कुराकानी

विनोद चौधरीसँग अन्तर्वार्ता : ‘परिवर्तन राजनीतिबाट मात्र सम्भव छ’

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २६, २०७४-उद्यमी विनोद चौधरीको व्यापार–व्यवसाय देशको सीमा नाघेर संसारका थुप्रै कुनामा फैलिएको मात्र छैन, त्यसैको जगमा उनी फोब्र्समा सूचीकृत एक मात्र नेपाली अर्बपति बनेका छन् । पछिल्लो समय उनी सक्रिय राजनीतिमा होमिएका छन् । पहिलो संविधानसभामा एमालेबाट सभासद भएका चौधरी हाल कांग्रेसको समानुपातिक सूचीमा छन् र उक्त पार्टीको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमिति संयोजक बनेका छन् । यो राजनीतिक छलाङ, उनको व्यावसायिक सफलता र त्यससँगैका केही विवादित पाटोहरुमा केन्द्रित रहेर कान्तिपुरका गोकर्ण अवस्थीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं व्यावसायिक हिसाबले सफल उद्यमी छँदै हुनुहुन्थ्यो, एकाएक सक्रिय राजनीतिमा लाग्नुभयो । अब तपाईं व्यवसायी कि राजनीतिज्ञ ?

मैले विगतमा जे–जति उपलब्धि हासिल गरें, जे सिक्ने–जान्ने मौका पाएँ, त्यसको धरातलमा उभिएर सक्रिय राजनीतिको माध्यमबाट यही देशका लागिआफ्नो भूमिका निर्वाह गर्न आएको हँ‘ । मबाट नयाँ पिंढीका साथै विदेश र स्वदेशमा बसेकाहरूले जुन अपेक्षा गरेका छन्, त्यसअनुसार प्रयास गर्नुपर्छ भनेर गम्भीर राजनीतिक सहभागिताको निर्णय गरेको हँ‘ । त्यो भन्नेबित्तिकै मैले ४५ वर्षभरि जसरी सक्रिय उद्यमीका रूपमा काम गरें, त्यो एकैरातमा सकिन्छ भन्ने होइन । तर, क्रमश: व्यवसायको जिम्मेवारी नयाँ पुस्तालाई दिनुपर्छ भन्ने मान्यता हो । व्यवसाय र राजनीतिका बीचमा ‘कन्फ्लिक्ट अफ इन्ट्ेरस्ट’ नहुने गरी एउटा लक्ष्मणरेखा हुनुपर्छ भन्ने पनि मेरो मान्यता हो । यसैअनुसार काम गर्छु । 

फोब्र्समा सूचीकृत नेपालका एक मात्र अर्बपतिका रूपमा तपार्इंको राष्ट्रिय–अन्तर्राष्ट्रिय छवि छँदैथ्यो, समाजमा त्यही भूमिकाबाट पनि योगदान पुर्‍याउन सकिन्थ्यो । राजनीतिमै चाहिं किन लाग्नुपर्‍यो ?

कुनै पनि पेसा राजनीतिभन्दा कम महत्त्वपूर्ण छ भन्ने त हँ‘दै होइन । अझ म त आफैं उद्यम व्यवसायबाट आएको र यो पेसालाई महत्त्वपूर्ण बनाउनुपर्छ भनेर लागेको मान्छे हुँ। हुन त म आफूलाई भाग्यमानी मान्छु । सार्वजनिक बस चढेर सामुदायिक विद्यालयमा पढेको मान्छे, पूरै गरिब त भन्दिनँ, तर साधारण व्यावसायिक पृष्ठभूमिबाट आएको मान्छे, यहाँसम्म पुग्ने मौका पाएँ । थुप्रै ‘पब्लिक फोरम’ मा काम गर्ने मौका पाएँ । तर ती सबैका सीमा हुँ‘दा रहेछन् । हाम्रो देशमा नागरिक समाज र व्यावसायिक संस्थाहरूले खेल्न सक्ने भूमिकाका सीमा हँ‘ुदा रहेछन् । यसकारण तपार्ईं कुनै ठूलो खालको परिवर्तन ल्याउन चाहनुहुन्छ भने त्यो केवल राजनीतिबाट सम्भव छ । 

मैले किन ठूलो परिवर्तनको अपेक्षा गरेँ भन्ने फेरि छुट्टै प्रश्न हो । खासमा म अहिल्यै पनि खुसी छु । नेपालभित्र–बाहिर बोल्न बोलाइराख्छन् । सामाजिक सञ्जालमा धेरै ‘फलोअर’ छन् । साँच्चै भन्ने हो भने विगत ४५ वर्षमा भौतिक रूपमा जे प्रगति गरें, त्यसबाट आनन्द लिने समय हो । भर्खरै म बाजे पनि भएको छु । नाति–नातिनीहरू छन् । तीनवटै छोराहरूको बिहे भएको छ । यो आनन्द लिने समय छोडेर म किन राजनीतिमा आएँ भन्दा–मैले जुन समृद्ध र सम्पन्न नेपाल देख्न खोजेको हुँ‘, त्यसका लागि हो । बाहिर जाँदाखेरि कसैले ‘तिमी तिम्रो देशको एक मात्रै अर्बपति, तर तिम्रो देश किन गरिब’ भन्दा नाजवाफ हुन्छु । लगभग सबैजस्ता फोरममा यी प्रश्नहरू तेर्सिन्थे । म (राजनीतिमा) आउँदैमा सबै नाटकीय रूपमा परिवर्तन हुन्छ भन्न चाहन्नँ, तर निकै दत्तचित्त भएर प्रयास गर्छु । 

‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को कुरा अघि तपार्इंले नै गर्नुभयो । विनोद चौधरीलाई हामी आफ्नै कम्पनीमा पनि ‘माइक्रो–म्यानेज’ गर्ने व्यवसायी भनेर चिन्छौं । कहाँसम्म भने–तपाईं एक लाखदेखि माथिको हरेक हिसाब आफैं हेर्नुहुन्छ भन्ने पनि सुनिन्छ । यस्तो अवस्थामा तपार्इं राजनीति र व्यवसाय दुवैमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को समस्या आउँदैन ?

तपाईंले पाएको सूचना ‘डिस्टोर्टेड’ हुनुपर्छ । आजको दिनमा मैले चाहेर पनि त्यो सम्भव छैन । यतिका अन्तर्राष्ट्रिय व्यापार छ, १ सय २० देशमा हामी काम गर्छौं । एकलाख रुपैयाँको भौचर आफ्नो खल्तीमा राखेको भए यो सम्भवै थिएन । मैले चेक साइन नगरेको कति वर्ष भयो, आफैं बुझ्न सक्नुहुन्छ । मेरो भूमिका तीन किसिमको कायम छ, वा थियो भनौं न । पहिलो, म नयाँ रणनीतिक साझेदारसँग अन्तर्राष्ट्रिय फोरममा ‘डिल’ गर्छु । वास्तवमा म एउटा ‘डिलमेकर’ हुँ । दोस्रो भनेको– म हावर्ड, वाल्टन पढेको मान्छे होइन । एमबीए पढेको पनि होइन । तर भगवान्ले दिएको व्यवसायको ‘सेन्स’ मसँग छ । म भविष्यलाई हेर्न सक्छु । यदि कुनै समस्या आउँदै छ र बढ्दै छ भने म त्यसलाई देख्छु, रोक्छु । मेरो तेस्रो भूमिका भनेको अनुशासनको प्रत्याभूति गर्नु हो । अधिकार प्रत्यायोजन गर्न सजिलो छ, तर त्यसरी दिइएको अधिकारमातहत के गर्ने र के नगर्ने भन्ने ज्ञान हुनुपर्छ । त्यो अधिकार लिनेको क्षमतामा पनि भर पर्छ । त्यसको अनुगमन गर्ने क्षमता पनि हुनुपर्छ । यी तीनवटै चीज मानिसको चरित्रसँगै आउने विषय हो । भोली सीजी (चौधरी ग्रुप) मा यो खराब हँ‘ुदै छ, निर्वाण (छोरा– सीजीका प्रबन्ध निर्देशक) ले ‘यहाँनेर यो डुबाउँदै छ’ भन्ने लाग्यो भने म चुप लागेर निश्चय नै बस्दिनँ, राजनीतिमै भए पनि । भोलि मैले कुनै राम्रो रणनीतिक अवसर पाएँ भने त्यहाँ अवसर छ भनेर मेरो टिमलाई भन्ने नै छु । तर, संस्थालाई आफ्नो अनुशासनमा राखेर चलाउने कामचाहिं अब छाडछु । 

अहिले धेरै व्यवसायीहरू राजनीतिमा आएका छन्, भोलि सांसद पनि बन्लान् । त्यसबेला कानुन तिनैले बनाउने, फाइदा पनि तिनैले लिने अवस्था आउन सक्छ । विगतमा आफू अनुकूलका त्यस्ता कानुन बनाइएका छन् । तपाईं पनि ठूलो व्यवसायमा हुनुहुन्छ । भोलि सांसद भएपछि कानुन बनाउनतिर पनि लाग्नु होला । त्यसबेला आफ्नो स्वार्थ हेर्नुहुन्न भनेर कसरी पत्याउने ?

हेर्नुस्, म पहिले पनि सांसद भएकै हुँ । मेरो विगतको ‘ट्रयाक रेकर्ड’छ । मैले कुनै पनि विवादको सामना गर्नु परेन । तपाईंले भनेकामा एउटा खतराचाहिं छ– त्यहाँ (सांसद) भएपछि आफ्नो व्यक्तिगत र संस्थागत स्वार्थलाई छुट्याउन सकिएन भने त्यसले समस्या सिर्जना गर्छ । त्यसलाई ‘जेनरलाइज’ गर्न भने मिल्दैन । त्यो व्यक्तिमाथि भर पर्छ । अहिले धेरै राजनीतिकर्मी सांसद, जो व्यापारिक वातावरणबाट आएका होइनन्, उनीहरूले त्यस्तो काम गरिरहेका छन् । व्यवसायीहरूले त्यहाँ गएर त्यस्तो गर्छन् भन्ने होइन । त्यसैले कानुन बनाउने प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ । त्यसलाई ‘वाच’ गर्ने भूमिकामा तपाईंहरू पनि हुनुहुन्छ । 

 

- ‘तिमी अर्बपति, देश किन गरिब भन्दा नाजवाफ हुन्छु’

- कुनै पनि व्यवसायीको धर्म हो– सरकारका मान्छेहरूसँग नजिकमा बसेर काम गर्नु ।

- कुनै दिन यो देशको प्रधानमन्त्री हुन्न भन्छु भने म झूटो बोलिरहेको हुनेछु ।

- यो संसारमा केही विशेष र पृथक् काम गर्नेहरू सबै सपना देख्नेहरू हुन् ।

- भोलि निर्वाणले ‘यहाँनेर यो डुबाउँदै छ’ भन्ने लाग्यो भने म चुप लागेर बस्दिनँ ।

- आँटेको कुरामा कसैले तगारो लगाउँछ भने हटाउने प्रयास गर्छु, हैन भने नाघेर जान्छु ।

- म हिजो पनि त्यसमा (विदेशमा लगानी खुला गर्नुपर्ने) लागेको थिएँ र आज पनि लाग्छु ।

-  वास्तवमा म एउटा ‘डिलमेकर’ हुँ ।

एमालेबाट सांसद भइसकेको मान्छे, अहिले किन कांग्रेसमा लाग्नुभयो ?

म एमाले पार्टीछोडेर यता आएको भन्ने होइन । म सांसद हुँदाको समय २०७० सालमै सकियो । म त्यो पार्टी (एमाले) को सदस्य नै थिइन । हो, मलाई २०७० सालको निर्वाचनमा नवलपरासीमा शशांक कोइरालासँग चुनाव लड्नुस् भनेर एमालेले प्रस्ताव गरेको हो । तर मैले बीपीका छोरा, कांग्रेसका अहिलेका महामन्त्रीलाई हाँक दिन जानुपर्ने कुनै कारण थिएन । मैले अर्को क्षेत्र दिनुस् भनें, उहाँहरूले दिनुभएन । त्यसपछि म सक्रिय राजनीतिबाट बाहिर रहें । तर ‘एक्सरसाइज’ भने छोडिनँ । मैले आफैंले नयाँ पार्टी खोल्नेदेखि नयाँ खुलेका पार्टीसँग सम्पर्क गर्नेसम्मका कामहरू गरें । म के निर्णयमा पुगें भने– मसँग जति समय बाँकी छ, नयाँ पार्टी खोलेर जाने धैर्य छैन । त्यो अवस्थामा प्रजातन्त्रका लागि लडेको मुलुकको पुरानो पार्टीमै लागेर जाने निर्णयमा पुगें । कांग्रेस मेरा लागि नयाँ होइन । कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि र गिरिजाप्रसाद कोइरालासँग बसेर मैले विगतमा काम गरेकै हुँ । मलाई गर्व लाग्छ, यो देशको पहिलो चरणको (२०४८/४९ को) उदारीकरणमा मैले योगदान दिने मौका पाएँ । त्यसको प्रतिफल अहिलेसम्म हामीले पाइरहेका छौं । आजको सन्दर्भमा मैले किन कांग्रेस प्रवेश गरें भन्दा त्यसको सिधा जवाफ छ– पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक रूपमा आग्रह गर्नुभयो । म सधंै प्रस्ट थिएँ कि म अब शो–पिस बन्नचाहिं संसदमा जान्न । सांसद हुनेमात्रै चाहना भएको भए २०७० मै हुन सक्थें ।

कांग्रेसको समानुपातिक सूचीमा तपाईंको नाम आएपछि आलोचना पनि भयो । जस्तो कि एकजना पूर्वसम्पादक कसमस विश्वकर्माले ट्वीटरमा लेख्नुभयो, ‘मधेसी कोटामा खर्बपति विनोद चौधरी... हरे ! यसैका लागि थियो समानुपातिक निर्वाचन ?’ यसप्रति तपाईंको के भनाइ छ ?

त्यो किसिमको टिप्पणी गर्ने उहाँहरूको स्वतन्त्रता हो । समानुपातिक सूचीमा मेरो नाम आएर केही गलत भएजस्तो मलाई लाग्दैन । मलाई भन्नुहुन्छ भने प्रत्यक्ष र समानुपातिक सूचीमा कुनै भेदभाव गर्नुपर्ने आवश्यकता छैन । भारतमा मनमोहनसिंह प्रधानमन्त्री हुँ‘दा १० वर्ष नै राज्यसभा सदस्य भए । अहिलेको तेस्रो शक्तिशाली मन्त्री अरुण जेट्ली पनि राज्यसभा सदस्य नै छन् । त्यसैले यस्ता टिप्पणीमा धेरै समय खर्च गर्ने आवश्यकता छैन । मैले त पढेको पनि थिइनँ । मेरो टिमले पनि यस्ता चिज मलाई देखाउँदैन । 

तपाईंले कुनै बेला थाइल्यान्डमा थाक्सिन सिनावात्रा प्रधानमन्त्री हुन सक्छन् भने म पनि हुन सक्छु भन्नुभएको थियो । अहिलेको सक्रिय राजनीति त्यही महत्त्वाकांक्षाबाट प्रेरित हो ?

मेरा कुनै त्यस्ता पूर्वसर्त छैनन् । म मेरो एजेन्डाको ‘लबी’ गर्न आएको हुँ‘ । मलाई विश्वास छ, राजनीतिक दलको ‘प्लेटफर्म’मा उभिएर ती एजेन्डालाई अगाडि बढाउन सक्छु । त्यसका लागि कुन भूमिकामा हुनुपर्छ भन्ने कुरा समय र पार्टीले निर्धारण गर्नेछ । तर यति भनिरहँदा मैले कुनै दिन यो देशको प्रधानमन्त्री हुन्न भन्छु भने म झूटो बोलिरहेको हुनेछु । तर, त्यसको अर्थ मेरो कांग्रेस प्रवेश गर्नुको आजको ‘मिसन’ र उद्देश्य त्यही हो भन्ने होइन । 

तपाईंले आफ्नो आत्मकथामा ज्ञानेन्द्र जसरी व्यापारमा सफल भए, त्यसरी नै राजनीतिमा सफल हुन सक्छन् भन्नुभएको थियो । त्यसपछि तपाईंले मोडल मानेकाहरूमा नरेन्द्र मोदी, ली क्वान यू, महाथिर मोहम्मदहरू देखिन्छन् । उनीहरू एक हिसाबले सफल त छन्, तर सँगै अधिनायकवादी शैलीका छन् । तपाईंका ‘रोल मोडल’ यिनै हुन् त ?

हो । मेरा रोल मोडल यिनीहरू हुन् । उनीहरू सबै लोकतान्त्रिक हुन् । लोकतन्त्र भनेको भीडतन्त्र, हाटहुट, लाटलुटतन्त्र, अस्तव्यस्तता सिर्जना गर्ने तर म देशको सबभन्दा ठूलो लोकतान्त्रिक व्यक्ति हुँ‘ भन्ने होइन । बेलायत जहाँ लिखित संविधान छैन, त्यहाँ पनि अनुशासन छ । त्यहाँ पनि विधिको शासन छ । म एउटा अनुशासित र तोकिएको पारदर्शितामा काम गर्ने, ‘हाइरार्की’मा विश्वास राख्ने मान्छे हुँ । त्यसैले मैले यो संस्था (सीजी कम्पनी) बनाएको हँ‘ु । राष्ट्र पनि त्यसरी नै चल्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यो चलाउने क्रममा यदि जनताको कल्याणका लागि सर्वसाधारणलाई नेताले वाचा गरेको चिज दिन ऊ बढी ‘डिटरमिन्ड’ छ भने त्यसलाई नरुचाउने मान्छेले ‘डिक्टेटर’ भन्लान्, ‘अथोरिटेरिएन’ पनि भन्लान् तर, आज मलेसियामा मान्छेहरू महाथिरलाई खोजिरहेका छन् । महाथिरले छोडेपछि त्यहाँको अर्थतन्त्र तल गयो । भारतीय उपमहाद्वीपमा मोदी एकाएक कहाँबाट आए, कसैलाई थाहा छैन । उनी गुजरातमा गरेको कामका आधारमा अगाडि आएका हुन् । मेरो विचारमा सुशासन कसरी राख्ने भन्ने यी एकदमै राम्रा उदाहरण हुन् । मलाई यसमा विश्वास छ र म उनीहरूलाई गैरलोकतान्त्रिक हुन भन्दिनँ ।

तपाईंले सूर्यबहादुर थापादेखि गिरिजाप्रसाद कोइरालासम्म थुप्रै राजनीतिज्ञसँग सामीप्यको कुरा पनि आत्मकथामा उल्लेख गर्नुभएको छ । राजदरबारसँग पनि तपार्इंको सम्पर्क थियो । तपार्इंको व्यापार मौलाउनमा राजनीतिक शक्तिहरूसँगको संगतले पनि काम गरेको हो भन्ने गरिन्छ । कुनै टिप्पणी ?

हेर्नुस्, आजको दिनमा व्यापार भनेको के हो भने– अहिले म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रूपमा प्रवेश गरेको सन्दर्भमा पनि सीजीका अध्यक्ष, प्रबन्धक, महाप्रबन्धकहरूले एमाले, माओवादी, कांग्रेस, राप्रपा सबैसँग त्यत्तिकै नजिकको सम्बन्ध राखेर हिंड्नुपर्छ । मैले हिजोको दिनमा त्यही गरें । आफ्नो संस्थाको प्रमुखको हैसियतमा मैले सबै राजनीतिक दलसँग राम्रो सम्बन्ध राखें वा राख्ने प्रयास गरें । मैले ‘उद्यमीको आँखामा अर्थतन्त्र’ भन्ने किताब सार्वजनिक गर्दा सबै दलका मुख्य नेता उपस्थित थिए । नौजना पूर्व र वर्तमान अर्थमन्त्री थिए । कुनै पनि व्यवसायीको धर्म हो कि, सरकारमा रहेका मान्छेहरूसँग नजिकमा बसेर काम गर्नु । त्यसको अर्थ यो होइन कि त्यहाँ अनैतिक सामीप्य हुनुपर्छ । तपाईं सही काम गर्नुहुन्छ भने गलत साझेदारीको आवश्यकता नै छैन । हामी मूलत: पारदर्शी ‘कर्पोरेट’ बनाउनुपर्छ भनेर लागेका मान्छे हौं । हामीलाई सबैको सहयोग आवश्यक थियो । त्यसमध्ये कति भयो/भएन, लेखाजोखा गर्ने ठाउँ बाँकी नै छ होला ।

तपाईं फोब्र्स सूचीमा रहेको एक मात्र नेपाली अर्बपति हुनुहुन्छ । यस्तो सफलता कसरी हासिल हुँदोरहेछ ?

सबभन्दा पहिला त सपना देख्न सक्नुपर्‍यो । गर्न सक्छु भन्ने हुनुपर्‍यो । नियमित प्रयास गर्नुभयो भने असम्भव कुरा पनि सम्भव हुन्छ । म केमा विश्वास गर्छु भने यो संसारमा केही विशेष र पृथक् काम गर्नेहरू सबै सपना देख्नेहरू हुन् । दोस्रो कुरा, आफ्नो लक्ष्यप्रति प्रतिबद्ध हुनुपर्छ । कुनै पनि चिजले त्यसलाई यताउति गर्न नसकोस् । तेस्रो कुरा, तपार्इंमा कुनै पनि किसिमको हीनताबोध हुनु भएन । म त सानो देशबाट आएको, बेहाल छ, विभिन्न किसिमका अवरोध छन् भनेर सोच्नु भएन । हरेक समस्याका समाधान छन् । मैले किताबमा पनि लेखेको छु कि मैले आँटेको कुरामा कसैले तगारो लगाउँछ भने हटाउने प्रयास गर्छु, हैन भने नाघेर जान्छु । निहित स्वार्थका लागि मेरो यात्रा रोक्ने कसैलाई अधिकार छैन । यदि मेरो बाटो र लक्ष्य नै ठीक छैन भने त प्रकृतिले नै मलाई त्यहाँ पुग्न दिँदैन । आजसम्म कुन व्यवसाय वा कर्पोरेट हाउस ‘चिट’ गरेर सफल भएको छ ? कोही केही समयका लागि आउलान्, तर दिगो हँ‘ुदैन । विश्वको कर्पोरेट इतिहास हेर्ने हो भने आफूले गरेको कामप्रति प्रतिबद्ध र पारदर्शी हुनुभयो भने मात्रै अन्य सरोकारवालाको विश्वास जितेर अगाडि बढ्न सक्नुहुन्छ । 

तपार्इंले चाउचाउको प्लान्ट भर्खरै युरोपमा पनि खोल्नुभयो । तपाईंको विदेश–व्यापार अन्य क्षेत्रमा पनि रहेको देखिन्छ । आफ्नै प्राथमिकताचाहिं कुन क्षेत्रमा हो ?

अन्तर्राष्ट्रियस्तरमा वाई–वाई हो । योसँग जोडिएका व्यवसाय छन् । अहिले वाई–वाई सिटी भन्ने छ । भारतमा धेरै ठाउँमा खुलेको छ । मध्यपूर्वमा पनि खुलेको छ । मेरो सपना भनेको नेपाली ब्रान्ड विदेशमा सबैले चिन्नुपर्छ भन्ने हो । म त्यसमा अगाडि बढिरहेको छु । सर्वियाको प्लान्टले युरोपमा आपूर्ति गर्छ । बंगलादेश र इजिप्टमा पनि खोल्दै छौं । दोस्रो भनेको होटल हो । आफ्नै र साझेदारीको ब्रान्डमा होटल विस्तार गर्दै जाने हो । सिमेन्टजस्ता कम्पनी पनि छन् । हामी ताज होटलको सबभन्दा ठूलो साझेदार हांै । विशेष आर्थिक क्षेत्र हाम्रो विशेषताको विषय हो । रियल इस्टेट हाम्रो अर्को प्राथमिकता हो । यिनै हुन् । नेपालमा हामी १६ क्षेत्रमा छौं । 

नेपालको कानुनले विदेशमा लगानी गर्न निषेध गरेको छ । तपार्इंले चाहिं कसरी छुट पाउनुभयो ?

यसबारे किताबमै पूरा कुरा लेख्या छु । गैरआवासीय नेपाली (एनआरएन) वा अस्थायी बासिन्दाका रूपमा (लगानी गरेको) हो । जुन बेला एनआरएनको कानुन थिएन, त्यतिबेला पनि अस्थायी बासिन्दाको परिभाषाका मानिसलाई कहीं अप्ठेरो थिएन । त्यहीअनुसार म पनि अस्थायी बासिन्दा नै हुन पुगें त्यो बेला । अहिले पनि म हप्ता–दस दिनभन्दा बढी यहाँ बिताउन सक्दिनँ । अहिले त मेरा दुईजना छोरा गैरआवासीय नेपाली छन् । उनीहरूले गरिरहेका छन् । तर मेरो प्रश्न छ– गैरआवासीयको ‘ट्याग’ लगाउनेबित्तिकै तपाईंले यहाँ पनि, त्यहाँ पनि जे पनि गर्न पाउनुपर्छ भन्ने कुराको कुनै ‘जस्टिफिकेसन’ छ ? आज नेपाली कम्पनीले कर तिरेको, यहाँ कमाएको रकम बाहिर लगानी गर्न पाइँदैन भन्ने कुराको कुनै जस्टिफिकेसन छ ? यी सबै मानसिक समस्या हुन्, कानुनी समस्या होइन । कानुनी कुरा गर्नुहुन्छ भने हामीले गरेका सबै काम शतप्रतिशत कानुनी छन् । यदि तपाईं सैद्धान्तिक कुरा गर्नुहुन्छ भने त्यो प्रकारको व्यवस्था रहनु नै दुर्भाग्यपूर्ण हो । डा. रामशरण महत एकजना मात्रै व्यक्ति हुनुहुन्छ, जसले यो विषय उठाउनुभएको छ । राष्ट्र बैंकका मौद्रिक नीतिमा यो कुरा धेरै पटक आइसक्यो । 

विनोदजी, तपार्इंको नबिल बैंकमा रहेको लगानी एनबी इन्टरनेसनल भन्ने विदेशी कम्पनीमार्फत छ, जसको लाभांश तपाईंलाई नै आउँछ होला । त्यो प्रतिफललाई कसरी व्यवस्थापन गर्नुभएको छ ? सँगै एनआरएनबाट लगानी गर्ने छिद्र छ भनेर तपाईंले नै भन्नुभयो । अब संसदमा गएपछि विदेशमा लगानी गर्न पाउने ऐन ल्याउने प्रयास पनि गर्नुहोला, जसलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ का रुपमा किन नहेर्ने ?

एनबी इन्टरनेसनल यस्तो कम्पनी हो, जसमा हाम्रो विदेशी निकाय (आम्र्स) साझेदार छ । त्यसमा राष्ट्र बैंकदेखि अन्य धेरै निकायले दुई दशकसम्म सोधीखोजी गरिसकेका हुन् । साझेदारका रुपमा उनीहरूले पाउने आफ्नो पैसा हो र आफ्नो प्राथमिकताअनुसार लगानी गर्छन् । म अब सांसद भएँ भन्दैमा बीसौं वर्षदेखि उद्योग–वाणिज्य महासंघ, उद्योग परिसंघको अध्यक्ष, साधारण नागरिक उद्यमीका रुपमा उठाउँदै आएको विषय संसदमा उल्टो घुमाउनुपर्छ भन्ने हुँदैन । किनभने म हिजो पनि त्यसमा (विदेशमा लगानी खुला गर्नुपर्ने) लागेको थिएँ र आज पनि लाग्छु । त्यसमा आफ्नो हितअनुसार काम गराउन खोज्छु कि भन्नुहुन्छ भने संसदमा त्यो सम्भवै छैन । 

अर्बपतिको सूचीमा परे पनि तपाईं नेपालमा सबभन्दा धेरै कर तिर्नेमा पर्नुहुन्न । यत्रो पैसावाल मान्छे, किन सबभन्दा ठूलो करदाता नभएको भनेर आलोचना पनि हुने गरेको छ, के भन्नुहुन्छ ? 

मलाई लाग्छ, यदि हाम्रा सबै संस्थाको योगदान जोड्ने हो भने हामी सबैभन्दा ठूलो करदाता हौं । एउटा कम्पनीका हिसाबले नबिल बैंक दोस्रो वा तेस्रो धेरै कर बुझाउने कम्पनी हो । 

विदेशका धेरै अर्बपतिले फाउन्डेसन वा ट्रस्ट बनाएर कल्याणकारी कार्य गर्ने गरेका छन् । तपाईंको कुनै योजना छ ?

ममा यो सोचाइ छ । अहिले पनि हामी यहाँ धेरै नै सम्मान पाएको फाउन्डेसन चलाइरहेका छांै । हामीले भूकम्पको बेलामा निकै काम गर्‍यौं । 

तपाईं कमाइको कति प्रतिशत रकम यी काममा लगाउनुहुन्छ त ?

त्यो प्रतिशतमै त हामी राख्दैनौं । फाउन्डेसन पनि व्यावसायिक रूपमा चलाउने टिम छ । परियोजनाहरू छन् । सामाजिक उद्यमशीलता हाम्रो एउटा ठूलो परियोजना हो । हामीले ‘मोडल भिलेज’ बनाइरहेका छौं पाँचखालमा । भूकम्पको बेला बनाइएका अस्थायी घर–टहरालाई अब स्थायी बनाउनुपर्नेछ । जति रकम आवश्यक पर्छ, हामी गर्छौं । फाउन्डेसनको विस्तारमा पैसा बाधक बन्नेछैन । फेरि पैसा दिँदैमा प्रभावकारी हुने भए कत्राकत्रा यूएनडीपीदेखि यूएसएआईडीसम्मले यहाँ अर्बौं डलर खन्याइसके, तर कहाँ–के परिवर्तन आएको छ त ? त्यसैले काम गर्न सक्ने प्रभावकारी प्रणाली बनाउन जरुरी छ । हामी आफ्नो फाउन्डेसनलाई दस गुणा विस्तार गर्न चाहन्छौं । अहिलेको दुनियाँमा समाजलाई दिने भन्ने कुरा दानसँग मात्रै जोडिँदैन, यो त सरोकारवालासँग जोडिइराख्न पनि कर्पोरेटहरूलाई आवश्यक छ । 

प्रकाशित: कार्तिक २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार