फिचर

मिर्गौला रोगी भन्छन्– ‘यसै मर्ने त होला !’

- दीपक परियार, लेखनाथ (कास्की)

कार्तिक २७, २०७४-देशलाई चुनाव लागेको छ । पोखरा लेखनाथको भण्डारढिकमा चिया पसल थापेका निलबहादुर थापाको मनमा भने कुनै हर्ष छैन । पृथ्वी राजमार्गको कोत्रे–पोखरा खण्डमा पार्टीका झण्डा फहराउँदै आहोरदोहोर गरेका गाडी हेर्ने ध्याउन्नमा उनी छैनन् । बरु ‘फेल’ भएका दुवै मिर्गौलाको उपचार खर्च कसरी जुटाउने भन्ने तर्कनाहरुले उनको मनमा ओहोरदोहोर गरिरहन्छन् ।

स्याङ्जा हरिनास गाउँपालिकामा स्थायी बसोबास भएपनि उनी आदर्शचोकमा बस्न थालेको २ वर्ष भयो । गाउँको पाखो बारी । केही हल खेत । बिना पेन्सनका बुबाआमा । घरको माइलो छोरो उनी १० वर्षअघि साउदी अरब हान्निए । साउदीमा २ वर्ष बसेर दुबई गए । त्यहाँको क्याटरिङ कम्पनीमा काम गर्दागर्दै ०६८ मा उनको दुवै मिर्गौलाले काम गर्न छोड्यो । एक महिना डायलसिस गरेर कम्पनीले उनलाई घर पठाइदियो । ३० वर्षको उमेरमै मृगौला बिग्रिएपछि उनले घरपरिवार सम्झे । श्रीमती र २ छोरीको भविष्य सम्झिए । मन त्यसै विरक्तियो । 

उनी नेपाल फर्किए । मनमा शान्ति थिएन । तैपनि रोगै पो छैन कि भनेर फेरि जँचाए । चिकित्सकले छिट्टै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिए । त्यतिबेला डायलसिस नि:शुल्क भइसकेको थिएन । विदेशमा अलिअलि कमाएको पैसा डायलसिस र अरु औषधीमुलोमै सकियो । पैसा सकिएपछि अलिअलि ऋणसापट गरे । आफन्तकोमा धाए । केही उपायँ लागिहाल्छ कि भनेर सकेको कोशिष गरे । केहीसीप नलागेपछि तत्कालीन किचनास गाविस कार्यालयबाट ‘कागज’ बनाए र सहयोग उठाउन हिँडे । गाउँ वरिपरिकाले पनि केही सहयोग त गरे । तर त्यसले पनि मृगौला प्रत्यारोपण गर्ने खर्चको जोहो भएन । उठेको सहयोग डायलसिसमै सकियो । 

२ वर्षअघि साढुदाईले आदर्शचोकमा चियापसल खोल्न सहयोग गरे । श्रीमती अनीतासँग उनी चियापसल चलाएर बसे । पोहोरदेखि सरकारले डायलसिस र मिर्गौला प्रत्यारोपण नि:शुल्क बनायो । अहिले उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नियमित डायलसिस गर्छन् । मृगौला प्रत्यारोपण नि:शुल्क भएपनि डाक्टरले अरु खर्च ५–७ लाख रुपैयाँ चाहिन्छ भनेका छन् । महिनामा ४ पटक रगत हाल्नुपर्छ । दिनदिनै औषधी खानुपर्छ । 

चियापसलको आम्दानी उनकै उपचारमा सकिएको छ । ‘२/४ कप चिया बेचेर के नै हुन्छ र !,’ उनी भन्छन्, ‘वरिपरिका पसलेले मेरो अवस्था देखेर माया गरेकाले अलिअलि बिक्री हुन्छ ।’ उनकी १४ वर्षकी छोरी स्याङ्जाकै घरमा बसेर १० कक्षामा पढ्दैछिन् । ११ वर्षीया कान्छी छोरी मामाघरमा बसेर ६ कक्षामा पढ्छिन् । उनका जेठो दाइ पोखरामा ट्रयाक्टर चलाउँछन् । कान्छो भाइ गाउँमै बेरोजगार छन् । 

उनले डायलसिस गर्दै बसेको ७ वर्ष भइसक्यो । डाक्टरले उनलाई जतिसक्दो छिटो मिर्गौला फेर्न भनिरहन्छन् । मिर्गौला फेर्न चाहिने ७ लाख रुपैयाँ जुटाउने उपाय उनीसँग छैन । ‘कति मिर्गौलारोगी अस्पतालको छतबाट हामफालेर मरे भनेको सुन्छु,’ निराश हुँदै उनले भने, ‘आफैंलाई अप्ठयारो भएर बस्नुभन्दा मर्नु ठिक भनेर त होला ।’ यसरी कहिलेसम्म चल्छ भन्ने उनले ठम्याउन सकेका छैनन् । उनी भन्छन्, 'गाउँको जग्गा बिक्दैन । न ठाउँमा आफ्नो मान्छे छन् । न कसैले सहयोग उठाउने अभियान चलाइदिएका छन् । बाँकी जीवन मैले के गरी कटाउने ?' 

‘यसै मर्ने त होला,’ छेउमा उभिएकी श्रीमतीलाई पुलुक्क हेर्दै उनले भने, ‘मर्नु बाहेक के विकल्प छ र ।’

उनलाई जसको सरकार आएपनि सबै प्रकारको स्वास्थ्योपचार नि:शुल्क भए जनताले राहत पाउँछन् जस्तो लाग्छ । भन्छन्, ‘धनीलाई नभएपनि गरिबको उपचार नि:शुल्क गर्दिए लाउँलाउँ खाउँखाउँ उमेरका छोराछोरीको बिचल्ली हुने थिएन । सहयोगी हातले जनता बैंकमा रहेको मेरो खाता नम्बर ०८६११००४७२६२४०१ मा रकम जम्मा गरेर सहयोग गरिदिनुहुन्छ कि !'

प्रकाशित: कार्तिक २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार