ब्लग

हीरा म्याडम हीरा नै रहिछिन्

  • नेपाली श्रमिकहरुको पक्षमा गरेको कामको प्रतिफल थियो, उनको भव्य बिदाई
- मेघराज सापकोटा, यूएई

कार्तिक २७, २०७४-कुरा गत शुक्रबारको हो । नेपाली दूतावास अबुधावीको सभा हल । दिनको साढे तीन बजेको हुँदो हो । दूतावास परिसर भित्र अरुबेला भन्दा भिन्नै किसिमको कार्यक्रमको आयोजना हुँदै थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ, झापाली समाज, नेपाली समाज, सोसल क्लब, अन्तराष्ट्रिय नेपाली कलाकार समाजलगायत ३० भन्दा बढी नेपाली संघसंस्थाका प्रतिनिधि थिए ।

त्यस दिन नेपाली दूतावास अबुधाबीका एक कर्मचारीलाई युएईबाट बिदाई गरिंदै थियो । कार्यक्रम संचालक भरत शिवाकोटीले आयोजकको नाम पढ्दै गए । ३० वटा भन्दा बढी संस्थाको नाम पढेपछि उनले भने अरु केही संस्थाको प्रतिनिधिहरु पनि आउँदै हुनुहुन्छ । 

दूतावासको भाषामा सधैं 'पीत पत्रकारिता' गर्ने युएईका नेपाली पत्रकारहरु अघिल्लो पंक्तिमा बसेका थिए । एक जना मित्रले खुसुक्क भनिहाले, ‘आज पीत पत्रकारहरु नै अगाडि ?’  मित्रले केही महिना अघि पत्रकारले दूतावासको गलत क्रियाकलापको भण्डाफोर गरेको बिषयमा पत्रकारले पीत पत्रकारिता गरेको भन्दै दूतावासले निकालेको बिज्ञप्तीप्रति ब्यङ्ग्य गरेका थिए । मैले भने, ‘हाम्रो लागि दूतावास कुनै रङको हुन्न, भलै दूतावासको आँखामा हामी पहेलपुरी (पीत) नै किन नहौ ! दूतावासले हामीलाई कुन रङको देख्छ उसैको कुरा हो ।’

यति बिघ्न संस्थाहरु ताछाड मछाड गरेर खादा र प्रशंसा पत्र कसैलाई ओढाउँदै थिए भने तिनी थिईन् श्रम सहचारी हीरा कुमारी यादव । बिदाईका शुभकामना सहित कसैलाई बिदाइ गर्ने यि संस्थाहरु आफ्नो प्रशंसा पत्रमा के कस्ता शब्दहरु लेखिएका छन् भनेर होडबाजी गर्दै पढेर सुनाउँथे । पत्रकार निमेष गिरीलाई सोधें, यसअघि यस्तो कार्यक्रमको आयोजना हुन्थेन ? उनले भने, हुन्थ्यो । तर आफ्नै जिल्लाका संघसंस्थाहरुका दश बीस जना र अन्य आसेपासेहरु आउँथे र बिदाइ गरेर जान्थे । युएईको नेपाली दूतावासको इतिहासमा पहिलो पल्ट होला यसरी ३३ वटा भन्दा बढी संस्थाहरुले बिदाइको कार्यक्रम आयोजना गरेको, उनले भने । किन त ? यादवलाई बिदाइका हात हल्लाउन, उनको उत्तरोत्तर प्रगतिको कामना गर्न युएई भरी छरिएका संघसंस्थाहरु किन आए त ? मेरो मनमा प्रश्न उब्जियो ।

पत्रकार उमाकान्त पाण्डेसंग भिजिट भिसाको नाममा मानव तस्करी गर्ने साजन भनिने प्रेम पाण्डेलाई कारबाही गर्ने बारेमा उनले खेलेको भूमिकाको बिषयमा मेरो कुरा भएको थियो । उनीभन्दा सिनियरहरु हुँदाहुँदै पनि यादवले दूतावासमा बसेर पाण्डेलाई के भनेर थर्काइन् र १९ जना पीडित नेपालीलाई सकुशल नेपाल फर्काउन सफल भईन् भन्ने बारेमा उनको भूमिकाको प्रशंसा गर्दै पत्रकार पाण्डेले मलाई भनेका थिए, ‘हीरा म्याडम नभएको भए शायद यो केस यति सजिलै सल्टिने थिएन ।’ मैले भने,  ‘हीरा हुनु र नहुनुले के फरक पार्छ र ? तस्कर हो भन्ने प्रमाण पुगेपछि संस्थाले कारबाही गरिहाल्छ नि ।’ दूतावास त एउटा संस्था हो । पत्रकार पाण्डेले भने, ‘सिस्टमले चलेको देशमा चाहिं हो । तर, हाम्रो जस्तो देशमा हैन रहेछ । ब्यक्तिको भूमिकाले पनि नेपालमा फरक पार्छ । यो केसमा पनि हीरा म्याडमको भूमिकाको जतl प्रशंसा गर्नुस् कम हुन्छ ।’        

पत्रकार लक्ष्मण खनालले एक दिन फोन गरे र अजमान आउन भने । म अजमानबाट झण्डै ७० किलोमिटर टाढा भएकोले जान सकिन । नेपाली दूतावासबाट हीरा म्याडमको टोली नेपालबाट भिजिट भिसामा अजमान ल्याएर अलपत्र पारिएका नेपाली चेलीहरुको क्याम्पको निरीक्षणमा थियो । जहाँबाट नेपाली चेलीलाई खाडीका धेरै मुलुकहरुमा सप्लाई गरिन्छ । सिधा अर्थमा उक्त जक्सनबाट नेपाली चेलीहरु बेचिन्छन् । सोही ठाउँको निरीक्षण पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले पनि गरेका थिए । नेपालका धेरै उच्च पदस्थ कर्मचारी र प्रहरी प्रशासनका प्रमुखले पनि उक्त क्षेत्र देखेका छन् । तरपनि नेपालबाट नेपाली चेलीहरु ल्याउने र बेच्ने काम जारी नै छ ।

यादवको नेतृत्वमा गएको दूतावासको टोलीले १५ वटा भन्दा बढी पासपोर्ट जफत गर्‍यो, केहीलाई उद्धार गर्‍यो । उनीहरुलाई ल्याउने एजेन्टलाई दूतावास आउन भन्यो । खनाल सम्झिन्छन, ‘हीरा म्याडम नभएको भए त्यो काम पनि सजिलो थिएन ।' किन त ? हीराको के कुरा भयो र ? दूतावासले गर्ने हो नि काम त । खनालले भने, 'एजेन्ट सितिमितl हल्लिने, डराउने र भाग्ने हुँदा रहेनछन् । जब्बर हुँदा रहेछन् । ती एजेन्ट भन्दा पनि जब्बर चाहिं हीरा म्याडम रहिछन् ।' 

‘भिजिट भिसामा ल्याएर १९ जना नेपालीहरुलाई अलपत्र पार्ने एजेन्टलाई कारबाही गर्न सफारिस दिनुपर्यो म्याडम । कम्तीमा नेपाल गएर पनि ती पीडितहरुले न्यायको ढोका ढक्ढक्याउने आधार बनोस्’ मैले यादवलाई अनुरोध गरेको थिएँ । धेरैदिन पछि पीडितहरु नेपाल पुगिसके पछि यादवले पीडितलाई उक्त पत्र उपलब्ध गराईन् । हामीलाई प्राप्त स्रोतहरुले हामीलाई भनिरहेका थिए, कि त्यो पत्र लेख्न पनि यादवलाई दूतावास भित्रै पापड पेल्नु परेको थियो ।

कान्तिपुरमा एउटा समाचार छापियो । शारजाहको एउटा सेक्युरिटी कम्पनीमा केही नेपाली कामदारहरु अलपत्र परेका छन् भनेर । केही दिन अघि नै दूतावासले यो खबर पाएको थियो । उद्धार र सहयोगको लागि अनुरोध पुगेको थियो । पीडितहरुले कान्तिपुरमा भिडियो नै पठाएर उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गर्दा पनि दूतावास खासै तातेको थिएन । एनआरएनको सहयोगमा परराष्ट्रले उक्त केसको बारेमा दूतावासमा सोधिखोजी गर्न थालेको थियो । अर्को दिन परराष्ट्रको पत्र आउनुअघि नै दूतावासको टोली बिहानै सोही क्याम्पमा टुप्लुक्क हाजिर भयो । त्यो टोलीमा पनि हीरा यादव नै थिईन् । यादवले पीडित कामदार, एजेन्ट र कम्पनीको मालिकसँग कुरा गरिन् । समयले नपुगेर त्यो दिन दुबईमै बास बसिन् र भोलिपल्ट सहमति गराएर अबुधाबी फर्किन् । शतप्रतिशत न्याय नपाए पनि कामदारले काम गरेको दिनसम्मको तलब भने पाए । 

उनलाई मैले सोधेको थिएँ, ‘यति काम गर्नलाई तपाईंहरु किन ढिला गर्नु हुन्छ ? श्रमिकहरुको सहयोग गर्न किन माथिकै आदेश र निर्देशन कुर्नु पर्ने ?’ उनले धेरै त खोलिनन् तर यति भनिन् कि, ‘मेघराज जी मैले पनि दूतावासमा अनुमति लिनु पर्छ । उक्त दिनदेखि मलाई के लाग्न थालेको छ भने यो देशमा हरेक ठाउँमा युवा पक्तिको खाँचो छ । उनीहरुमा जोश जाँगर छ । ईच्छाशक्ति छ । तर, कुरा ‘तर’ ले नै बिगारेको छ । हाकिमहरु डेड एक्स्पायर भएको औषधी जस्ता छन्, जति खाए पनि कामै नगर्ने । त्यही औषधीलाई सिरानी हालेर सुत्नु पर्ने नयाँ पिंढीहरु !

हाउस मेडको समस्या चाही के हो ? मैले सोधें । नेपाल र युएई बीच दुई पक्षीय श्रम सम्झौताको बिषयमा कुरा भई रहेको छ । तर, बर्षौंदेखि नै कोही युएईमा काम गरिरहेका छन्,  उनीहरु खुशी र सुरक्षित छन् भने श्रम स्वीकृति दिन के को आपत्ति र ? उनले भनिन्, ‘बरु तपाईं कलम चलाउनेहरुले अझै झक्झक्याउनु पर्‍यो ।’  

खादा र प्रशंसा पत्रले सम्मान गरे पछि कार्यक्रमको अन्त्यमा नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याललाई एउटा प्रश्न तेर्स्याएँ, ‘नेपाल सरकारको एउटा कर्मचारीले उसको आफ्नो कर्तब्य पुरा गरेको हो । के ठुलो काम गरिन् र सम्मान गर्नुपर्‍यो ? नेपालको भ्रष्ट कर्मचारीतन्त्रमा उनी चाही दुधले नुहाएकी हुन् भन्ने ग्यारेन्टी के छ ?’ बस्यालले भने, ‘पछिल्ला दिनहरुमा उहाँका कामहरु साँच्ची नै राम्रा थिए । राम्रो कामको प्रशंसा गरेका हौं । हामी अनुमानको भरमा कोही खराब छ भन्दैनौं ।’    

यिनै कारणहरुले नै हो यी ३३ वटा संस्थाहरुले यादवलाई खादा ओढाएका । कामको प्रशंसा गरे र नबिर्सने गरी यादवलाई बिदाई गरे । उनको स्थानमा युएई आउने अर्को कर्मचारी पनि अर्को हीरा नै चाहिएको छ । आखिर हीरा म्याडम हीरा नै रहिछिन् ।

प्रकाशित: कार्तिक २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार