाक्टरले बाहिर हिँडडुल नगर्नू, फोक्सोमा असर पर्छ भनेका छन्,’ असनका ६३ वर्षीय काजिमान श्रेष्ठ भन्छन्, ‘घरै बसे पनि फेर्ने सास त उही नै हो । पानी त बरु किनेर पिउँला, यो धूलो–धूवाँले चाहिँ गर्नु गर्‍यो हेर्नुस् ।’ रामवीर र विक्रम दुवैलाई उनले सफा सहरको माग गरेका छन् । ‘विद्यासुन्दरलाई पनि त्यही भनेर मेयर जितायौं, तर खै काम गरेका केही होइनन्,’ उनी भन्छन्, ‘यी उम्मेदवारले पनि गर्लान् भन्ने त आसै छैन, तैपनि भोट माग्न आएपछि विकास के गर्छाै भनेर त सोध्नैपर्‍यो ।’

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार