ब्लग

सम्झनामा त्यो खैरेनीको जाम

- नरेन्द्रराज पौडेल, काठमाडौं

कार्तिक २७, २०७४-

०५२ साल फागुन लाग्दा नलाग्दै दमौलीमा ह्वात्तै गर्मी बढ्यो । एक दिन विहानै डिएसपी सनन्दन प्रसाद कुर्मी र म सीडियो वस्तुस्थिति बुझ्दै स्थलगत गस्ती गर्ने क्रममा जिल्लाको पल्लो छेउ कोत्रेसम्म पुगेका थियौं । गाडीमै समाचार सुन्दै गर्दा थाहा भयो – लमजुङ पाउँदी ढीकनिर बाटोमाझ ट्रक पल्टिएर अवरोध हुँदा बेंशीसहरतर्फको यातायात बन्द भएको तीन दिन भइसकेछ । पोखरा सुनौली राजमार्गको स्याङ्जा खण्डमा सवारी दुर्घटनापछि क्षतिपूर्ति र उपचारको विषयमा कुरा नमिलेर राजमार्ग बन्द भएको पनि नौ दिन भैसकेछ । समाचार सुन्दै डीएसपी साप हाँस्दै अनि पड्कँदै थिए ।

“९/९ दिन राजमार्ग बन्द हुँदापनि खुलाउन नसक्ने ? के हेरेर बसेका छन् त्यहाँका हाकिमहरु । धिक्कार होस् त्यस्ताले के जागिर खानु ? म भए कि खुलाउथें कि जागिरै छाडेर हिड्थें । गृह प्रशासन पनि के सारो पानी मरुवा हो, त्यस्ता हाकिमलाई पुजा गरेर राखिछोड्ने” यस्तै गफमा म पनि उनलाई साथ दिंदैथिएँ । दुईटै छिमेकी जिल्लाका प्रहरी प्रशासकलाई लाछी पामरजस्ता उपाधिले मज्जैले सिंगारेर बोल्दै थिए डीएसपी । म पनि उनलाई हौस्याउनमा कम थिइन । अरुलाई उडाउनु पनि मनको स्वादिलो खाजा न हो बाटो हिंड्दा ?

बेलचौतारा चौकीमा पसेर कुर्मी साबले जवान अफिसरहरुलाई तालिम गराए । अनि तिनै बन्द राजमार्गका उदाहरण दिंदै खटनपटन, गस्ती पेट्रोलिङ जस्ता विषयमा दिन रात सजग रहन र सुरक्षा संयन्त्र चुस्तदुरुस्त राख्न अराए । खैरेनीटार र थर्पु चौकीमा पनि राम्रैसंग नर्देशन दिंदै थिए ।सदरमुकाम फर्किएपछि संगै खाना खाइवरी म अफिस पसें । उनी दुई दिन क्यावि बस्नु छ भनेर त्यसै दिन घरतिर लागे ।

बेलुकी निवासको कौसीमा निस्किएर ढकमक्क फक्रिएको जुनमा टलक्क प्रतिविम्वित भएको अन्नपूर्ण हिमालको दृश्यावलीमा रमाउँदै थिएँ । निवासमुनी सुरिलो भाकामा एक नासले सुसेल्दै सुइय्य सुइय्य भुमरीमा नाचेको सेती मादीको निलो दोभानले मधुर सङ्गीत छरेर मन तरङ्गित पारिरहेको थियो । दिमाग आह्लादित बनाइरहेको थियो । पाञ्चायन मन्दिर परिसरमा र आफ्नै कम्पउण्डभित्र फुलेका जाहीजुही र इन्द्रकमलका थरीथरी सुवासले कौशीको वातावरण मनमोहक थियो ।

जिल्लाको बीचैबाट चट्ट चिरेर पूर्व–पश्चिम दौडिएको पृथ्वीराजमार्ग त्यतिबेर पुनर्निर्माणका क्रममा थियो । छेउभित्ता भत्किएको, पिच उप्किएर भताभुङ्ग भएको र जथाभावी खाल्डा खुल्डी परेको त्यो बाटोमा कतै ठूलो दुर्घटना भएर चक्काजाम बेहोर्नु परेको थिएन । कतै लाश परेको, गाडी बल्ड्याङ खाएको र यात्रु लुटिएजस्ता नराम्रा घट्ना देख्नु सुन्नु परेको थिएन । बडाहाकिम भएर जगिर खाँदाका सन्तोषका छाल सुनामी झैं मनभरी बेलगाम नाचिरहेका थिए । विगत र वर्तमानको त्यही दोसाधमा एक्लै रमाइरहेका बेला कोठामा कडा आवाजले जापानी फोनसेट बज्यो । हत्तपत्त तल झरेर रिसिभर उठाएको थिएँ, “खैरेनीटारमा चक्काजाम भएछ सर ! 

घटनास्थल पुगेर जाम खुलाउने प्रयास गर्दैछु ।” इन्स्पेक्टर रणबहादुर केसी बोल्दै रहेछन् । त्यस दिन जिल्लाको निमित्त प्रहरी प्रमुख उनै थिए ।

''कतिबेरदेखि हो जाम भएको, के कारणले भएको ? खै मलाई त थाहै नदिई जानु भएछ त” अलि रिसाएको स्वर थियो मेरो । ''जाहेर गर्छु भन्दाभन्दै नभ्याएर हतारमा हिंडीहालें सर” उनले भने । मैले सुनें । डिएसपी नहुँदाको खालीपनले मलाई नराम्ररी झस्कायो । विहानभरी गिल्ला गरेर लमजुङ्गे, स्याङ्जााली हाकिमका कुरा काटेका एकएक लवजहरु मनमा आइरहे । 

''विहानभरी त्यही चक्काजामकै विषयमा अरुको नाटीकुटी र खेदो गरेर बताएका थियौं । अहिले डीएसपी न भएको बेला एक्लै परेउ फेला !” म आफैलाई मनमनै उडाउँदै पनि थिएँ । तर भित्रि मन असहाय झैं थियो ।

एकै छिनपछि उनै इन्स्पेक्टरले चक्काजामको कारण र घटनाको विवरण दिए, “खैरेनीटारको मुल चोकमा पोखराबाट आएको रात्री बस रोकिएको रहेछ । दुलेगौंडाबाट चढेका दुई जना केटा खैरेनीटार उत्रिने रहेछन् । 

भाडा तिर्ने समयमा एक–दुई रूपैयाँ तल–माथिको विवादले त्यति बेलै कन्डक्टरमाथि आक्रमण भएछ । के कस्तो हतियार प्रयोग भएको थियो कुन्नी ! माझ सडकमै लम्पसार परेको लाश सग्लै भएपनि टाउको पट्ट फुटेर गिदी थुप्रो लागेको छ ! अगाडी हेरेर गाडी चलाउँदै गरेकाले घटनाबारे केही देखिन भन्यो ड्राइभरले । बसका अरु यात्रुजति लाखापाखा लागिसकेछन् । जो भेटिए ति पनि आफू त्यो बसको यात्रु थिएँ भन्दैनन् । वरपरका होटल, पसल, यात्रु, व्यापारी सबैसँग बुझ्ने काम हुँदैछ । सवै बासिन्दा कुरा चपाएर मात्र गर्छन् । अहिलेसम्म आक्रमणकारी पत्ता लाग्न सकेको छैन” बोल्ने उनै इन्स्पेक्टर थिए ।

“लौ हेर ! एक छिन अघिमत्रै कौशीमा बसेर मिठामिठा तराना खेलााउँदै थिएँ मनमा । अहिल्यै आफ्नै जिल्लाभित्र के के पो भैसकेछ ! दै वसंयोग या आकस्मिकता भनेको सायद यही होला !” दिमाग उसै तरङ्गित भयो ।

डिएसपी हिंडेकै दिन यत्रो घटना किन हुनु परेको ? मनमनै भाडास पोख्तै पनि थएँ म ! “लाश उठाएर हस्पिटल पठाउनु र ककसले आक्रमण गरेको हो, दोषीको तुरून्त खोजतलाश गर्नु । म पनि चाँडै आउँछु”  भने ।

‘ हजुर आउनु पर्दैन सर । म सबै काम राफसाफ गर्छु । बसमालिक, बजारका बासिन्दा र चालकसँग बार्ता हुँदैछ’  इन्स्पेक्टर विश्वासको स्वरमा भनिरहेका थिए । तुरुन्तै लाश उठाएर बाटो खुलाउनेमा आश्वासन दिलाइरहेका थिए । आखिर सवारी दुर्घटनाको व्यवस्थापन गर्ने काम त प्रहरीकै न थियो ! त्यसैले मैले पनि उनैको भर गरेर त्यतातर्फ जान ढिलाई गरिरहेको थिएँ । डिएसपी कुर्मी अत्यन्त चुस्तदुरूस्त अफिसर भएपनि इन्स्पेक्टरको व्यक्तिगत स्वभाव र क्षमताबारे अनभिज्ञ थिएँ म । त्यसैले अन्योलमै ओल्कोल्टे गर्दै थिएँ । समय बित्दै १०, ११ अनि १२ बज्यो । उनी जाम खुल्दैछ, अव खुली नै हाल्यो, बार्ता टुङ्गोमा पुग्नै लाग्यो आदि इत्यादि खवर दिंदै थिए । 

रातको १ बजेसम्म पनि चक्काजाम नखुलेपछि केश जटिल बन्ने अनुमान गरें मैले । दारुवाल उत्ताउला बस यात्रु, गाडीचालक, खलाासी र हुल्याहा लोकल ठिटाहरुले दङ्गाफसाद मच्चाउने संभवना टड्कारो देखियो । थुप्रै यात्रु अलपत्र पर्ने र गुण्डा अपराधी तत्व जम्मा भएर सरसामान लुट्ने गाडीमा आगजनी गर्ने डर पनि उत्तिकै बढ्यो । हडबडीमै चालक शुकदेव भाईलाई बोलाएर आफु चढ्ने निसान कम्पनीको पिकअपभरी गार्डहरु लिएर त्यतै लागें । पूर्व खण्डतिर काठमाडौं र तराईबाट आएका हजारौं गाडीको लाइन रहेछन् । घटनास्थलदेखि तीन किलोमिटर ओरै थर्पुमा गाडी छोडेर पैदल गएँ । बाटैभरी अव्यवस्थित तेर्सिएका हजारौ गाडीको लाइन काटेर पैदल जानुपर्दा हदै झञ्झट आइलग्यो । तीन घण्टा हिंडेपछि उज्यालो हुनैलाग्दा बल्लतल्ल खैरेनीटार पुगियो ।

घटनास्थल पुग्दा यात्रु, बस ड्राइभर र मजदूरको बीसौं हजारको संख्याले खैरेनीटारको चोक चौतारा टनाटन भरिएका रहेछन् । हाइस्कूलको परिस त झन् यात्रुको शरणार्थी शिविर जस्तै बनेछ । बालबच्चा र बुढाबुढी लिएका यात्रुहरु टनाटन रहेछन् । बीच बजारकै सडक माझ लम्पसार परेको लाश हेर्दा घन या कुनै धारिलो हतियारले खप्पर फुटएर फक्लक्क दुई फ्याक लगाए झैं देखिन्थ्यो । टाउको छेउमै त्यत्रो परिमाणको गिदीको थुप्रो लागेकोमा आश्चर्यमा परें । नजिकैका दोकान, होटल र भट्टीतिर पसेर घटनाबारे बुझियो । वारदातको छेउपुच्छर कसैले जानकारी दिएन । गाडी अघि बढाउनै लागेका बेला पछाडि भएको घटना भएकोले आफुले नदेखेको बयान दिए त्यो बसका ड्राइभरले । हुल्याहा केटाहरुले खलासीलाई बसबाट तल खासालेकै बेला बस अघि  बढाउँदा  चक्कामुनि  टाउको  परेको  भन्दै थिए कोही चाहिं । सबै अन्दाजकै भरमा हल्ला गरिरहेका थिए । 

घटनाको समय छिप्पिंदै जाँदा विवाद लम्बिंदै गइरहेको थियो । बेलुकैदेखि जाममा परेर वाक्कदिक्क भएका भोका यात्रु र आतङ्कित बजारवासी मलाई देख्दै लुँडो लागेर ‘तुरून्त चक्काजाम खोलिदेऊ’ भन्न थाले ।

धेरैजसो यातायात मजदूर र ड्राइभरसमेत रातभर मादक पदार्थ सेवन गरेर भिल्लु बनिसकेका रहेछन् । कतिपय यात्रुको हालत पनि उस्तै थियो । कोहीभने ससाना समूहमा बाँडिएर ‘मजदूरको रगतमाथि होली खेल्न पाइन्न’ ‘हत्यारालाई फाासी देऊ’ भन्दै चर्का नारा उरालेर वतावरण तताउन थाले । सम्झाउँदा कुरा सुन्ने र सम्झिने अवस्थामा कोही देखिएनन् ।

बीचबजारको पसलमा पीसीओ पनि राखेका रहेछन् । जाममा फसेका यात्रुहरु रातिदेखि नै घरपरिवरलाई फोन गर्न धुइरो लागेका । त्यसदिन देवघाट जाने कार्यक्रम तय भएकाले आउन सक्दिन भनेर मैले पनि त्यही पिसिओबाट सभामुख रामचन्द्र पौडेललाई फोन गरें । मलाई फोनको लाइनमा देख्ने बित्तिकै ‘लाश दबाउनु, हत्यारालाई बचाउनु भनेर सीडीओलाई मन्त्रीको फोन आयो’ भन्ने हल्ला चलाउन थाले । हल्ला शुरु गर्ने बाग्लुङ जाने बसबाट ओर्लिएका बूढा मान्छे थिए । उनले किन त्यो छुल्याइ गरे, थाहा हुन सकेन । हल्ला एक कान दुई कान हुँदै मैदानसम्म छताछुल्ल भयो । अनि त भीडको आक्रोशलाई केले थेग्ने ? पोखरातिरबाट आएका उत्ताउला मजदूरहरुले बाजेको पसल र टेलिफोन बुथमा तोडफोड गरेछन् । मोटरसाइकलमा आगो लगाइदिएछन् । हुँदाहुँदै बजारको ओल्लोपलो छेउकुनातिर यातायात चालु गर्ने र बन्द गर्नेवीच सानातिना झडप र दङ्गा–फसादका घटना पनि हुन थाले ।

टाढाटाढाका गाउँदेखि किशोरकिशोरी तथा उमेरदार महिलाहरु बच्चाबच्ची च्यापेर रमिता हेर्न त्यसै भीडमा थपिए । लौरा टेकेका बूढाबूढी र बालबच्चासमेत तमाशे बनेर भीडमा हेलिए । तन्नेरीतरूनीसमेत सिंगारपटार गरेर आइपुगे । सेती किनार आसपासका बोटे दरै चेलीबेटीहरु त चक्काजामलाई जात्रा सम्झिएर हान र तीनपानेका सुराही पुंग घैंटा ग्यालेन र उसिनेका अण्डा, माछाका सिद्राले भरिएका थुन्से बेकेर भीडको छेउभित्ता र कुनाहुँदो लिनदिनको मेसो मिलाउन थलेछन् । हुँदाहुँदै खैरेनीटारको ओल्लो कुनादेखि पल्लो छेउसम्म दुई लाखभन्दा बढी नै मान्छे भरिए । बन्द हड्तालको प्रत्यक्ष अनुभव नगरेका गाउँलेहरुलाई निकै रमिता भएछ त्यो चक्काजामको तमासे खेल । अव लाठीचार्ज हवाइ फायर आदि कारबाहीले जाम खुलाउन झन्झन अप्ठ्यारो पर्दै गयो ।

हाइस्कूलमा रहेको हाम्रो कमाण्डपोष्ट त माउरीको चाको जस्तै भरिभरउ भयो । महासंकटमा परियो । प्रहरी प्रयोग गरेर बल प्रयो गरेर बाटो खुलाउन असम्भव थियो । लाठीचार्ज र हवाई फायर घातक हुन सक्थ्यो । 

दिनभरीजसो त्यत्तिकै बिलखबन्दमा परियो । लाठी गोलीको बलमा सरकारी दमन हुने आशङ्काले स्थानीय नेताभने बिहानैदेखि दुला पसिसकेका थिए । उता समस्या सल्टाउन पोखराबाट पर्याप्त अफिसर र जवानसहित आएका एसएसपी साहेब ढुङ्गो लागेर रगताम्मे पुर्पुरो छाम्दै बेलचौताराको चौकीतिर नाम्सिए । कसले ढुङ्गा प्रहार गरेको भन्ने पत्तै लगाउन सकेन प्रहरीले । बेला बेला उत्तेजित हुँदै चर्का नार लगाउने भीडलाई सम्झाइबुझाइ गरेर तनाव शान्त पार्न थुप्रै इन्स्पेक्टर र जुनीयर अफिसरहरु खटिरहेका थिए । स्थिति अझै गन्जागोल भएपछि भरतपुर तालिम केन्द्रका थप प्रहरी आएर छ्यापछ्याप्ती भए । खैरेनीटारभरी पुलिसैपुलिस । बेला बेला चर्का नारा अनि जुलुश पनि दुरुम पानीको करामत देखाउँदै गर्दथ्यो ।

दिन घर्किंदै गयो । सबै पक्षहरु थाक्दैपनि गएछन् क्यार ! पोखराबाट आएका यातायात व्यवसायी, मजदूर नेता र प्रशासनको अथक प्रयासपछि अपराह्न चार बजे बल्ल लाश उठाउने र बाटो खोल्ने सहमति भयो । पोखरा क्षेत्रीय अस्पतालमा लाश पठाएर जाम खुलेपछि बेलुकी दमौली फर्किएँ, लखतरान भएर । दिनभरि हजारौ आक्रोशित यात्रु र मजदूरको भीडबाट सकुशल किनारा लाग्न सकेकामा भने आफैलाई भाग्यमानी सम्झिरहेको थिएँ । स्यावासी पनि दिंदै थिएँ ।

 

प्रकाशित: कार्तिक २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार