साहित्य/विविध

अमेरिकामा अडिएन मन

- मधु शाही, काठमाडौं

कार्तिक २६, २०७४-१९ औं शताब्दीतिर विश्व कला जगत्मा क्लासिकल रियालिज्म सुरु भएको थियो । जे देखिन्छ त्यो नलुकाई यथार्थमा देखाउने कला धार । कलामा पारदर्शिता ल्याउँदा क्लासिकल रियाजिज्मले ठूलो तहल्का मिच्चाएको थियो, त्यो बेला । पाश्चात्य कला बजारमा यर्थाथवादलाई सहज रूपमा लिन थालिएको भए पनि यसको अभ्यास पूर्वीय कला क्षेत्रमा केही चुनौतीपूर्ण छ । सांस्कृतिक र धार्मिक प्रभावले त्यस्ता कलामा केही दुविधा देखिने कलाकारहरू बताउँछन् । यति बेला मन गुरुङ भने चुनौती नै मोलेर क्लासिकल रियालिज्मको आर्ट फर्ममा काम गरेका छन् ।

बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा मनले तयार पारेका ११ सिर्जना छन् । तीमध्ये धेरैजसो न्युड आर्ट छन् । चित्रकार मनचाहिँ ‘न्युड’ कला भन्न रुचाउँदैनन् । ‘प्राकृतिक यथार्थ’ भन्नु उचित जस्तो लाग्छ उनलाई । ‘मान्छेको वास्तविक स्वरूप नि:वस्त्र नै हो’, उनी भन्छन्, ‘प्राकृतिक कुरालाई स्वीकार्नु रियालिज्म (यथार्थवाद) हो ।’ गोर्खाको निम्नमध्यम वर्गीय परिवारमा हुर्केका मनको यस्तो फराकिलो सोँच धेरैपछि आएको हो । इन्डियन आर्मीको बाहुल्य रहेको उनको परिवारमा उनी मात्रै चित्रकलामा लागे । एसएलसी सकिएपछि चित्र पढ्नकै लागि उनी काठमाडौं आए । ललितकला कलेज भर्ना हुने चाहना राखे । तर, कक्षा १२ मा भने उनी उत्तीर्ण हुन सकेनन् । तैपनि उनले हरेस खाएनन् । 

अध्ययनमा निरन्तर मिहिनेत गरेर उनी बीएफए (स्नातक) मा कलेज टप नै भए । त्यसपछि कला सिर्जनामा मनका धेरै सम्भावना खुले । अमेरिकामा फुल स्कलरसिप पाए । उनी शिक्षा लिन अमेरिका लाग्दा धेरैले उतै बस्ने सल्लाह दिएका थिए । कतिले फर्किंदैन भन्थे पनि । उनको मन अमेरिकामा भने अडिएन । विदेशमा भन्दा नेपालमा कला र कलाकारको महत्त्व रहेको मनको दाबी छ । ‘हामी पाश्चात्य कलाभन्दा धेरै सिर्जनशील छौं,’ उनले भने, ‘यहाँ कलाकारको भ्यालु छ, त्यसैले स्वदेश फर्किएँ ।’ उनी क्लासिकल रियालिज्ममा चार वर्षको अध्ययनपछि नेपाल आएका हुन् । ‘पावर पोलिटिक्स एन्ड वार’ थिममा उनले क्लासिकल रियालिज्म शैली आफ्नो कलामा झल्काएका छन् । किताबी सिद्धान्तमा समसामयिक अभ्यास मिसाएर न्यु टेस्ट निकाल्न मनलाई विशेष रुचि लाग्छ । 

प्राचीन सभ्यता महसुस हुने रंग संयोजनमा उनले समसामयिक विषय उठान गरेर चित्र बनाएका छन् । ‘स्टेट अफ माइन्ड’, ‘हयुमानिटिज’, ‘म्यान काइन्ड’ र ‘पावर, पोलिटिक्स एन्ड वार’ गरी चार थिममा उनका सिर्जना नियाल्न सकिन्छ । उनका धेरै चित्रमा बन्दुकका आकृति छन् । कतै केन्द्र त कतै पृष्ठभूमिमा बन्दुकसँगै अर्थनग्न मान्छेका आकृति पनि छन् । 

मान्छेले मान्छेनै बचाउन बन्दुक जस्तो हिंसात्मक हतियार प्रयोग गर्नुपर्ने अवस्थाविरुद्ध मनका चित्रहरू बोलिरहेका छन् । केही चित्रमा उनले कपडा कोलाज गरेर बेग्लै टेक्स्चर निकालेका छन् । ‘स्टेट अफ माइन्ड’ शीर्षकको चित्रमा सुन्दर युवतीको फिगर देख्न सकिन्छ । खुसी हौसिएकी ती युवतीको पेटको भागमा भने बोराको घेरा कोलाज गरिएको छ । मन भन्छन्, ‘सफल व्यक्तिको कुण्ठित मनोभाव दर्साउन खोजेको हुँ ।’ न्युड फिगरमा काम गर्दा उनले टेक्नोलजी अपनाएको बताउँछन् । प्रत्यक्ष मोडल राखेर सिर्जना कोर्ने वातावरणअनुकूल नभएपछि उनले फोटोग्राफी र इन्टरनेटको धेरै हदसम्म सहारा लिनुपरेको बताए । तर, रियालिज्ममा फिलिङस् ल्याउन वस्तुगत अध्ययन हुनै पर्छ । मनले केही मोडल प्रत्यक्ष निगरानीमा तयार पारेका चित्रसमेत प्रदर्शनी झल्काएका छन् । मंसिर ११ गतेसम्म जारी रहने प्रदर्शनीमा २० हजार रुपैयाँदेखि १ लाख ९५ हजार रुपैयाँ मूल्य पर्ने चित्र राखिएका छन् । 

प्रकाशित: कार्तिक २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार